'मधेस आन्दोलनका क्रममा जब मलाई गोली हानियो' | Khabarhub Khabarhub

‘मधेस आन्दोलनका क्रममा जब मलाई गोली हानियो’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृष्णराज वर्मा

मैले आफ्नो सक्रिय राजनीतिक जीवनका ६७ वर्षभित्र झन्नै चालीस वर्ष मधेसका जनतामाझ सेवा गर्दै तिनको सरसहयोगमा नै बिताएको छु ।

२००७ सालको जनक्रान्ति लगत्तै २००८ सालको अनिकालमा असार महिनामा सप्तरीको बेल्हीचपेनाका जमिनदार विश्वराज जोशीको भकारी खोलेर तीन सय मन धान जबर्जस्ती त्यहाँका जनतालाई बाँड्ने घटनाबाट मेरो राजनीतिक जीवन शुरु भएको थियो । केवल किसानहरुका हितको आन्दोलनमा मैले पाँच वर्षभन्दा बढी त जेल सजाय नै भोगेँ । फेरि मैले २०१७ सालमा दुई वर्ष र २०४२ सालमा पाँच महिना जेलजीवन बिताएँ ।

मधेस आन्दोलन शुरु भएपछि म एक दिन राजविराजको हाटमा तरकारी किन्न गएका बेला एउटी तरकारी बेच्ने कुजर्नी बूढीले के भनिन् भने ‘बौवा, आब त तोरा सबके राज चल गेलौ । आब हम सब राज करबौँ (अब तिमीहरु पहाडेको राज गयो । अब हामी राज गर्दछौँ) ।’ म एकछिन त छक्क परेर ती बूढीको मुखमा हेरेको हेर्‍यै भएँ ।

मैले तिनको गाउँमा पटकपटक गएर भाषण पनि गरेको थिएँ । तिनले मलाई चिन्दथिन् । तिनमा समय परिवर्तनले भएको चेतनाको सञ्चारबाट म चकित भएँ । तिनी मधेसी नभएर मुसलमान थिइन् । उनका कानभरि चाँदीका मुन्द्रा थिए । त्यसको केही महिनापछिको कुरा हो । एक दिन म राजविराजमा आफ्नो घर खर्साल टोलबाट बजारतिर जाँदै थिएँ । एक्कासि एकजना व्यक्ति सडकमा जोडले कराइरहेको देखेँ । त्यस होहल्लाबाट बच्न भनेर म छेउ लागेर हिँडिरहेको थिएँ ।

एक्कासि पछाडिबाट त्यही व्यक्तिले मेरो कमिज समातेर तान्दै ‘तु पहाडिया छि कि मधेसी ?’ भनेर सोध्यो । म त अक्क न बक्क परें । उसको मुखबाट रक्सीको गन्ध आइरहेकोले म कुनै पनि जवाफ नदिई कमिजको फेर फुत्त तानेर हिँडेँ । म अगाडि गएर सोच्न थालेँ– ‘सायद यो सचेतनाको बिल्कुलै अर्को नयाँ मापदण्ड हुनुपर्छ ।’ अब बाटामा भेटिने हरेक बटुवालाई ‘तँ मधेसी होस् कि होइनस् ?’ भनेर सोधिने भयो ।

यस घटनाको केही क्षणपछि नै मैले राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक त्रिपुरारी शरणजीलाई सुनाएँ । उहाँ पनि आश्चर्यचकित हुनुभयो । मलाई लाग्यो कि फेरि किन मसँग आज यस्तो प्रश्न सोधियो । मेरो सिङ्गो युवावस्था यी मधेसी जनता र अझ भनूँ भने अहिलेको दुई नम्बर प्रदेशका पाँच जिल्ला र सिन्धुलीको कमला नदीको खोँच तथा उदयपुरको त्रियुगा नदीको खोँचसम्मका जनताको सेवामा नै बितेको थियो ।

त्यस घटनाको वर्ष दिन नबित्दै २०६५ साल वैशाख १८ गते राति आठ बजेतिर कसैले मेरो कोठाको ढोकाको पर्दा यसो हटाएर मलाई पुलुक्क हेर्‍यो । उसले टाउको मात्र देखाएको थियो । मैले के भो भनेर सोधेँ । उसले त्यसको जवाफ दिनुको साटो एक्कासि मतिर पेस्तोल सोझ्याएर ड्याम्म गोली हान्यो । म सोझै उसलाई समात्न दौडेँ । मलाई गोली लागेको छ भन्ने थाहा नै भएन ।

एकैचोटि बरन्डामा पुग्दा छातीभरि रगत देखेपछि मात्र मलाई गोली लागेको भान भयो । गोली कहाँ लागेको छ भन्ने पनि तत्काल थाहा भएन । छ घण्टापछि धरान अस्पतालमा पुर्‍याई एमआरआई गरेपछि मात्र थाहा भयो कि मेरो छातीमा गोली लागेको रहेछ । अलिकति माथि लागेको भए मुटु नै छियाछिया हुने थियो तर संयोगले बाँचेँछु । जनतान्त्रिक तराई मुक्तिमोर्चाले मलाई गोली हानेको भन्ने वक्तव्य प्रेसमा आएको सुनेँ तर सो बयान पूरापूर झुटो थियो । म फेरि पनि सोच्न थालेँ कि अब मधेस आन्दोलनमा यस्ता विकृति आउन सक्ने सम्भावना बढेछ ।

मैले फेरि पछि जयकृष्ण गोइतलाई फोन गरेर सोधेँ, ‘के तिमीले मलाई कसले गोली हान्यो होला, त्यति पत्ता लगाएर सहयोग गर्न सक्छौ ?’ उनले उल्टो मलाई सोधे–‘यो पत्ता लगाएर के तपाईँ उसलाई सजाय गराउन चाहनुहुन्छ ? सौभाग्यवश तपाईँ त बाँच्नुभयो नि ।’ मैले उनलाई यति मात्र भनेँ– मेरो मनसाय कसैलाई सजाय दिलाउने होइन । केवल म त यो जान्न चाहन्थेँ–केका लागि मलाई त्यस व्यक्तिले सजाय दिन चाहन्थ्यो । फेरि हाम्रो वार्ता यस सम्बन्धमा कहिल्यै पनि भएन । त्यस अवधिमा मलाई मुटुको रोग भएकाले राजनीतिमा त्यति सक्रिय पनि थिइनँ र मलाई गोली हान्नु नै पर्ने कुनै कारण पनि थिएन । मैले सोचेँ– मधेसी आन्दोलन त अब निकै उचाइमा आइसकेछ ।

त्यस अवधिपछि जनकपुर क्याम्पसका प्राध्यापक विजयकुमार दत्तले छमहिने भारतीय नाकाबन्दीपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रतिवेदनको हवाला दिँदै आफ्नो लेखमा २०६३/६४ देखि २०७२/७३ को अवधिभित्र सप्तरीमा ६२.५८ प्रतिशत, सिराहामा ४९.६४ प्रतिशत, धनुषामा ५९.०९ प्रतिशत, महोत्तरीमा ५५.१७ प्रतिशत, सर्लाहीमा ४५.५३ प्रतिशत, रौतहटमा ५५.०३ प्रतिशत, बारा ६८.२९ प्रतिशत र पर्सामा ७५.१३ प्रतिशत बसाइँसराइ भएको उल्लेख गरेका छन् ।

२ त्यसै मात्रामा पहाडे मूलका छिमेकीहरुलाई कौडीको मोलमा घरजग्गा बिक्री गराई भगाउने र गैरनागरिकहरुलाई रातारात नागरिकता दिलाएर नेपाली बनाउने काम भए भन्ने ज्वलन्त विषयहरु पनि उल्लेख गरेका छन् । यसले मधेसी आन्दोलनको चरित्रलाई बुझ्न निकै मद्दत गर्दछ ।

सङ्घीय गणतान्त्रिक समावेशी संविधान जारी भएपछि छमहिने भारतीय नाकाबन्दीको समयमा मधेसी आन्दोलनमा देखापरेको उतारचढाव स्थानीय तहको निर्वाचनको सुरुवातपछि केही मत्थर हुँदै गएको थियो । दुई चरणको निर्वाचनमा यस आन्दोलनका केही घटकहरु निर्वाचनमा पनि सहभागी भए र संविधान संशोधनको प्रस्ताव सदनबाट अस्वीकृत भएपछि सहभागी नभएका अन्य मधेसी सङ्गठनहरु पनि निर्वाचनमा सहभागी बन्न पुगे । तर यसको अर्थ तिनले आफ्नो आन्दोलन फिर्ता लिए भन्ने कदापि होइन ।

आज पनि ती उग्र सोचविचारका साथ मधेसको राजनीतिमा हाबी नै छन् । सिङ्गो मधेस अलग र स्वायत्त राज्य हुनुपर्छ भन्ने सोचका साथ यसको प्राप्तिका लागि हतियार नै उठाउनुपर्छ भन्ने धारणा राख्नेहरु पनि छन् । तर आज यस आन्दोलनमा मधेसी बौद्धिक युवाहरुमा मध्यमार्गीहरुको सङ्ख्या र प्रभाव बढ्दो छ । फेरि पनि यी मध्यमार्गीहरु पुरातन सोच राख्नेहरुबाट राजनीतिक रुपमा अलग हुन भने सकेका छैनन् । यसका पछाडि रहेका ती सबै उग्र धारणा, भ्रम, आक्रोश तथा प्रायोजित सोचहरुका प्रभाव आम रुपमा अझै छन् ।

यो दुई दशकभित्र गहिरो रुपमा खलबलिन पुगेको जातीय सद्भाव पुनः कायम गर्न हामीले आफ्नो राष्ट्रिय जनतान्त्रिक आन्दोलनको गहिरो ढङ्गले चिरफार गर्नुपर्ने आवश्यकता छ । हामीले जातीय सद्भाव बिथोल्ने ती सब अवस्थाहरु र माथि उल्लेख गरिएका ती सब अवधारणाका कारणहरुलाई छुट्याउन सक्नुपरेको छ, जो बिस्तारै हामीमा विभेदपूर्ण सोचाइका कारणहरु बन्न पुगेका छन् । यसका पछाडि रहेका प्रायोजित शक्तिहरुलाई पनि हामीले नङ्ग्याउनुपरेको छ, जसले विभिन्न जातीय समुदायलाई आफ्ना स्वार्थका लागि उपयोग गरिरहेका छन् । यस क्रममा हामी सर्वप्रथम राज्यका रुपमा नेपालको उदय र राष्ट्रका रुपमा यसको विकासका प्रश्नलाई लिऔँ ।

(पुराना बामपन्थी नेता वर्माको चाँडै बजारमा आउन लागेको पुस्तक ‘मधेस र मधेसी आन्दोलन’बाट)

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन