डीपीएल क्रिकेटको त्यो ‘क्याच’ जसले भीमलाई चर्चामा पुर्‍यायो | Khabarhub Khabarhub

डीपीएल क्रिकेटको त्यो ‘क्याच’ जसले भीमलाई चर्चामा पुर्‍यायो



काठमाडौं– माघ २९ गते धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको थियो । त्यही प्रतियोगितामा भएको एक क्षणले नेपाली क्रिकेट तथा क्रिकेट प्रशंसकको ध्यान धनगढी तर्फ तानेको थियो । खेल १—४—१ देखि ४—२२—२ को अवस्थामा थियो । ५ औं ओभरका लागि रुपन्देही च्यालेन्जर्सबाट कृष्ण कार्की बलिङमा आए । क्रिजमा थिए, विराटनगरका असद पथान । कार्कीको पहिलो बल डट रह्यो ।

दोस्रो बलमा पथानले लामो सर्ट प्रहार गर्र्दै ६ रन बटुले । तेस्रो बल पथानले पुन डट खेले । कार्कीले चौथो बल फाले पथानले लामो सर्ट प्रहार गर्न खोजे । तर, बल ब्याटको सही ठाउँमा लाग्न सकेन । ब्याटस्म्यानले प्रहार गरेको बललाई फिल्डिङमा रहेका रुपन्देहीका फिल्ल्डरले केही परबाट दौडदै आएर डाइभ हान्दै उत्कृष्ट बचाउ गरे ।

उक्त क्याचको चर्चा र प्रशंसा सामाजिक सञ्जालमार्फत् विश्व भर नै भयो । क्याच लिएका थिए, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्की उर्फ ‘जोन्टी’ ले ।

उनले बाउन्ड्री लाइनबाट दौडिदैं आएर डाइभ हान्दै उत्कृष्ट बचाउ गरे । जुन क्याच रुपन्देही च्यालेन्जर्सको जितका लागि निर्णायक बन्यो । १६ रनमा खेलिरहेका पथान विराटनगरका लागि दोस्रो धेरै रन बनाउने ब्याट्सम्यान बने । तर, रुपन्देहीसँग विराटनगर ५ विकेटले पराजित भयो ।
भीम सार्कीको उक्त क्याच भइरहँदा मैदानमै बसेर विश्व क्रिकेटको फिल्डिङ बादशाहको उपनामले चर्चीत व्यक्तित्व दक्षिण अफ्रिका पूर्व क्रिकेटर जोन्टी रोड्सले पनि भीमको क्याच प्रत्यक्ष देखे ।

जोन्टीले ट्वीटरमा भिडियो सेयर गर्दै भीमको प्रशंसा गरे । उनले “क्याच मात्रै होइन । तिव्र गतिमा अगाडि बढेर डाइभ गर्दै बल समाते । तर, उनी बालुवामा लड्न पुगे,” भन्दै ताली दिए ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि भिडियो सेयर गर्दै भीमको प्रशंसा गरे ।

“पारस दाइ ज्ञानेन्द्र दाइहरुले बधाई दिनुभयो । सबैले राम्रो भयो भनी प्रशंसा गर्दा खुसी लाग्छ । तर, पनि हाम्रो काम नै फिल्डिङ गर्ने हो,” भीमले अगाडि भने,“ जहिले पनि आफूले राम्रो गर्न सक्दा आफ्नै लागि अझै राम्रो गर्ने हौसला बन्छ ।”

क्याचपछि टिम कप्तान वसन्त रेग्मीले ‘बबाल’ क्याच समात्यौं भनेको भीमले सुनाए । विदेशी खेलाडी क्रिजमा हुँदा जुनसुकै विपक्षी टिमका लागि खतरा हुन्छ । तर, त्यहीँ खेलाडीलाई पवेलियन फर्काउँन सक्दा रुपन्देहीलाई जितका लागि सहज भने पक्कै भएको थियो ।

भीमको उक्त क्याच डीपीएलमा अहिलेसम्मको सबैभन्दा बढी चर्चा भएको क्षण हो । उक्त क्याचलाई पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा यु—१९ राष्ट्रिय टोली तथा राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले अहिलेसम्मका प्रतियोगितामध्येकै सबैभन्दा उत्कृष्ट क्याच भन्दै भीमको खुलेर प्रशंसा गरे ।

उनले भने,“भीम धेरै राम्रो फिल्डर हुन् । पहिले देखि नै सबैले उनलाई जोन्टी भन्दै आइरहेका छन् । यु—१९ मा पनि राम्रो प्रदर्शन गरेका थिए । यो क्याच अहिलेसम्मका प्रतियोगितामै उत्कृष्ट क्याचको क्रेडिट उनलाई दिनु पर्छ ।”

