समायोजनको सकसले स्वास्थ्य सेवाका कर्मचारीलाई सास्ती, मन्त्री भाषणमै मस्त ! | Khabarhub Khabarhub

समायोजनको सकसले स्वास्थ्य सेवाका कर्मचारीलाई सास्ती, मन्त्री भाषणमै मस्त !


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दुई महिनाभन्दा बढी भयो, स्वास्थ्य मन्त्रालय धाएको । दशैं अघि चिठी बन्छ भनेको थियो, त्यतिबेला भएन । दशैंपछि बन्छ भने, टिकाको भोलिपल्टै काठमाडौं आएर मन्त्रालय नै धाइरहेँ । अब फेरि तिहार पछि बन्छ भन्छन् ।’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा रहेका एक कर्मचारीले गुनासो पोखे ।

‘समयोजनको पत्र बनाएर हातमा थमाउन ५ मिनेट लाग्छ, मन्त्रालयले त्यही कामको लागि १५–२० जना कर्मचारी पनि राखेका छन् । जसले पैसा दिन खोज्यो, जो आर्थिक चलखेलमा सरिक भयो, उनीहरुको गुनासो सुनुवाइ भएको छ,’ नाम उल्लेख नगर्न आग्रह गर्दै एक कर्मचारीले खबरहबसँग भने, ‘जसले सहि तरिकाले गुनासो गर्छ, उसलाई प्रशासनिक कारण देखाएर अलमलाइएको छ ।’

समायोजन अघि जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत उनलाई समायोजन पछि एक तह तलको पदमा समायोजन गरियो । ती कर्मचारीले स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पटक–पटक गुनासो दिए । मन्त्रालयका कर्मचारीहरुसँग धेरै पटक आफ्नो समस्या पनि राखे ।

तर आफ्नो गुनासोसँग स्वास्थ्य मन्त्रालयकै कर्मचारीले घुमाउरो पारामा बार्गेनिङ गर्न खाजेको उनले बताए । आफूले घुस दिन नमानेकै कारण आफ्नो समायोजन रोकिएको उनको गुनासो छ ।

‘मेरो गुनसोमा कुन प्रक्रिया पुगेन ? हाम्रो कमजोरी छ भने त्यसलाई सुधारेर ल्याउँछौं, सबैकुरा ठिक छ भने हाम्रो समायोजन किन रोकियो ? भनेर सोधेँ,’ उनले खबरहबसँग भने, ‘हामीले विना कारण किन पैसा दिने भरेर विरोध गर्दा अरु पनि भड्कियो भनेर हाम्रो काम ढिला गरिदिए ।’

समायोजन पछि गुनासो सम्बोधनको नाममा स्वास्थ्य मन्त्रालयभित्र आर्थिक चलखेलको खेती शुरु भएको उनको दाबी छ ।

‘पछिल्लो पटक गुनासो सुनुवाइ भनेर बिजनेस गरिएको छ, गुनासो भन्दै मान्छेसँग रकम लिएका छन्,’ उनले खबरहबसँग भने, ‘प्रतिव्यक्ति ५० हजार दिएको छ, जसले पैसा तिरेको छ, त्यसलाई भित्र गोप्यरुपमा लगेर समायोजनको चिठी दिएर पठाउने गरेका छन्, जसले पैसा दिएको छैन उनीहरुको समस्या समाधान भएको छैन ।’

स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै स्वास्थ्यक्षेत्रका कर्मचारीको समस्या सम्बोधन गर्न नसकेकोमा उनले आक्रोश पोखे ।

‘स्वास्थ्य मन्त्रालयभित्र बस्ने सरकारी कर्मचारीले स्वास्थ्य सेवामा काम गर्ने अर्को कर्मचारीकै समस्या बुझ्दैन भने उनीहरुले कसरी आफूलाई राष्ट्रसेवक कर्मचारी भनेर गर्व महशुस गर्छन् ?,’उनले प्रश्न गरे, ‘कर्मचारी समायोजनको समस्याका कारण काम छोडेर मन्त्रालय धाइरहेका छन् । गाउँका बिरामीले स्वास्थ्य सेवा पाएका छैनन् । मन्त्रालयका कर्मचारीले के काम गरेर बसेका छन् ?’

मन्त्रालयको बगैंचामा सेतै फुलेको कपला र बुढौंली अनुहारका एक वृद्ध पनि टोलाउँदै थिए । चितवनका कृष्ण प्रसाद पौडेल थिए उनी । स्वास्थ्य सेवामै काम गरेर अवकाश पाइसकेका पौडेल ५३ वर्षीया पत्नी पुतली शर्मा पौडेलको समायोजनको गुनासो लिएर दैनिक मन्त्रालय धाउँदै आएका छन् उनी ।

‘मेरो मिसेसले २४ वर्ष भयो जागिर खाएको, २० वर्ष दुर्गममा बसिन्, अहिले समायोजन पछि स्थानीय ठाउँमा समयोजन हुँन्छ भनेर खुसी थियौं,’ पौडेलले गुनासो पोखे, ‘ समायोजनले त ५३ वर्षकी पत्निको समयोजन ८,९ वटा डाडा काटेर ९ घण्टा हिडेर पुग्नुपर्ने ठाउँमा पुर्‍याइदियो । त्यसैले मैले ४ पटक निवेदन दिए, त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन ।’

स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धी गुनासो स्वास्थ्य मन्त्रालयले हेर्न थालेपछि झनै समस्या बढेको उनको तर्क छ ।

उनले भने, ‘पहिला सामान्य प्रशासन मन्त्रालयले समयोजन गर्‍यो, भएन भनेर फेरि स्वास्थ्यले गर्‍यो । स्वास्थ्य मन्त्रालयले समायोजनको काम गर्दा सुधार्ला भनेको झनै डामाडोल बनायो ।’

सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका कर्मचारी भन्दा अगाडि स्वास्थ्यसेवाका अन्य कर्मचारी आइपुग्छन् ।
सरकारले कर्मचारीहरुको समायोजन प्रक्रिया शुरु गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीहरु विभिन्न किसिमका समस्या लिएर मन्त्रालय धाउने गरेका छन् ।

कार्यक्षेत्र नै छाडेर मन्त्रालय आइरहेका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले न सम्झाउन सकेको छ न त उनीहरुको समस्या समाधान गर्न सकेको छ ।

मन्त्रालयभित्र समायोजनको समस्या लिएर धाउने कर्मचारीहरु कोही बगैचामा झुलिरहेका हुन्छन्, कोही सुतिरहेका हुन्छन् । कोही मन्त्रालयभित्रै अन्यौल बनिरहेका हुन्छन् । स्वास्थ्यक्षेत्रका कर्मचारीहरुको यस्तो दैनिकी शुरु भएको २, ३ महिना भइसकेको छ ।

बुधबार दिउँसो मन्त्रालयबाहिर कर्मचारीहरु समायोजनको अन्यौलतामा रहेपनि मन्त्रालय भित्र भने मधेसी स्वास्थ्यकर्मी फोरमको शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेको थियो ।

स्वास्थ्य मन्त्रालय परिसरमा गुनासो र चिन्ता लिएर बसिरहेका कर्मचारीलाई नजरअन्दाज गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, स्वास्थ्य सचिव खगराज बराल, मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ भने तिहार र छटको शुभकामना कार्यक्रममा भाषण गर्न व्यस्त थिए ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समायोजनको गुनासो लिएर मन्त्रालय धाएका कर्मचारीप्रति लक्षित गर्दै स्वास्थ्य मन्त्रालय आउँदा मेला हेर्न आएजस्तो लागेको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।

‘स्वास्थ्य मन्त्रालयमा आउँदा जहिले पनि मेला देख्न पाइन्छ, मेला हेर्न बाहिर जानु पर्दैन, हाम्रो स्वास्थ्य मन्त्रालयमा जहिले पनि मेला, भिडभाड भइरहने भएकाले सधैँ चाडपर्व हो कि जस्तो लाग्छ,’ स्वास्थ्य मन्त्री यादवले हाँस्दै भने, ‘पहिला परराष्ट्र मन्त्रालयमा हुँदा त मान्छे नै भेट हुँदैन थियो, यहाँ त जहिले पनि भिडभाड हुन्छ, त्यसबाट व्यक्तिगत रुपमा मलाई त फाइदा नै भएको छ । देशको स्वास्थ्य सेवाबारे बसीबसी थाहा पाउछु ।’

उनले कार्मचारीहरु आउँदा आफुलाई फाइदा भएको भन्दै समायोजनको समस्याको दोष भने सामान्य प्रशासन मन्त्रालयमाथि थोपरेका थिए ।
उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयले बुझिदिएको भए समस्या आउने थिएन, समायोजन ऐन बनाउँदा ध्यान दिएको भए अहिले समस्या हुँदैन थियो ।’

समायोजनको गुनासोले आफूले अन्य कार्य नै गर्न नपाएको समेत मन्त्री यादवले तर्क गरे ।

‘समायोजनको कहानीलाई अन्तिम एपिसोडको रुपमा लिएर समाप्त पारेर आ–आफ्नो कार्यक्षेत्रमा जाने उपाय गर्नुपर्छ, मन्त्रालयमा आएर यस्तो काम गरौला भनेर सोचेर आएको हुन्छु, यहाँ सबै विर्सन्छु, चारैतिरबाट स्वास्थ्यकर्मी नै स्वास्थ्यकर्मी हुन्छन्,’ मन्त्री यादवले भने, ‘समायोजनको समस्याले मन्त्रालयमा अन्य केही काम गर्न पाएको छैन, यसमा यहाँहरुले पनि सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री यादवले तिहारपछि मात्रै समायोजनको समस्या समाधान हुने भन्दै तिहार मनाउन घर फर्किन कर्मचारीलाई आग्रह गरे ।

‘आशा लिएर जानुस् स्वास्थ्य मन्त्रालयबाट सम्भव भएसम्मको समाधान हामी गर्छौं, सबै कर्मचारीको गुनासोको एक–एक कपी मसँग छ,’ स्वास्थ्यराज्य मन्त्री यादवले भने, ‘तपाईहरु ढुक्क भएर आजै काठमाडौं छोडेर दिपावलीको तयारी गर्नुस्, घर फर्किनुस्, तपाईको समायोजनको चिठ्ठी बने भने म जानकारी गराउँछु ।’

दोष सामान्य प्रशासनलाई

कर्मचारी समायोजनको प्रक्रियागत गत पुस ९ गतेबाट शुरु भएको थियो । समायोजन प्रक्रिया शुरु भएको १० महिना बित्दा पनि स्वास्थ्यक्षेत्रका केही कर्मचारीहरुमा समायोजनको अन्यौलता हटेको छैन ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समयोजनमा समस्या आउनुको कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लगाउँदै आएको छ ।

‘स्वस्थ्यका कर्मचारीको समायोजन पहिला नै स्वास्थ्यले गर्न पाएको भए समस्या हुँदैन थियो, सामान्यबाट सूची निस्किएपछि स्वास्थ्यको समायोजन भद्रगोल भयो, एक तिहाइ कर्मचारीले गुनासो दर्ता गरे,’ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘सामान्यले गुनासो हामी हेर्छौं भन्यो, सोहीअनुरुप पत्र आयो । तर, समस्या समाधान भएन, हामीकहाँ पनि एक तिहाई गुनासो आयो हामीले अहिले त्यही समाधान गर्दैछौं ।’

स्वास्थ्यका कर्मचारीको गुनासो सुनुवाइका लागि स्वास्थ्य मन्त्रालयले ८ जना कर्मचारी खटाएर काम गरीरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । मन्त्रालयमा ७ हजार गुनासो आएकोमध्ये एक हजारको गुनासो सम्बोधन भएको र बाँकी निदेवनहरुको अध्ययन भइरहेको उनले बताए ।

‘हामीले ७ हजार गुनासो मध्ये एक हजारको समस्या समाधान गरीसकेका छौं, ती गुनासोहरुमा पनि आधी जति त सम्बोधन गर्न नसकिने खालका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘धेरैजस्तो गुनासो पद अनुसार दरवन्दी नभएको, पूर्व घर भएको कर्मचारी पश्चिम, पश्चिम घर भएको कर्मचारी पूर्वमा समयोजनमा परेको गुनासोहरु छन्, त्यो संघीय मन्त्रालयबाटै भएको गल्ती हो, त्यो गल्तीको दुःख अहिले हामीले झेलिरहेका छौं ।’

खाली ठाउँमा करारबाट पदपूर्ति

प्रवक्ता श्रेष्ठले समायोजनको क्रममा हिमाली तथा पहाडी क्षेत्रका विकट गाउँमा कर्मचारी अभाव भएकाले त्यहा करारमा कर्मचारी राखेर पदपूर्ति गरिने बताए ।

‘समायोजनमा सबैले आफ्नो घर पायक रोज्दा कतिपय ठाउमा अस्पताल, स्वास्थ्य संस्था स्वास्थ्यकर्मी विहीन भएका छन्, त्यहाँ सेवा प्रवाहमा समस्या भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले करारमा कर्मचारी व्यवस्थापन गर्न मन्त्रिपरिषद्मा माग गरेका छौं ।’

मन्त्रालयले ग्रामीण हिमाली र पहाडी क्षेत्रमा कर्मचारी अभाव भएको र शहरी क्षेत्रमा दरवन्दी भन्दा बढी भएको बताए पनि कहाँ बढी भयो र कहाँ अभाव भयो भन्ने एकिन तथ्यांक नभएको जनाएको छ ।

मन्त्रालयले अनुमानकै भरमा समायोजन, गुनासो सम्बोधन र करारमा कर्मचारी व्यवस्थापनमा लागेको छ ।

कर्मचारी समायोजन प्रक्रियापछि गुनासो लिएर मन्त्रालय धाउनेहरु स्वास्थ्य मन्त्रालयभित्र आर्थिक चलखेल भएको आरोप लगाउछन् । तर मन्त्रालयका प्रवक्ता श्रेष्ठ भने उक्त आरोप गलत भएको बताउँछन् ।

‘हामीसँग आएका निवेदनहरुको प्राथमिकताका आधारमा सम्बोधनको प्रयास गरीरहेका छौं, समायोजनमा घुस लेनदेन भएको छैन, यो गलत कुरा हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले पनि यो विषयमा छानविन गरिरहेका छौं, मलाई लाग्छ यो दलालहरुको काम हुनसक्छ, त्यो दलालहरु पत्ता लाग्यो भने स्वास्थ्य मन्त्रालयले यथोचित कारवाही गर्छ ।’

उनले भने, ‘हाम्रो समायोजनको टोली त्यस्तो कुनै कुरामा सरिक छैन, हामीले प्राथमिकताको आधारमा गरीरहेका छौं ।’

समायोजन टुंगिन समय लाग्ने

समायोजनको त्रुटी शुरुमै भएको भन्दै प्रवक्ता श्रेष्ठले स्वास्थ्यका कर्मचारीको समस्या टुंगिन अझै समय लाग्ने बताए ।

‘स्वास्थ्यका कर्मचारीको समायोजनको समस्या सच्याउन धेरै समय लाग्छ, हामीले आजभोलि नै मिलाउन सकिने एक हजारलाई पत्र दियौं, यसले गर्दा सबै कर्मचारी मन्त्रालयमै धाउन थाले, यसले गर्दा हामीलाई प्रेसर भयो, त्यसैले स्वास्थ्य मन्त्रालयमा मेला जस्तो भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले हरेकको जवाफ दिन्छौं, तर यसको लागि समय त लाग्छ ।’

 

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : ३४ बजे

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर