सागका लागि हतारमा बनाइएका संरचना कति दीर्घकालीन ? | Khabarhub Khabarhub

सागका लागि हतारमा बनाइएका संरचना कति दीर्घकालीन ?



काठमाडौं-नेपालमा तेस्रो पटक आयोजना गर्न लागिएको दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन हुन मात्रै ७ दिन बाँकी छ । तर, साग आयोजना हुने महत्वपूर्ण खेल स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित ‘हिटिङ सिस्टम’ को स्वीमीङ पुल र पोखरा रंगशाला निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।

दशरथ रंगशालाको मैदान, सामान्य प्यारापिट, स्कोर बोर्ड, ट्रयाक लगायतका कुराहरु बनिसकेका छ । तर, महत्वपूर्ण भिआईपी प्यारापिटको काम अहिले चलिरहेको छ । बुधबारबाट मात्रै भिआईपी प्यारापिटमा छानो राख्ने काम शुरु भएको छ ।

पोखरा रंगशालाको मैदानमा भारतबाट ल्याइएको दुवो राख्ने काम अहिले चलिरहेको छ। प्यारापिट पनि बनाउन थालिएको छ । यता, ललितपुरको सातदोबाटोस्थित स्वीमीङ पुलको काम भने अहिले पनि शून्य जस्तै देखिन्छ । पौडि पोखरीमा टाइल हाल्ने काम भइरहेको छ ।

स्वीमीङ पुल हेर्न जाने कसैले पनि त्यहाँ अबको १५ औं दिनमा पौडी खेल्न सक्छ भनेर विश्वास गर्ने ठाउँ छैन् । अन्तिम समयसम्म पनि यसरी काम भइरहनुले बन्दै गरेका संरचना कति बलियो र दीर्घकालीन छन् भन्ने त आशंका छ नै त्यो भन्दा पनि सागको सौन्दर्यका रुपमा रहेको पौडि त्यहाँ हुन्छ या हुँदैन भन्ने पनि अहिलेको अवस्थासम्म प्रश्न गर्ने ठाउँ छ ।

विगतमा आलटाल गरिएपनि अहिले जसरी पनि काम सक्नुपर्ने दबाब छ । यसरी हतार र दबाबका बीचमा करोडौं रकम खर्चिएर बनाइएका संरचना कति दीर्घकालीन होलान भन्ने प्रश्न सबैले गर्न थालेका छन् ।

राखेपको दाबी बाहेक त्यहाँ सागको खेल हुन्छ भनेर विश्वास गर्ने आधार अन्य कुनै छैन् । किनकी बाहिरदेखि भित्र जाने बाटोसमेत फिनिसिङ भएको छैन् । ‘इन्डोर स्वीमीङ पुल’को छानो पनि राखिएको छैन् ।

त्यतिमात्रै होइन त्यहाँ बनाउन लागिएको दर्शकदिर्घाको काम चलिरहेको छ । पौडि पोखरीको बरपरको दुई तिरको किनारामा टाइलको काम भइरकेको छ ।

बिहीबार दिउँसो नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य सातदोबाटोस्थित स्वीमीङको कार्यालय पुगेका थिए । उनीसँगै ‘हिटिङ सिस्टम’ जडित स्वीमीङ पुल अवलोकनमा पुग्दा कामदारहरु काम गरिरहेका थिए ।

निर्माणमा खटिरहेका इन्जिनियरहरु अध्यक्ष बज्राचार्य नजिकै आए । उनीहरुले काम भइरहेको जानकारी गराए । अज्राचार्यले जतिसक्दो चाँडो काम सकाउने गरिलाग्न आग्रह पनि गरे ।

लथालिङ र हतार हतार भइरहेको काममा सन्तुष्ट हुनुहुन्छ ? भनेर खबरहबले गरेको प्रश्नमा बज्राचार्यले भने,‘अब यसमा सन्तुष्ट नहुने कुरा भइन । तर, अलि अगाडि यो काम गर्न पाएको भए हुन्थ्यो ।’

स्वीमीङ पुलको भित्रपट्टी एक जत्था कामदारहरु टाइल लाउने काममा व्यस्त थिए । अर्को एक टिम दर्शकदिर्घाका सिट ‘वल्डिङ’ गरिरहेको थिए भने अर्को एक जत्था कामदारहरु ट्रसको काम गरिरहेको थिए ।

यसरी एकै ठाउँमा तीन चार टोलीले फरक–फरक काम गरिरहँदा थाहा हुन्छ अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निकै धेरै हतार भइरहेको छ । यसमा शंका छैन । अब तोकिएकै मितिमा साग हुनेछ । नेपाललाई अब साग सार्नै वा खेल नगर्ने भन्ने सुविधा छैन ।

यति मात्रै होइन्, यी संरचना जे जसरी बनेका छन् । तिनीमाथि पनि विश्वास गर्नु विकल्प नेपालीमाथि छैन । पूर्वाधार निर्माणका लागि लामो समय पाए पनि बनाउन नसकेको नेपालले पछिल्लो २ महिनामा गरेको कामको सम्मान गर्नुपर्छ । यसमा खनिएको पैसाको हिसाब किताब बिस्तारै खुल्दै जाला !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल जतिसक्दो छिटो संरचना निर्माणको काम सकिने बताउँदै आएका छन् । तर, पनि उनले पछिल्लो समय विभिन्न ‘डेट लाइन’ संरचना सम्पन्न भइसक्ने भनेर दिएका थिए । ति सबैका मिति कटिसकेका छन् ।

अब उनले उद्घाटनको दिनसम्म दशरथ रंगशालाको काम सकाउनु पर्ने जिम्मेवारी छ । तर, त्यहाँ दशरथ रंगशालाको मात्रै काम छैन । नेपाली खेलकुदको ‘हब’ राखेप प्राङ्गणको सजाउनु पनि पर्नेछ ।

‘काम दिन रात नभनी भइरहेको छ । हामी जतिसक्दो छिटो यसलाई सम्पन्न गर्ने योजनामा रहेका छौं । रातभर पनि यहाँ काम भइरहेको छ,’ सदस्य सचिव सिलवालले भने, ‘भिआईपी प्यारापिटको काम सकिएपछि हामीलाई धेरै सहज हुन्छ । म पनि निर्माणकर्ताहरुलाई छिटो सकाउन भनिरहेको छु ।’

७ दिनबाँकी रहँदा पनि भीआईपी प्यारापिटको ‘ट्रस’ (छानोको सर्पोट) राख्ने काम सकिएको छैन् । तर, ट्रस राखिसकेको ठाउँमा छानो राख्न शुरु भइसकेको छ । ‘जनरल प्यारापिट’ मा सिटहरु राखिसकिएको छ । ११ हजार सिट राखिसकेको राखेप स्रोतको दाबी छ भने अब भिआईपी प्यारापिटमा ५ हजार सिट राखिनेछ ।

यता, एथलेटिक्सको ट्रयाक तयार भइसकेको छ । ‘स्कोर बोर्ड’ तयार भइसकेको छ । फ्लड लाइट यसअघिदेखि नै संचालनमा आइसकेको छ ।

अहिलेमात्रै होइन सागको पहिलो संस्करण नेपालले आयोजना गर्दा पनि उद्घाटन खेलको अघिल्लो दिन हिलाम्मे रहेको वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारले बताए । अहिलेको अवस्थामा कसरी साग हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेमात्रै होइन । नेपालले आयोजना गरेको पहिलो सागको अघिल्लो दिन सबै विदेशी ‘डेलिगेट्स’हरु आइसकेका थिए । तर, बर्षा भयो । दशरथ रंगशाला हिलाम्मे भयो । सबैले अब भोलि तिमीहरु कसरी साग गछौं भनेर प्रश्न गरेका थिए ।’

चित्रकारले भने, ‘भोलिपल्ट मैदानभरी ‘पाल’ ओछ्याएर चिटिक्क पारेर सागको उद्घाटन गरिएको थियो । अहिले पनि त्यस्तै, अवस्था छ । साग हुन त हुन्छ तर, यसरी गरेर साग गर्नकै लागि गरेको जस्तो हुनेछ ।’

सागको अर्को मुख्य खेल स्थल हो, पोखरा रंगशाला । त्यहाँ अहिले दुवो राख्ने र प्यारापिट बनाउने काम चलिरहेको छ । त्यसलाई पनि जतिसक्दो छिटो सकाउने लक्ष्यमा राखेप रहेको छ । पोखरामा महिला फुटबल हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ५९ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती