सिङ्गापुरको चामत्कारिक विकासका योजनाकार ‘ली कुआन यू’ बाट नेपालले के सिक्ने ? « Khabarhub
Logo
३ असार २०७८, बिहीबार

सिङ्गापुरको चामत्कारिक विकासका योजनाकार ‘ली कुआन यू’ बाट नेपालले के सिक्ने ?



लामो समयको राजनीतिक संक्रमण अन्य हुँदै देशमा दुई तिहाइको सरकार गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थकता दिलाउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ । तर सरकारको एक वर्षे गतिविधिले भने यो अभियानलाई पुष्टि गर्ने आधार नदेखिएको भन्दै जनतामा निराशा छाएको छ ।

प्रधानमन्त्री ओलीले जनतालाई समृद्धिको सपना देखाएर विभिन्न कार्यक्रमहरुको घोषणा गरिरहेका छन् । ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, नेपालको पानी जनताको लगानी, पानीजहाज कार्यालय, रेलमार्गको घोषणा लगायतका विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

समृद्धिको कुरा गर्दा नेपालमा चर्चा हुने मुलुक हो सिङ्गापुर, विभिन्न दलका नेताहरुले भाषणा गर्दा सिङ्गापुरको उदारण दिँदै नेपालले पनि छोटो समयमै सिङ्गापुरकोजस्तो समृद्धि ल्याउने बताउँदै आएका छन् । त्यसमा पनि प्रधानमन्त्री केपी ओलीले बेलाबखतमा सिंगापुरको प्रगतीसँग नेपालाई तुलना गर्दै आउने गरेका छन् र आधुनिक सिंगापुरका निर्माता ली कुआन यूको प्रशंसा गर्ने गरेका छन् । उनीबाट ओली प्रभावित भएको टिप्पणीपनि हुने गरेको छ ।

आखिर के हो त सिङ्गापुरको समृद्धिको कहानी ? अनी को हुन् त सिङ्गापुरलाई समृद्ध दिलाउने नेता भनिएका ली कुआन यू ?

सिङ्गापुरको इतिहास

सन् १९६३ मा बेलायतबाट तथा १९६५ मा मलेशियाबाट स्वतन्त्रता पाएको सिङ्गापुर त्यतिबेला माछा मारेर खाने माझीहरुको ‘दरिद्र गाउँ’ले भरिएको थियो । त्यतिबेला सिङ्गापुरका १६ लाख जनसङ्ख्यामध्ये करिब १५ लाख जनसङ्ख्या गरीबीको निकृष्ट अवस्थामा थिए । गरीबी, अशिक्षा, बेरोजगारीको जर्जर अवस्थामा थियो ।

यस्तो अवस्थाको सिङ्गापुर ५ दशकपछि यस्तो सम्पन्न हुन्छ भनेर सायदै कसैले कल्पना गरेका थिए होलान् । तर, सिङ्गापुर एउटै पुस्तामा तेश्रो विश्वबाट पहिलो विश्वमा आफूलाई परिवर्तन गर्न सफल भयो । यसको सम्पूर्ण श्रेय मुलुकका पहिलो तथा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका नेता ली कुआन यूलाई जाने गर्छ । सन् १९२३ मा जन्मेका लीले सन् १९५९ मा सिङ्गापुर बेलायतबाट स्वतन्त्रता पाउनुअघिदेखि सन् १९९० सम्म सिङ्गापुरको नेतृत्व सम्हालेका थिए ।

सन् १९५० को दशकसम्म बेलायती राजसंस्थाको अधिनमा उपनिवेशका रुपमा रहेको सिङ्गापुरमा बेलायतको नौसैनिक उपस्थिती थियो । बेलायतको प्रतिनिधिका रुपमा त्यहाँ गभर्नरको नेतृत्वमा सरकार गठन हुने गर्थ्यो भने संसद् वा व्यवस्थापिकाका रुपमा संसद शैलीको परिषद् थियो । संसद्मा सिङ्गापुरका धनाढ्य व्यापारीको सहभागिता रहने गर्थ्यो ।

बेलायतमा कानूनको अध्ययन गरी अधवक्ताका रुपमा कार्यरत रहेका ली त्यसबेलादेखि मूलधारको राजनीतिमा प्रवेश गरेका थिए । उनले केही वामपन्थी तथा कम्युनिष्टलाई सामेल गराएर पिपुल्स एक्सन पार्टी ‘पीएपी’ नामक राजनीतिक दल गठन गरेका थिए । पछि सन् १९५५ मा भएको चुनावमा उनको दलले व्यवस्थापिकाको २३ सिटमध्ये केबल ३ सिट जित्यो ।

तर, त्यसलगत्तै स्वशासनको माग गर्दै वार्ताका लागि बेलायत पुगेको सिङ्गापुरे प्रतिनिधिमण्डलमा ली सहभागी भए । यद्यपि त्यो प्रतिनिधिमण्डलले त्यो वार्ताबाट स्वशासन दिलाउन सकेन ।

सन् १९५८ मा लीले बेलायती कमनवेल्थको अधिनमा रही स्वशासनका लागि पुनः वार्ताको प्रयास गर्यो । नयाँ संविधान अनुसार सन् १९५९ मा भएको चुनावमा लीको पार्टीले भारी बहुमत ल्याएपछि उनी सिङ्गापुरको पहिलो प्रधानमन्त्री बन्न पुगे ।

सन् १९६३ मा बेलायती राजसंस्था अन्तर्गत रहीआएको सिङ्गापुरको औपनिवेशिक हैसियत खारेज गर्दै उनले सिङ्गापुरलाई तत्कालिन समयमा संघीय शैलीमा रहेको मलेशियामा विलय गराए ।

तर, त्यसलगत्तै चिनियाँ मूलका सिङ्गापुरे र स्थानीय मले जातीय समुदायबीच हिंसा मच्चिएपछि लीले मलेशियाको संघबाट सिङ्गापुरलाई सार्वभौमसम्पन्न मुलुकको घोषणा गर्न भूमिका खेले । त्यसपछि सन् १९६६ पछि विभिन्न असन्तुष्टि व्यक्त गर्दै तत्कालिन समयमा सिङ्गापुरको सबैभन्दा ठूलो विपक्षी दल बरिसान सोसलिजले सिङ्गापुरका चुनाव बहिष्कार गरेपछि पीएपीले खुला रुपमा मुलुकको शासन चलाउन थाल्यो ।
त्यसपछि सिङ्गापुरमा क्रान्तिकारी परिवर्तनको लहर चल्यो ।

खुला बजार

तत्कालिन समयमा त्यस क्षेत्रका सबैभन्दा शक्तिशाली दुई मुलुकहरु साम्यवादी चीन र सन् ६० को दशकमा इण्डोनेशियामा बढ्दै गएको साम्यवादविरोधी गतिविधिको चेपुवामा सिंगापुर पर्‍याे । त्यसपछि सिङ्गापुर लीले खुला बजारलाई आत्मसात गर्ने कदम चाले ।

उनले सिङ्गापुरलाई व्यापार, प्रविधि तथा प्रतिभाको आकर्षणको केन्द्र बनाउन विदेशी लगानीलाई क्रमशः खुला गर्दै लगे । उनले सिङ्गापुरलाई तीब्र गतिमा औद्योगीकरणको दिशामा अघि बढाए । त्यसका लागि उनले सिङ्गापुरमा सानो तथा पारदर्शी कर प्रणालीको नीति अघि सारे । उनले त्यहाँ श्रमिकको हितलाई ध्यानमा राखेर लगानीकर्तालाई पनि उत्तिकै लाभ मिल्नेगरी विभिन्न कानूनको व्यवस्था गरे ।

त्यहाँ अझै पनि ट्रेड युनियनले प्रदर्शन तथा हड्ताल गर्न नपाइने कानून छ । यसले एकातिर लगानीकर्ताको लगानी पनि सुरक्षित भयो भने अर्कोतर्फ श्रमिकको पनि हित हुनगयो । सिङ्गापुर मात्रै होइन चीनलाई पनि खुला बजारमा सहभागी बनाउनका लागि उनले ३७ वर्षमा ३३ पटक चीनको भ्रमण गरेका थिए । चीनले सिङ्गापुरको शैलीमा आफ्नो मुलुकको विकासका लागि खुला बजार अर्थतन्त्र अपनाएको बताइन्छ ।

बहुसाँस्कृतिक केन्द्र

बहुसङ्ख्यक चिनियाँ जातीको बसोबास रहेको सिङ्गापुरमा जातीय तथा धार्मिक कलह उत्पन्न भएमा सिङ्गापुर धेरै समय अस्तित्वमा रहन नसक्ने देखेर उनले सिङ्गापुरमा बसोबास गर्दै आएका अन्य अल्पसङ्ख्यक जातिहरु मले तथा तामिल जातीलाई पनि समान अधिकार दिने तथा उनीहरुको भाषा तथा सँस्कृतिलाई राष्ट्रिय मान्यता दिने उनको नीतिलाई पनि सिङ्गापुरको विकास तथा समृद्धको आधार मान्ने गरिन्छ ।

सिङ्गापुरमा बसोबास गर्दै आएका सबै जातीलाई एकताबद्ध गर्नका लागि लीले सिङ्गापुरमा अङ्ग्रेजी भाषलाई दैनिक जनजीवनमा प्रयोग हुने भाषाको दर्जा समेत दिए । अङ्ग्रेजीलाई राष्ट्रिय भाषाको दर्जा दिएपछि सिङ्गापुरमा विदेशी लगानी, प्रतिभा तथा पर्यटकको आकर्षण पनि बढ्दै गयो ।

जनमुखी कार्यक्रम

लीले हाउजिङ एण्ड डेभलोपमेन्ट बोर्डको गठन गरी घरवारविहीन सिङ्गापुरे जनतलाई आवासको प्रबन्ध मिलाइदिएका थिए भने विभिन्न विश्वविद्यालय, अस्पताल तथा अन्य जनमुखी कार्यक्रम लागू गरेका थिए । यसबाट लीको लोकप्रियतासँगै सिङ्गापुरे जनताको जीवनस्तर पनि माथि उठ्दै गयो ।

प्रतिभालाई प्राथमिकता

मेरिटोक्रेसी अर्थात् व्यक्तिलाई भन्दा प्रतिभालाई महत्व दिने लीको नीति सिङ्गापुरको समृद्धिको अर्को आधार हो । जुनसुकै सामाजिक, धार्मिक वा साँस्कृतिक पृष्ठभूमिबाट आएको जस्तोसुकै प्रतिभालाई प्रोत्साहन दिने लीको नीति सिङ्गापुर समृद्ध हुनुको महत्त्वपूर्ण कारण मानिन्छ । उनले सार्वजनिक शिक्षालाई उच्चस्तरीय बनाएर सबैको पहुँचमा पुर्‍याए । सिङ्गापुरले अझै पनि वौद्धिक सम्पत्तिलाई उच्च प्राथमिकता दिने गरेको छ ।
अनुशासन 

सिङ्गापुरको शासन तानाशाही शैलीको रहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना पनि हुने गरेको छ । त्यहाँ विभिन्न अनुशासनसम्बन्धी कानूनहरु पनि रहेको छ । सिङ्गापुरको दैनिक जीवनमा अनुशासनलाई निकै महत्व दिने गरिन्छ । सार्वजनिक नियमको सामान्य उल्लङ्घन गरेमा मात्रै पनि त्यहाँ ठूलो मूल्य चुकाउनु पर्छ र कारवाहीको भागिदार हुनुपर्छ ।

सानो सरकार

सिङ्गापुरको सरकारमा व्यावसायिक किसिमका मानिसहरुको सहभागिता छ । सरकार पनि सानो तथा छरितो छ । सिङ्गापुरको सरकारमा जम्मा १६ मन्त्रालयहरु छन् । त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरुलाई धेरै नै ठूलो रकम तलबका रुपमा दिने गरिन्छ । व्यावसायिक तवरबाट सरकार चल्न थालेपछि त्यहाँ सरकारको कार्य चुस्त तथा दिगो हुने गरेको छ ।

व्यापारिक संभावनाको खोजी

लीले विश्वको सबैभन्दा धेरै व्यापारिक पानीजहाज आवतजावत गर्ने क्षेत्र मलाक्काको स्ट्रेटमा रहेको सिङ्गापुरले यसैबाट आर्थिक सम्पन्नताको आधार मानेर उनले सिङ्गापुरको बन्दरगाहलाई आधुनिकीकरण गरे । त्यसबाट सिङ्गापुरले मलाक्काको स्ट्रेट भएर जाने पानीजहाजको माध्यमबाट पनि आर्थिक लाभ लिन थाल्यो । सिङ्गापुरको बन्दरगाह अझै पनि विश्वको सबैभन्दा व्यस्त बन्दरगाह मानिन्छ ।

लीका यस्ता नीति तथा कार्यक्रमको कठोर कार्यान्वयन तथा पालना पछि सिङ्गापुरले क्रान्तिकारी स्तरमा आर्थिक विकास गर्न थाल्यो । सन् १९९० मा लीले प्रधानमन्त्रीबाट राजीनामा दिँदासम्म सिङ्गापुर विश्वमा समृद्धिको नमूना रुपमा स्थापना भइसकेको थियो ।

सन् १९९० सम्म सिङ्गापुर एशियामा जापानपछिको दोश्रो ठूलो आर्थिक केन्द्रको रुपमा विकास भएको थियो भने त्यतिबेला सिङ्गापुरको कुल ग्राहस्थ उत्पादन ३६ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो । साक्षारता ९० प्रतिशत माथि थियो । यसरी ली कुआन यूको नेतृत्वमा सिङ्गापुर ३७ वर्षको अवधिमै दरिद्र तेश्रो विश्वको मुलुकबाट पहिलो विश्वको मुलुकमा गणना भइसकेको थियो ।

नेपालले के सिक्ने ?

जहानीया राणा शासनको अत्य गर्दै नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो । सिङ्गापुर भन्दा १४ वर्ष अघि प्रजातन्त्र आएको नेपालको अवस्था अहिले पनि जर्जर रहेको छ । प्रजातन्त्र आएको ६ दशक भइसक्दा पनि नेपालको विकास हुन सकेको छैन ।

राजनीतिक अस्थिरता, ९/९ महिनामा हुने सरकार परिवर्तनका कारण देशका विकास हुन नसकेको र सिङ्गापुरका लि कुआन यू जस्तै नेताको आवश्यकता नेपालमा रहेको चर्चा हुने गरेको छ । अहिले पाँच वर्षका लागि जनताले चुनेको पार्टीले सरकार हाँकिरहँदा देश विकास र सवृद्धिमा ली कुवान् यू ले चालेको कदमबाट नेपाली नेता र देश चलाउनेहरुले पनि केही पाठ सिक्ने हो भने छोटो अवधिमै नेपालले समृद्धि हासिल गर्न सक्छ कि ?


भर्खर

0