आलम प्रकरण– राजनीतिमा अपराध र अपराधमा राजनीतिको परिणाम

रविराज थापा

बुधबार, कार्तिक ६, २०७६

Reading Time: 6 minutes

आलम प्रकरण– राजनीतिमा अपराध र अपराधमा राजनीतिको परिणाम

बुढापुरानाले भन्ने गर्थै ’बाह्र वर्षमा खोला नि फर्कन्छ“ रे । आज यो उक्तिमा सत्यता देखिँदैछ ।

२०६२–६३को १९ दिने दोश्रो जन आन्दोलनको सफलता पछि नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, एमालेका र मधेशवादी दलका शीर्षनेताहरुले आफुले आफैलाई व्दितिय विश्व–युद्ध बिजेता रुजभेल्ट चर्चिल र स्टालिन जस्ता ठान्न थाले ।

उनीहरुलाई त्यहाँसम्म पुग्न सघाउने सफल विदेशीहरुमा पनि ठुलै हर्षोल्लास देखियो । वास्तबमा भन्ने हो भने यो त , नेपाली जनताको आन्दोलन र नेपालको आफ्नै आन्तरिक मामिला मात्र थियो ।

विदेशीहरु यसमा किन त्यत्तिको उत्ताउला भएका थिए र उनीहरुलाई सघाउने किन यति धेरै आतुर थिए भन्ने कुरा त देशमा धर्मनिरपेक्ष र गणतन्त्र घोषणा भए पछि मात्र जनताले थाहा पाए । नेपाली जनताले के मागेका थिए र के पाए ? त्यो आज नेपालको इतिहासले देखाउँदैछ ।

त्यसबेला विश्वको आँखा पनि नेपालमा नै केन्द्रीत थियो । त्यस बेला कृष्ण सिटौला र इयान मार्टिन जस्ता सकुनीहरुले बखुबीका साथ आप्नो भूमिका निभाएका थिए ।

आन्दोलनताका संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय मानव अधिकारको भेषमा नेपाल पसेका इयान मार्टीन अनमिन बाहिरिंदा त्यसको प्रमुख थिए । संयुक्त राष्ट्रका स्यामुएल टाम्राट धेरै पटक नेपाल आए, उनले पनि ईयान मार्टिनलाई जँगलमा भित्र बसेर सशस्त्र क्रान्ती गर्ने र सहरमा बसी विनाहतियारका क्रान्ती गर्नेलाई मिलाएर नेपाललाई स्वर्गतुल्य बनाइदिने सपना बाँड्न कुनै कसर बाँकी राखेनन् ।

दोश्रो जनआन्दोलनको १२ वर्ष पूरा भएको छ । आन्दोलनपछि देश र जनाताका आधारभूत कुराहरुमा पार्टीहरु गम्भीर देखिने अनुमानहरु गरिएको थियो तर अहिले पार्टीमा बिचलन देखिन थालेको छ । आज सत्ताका लागि अति नै लुछाचुँडि हुन थालेको छ ।

सबैलाई चित्त बुझ्ने गरी कहिल्यै भाग पुगेन, यो स्वाभाविक पनि थियो । अपराधमा राजनीति घुस्यो अनि राजनीतिमा अपराध । अपराधी नेता बन्न थाले नेता अपराधी बन्दै धमाधम खोरमा जाकिन थाले ।

वर्तमान नेपालको आर्थिक, सामजिक र राजनैतिक परिदृष्य अनौठो लाग्न थालेको छ । दुईतिहाइ बहुमतको शक्तिशाली सरकारको व्यबस्थापिका का सभामुख, जो पूर्व उप—प्रधानमन्त्री तथा पूर्वग्रृहमन्त्री पनि हुन्, उनी आज महिला कर्मचारी माथि बलात्कारको काण्डमा थुनामा छानविनको दायरामा छन् र प्रहरी हिरासतमा रहेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्रीसमेत बनिसकेका नेता चुनावमा बुथ कब्जागर्न जनता तर्साउन बनाउँदै गरेको बम पड्केर घाइते भएका आफ्नै कार्यकर्तालाई जिउँदै इँट्टाभट्टामा जलाएर खरानी बनाएको मुद्दा खेप्दै पुलिसको कठघरामा दिन कटदैछन् । यता कोही टिकापुरमा डिउटीको पुलिसलाई भाला घोपेर, मट्टितेल खन्याएर मार्ने उद्योगमा थुनिएका छन् भने पटक पटक जेल परेका गुण्डा नाइके भनिने व्यक्ति जनताका प्रतिनिधिभएर प्रदेशसभाको शपथ खाँदै देश निर्माणको खाका कोर्दैछन् ।

विगत आश्विन १३ गते सभामुख महरालाई बलात्कारको आरोप लगाइएको भिडियो सार्वजनिक भयो । नेपाल प्रहरीले बलात्कार जस्तो संगिन मुद्दामा पीडितको तत्काल चिकित्सकद्वारा परीक्षण गर्नु पर्नेमा पुलिस पनि जाहेरी दरखास्त र सरकारको आदेश पर्खेर समय गुमायो । अब आज आएर त्यस्तो संगिन मुद्दामा पहिले बलात्कारको कुरा बलात्कारको प्रयास हुँदै अहिले पीडितले आफुलाई मनोबैज्ञानिक र मानशिक दबाबमा प्रहरीमा बलात्कारको उजुरी दिएको भन्ने सम्मको अवस्था आइपुगेको छ ।

आज त डिप्रेसनमा परेकी जाहेरवाला झन मानशिक रोगी बन्ने अवस्थामा पुगेको देखिन्छ । यसरी नेपालको राजनीति र अपराधको माखेसांग्लो मा अपराध अनुसन्धान मा खटिएका अनुसन्धान अधिकृतहरु समेत मानशिक तनावले डिप्रेशनमा जाने अवस्था देखिन थालेको छ ।

यसबाट आफु बलात्कारको आरोपबाट बच्नको लागी पीडितलाई नै मगज ठेगानामा नभएको पागल करार गराउने नियत हुन पनि सक्छ । यता फेरि नेकपाबाट चुनिएका सभामुखको मुद्दा नसेलाउँदै कांग्रेसका संसद् अफताव आलमको अपराधको बारे घर घरमा चर्चा हुन थालेको छ ।
यस्तो जटिलो अनुसन्धानमा यस्ता चाम्रा कसुरदारहरु आफुले जतिनै अमानवीय, पाशबिक र जघन्य हत्या गरे पनि मैले गरेँ वा म कशुरदार हुँ भनेर मरे पनि भन्दैनन् ।

यहि कुरा १२ बर्ष अघि २३ जनालाई लठ्ठिने सुई लगाएर ईटा भट्टामा जिउँदै पोल्नेले “घटनै भएको छैन“ भन्ने अफताफ आलमको भनाइमा आश्चर्य मान्नु पर्ने कुनै कुरै छैन् । संगठित अपराधिक प्रवृत्ति भएकाहरुबाट कहिल्यै पनि “म तस्कर हुँ, ज्यानमारा हुँ, म बलात्कारी हुँ “ भनेर स्वीकारोक्ति आउला भन्ने आशा गर्न सकिन्न।

कोलम्बियाका नामुद कोकाईन सम्राट पाब्लो एस्कोबरले पनि कहिल्यै आफुले आफैलाई अपराधी देखेनन् ।

नेपालमा जस्तै उनी पनि सांसद थिए, धनी थिए, प्रभावसाली पनि थिए। उनले पनि राज्य शक्तिलाई आफ्नो मुठ्ठीभित्र र कब्जामा राख्न सफल भएका थिए ।

उनले पनि हजारौ जनता, न्यायाधीश, पत्रकार, पुलिसलाई मार्दा पनि मैले अपराध गरेँ, अपराधी हुँ भनेर स्विकार गरेनन् । अफपताफ आलमले जम्मा २३ जना स्थानीय दिनहीन दुखी गरिबलाई ईट्टा भट्टामा पोलेर मारेको कुरा १२ बर्ष पछि आएर मैले गरेको हुँ भन्लान् भन्ने आशा गर्नु मुर्खता हो ।

यस्ता अपराधीहरुलाई अपराध शास्त्रले “पश्चातापहीन अपराधी“ (रिमोर्सलेस क्रिमिनल) भन्ने गर्छ जो अपराधी हुनु र आपराध गर्नमा नै बढी गर्व गर्छन् । यीनिहरुमा हिनताको भावना पनि कहिल्यै आउँदैन्। यो कुरा अफताफ को हाउभाउ र कटाक्षले पनि देखाउँदै छ ।

ढाँटेको कुरा जती लुकाउन खोजे पनि लुकदैन । नेपाली काग्रेसबाट पूर्व प्रधानमन्त्री र गृहमन्त्रीले मुद्दा सुरु हुन नपाउँदै आलमको रक्षार्थ बोलीहाले । जुन आज आएर प्रत्युत्पादक हुन पुगेको छ । त्यस्तै पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले मलाई रिपोर्ट भएको थिएन भन्नुले अफताफ आलमको जिकिरलाई समेत अप्ठेरोमा पारिदिएको छ ।

आज नेपालमा देखिन थालेको यस्ता खाले अपराधिक प्रवृत्ति हावी रहेसम्मस दण्डहिनता, भ्रष्टचार, र राजनैतिक संरक्षणमा सत्ताको सर्बोच्च शिखरमा पुग्ने प्रवृत्तिको बर्चश्व रहेसम्म कुनै पनि आपराधी र अपराध समुहले सँधै आफुलाई अजर, अमर र अविजेय ठानिनै रहन्छन् । आजको अलताफ आलमको “घटना भएकै थिएन“ भन्ने उदगार त्यसैको प्रत्यक्ष प्रमाण हो । आज त्यस्ता शक्तिशाली अपराधीहरुको पृष्ठपोषण र प्रतिरक्षा गर्नु उपल्लो तहका शीर्ष नेताहरुको कमजोरी र बाध्यता बनिसकेको छ, चाहेर होस वा नचाहेर ।

अन्त्यमा, अब आत्मालोचना गर्ने वेला आएको छ । मानव अधिकारवादी,कांग्रेस र कम्युनिष्टहरु आज कता छन् ? सरकारले गठन गरेको राष्ट्रिय मानव अधिकार आयोग के गर्दै छ ? अब यस्तो दण्डहिन र अराजक कुरामा डटेर वोल्न नसक्ने यस्ता निकाएहरुको अस्तित्व मै प्रश्न गर्ने वेला आएको छ ।

वोल्न नसक्ने निकाएका पदाधिकारीहरुले कि त राजिनामा दिनु पर्यो कि त कडा रुपले प्रश्तुत हुनुपर्यो । बढदै गइहेको हत्या, हिंसा, बलात्कार जस्तो घृणित तथा जघन्य अपराधको खाली आड्डामा बसेर असहमति र बिरोधको प्रेस विज्ञप्ति छपाउँदै सरकारले दिएको मन्त्रीस्तरिय मान र तलब थापेर बस्न नैतिकताले नदेला । आज गेरुवश्त्रधारी देखि दारिवाल, दौरासुरुवाल र टाइशुट मानव अधिकारवादीहरु सबैले नकाब लगाएर हिँडने बेला आएको देखिएको छ ।

भर्खर

0