भारतीयहरुले फेरि मोदीलाई नै किन पत्याए ? | Khabarhub Khabarhub

भारतीयहरुले फेरि मोदीलाई नै किन पत्याए ?



काठमाडौं– ६ साता लामो ‘म्याराथन’ आम चुनावपछि भारतमा चलिरहेको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भापजाले )भारी बहुमत ल्याउने देखिएको छ ।

मतपरिणाम अनुसार भारतको तल्लो सदन लोकसभाका ४ सय ४२ सिटमध्ये भाजपा एक्लैले करिब ३ सयको हाराहारीमा सिट जित्ने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीएको सिट समेत जोड्ने हो भने यो सङ्ख्या करिब ३ सय ५० सम्म पुग्ने देखिन्छ ।

सरकार निर्माणका लागि कबेल २ सय ७२ सिट आवश्यक पर्ने अवस्थामा यसपटक भाजपा एक्लैले सरकार गठन गर्ने साम्मथ्र्य राख्छ । सन् २०१४ मा भएको अघिल्लो निर्वाचनमा भाजपाले २८२ सिट जितेको थियो । यसअनुसार भाजपाको यो नतिजा सन् २०१४ को ऐतिहासिक विजयी भन्दा पनि बढी हो । यो चुनावमा विपक्षी कांग्रेस पार्टीको प्रदर्शनमा नगण्य सुधार त देखिएको छ तर यसअघि सोचिएजस्तो जादु नै भने कांग्रेसले चलाउन सकेन ।

यसअघिको चुनावमा कांग्रेस पार्टीले ४४ सिट जितेको थियो । हाल ५० सिटको हाराहारीमा अग्रता बनाएको कांग्रेस पार्टीका प्रमुखले नै उत्तर प्रदेशमा निर्वाचन हार्ने अवस्था देखिएको छ । उत्तर प्रदेशमा गान्धी परिवारको गढ नै मानिने अमेठीको निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेद्वार स्मृति इरानीले कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीलाई नै पराजित गर्ने अवस्था देखिइरहेको छ ।

यद्यपि दक्षिण भारतको केरालास्थित वायनाड निर्वाचन क्षेत्रमा राहुल गान्धी निर्वाचनमा विजयी हुने देखिएकाले लोकसभामा उनको प्रतिनिधित्व भने निश्चितप्रायः रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि भारतीय सञ्चारमाध्यमले नै भाजपा निर्वाचनमा विजयी त हुने तर बहुमत ल्याउन नसक्ने वा अघिल्लो निर्वाचनमा जस्तो सहज बहुमत ल्याउन नसक्ने टिप्पणी गर्दै आएका थिए ।

सायदै भाजपाका कुनै नेताले यत्तिको बहुमतको अपेक्षा गरेको हुनुपर्छ । तर, कांग्रेस पार्टीका जवाहरलाल नेहरुले आफ्नो कार्यकालभर ल्याएको भारी बहुमत पछि यतिको ठूलो बहुमत भापजाका लागि यो अभूतपूर्व नतिजा हो ।

मोदीको जादू

यससँगै आखिर भारतीय जनताले भाजपालाई यतिको ठूलो बहुमत दिई नरेन्द्र मोदीलाई पुनः दोश्रो कार्यकालका लागि प्रधानमन्त्री चुन्ने निर्णय गरे भन्ने बहस शुरु हुनसक्छ । भारतीय राजनीतिक उदाहरण हेर्दा मतदाताले पार्टी वा पार्टीका नीति भन्दा पनि पार्टीका नेताको अनुहार हेरेर मत दिने गरेको पाइन्छ, जुन यो चुनावमा पनि देखिएको छ ।

यो चुनावमा भाजपाका लागि मतदातासमक्ष देखाउनका लागि प्रधानमन्त्री मोदीको कार्यकाल वा उनको आकर्षक छवीबाहेक सायदै केही थियो । मतदाताले त्यही रुचाए । हाल आर्थिक विकासको पथमा अघि बढिरहेको भारतका जनताले मुलुकको नेतृत्व गर्नका लागि क्षमतावान् तथा शक्तिशाली नेताको अपेक्षा गर्नु स्वभाविक छ । प्रधानमन्त्री नरेन्द्र मोदीले साँस्कृतिक राष्ट्रवादी तथा भारतलाई कुशल नेतृत्व दिनसक्ने गरी जनतालाई आकर्षित गर्नसक्ने पपुलिष्ट छवि कायम गरेका थिए । जनताले उनको यही छवि मन पराएको हुनुपर्छ ।

त्यसबाहेक उनले आर्थिक नीति तथा बहुसङ्ख्यक हिन्दुहरुलाई साँस्कृतिक राष्ट्रवादको नाममा आकर्षित गर्ने कदम पनि भारतीयहरुले मन पराएको हुनुपर्छ । साँच्चै भन्दा उनको कार्यकालमा भारतले कुनै चामत्कारिक आर्थिक वृद्धि गर्न सकेको छैन । युवाहरुलाई अपेक्षित रोजगारी प्रदान गर्न सकिएको छैन । किसानहरुको अवस्थामा पनि कायापलट भएको छैन । यसअघि उनैले आफ्नो कार्यकालमा नोटबन्दी, जीएसटीजस्ता अलोकप्रिय आर्थिक कार्यक्रम ल्याएका हुन् । तैपनि उनलाई पुनः प्रधानमन्त्रीका रुपमा चाहनुमा भारतीयहरुले उनको नेतृत्व क्षमतालाई नै हेरेका हुन् भन्नेमा दुईमत नहोला ।

अर्कोतर्फ विपक्षी काँग्रेस पार्टीले भने राहुल गान्धीलाई अघि सारेर आफ्नो चुनावी अभियान सञ्चालन गरेको थियो । राहुल गान्धीको नेतृत्व क्षमतामाथि धेरै पहिले देखि नै प्रश्न उठ्दै आएको थियो । पछिल्लो केही समययता उनले आफ्नो नेतृत्व क्षमतालाई विकास गर्ने प्रयास नगरेका पनि होइनन् । तर, मतदाताले उनको नेतृत्व क्षमता आँकेर नै काँग्रेसलाई पत्याएनन् । फलस्वरुप उनी आफ्नै परम्परागत निर्वाचन क्षेत्र अमेठीमा समेत पराजित हुनसक्ने अवस्था आएको छ ।

अर्कोतर्फ प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी छविले पनि यो निर्वाचनमा प्रभाव पारेको हुनसक्छ । खासगरी मोदीले चुनावअघि भारत प्रशासित कश्मीरको पुलावामामा ५० भन्दा धेरै अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम विष्फोटनलगत्तै पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरी जवाफ दिएपछि उनको राष्ट्रवादी छवि मानिसहरुले मन पराएको हुनसक्छ ।

सोही आक्रमणपछि विपक्षीहरुले भने भारतीय सैनिकको क्षमतामा प्रश्न उठाउँदै नरेन्द्र मोदीको आलोचना मात्र गरिरहेका थिए । यसबाट मानिसहरु विपक्षी खासगरी काँग्रेस पार्टी प्रति बढि नकारात्मक बन्न पुगेको हुनसक्छन् । जे होस्, नरेन्द्र मोदीलाई पुनः एकपटक भारतीयहरुले पत्याएर प्रधानमन्त्रीका रुपमा दोश्रो कार्यकाल सञ्चालन गर्न दिने भएका छन्, उनको दोश्रो कार्यकालमा के कस्ता उपलब्धी हुन्छन्, त्यो हेर्न भने समय कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ०८ बजे

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।