‘ओहो, हामीले त धेरै मौका पो पाएका रहेछौं’ « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

‘ओहो, हामीले त धेरै मौका पो पाएका रहेछौं’



तस्वीर– अर्घेलो थापा/खबरहब

काठमाडौं- सिनेमाको पर्दामा काम गरेको अनुभव त शिल्पा मास्केले राम्रै संगालेकी थिइन् । नेपाली मेकरसँग मात्र होइन, उनले ‘डक्टर स्ट्रेन्ज’ मा सानो भूमिका निभाउँदा हलिउड मेकरसँग पनि काम गर्ने मौका पाएकी थिइन् ।

तर, विद्यार्थीसँग बसेर आफ्ना अनुभव शेयर अवसर भने पाएकी थिइनन् उनले ।

‘टिच फर नेपाल’ ले शिल्पालाई यो मौका जुराइदियो । गैर–नाफामूलक यो संस्थाले विभिन्न क्षेत्रका व्यक्तिलाई एक दिनका लागि देशका विभिन्न सामुदायिक विद्यालयमा पठाउने र आफ्नो सीप विद्यार्थीमाझ शेयर गर्ने अवसर दिन्छ ।

शिल्पा पनि ‘कक्षाकोठामा एकदिन’ कार्यक्रमअन्तर्गत एक दिनका लागि विद्यार्थीकी ‘मिस’ भइन् केही हप्ताअघि ।

त्यो एकदिने अनुभवले धेरै कुरा सिकाउने अवसर दिलाएको शिल्पा सुनाउँछिन् । आफ्नो मोबाइलमा दुनियाँ खोज्ने बानी लागेकी शिल्पा जब लमजुङको एक गाउँमा पुगिन्, त्यतिखेर उनलाई लाग्यो – ओहो, हामीले त धेरै मौका पाएका रहेछौँ ।

‘हामी त्यहाँका विद्यार्थीलाई आफ्ना कथा सुनाउन गएका थियौँ, अझ धेरै कथा सिकेर आयौँ,’ शिल्पा सुनाउँछिन् ।

लमजुङको सदरमुकाम बेशीशहरबाट गाडीमा झण्डै आधा घण्टा हिँडेपछि दोर्दी पुगिन्छ । त्यहाँबाट केही समय पैदल हिँड्यो भने सन्धीखोलास्थित सिर्जनशील बेसिक स्कूल पुगिन्छ ।

सिर्जनशील बेसिक स्कूल पुग्दा शिल्पासँगै गएका अन्य पाहुनालाई विद्यार्थीले फूलमालाले स्वागत टक्रयाए ।

तस्वीर सौजन्य – शिल्पा मास्के ।

‘हिँड्दा त हामी थाकेका थियौँ, तर त्यहाँ पुगेर विद्यार्थीसँग साक्षात्कार गर्दा अर्कै खाले रमाइलो भयो,’ शिल्पाले खबरहबसँगको कुराकानीमा सुनाउँछिन् ।

त्यो यात्रामा शिल्पा मात्र थिइनन् । विभिन्न क्षेत्रमा आफ्नो परिचय बनाएका अन्य व्यक्तित्व पनि थिए । शिल्पा भने फिल्म मेकिङका विषयमा त्यहाँका विद्यार्थीलाई साक्षात्कार गर्न त्यहाँ पुगेकी थिइन् ।

‘ती स–साना विद्यार्थीमा नायिका बन्न राम्री हुनुपर्छ भन्ने परेको रहेछ, फिल्म कसरी बन्छ भन्ने केही थाहा छैन रहेछ, आफूले जानेको कुरा सिकाउन पाउँदा रमाइलो लाग्यो,’ शिल्पाले भनिन्, ‘त्यहाँ इन्टरनेटको सुविधा पनि थिएन, हल पनि हुने कुरा भएन, केटाकेटीहरु फिल्मसँग नजिक हुन पाएका रहेनछन् ।’

तस्वीर सौजन्य – शिल्पा मास्के ।

त्यसो त यहाँका विद्यार्थी मात्र फिल्म र प्रविधिसँग नजिक हुन नपाएका होइनन् । प्रायः नेपालका सबै गाउँको अवस्था लगभग उस्तै छ ।

आफूहरु जाँदा अझै तयारी पुगेन कि भन्ने लागेको शिल्पा बताउँछिन् । विद्यार्थीले देखाएको स्नेह र उत्सुकताले अझै धेरै कुरा शेयर गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको शिल्पा सुनाउँछिन् ।

‘हामी कहिलेकाहीँ ढिला खाना पाक्यो भनेर रिसाउँछौँ, तर ती विद्यार्थी त बिहानै घरको काम भ्याएर स्कूल आइपुग्दा रहेछन्,’ शिल्पाले सुनाइन्, ‘मैले उहाँहरुबाट धैयर्ता सिकेँ, हार मान्नुहुँदैन भन्ने सिकेँ ।’

आफ्नो टिम गएको र त्यहाँ पनि अन्य दुईजना ‘टिच फर नेपाल’ का शिक्षक (फेलो) भएकाले थप सहज भएको उनी सुनाउँछिन् ।

‘एकदमै स्मरणीय क्षण थियो त्यो, अर्को वर्ष पनि जान पाए हुन्थ्यो भन्ने लाग्छ, हामीले गर्दै आएको काम गरेको भन्दा फरक अनुभव पनि त थियो,’ उनी सुनाउँछिन् ।

कक्षामा २५ जना विद्यार्थी थिए । स्कूलभरमा झण्डै एक सय विद्यार्थी । कक्षा ७ र ८ का छानिएका २५ जना विद्यार्थीलाई उनले फिल्म मेकिङ सिकाइन् ।

विद्यार्थीले सोध्थे – मिस, फिल्म कसरी बनाइन्छ?

तस्वीर सौजन्य – शिल्पा मास्के ।

शिल्पाले फिल्म कसरी बनाइन्छ भनेर सुनाउँथिन् । त्यतिखेर उनलाई अझ भिडियोमै देखाउन पाएको भए हुन्थ्यो भन्ने लागेको थियो । तर, इन्टरनेट थिएन ।

‘विद्यार्थीले हरेक कुरा सोध्ने, जान्न खोज्ने, मलाई एकदमै रमाइलो लाग्यो,’ शिल्पाले आफूलाई नरमाइलो लागेको कुरा पनि सुनाइन्, ‘हामीसँग इन्टरनेट छ, दुनियाँसँग जोडिएका छौँ, तर, उहाँहरुलाई त्यस्तो दुनियाँ नै थाहा थिएन, यसले मलाई खिन्न बनायो ।’

‘मलाई विद्यार्थीका अति सरल र इमान्दार प्रश्नहरुले दुःखी बनायो, प्रविधिको पहुँच पुगेको भए शायद हामीलाई सामान्य लाग्ने प्रश्न विद्यार्थीले सोध्ने थिएनन् होला,’ शिल्पा सुनाउँछिन् ।

झण्डै डेढ घण्टा पढाउँदा शिल्पाले केही कुरा सिकाउने मौका पाइन् । केही कुरा आफैले पनि सिकिन् ।

तस्वीर सौजन्य – शिल्पा मास्के ।

विद्यार्थीले भोलिको सपना शिल्पासँग पनि बाँडिरहेका थिए । कसैले लाहुरे बन्ने सपना सुनाउँथे । कसैले शिक्षक बन्ने भन्थे । कसैले भन्थे, कलाकार बन्ने । कसैले फुटबलर बन्ने सपना उनेका थिए ।

‘मलाई त्यो डेढ घण्टा निकै छोटोजस्तो लागेको थियो, बेग्लै अनुभव थियो,’ शिल्पाले सुनाइन् ।

कक्षा सकिएपछि विद्यार्थीहरुले शिल्पालाई प्रतिक्रिया दिएका थिए । कतिले शिल्पालाई ‘तपाईं राम्री हुनुहुन्छ’ भन्दै प्रतिक्रिया दिएका थिए । कतिले आफूले नयाँ कुरा सिकेको बताएका थिए ।

‘एकजना विद्यार्थीले त मलाई ५ मिनेटमै कविता लेखेर दिए, कस्तो रमाइलो लाग्यो, त्यति छिटो शब्द लेख्न हामीलाई आउँदैन, उनको नाम आशिष थियो,’ शिल्पा सुनाउँछिन् ।


भर्खर

0