भोजराजको संघर्ष– चार तलाबाट खसेर अशक्त भएपनि रोकिएन कर्म

पुष्कर खतिवडा

शनिबार, फाल्गुन ११, २०७५

Reading Time: 4 minutes

भोजराजको संघर्ष– चार तलाबाट खसेर अशक्त भएपनि रोकिएन कर्म

व्यस्त कोटेश्वर चोकको सडक पेटीमा एक व्यक्ति फागुनको चिसोमासमेत ह्विल चियरमा बसिरहेका भेटिन्छन् । हातमा केही थान इयरफोन, चार्जर र मास्क बोकेका उनको सामुन्नेमा तौल नाप्ने मेसिन छ । छेउमा केही पानीका बोतल गुटखा, खैनी र पान परागका प्याकेटहरु पनि देखिन्छन् ।

उनी हुन्, सर्लाहीको बर्दिबासअन्तर्गतको रानीगञ्जा स्थायी घर भएका ३९ वर्षीय भोजराज कार्की । कोटेश्वर छेउको नरेफाँटमा डेरा गरी बस्दै आएका कार्की सानैमा बुवा–आमा बितेपछि १९ वर्षको उमेरमा काठमाडौं छिरेका थिए ।

औपचारिक अध्ययनका नाममा उनले ३ कक्षासम्म पढेका छन् । अक्षर चिन्न सक्ने उनका लागि ‘धेरै पढेर पढेर ठूलो मान्छे बन्ने सपना’ सपनामै सीमित रह्यो ।

संघर्षका शुरुवाती दिनमा उनले काठमाडौंसँग ठूलै लडाइँ लडे । दिनभर काठमाडौंसँग लडेर साँझ हातमुख जोर्न पाउँदा उनी आफूले ‘युद्ध जिते’जस्तै ठान्ठे । तर, ९ वर्ष अगाडि भएको एक घटनाले उनी अहिले युद्धमा घाइते भएका ‘सिपाही’जस्तै बनेका छन् ।

काम गर्दागर्दै लडेर उनको पिठ्यूँको हड्डी (स्पाइनल कर्ड) भाँच्चियो । त्यसयता उनको दैनिकी कोटेश्वरको चोकमा वित्न थालेको छ । कोटेश्वरमा बस्दा बस्दै उनले धेरै माघ काटिसके । धेरै जेठको गर्मी र साउनको झरी सहिसके ।

भोजराजकी श्रीमती तिर्थमाया कार्की काठमाडौंमा दिनभरी ज्यामी काम गर्छिन् । तिर्थमाया बिहान ११ बजे श्रीमानलाई कोटेश्वरमा ल्याइदिएर काममा जाने गर्छन्

ढाडको उपचार गर्न लाखौं रुपैयाँ खर्च गरे । तर, आधुनिक प्रविधियुक्त उपचारले उनको ढाड ठडिएन । बरु, घाइते ढाडमाथि उपचारमा लागेको खर्च ठूलो बोझ बनेर बसिदियो । त्यहि बोझ बोक्दै भोजराज अहिले कोटेश्वर चोक धाइरहेका छन् ।

“प्लम्बरको काम गर्दा चार तलामाथिबाट लडें, जीवन जिउन सिकाउने काठमाडौंले मलाई चोट पनि दियोे” उनले विगत सम्झिए । उपचारमा निकै खर्च लागेको उनले बताए । जोहो गरेर राखेको पैसाले नपुगेर उनले उपचारका लागि त्यो बेला १ लाख ७० हजार ऋण लिएका रहेछन् । “अझै ३०/४० हजार ऋण तीर्न बाँकी नै छ, दैव लाग्यो हजुर ऋण तिर्न नसकुन्जेल पिरोल्दो रहेछ” करुणा मिसिएको आवाजमा उनले पीडा सुनाए ।

भोजराजकी श्रीमती तिर्थमाया कार्की काठमाडौंमा दिनभरी ज्यामी काम गर्छिन् । तिर्थमाया बिहान ११ बजे श्रीमानलाई कोटेश्वरमा ल्याइदिएर काममा जाने गर्छन् । सबै सामाग्री श्रीमतीले नै ल्याइदिने भएकाले उनलाई काम गर्न हलुको रहेछ । दिनभरी छोराछोरी पनि स्कूल जाने भएकाले घरमा एक्लै बस्नु भन्दा उनले कोटेश्वरमा तौल नाप्ने मेसिन राखेर सानो ब्यवसाय सुरु गरेका छन् । फुटपाथमा ब्यवसाय गर्नेलाई प्रहरी र नगर प्रहरीले ज्यादती गरेको सुनेको भएपनि उनले भोग्नु परेको छैन ।

उनकोमा तौल नाप्ने आउनेहरु प्राय केटाहरु हुन्छन् । “प्राय जसो मेरो ग्राहक भनेको केटा मानिसहरु नै हुन्, उनीहरुलाई मोटो भएकोमा बढी चिन्ता हुन्छ” उनले अनुभव सुनाए । भोजराज तौल गरेको १० रुपैयाँ र पानीको २० रुपैयाँ लिने गरेका छन् । अरु सामाग्रि पसलको भाउ अनुसार नै छ । दिनमा औसत ४ सय ५ सयसम्म बिक्री गर्ने उनको ब्यवसायलाई मौसमले असर पार्दाे रहेछ । “पानी परेको बेला फर्केर जानुपर्छ, धेरै जाडो भएको दिन बस्न सकिँदैन” उनले ब्यापारको चुनौती सुनाए । “कहिले कहीँ केही जड्याहाहरु तौल गरेर पनि पैसा नदिई जान्छन्, आफू यस्तो छु, दौडेर गएर पक्रन सक्दिन” उनले अपांग हुँदाको कमजोरी एकै शब्दले बयान गरे ।

कुराकानीका बीचमा उनलाई एकजनाले २५ रुपैयाँ सहयोग गरे, उनले मुस्काउदै भने “कहिलेकाहि यसरी सानो सहयोग पनि आउँछ तर मलाई खासै लिन मन लाग्दैन” उनले माग्न मन नलाग्नुको अर्थ बुझाए । मन्दिर वा मेलामा मागेर बस्ने अपांगहरु उनलाई मन पर्दैन । “माग्न लाज हुन्छ, लोकको डर भन्दा पनि भोलि देउतालाई पनि मुख देखाउनु छ, शरीरको एक दुई अगं पो चल्दैन बाँकी त सङ्ग्लै छ नि हजुर ! ”

हाल टिचिङ अस्पतालमा उपचार गराइरहेका भोजराजलाई पिसाब थैली, किड्नी र प्रेसरको समस्याले थप पिरोलेको छ । “हिड्डुल गर्न सक्दिन, खुट्टाको औला चलको छैन झन्, प्रेसर, किड्नी र पिसाब थैलिको समस्या थपियो” उनले स्वास्थको समस्या राखे । महिनामा १५ सयको औषधि सेवन गर्ने उनलाई अनामनगरमा रहेको अपा‌गसंघले ह्विल चेयर किनिदिएको छ । तौल नाप्ने मेसिन पनि एक मनकारीले सहयोग गरेका हुन् । ढाडको हड्डि भाँचिएपछि कुनै रमाइला कार्यक्रममा भाग नलिएका उनले ९ बर्षयता घुमघाम, पिकनिक गएका छैनन् । उनले अन्तिम पटक हलमा गई हामी तीन भाइ नामक चलचित्र हेरेका रहेछन् ।

४ सन्तान मध्येका माहिला उनी छोरामा जेठा हुन् । उनीहरुका १ छोरा १ छोरी छन् । दुबै जना बोर्डिङ स्कूलमा पढ्छन् । नरेफाँटमा भाडाको एउटा कोठामा जिबिका चलाउ“दै आएका उनले मासिक चार हजार तिरिरहेका छन् ।

भर्खर

0