भीमबाट ‘जोन्टी’

आज भन्दा ५—६ वर्ष अगाडि एक युवा कञ्चनपुर क्रिकेट एकेडेमी (केसीए) महेन्द्रनगरमा प्राय सधंै गइरहन्थ्यो । त्यही केटो (भीम) अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाउन सफल भइसकेको छ । रहरले नै क्रिकेट सिकेको भीमले बताए । विगत सम्झदैं उनी भन्छन्, ‘क्रिकेट नै करियर बन्ला चाँही सोचेको थिइन् ।’

विस्तारै उनमा क्रिकेट सिक्ने जोश आयो । घरायशी कुराले केही असर गरेपनि उनले घरको काम र क्रिकेटका लागि समय व्यवस्थापन गरे ।

“एकेडेमी मैदान बरीपरी हुन्थें । बल आयो भने बल फाल्थे । केही दिन त्यस्तै, चल्यो । तर, एकदिन एकेडेमीका चन्द्र साउद (दाइ) ले बोलाउनुभयो ।

भाइ क्रिकेट खेल्ने हो ? खेल्ने भए भोलिदेखि स्पोट्स सुज र ट्याक लगाएर आउनु पैसा लाग्दैन । भन्नुभयो,” भीमले खबरहबसँग भने,“त्यसपछि विस्तारै नियमित अभ्यासका लागि एकेडेमी जान थाले । सुरुमा फिल्डिङका लागि थर्ड लाइनमा राख्नुभयो । त्यहाँ फिल्डिङ राम्रो गरें । त्यसपछि पोइन्टमा पनि लगाउनु हुन्थ्यो । त्यहाँ पनि फिल्डिङ राम्रो गरे पछि चन्द्र दाईले नै ‘जोन्टी’ नाम राखिदिनु भयो ।”

चन्द्र साउद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् । तर, उनले राखिदिएको जोन्टी नामबारे भीम आफै अनविज्ञ थिए । पछि उनै चन्द्र दाइले भीमलाई जोन्टी को हुन् भनेर सुनाए । त्यति महान व्यक्तिको नाम आफूले पाउँदा खुसी भएको भीमको भनाइ छ ।

विश्व क्रिकेटमा फिल्डिङका वादशाह जोन्टी रोड्सको बारेमा भन्नुभयो ।

“चन्द्र दाईले मेरो फिल्डिङ राम्रो भएकै कारण मलाई जोन्टी नामले सम्बोधन गर्नु भएको थियो । पछि सबैले ‘जोन्टी’ ‘जोन्टी’ भन्न थाले,” भीमले भने ।

कञ्चनपुर एकेडेमीको ‘उत्पादन’

त्यसोत भीमको क्रिकेट यात्रा पनि छोटो छैन । उनले १२ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न सुरु गरिसकेका थिए । तर, ती प्रतियोगिता अहिलेका जस्ता व्यवसायिक प्रतियोगिताहरु थिएनन् । स्कूलले आयोजना गर्ने अन्तरविद्यालय स्तरिय प्रतियोगिताहरु हुन्थे । त्यस्ता कतिपय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भीमले आफूलाई क्रिकेटमा परिपक्क बनाउँदै ल्याए ।

पछि भीमले क्रिकेट खेल्न एकेडेमी जानुपर्छ भन्ने सोचे । स्कूले प्रतियोगिताबाट आफूमा निखारता ल्याएपनि व्यवसायिक प्रतियोगिता खेल्न योजनावद्द रुपमा मैदान उत्रनु पर्ने बुझे । २०६८ सालमा कञ्चनपुर क्रिकेट एकेडेमी (केसीए) पुगे । जहाँ वीरेन्द्र शाहीले प्रशिक्षण दिन्छन् ।
पहिले पनि उनले राष्ट्रिय टोलीका खेलाडीहरु विनोद भण्डारी, प्रदिप ऐरी र नरेशबुढाऐर बारे जानेका थिए । घरेलु प्रपितयोगितामा उनीहरुको शसक्त प्रदर्शनले भीमलाई पनि लोभ्याइरहन्थ्यो ।

“नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा कप्तान पारस खड्काको समर्थन गर्थे । तर, घरेलु प्रतियोगितामा प्रदीप ऐरी, विनोद भण्डारी र नरेश बुढाऐरको समर्थन गर्थे,” उनले अगाडि भने,“हामीले महेन्द्रनगरमा देखेका र उहाँहरुकै खेल हेरेर क्रिकेटमा लागेकाले पनि होला , घरेलु प्रतियोगितामा त्यतिबेला विनोद दाइको फ्यान थिएँ ।”

‘पसल र क्रिकेटका लागि समय व्यवस्थापन गरे’

भीम सानो हुँदा नै आमा गुमाए । पछि हजुर आमा र बुबासँगै हुर्किए । चार दाजुभाइ मध्ये भीम माहिला हुन् । गाउँमा बुबाले पसल चलाएका थिए । पहिलो काम स्कुल त्यसपछि पसल कुर्नु पर्ने उनको दैनिकी थियो । जेठा दाजु पनि क्रिकेटर भएकाले भीमलाई क्रिकेटमा छिर्न सहज भएपनि घरमा आर्थिक समस्या थियो ।

“दाइ क्षेत्रीय प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो । उहाँ एकपटक यु—१९ राष्ट्रिय टोलीमा पनि पर्नु भएको थियो । तर, परीक्षाका कारणले खेल्न पाउनु भएन ।” दाइले नै क्रिकेटका लागि आफ्नो प्रेरणा भएको बताउँदै भीमले थपे,“अझै धेरै मेहनत गर्नु पर्छ, राम्रो खेल भन्नुहुन्छ । दाइले जहिले पनि तैले राम्रो खेल्दा आफुलाई गर्र्व महसुस हुन्छ भन्ने गरेका छन् ।”

भीमले दाइ विदेश गएपछि कान्छो भाइलाई पसलको जिम्मा लगाएर आफू व्यवसायिक क्रिकेटमा लागेको बताए ।

बुबाको त्यो खुसीको क्षण

२०६८—०६९ सालमा भीम यु—१६ इन्टर स्कूल प्रतियोगितामा क्षेत्र नम्बर ६ वैतडीको टिममा थिए । भीम आबद्ध टोली वैतडीले उक्त प्रतियागिताको फाइनलमा विपक्षी भैरहवालाई पराजित गरेको थियो । जुन प्रतियोगितामा भीम १५ विकेटसहित ‘वेष्ट बलर’ भएको बताए । “बुबाले प्रतियोगितामा वेष्ट बलर भएको पत्रिकामा नाम देखेपछि खुसी हुनु भएको थियो,” भीमले भने,“त्यसपछि बुबाले क्रिकेट खेल्न कहिलै रोक लगाउनु भएन । सधै मेहनत गर्न सुझाव दिनुभयो ।”

डेब्यु हुने आशा थियो

जनवरी २५ देखि फ्रेब्रुअरी ३ सम्म युएईमा उसैको घरेलु मैदानमा नेपालले समान तीन एकदिवसिय र ट्वान्टी—२० अन्तराष्ट्रिय शृङ्खला खेलेको थियो । त्यसमा पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा अटाएका युवा खेलाडी भीमको पनि यूएईमा डेब्यु हुने अनुमान कतिपयले गरेका थिए ।
राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले पनि यूएईविरुद्धको ट्वान्टी२० शृङ्खला खेल्न जानु अगाडि युवा खेलाडीहरु सन्दीप जोरा, अभिनास बोहरा र भीम सार्की ट्वान्टी—२० मा डेब्यु हुने संकेत गरेका थिए । तर, जोरा र बोहराको डेब्यु भएपनि भीमको डेब्यु हुनसकेन् ।

“हामीले शृङ्खला जित्यौं । भ्रमण सुखद् रह्यो । तर, वेञ्चमा बस्दा अरुले राम्रो गर्न नसक्दा त्यो ठाउँमा म भएको भए राम्रो गर्थेकी भन्ने मनमा हुँदो रहेछ,” भीमले अगाडि थपे,“डेब्यु हुन्छ जस्तो लागेको थियो । तर, अब अहिलेको भन्दा ७५ प्रतिशत बढी मेहनत गर्नु पर्छ । त्यो सकेजति मेहनत गर्छु ।

उनकै लाइनमा यु—१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासपनि भीमले अझै मेहनत गर्नु पर्ने र उनी उत्कृष्ट फिल्डर भएको स्वीकारेका छन् । “टिममा परे तर, प्लेइङ ११ मा ठाउँ बनाउन सकेका छैनन् । उनले आफुले राम्रो मेहनत गरिरहेका छन् । ब्याटिङ र फिल्डिङ सबै राम्रो गरिरहेका छन् । सिनीयर टोलीको प्लेइङ ११ मा छिट्टै नै अवसर पाउन सक्छन्,”प्रशिक्षक दासले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ४० बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना