खेलबाट यसरी हुन्छ बालबालिकाको शारीरिक र बौद्धिक विकास « Khabarhub
Logo
२६ असार २०७७, शुक्रबार

खेलबाट यसरी हुन्छ बालबालिकाको शारीरिक र बौद्धिक विकास

कुन उमेरका बालबालिकालाई कस्तो खेलौना खेल्न दिने ?



काठमाडौं– बालबालिका पुस्तक पढ्दा भन्दा खेल्दा धेरै रमाइलो मान्छन् । खेलले बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुर्‍याउँछ ।

कतिपय अभिभावकहरु आफ्ना बालबालिकालाई खेलेको देख्दा हप्काउने समेत गर्छन् । तर बालबालिकालाई खेल्न दिनु नराम्रो होइन । त्यसैले बालबालिकालाई खेलमा रमाउन दिनुपर्छ ।

यस्तै कतिपय बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीलाई खेल्न दिनुपर्छ भन्ने सोचाइ राख्छन् । त्यतिमात्र होइन आफ्ना बालबालिकाका लागि कनेकौं खेलौनाहरु समेत किनिदिन्छन ।

खेलौना नै ल्याइदिए पनि बालबालिका आफ्ना आमाबाबुले ल्याइदिएको खेलौना नखेलेर अरु नै खेलमा रमाउन पनि सक्छन् ।

तपाईले ल्याइदिएको खेलौनामा बालबालिकाले रुची राख्छ वा राख्दैन ? आफुले ल्याएको खेलौनामा किन बालबालिकाले रुची राख्दैन भनेर अचम्मित पनि हुनुहुन्छ होला ।

तपाईले ल्याइदिएको खेलौनामा बालबालिकाको रुची कम हुनुमा पनि कारण हुन्छ । तपाईको बालबालिका कति वर्षको भयो ? के तपाईले उसको उमेर अनुसारको खेलौना ल्याइदिनु भएको थियो ?

कुन उमेरका बालबालिकालाई कस्तो खेलौना चाहिन्छ तपाईलाई जानकारी छ ? हो, तपाईले माया गरेर बालबालिकाका लागि किनिदिएको खेलौना उसको उमेर अनुसारको खेल नहुन सक्छ । त्यसैले तपाईले किनेको खेलौनामा बालबालिकाले रुची नदेखाएको हुनसक्छ ।

अभिभावकले स्नेहपूर्वक बालबालिकालाई खेल्न दिएपनि कुन उमेरमा के खेल्न दिने भन्नेबारे नजान्दा बालबालिका अभिभावकले किदिदिएको खेलौनामा रमाउन सक्दैनन् ।

त्यसैले अभिभावकहरुले आफ्ना बालबालिकालाई कुन उमेरमा कस्तो खेलौना दिने र कस्तो खेल खेल्न उत्साहित गर्ने जानकारी राख्नुपर्छ ।

एसियन कलेज फर एड्भान्स स्टडिजकी नर्सिङ शिक्षिका सुरक्षा सुवेदीका अनुसार बालबाबालिकालाई खेलकुदले शारीरिक तथा बौद्धिक वृद्धि विकासमा सहयोग पुर्‍याउँछ ।

त्यसका लागि उमेर अनुसार बालबालिकाले खेल्ने खेलौना खेलको विषयमा पनि ध्यान दिनुपर्ने नर्स सुवेदी बताउँछिन् ।

‘बालबालिकालाई खेल्न दिने भन्दैमा भर्खरै जन्मेको बालबालिकालाई क्यारिङबोड, ठूलो–ठूलो बल दिएर हुँदैन, यस्तै १६, १८ वर्ष पुगेकोलाई सानो बजाउने खेलौना दिएर पनि हुँदैन,’ नर्स सुवेदीले खबरहबसँग भनिन्, ‘त्यसैले बालबालिकालाई उमेर अनुसार खेल्न दिनुपर्छ । कुन उमेरका बालबालिकालाई कस्तो खेलौना दिदा उनीहरुको शारीरिक र बौद्धिक विकासमा मद्दत पुग्छ भनेर सोच्नु पर्छ ।’

चाइल्ड हेल्थमा मास्टर्स गरेकी नर्स सुवेदीका अनुसार बालबालिकालाई रचनात्मक खेलमा सहभागि गराएमा उनीहरुको शारीरिक र बौद्धिक विकासमा सहयोग पुग्छ ।

‘बालबालिकाले बलहरु समाउँदा मसलहरु चल्छ, क्यारिङबोड खेल्दा आँखा र हातको समन्वयको विकास हुन्छ, रंगहरु लगाउन दिदा ब्रेनको डेपलभ भएर बालबालिकामा क्रेयटिभिटि पनि बढ्छ,’ नर्स सुवेदीले भनिन्, ‘स्कीपिङले व्यायाम हुन्छ, सबै खेलहरुको शारीरिक र बौद्धिक विकासको महत्व छ, त्यसका लागि उमेर अनुसारको खेल वा खेलौना दिनुपर्छ ।’

कुन उमेरका बालबालिकालाई कस्तो खेलौना दिने ?

एकवर्ष मुनिका बालबालिका

एक वर्ष मुलिका बालबालिकालाई बज्ने खालको खेलौनाहरु खेल्न दिनुपर्छ । नर्स सुवेदीका अनुसार एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई बज्ने खालको खेलौना दिदा उनीहरुको कानलाई सुन्ने शक्तिको विकास गर्न सहयोग पुर्‍याउँछ ।

नवजात शिशुलाई बज्ने खालको खेलौना दिएर बजाउँन सिकाउँदा उनीहरुले कान सुन्छन् वा सुन्दैनन् भनेर पत्ता लगाउन पनि सकिन्छ । यदी बालबालिकाले खेलौना बजेको ठाउँमा नजर लगाएर भने उनीहरुले काम सुन्छन् भन्ने बुझ्नुपर्छ ।

यस्तै एकवर्ष मुनिका बालबालिकालाई रंगिन तथा चम्किलो खेलौनाहरु दिनुपर्छ । रंगिन तथा चम्किलो खेलौनाले उनको आँखाको दृष्टिको विकास हुन्छ ।

एकदेखि ३ वर्षसम्मका बालबालिका

नर्स सुवेदीका अनुसार एक देखि ३ वर्षका बालबालिका हिड्न थाल्ने उमेरका हुन्छन् । त्यसैले एक देखि ३ वर्ष उमेर समुहका बालबालिकालाई उनीहरुको शारीरिक वृद्धि विकासका लागि चक्का भएको वाकर दिनुपर्छ ।

एक देखि ३ वर्षका बालबालिकालले वाकरमा खेल्दा वा हिड्दा उनीहरुको खुट्टाको वृद्धि विकास राम्रोसँग हुन्छ । यस्तै एक देखि ३ वर्षका बालबालिकालाई हात, खुट्टाको मसलहरुको विकासका लागि सानो खेलौना बल दिनुपर्छ ।

३ देखि ६ वर्षसम्मका बालबालिका

३ देखि ६ वर्षका बालबालिकामा धेरै उत्सुकता हुन्छ । यस्तो उमेरका बालबालिकालाई डल हाउस बनाउने, भाडाकुटी खेल्न दिने गर्नुपर्छ । चित्रहरु कोर्न दिने । दौडिन उफ्रिन दिने गर्नुपर्छ । यसले बालबालिकाले वृद्धि विकासमा मद्दत पुर्‍याउँछ ।

६ देखि १२ सम्मका बालबालिका

उमेर अनुसार बालबालिकाको रुची फरक फरक हुँदै जान्छ । ६ देखि १२ वर्षका बालबालिका शारीरिक र मानसिक वृद्धि विकास तिव्र रुपमा भइरहेको हुन्छ । यो उमेरका बालबालिकाहरुलाई दौडन दिने, गित संगित सुन्न, गाउन तथा बजाउने दिने गर्नुपर्छ ।

१२ देखि १८ वर्षका बालबालिका

१२ देखि १८ वर्षसम्मका बालबालिका विद्यालय जाने उमेरका बालबालिका हुन् । विद्यालय जाने उमेरका भएकाले पनि कतिपय अभिभावकले बालबालिकालाई पढाइमा मात्र जोड दिन्छन् । तर बालबालिकाहरु लुडो, क्यारिङबोड, गुच्चा, स्पीकिङ, स्वीमिङहरु लगायतको खेल खेल्न रुचाउँछन् ।

अझै कतिपय बालबालिका त शिक्षक र अभिभावकको आँखा छलेरै भएपनि साथीहरुसँग यस्तो खेल खेलिरहेका हुन्छन् ।

