आजबाट एसईई शुरू, पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा | Khabarhub Khabarhub

आजबाट एसईई शुरू, पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा



काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ ।  बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

चैत २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । १ हजार ९ सय ६९ केन्दमा सञ्चालन हुने परीक्षाका लागि ७२ हजार ६ सय ७१ जना प्रत्यक्ष रुपमा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।

परीक्षाका लागि सहायक केन्द्राध्यक्ष ३ हजार १६७, २३ हजार ७ सय ५० निरीक्षक, ४ हजार ७ सय ५० जना परीक्षा सहायक, ९ हजार ५ सय कार्यालय सहयोगी र २९ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

छात्रभन्दा छात्राबढी

परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसपटको एसईई परीक्षाका लागि प्रदेशगत रुपमा समानान्तर प्रश्नपत्रहरुको सेट तयार गरिएको छ । ६ वटा अनिवार्य विषयका समानान्तर प्रश्नपत्र बनाइएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार परीक्षाको तयारीको सबै व्यवस्थापन प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । वोर्डका अनुसार प्रश्नपत्र तयार, उत्तर पुस्तिका परीक्षण र नतिजा निकाल्ने काम भने राष्ट्रिय परीक्षा वोर्डले गर्नेछ जसका लागि ५९ वटा जाँच केन्द्र तोकिएको छ ।

परीक्षा सञ्चालनको सबै खर्च, उत्तरपूस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश सरकारले गर्ने व्यवस्था मिलाइएको छ । हरेक वर्षको परीक्षामा जस्तै यसपाली पनि परीक्षामा अनियमितता गर्ने विद्यार्थी, निरीक्षक वा अभिभावकलाई कानूनअनुसार कारबाही हुने वोर्डले जनाएको छ ।

सांसददेखि नायिकासम्म समेत सहभागी हुँदै

यसपालिको एसईई परीक्षामा चर्चित नायिका करिश्मा मानन्धरदेखि प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीसमेत सहभागी हुँदैछन् । पढ्ने उमेरमा काममा व्यस्त हुनुपरेपछि पढाई छाडेकी मानन्धरले ४५ वर्षको उमेरमा एसईई परीक्षा दिन लागेकी हुन् ।

त्यस्तै ०६४ सालमा संविधानसभामा समेत सभासद् रहेकी र अहिलेको संघीय संसदअन्तर्गत् प्रतिनिधिसभा सदस्य समेत रहेकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी समेत यसपालीको एसईई परीक्षामा सहभागी हुँदैछन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यसपाली आफ्नी १७ वर्षीय छोरीसँगै परीक्षा दिँदैछन् ।

पहिलाको एसएलसी, अहिले एसईई

नेपालको शैक्षिक इतिहासमै पहिलोपटक १९९० सालको पुष अन्तिम साता पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) को शुरुवात भएको थियो । जुन परीक्षा बिचमै रोकिएको थियो ।

परीक्षा चलिरहेका बेला माघ २ गते विनाशकारी महाभूकम्प गएपछि परीक्षा केही दिनका लागि बीचमै रोकिएको थियो । १९९० सालको कार्तिक २६ गते नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता र पटना जाने गर्थे । नेपाली विद्यार्थीको एसएलसी परीक्षाको सबै व्यवस्थापन तत्कालिन समयमा पटना विश्वविद्यालयले नै हेर्ने गरेको इतिहास छ ।

नेपालको शैक्षिक इतिहासमा पहिलोपटक भएको एसएलसी परीक्षामा १ जना छात्रसहित ३४ जना परीक्षार्थी सहभागी थिए । जुन परीक्षामा कोही पनि विद्यार्थी प्रथम श्रेणीमा पास हुन सकेका थिएनन् । तर पहिलो एसएललसी परीक्षामा एक जना छात्राले फारम भरेपनि परीक्षामा सहभागी भइनन् । पहिलो पटक भएको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा भएपनि सर्वोत्कृष्ट अंक प्राप्त गर्ने परीक्षार्थी पुष्पभक्त मल्ल थिए ।

एसएलसी शुरु भएको करिब ४९ वर्षपछि पहिलो महिला वोर्ड प्रथमका रुपमा लुना भट्टले २०३९ सालको एसएलसी परीक्षामा सफलता हात पारेको इतिहास छ । कक्षा १ देखि ५ सम्म प्राथमिक, ६ देखि १० सम्म माध्यमिक र ११ र १२ कक्षालाई उच्च माध्यमिक शिक्षामा रुपमा रहेको शिक्षा प्रणालीलाई २०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसइइका रुपमा परीक्षा लिन थालिएको हो ।

८३ वर्षसम्म एसएलसीका रुपमा चलिरहेको परीक्षालाई आइरन गेट (फलामे ढोका)का रुपमा लिने गरिन्थ्यो । तर पछिल्लो समय एसइइका रुपमा लिइने परीक्षाको नतिजा समेत ग्रेडिङ प्रणालीअनुसार प्रकाशन हुने गरेको छ । अहिले भने विस्तारै आइरन गेटबाट गोल्डेनगेट (सुनौलोढोका)का रुपमा लिन थालिएको छ । अर्थात् विद्यार्थीमा देखिदै आएको परीक्षाप्रतिको एकखाले त्रास विस्तारै कम हुन थालेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : १० बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति