रेशम चौधरीको विडम्बना : जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो | Khabarhub Khabarhub

रेशम चौधरीको विडम्बना : जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन। तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो। कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए। यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि शुरु भएको खबर नयाँ पत्रिकामा खबर छ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो। बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो। चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि यसबारे चर्चा सुरु भएको थियो। यो चरम अमानवीय व्यवहार भएको भन्दै जेल र प्रहरी प्रशासनको आलोचना भएको थियो। प्रहरी अधिकारीहरूले भने चौधरी भाग्न सक्ने कारण देखाएर नेल लगाइएको बताएका छन्।

चौधरीलाई जेलरको आदेशमा नेल लगाइएको प्रहरी अधिकारीहरूले बताएका छन्। डिल्लीबजार कारागारमा जेलर अर्जुन पोखरेल कार्यरत छन्। स्रोतका अनुसार चौधरी भाग्न सक्ने भन्दै जेल प्रशासनले नै उनलाई अस्पतालमा समेत नेल लगाउने निर्णय गरेको थियो। तर, यो विषय प्रहरीको अधिकार क्षेत्रमा पर्ने भन्दै पोखरेल पन्छिए। प्रहरीले नै सुरक्षा अवस्था हेरेर नेल वा हत्कडी लगाउनेबारे निर्णय गर्ने उनले बताए।

कारागार नियमावली, २०२० को दफा ७ मा जेलबाट भागेको, भाग्ने प्रयास गरेको वा कारागारसम्बन्धी अपराध गरेको कैदीबाहेक अन्यलाई नेल हत्कडी नलगाइने उल्लेख छ। बाटोमा हुँदा हत्कडी लगाउनैपर्ने प्रावधान छ। तर, अस्पतालमा हुँदा मानवअधिकारको दृष्टिकोणले पनि हत्कडी लगाउन मिल्दैन। तर, सुरक्षामा पाँच प्रहरी खटिए पनि चौधरीलाई नियमावलीविपरीत नेल लगाइएको थियो।

स्रोतका अनुसार पछिल्लो समय अस्पतालबाट कैदी भाग्ने क्रम बढेपछि सामान्य कैदीबन्दीलाई समेत नेल लगाउन थालिएको छ। प्रहरीले ड्युटीमा ख्याल नगर्दा कैदी भाग्ने गर्छन्। यस्तोमा प्रहरी अधिकारीको जागिर नै जान्छ। सुरक्षामा खटिएका प्रहरीहरूले ड्युटीमा ध्यान नदिएकै कारण धेरैपटक कैदी भागेपछि उनीहरूलाई जागिरबाट हटाइएका घटना छन्। प्रहरीले आफ्नो जागिर जोगाउनकै लागि यसरी अनावश्यक रूपमा मानवअधिकार हनन गर्ने गरेका छन्।

गृह मन्त्रालयले डिल्लीबाजर कारागारका जेलर अर्जुन पोखरेललाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी गरेको छ। त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि छानबिन थालिसकेको छ। दोषी प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षत्रीले बताए। डिल्लीबजार कारागारमा इन्स्पेक्टर पुरुषोत्तम थपलियाको नेतृत्वमा प्रहरी खटिएको छ।

शनिबार साँझ वीर अस्पतालको क्याबिन नं. ५ मा रेशम चौधरीलाई भेट्दा दिसापिसाव गर्दा नेल खोलिदेउ भन्दा पनि नमानेको बताएका छन् । उनले भने, ‘अहिले नेल लगाएको तस्बिर सार्वजनिक भएपछि धेरै चर्चा भएको छ, तर मैले पाएको मानसिक यातनाको कुनै हिसाब छैन। म एउटा नागरिक हुँ र जनप्रतिनिधि हुँ। जनताले जिताएका छन् र सभामुखले शपथ खुवाएका छन्। तर, एउटा जनप्रतिनिधिलाई जेलमा राखिएको छ, नेल लगाइएको छ र दिसा–पिसाब गर्न जाँदा नेल खोलिदेऊ भनेर याचना गर्नुपरेको छ। यो सम्पूर्ण जनप्रतिनिधि र जनताको मतमाथि गरिएको अविश्वास हो। ‘

उनले भने, ‘मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ। तर, उनीहरूले ‘ह्या ! ठोकिदिऊँ, यो को हो र ? जाबो कैदी त हो’ भनेर नेल लगाए। ‘ उनले बाबुराम भट्टराईले गरेको ट्वीटले नेल हटेको बताए । चौधरीले भने, ‘बाबुराम (भट्टराई)जी आउनुभयो, उहाँले तस्बिरसहित ट्विट गरिदिनुभयो। त्यसले एउटा जनमत बनायो। अहिले नेल हटाइएको छ। तर, हाम्रो राज्यको मानसिकता के हो ? सरकार र प्रशासनको अहं के हो भन्ने यसले स्पष्ट पारेको छ। यो विषयमा बोल्ने दायित्व मेरो मात्र होइन, मानवअधिकारको सम्मान गर्ने सबैको हो। ‘

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ०३ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