वास्तवमा १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई उनीहरुको रुची अनुसारको खेल खेल्न दिनुपर्छ । यो उमेर समुहका बालबालिकालाई लुडो, क्यारिङबोड, गुच्चा खेल्न दिदा उनीहरुको बौद्धिक तथा शारीरिक विकासमा सहयोग पुर्‍याउँछ ।

खेलले बालबालिकालाई बनाउछ सामाजिक

तपाईले याद गर्नुभएको छ ? बाल्यअवस्थामा खेलकुद तथा रचनात्मक कार्यमा बढी शक्रिय हुने बालबालिका वयस्क भएपछि निडर हुने, सबैसँग सहजै घुलमिल हुने, अप्ठ्यारो परिस्थितिमा पनि संयमित हुने गर्छन् ।

बालबालिकालाई उमेर अनुसार खेलकुदमा सरिक गराउँदा उनीहरुको शारीरिक, मानसिक र सामाजिक विकासमा समेत सहयोग पुग्छ ।

नर्स सुवेदीका अनुसार खेलमा रमाउने बालबालिकामा यस्तो गुण हुन्छ

–समाजमा सहजै घुलमिल हुन सक्छन्,

–क्रियटिभ हुन्छन्,

–भोक लाग्ने भएकाले खानामा बालबालिकाको रुची बढ्छ,

–आफ्ना समस्याहरु साथी तथा अभिभावकमा सेयर गर्न सक्ने हुन्छन्,

–खेलबाट शब्द उच्चारण, वातावरणीय कुराहरु, वास्तविकता र भ्रमबारे जानकारी पाउँने हुन्छन्,

–वयस्क भएपछि खेलकुदमा सहभागि हुन सक्छन्,

–शरीरलाई नियन्त्रण गर्न सक्छन्,

–हात, आँखाको समन्वय राम्रोसँग हुन्छ,

–खेलहरुबाट नयाँ कुराहरु जानकारी पाउँछन् ।

बालबालिकालाई खेल्न दिदा ध्यान दिनुपर्ने कुरा

नर्स सुवेदीका अनुसार बालबालिकालाई खेल्न दिदा केही कुराहरुमा सावाधान पनि रहनुपर्छ । नत्र खेल्दाखेरी पनि दुर्घटना तथा चोटपटक लाग्ने सम्भावना हुन्छ ।

‘बालबालिकालाई खेल्ने कुरा दिदैना वा खेल्न दिदैमा मात्र राम्रो मान्नु हुँदैन, खेल्ने कुरा दिदा त्यसले पुर्‍याउन सक्ने सम्भावित जोखिमबारे पनि थाहा पाउनुपर्छ,’ नर्स सुवेदीले भनिन्, ‘बालबालिकाले खेल्दा अभिभावकले ध्यान नदिदा शरीरमा, आँखामा चोटपटक लाग्न पनि सक्छ, खेलौनामा हुने रसायनले असर पर्छ सक्छ ।’

खेल्न दिदा ध्यान दिनुपर्ने कुरा

–साना बालबालिकालाई तिखो खेलौना खेल्न दिनु हुँदैन ।

–सिसाका काँचहरु खेल्न दिनु हुँदैन ।

–नवजात शिशुलाई बज्ने खेलौना दिदा कानको नजिक लगेर बजाउन दिनु हुँदैन । यस्तो गर्दा उनीहरुको सुन्ने शक्तिमा कमि आउन सक्छ ।

–साना बालबालिकार्ला मुख, नाक, कान आँखामा खेलौना हाँल्न सक्छन् त्यसैले ठूलो तर हलुका खालको खेलौना दिनुपर्छ ।

–केमिकल हुनसक्ने खेलौना खेल्न दिनु हुँदैन ।

– इलेक्ट्रिकल खेलौना खेल्न दिनु हुँदैन ।

–साना बालबालिकाले खेल्दा अभिभावकले निगरानीमा राख्नु पर्छ ।

–बालबालिकाले धेरै समय खेलमा मात्र विताउँदा खेलमा उनीहरुको लत बस्न सक्छ । त्यसैल स्कुल जाने बालबालिकालाई खेल्नका लागि निश्चित समय तालिका बनाउनुपर्छ ।


भर्खर

0