विश्वयुद्धमा पराजयदेखि युरोपको आर्थिक शक्तिसम्म | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

विश्वयुद्धमा पराजयदेखि युरोपको आर्थिक शक्तिसम्म



यूरोपको सम्पन्न देश जर्मनी नेपाललाई माया गर्ने देशहरुमध्ये एक हो । परिश्रम, लगनशीलता, प्रविधिमा मारेको चामत्कारिक फड्कोको परिणाम हो– आजको जर्मनी । जर्मनीले स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रमा गरेको विकासका कारण विश्वमै नमूना मुलुकका रुपमा कहलिन पुगेकोमा नकार्न सकिन्न । त्यसैले जर्मनीको समृद्धिबाट नेपालले पनि सिक्नुपर्ने धेरै पाटाहरु छन् ।

हामीसँग पनि अथाह प्राकृतिक सम्पदा छन्, विकासका सम्भावना छन्, पर्यटकीय क्षेत्रलाई विश्वले नियालिरहेको अवस्था छ । यी सम्भावनाका खानीभित्र हराएका हामीभित्र कमी छ त केवल जोस, जाँगर र अठोटको । जर्मनीले यही जोस, जाँगर र दृढ अठोटलाइ नै समृद्धिको प्रमुख अस्त्र बनायो ।

दोश्रो विश्वयुद्धमा पराजय व्यहोर्दा जर्मनीले कस्तो कहालीलाग्दो अवस्थामाको सामना गर्नुपर्‍यो होला ? सहजै अनुमान लगाउन सकिन्छ । किनकी दोश्रो विश्वयुद्ध आधुनिक मानव इतिहासकै सबैभन्दा क्रुर र नृशंस युद्ध थियो ।

दोश्रो विश्वयुद्धमा पराजयपछि जर्मनी दशकौं सम्म दुई चिरामा विभाजित भएको थियो । पछिल्लो पुस्तालाई थाहा नहुन सक्छ– जर्मनी सन् १९९० मा मात्र औपचारिक रुपमा पुनःएकीकरण भएको हो । त्यसबेला बर्लिनको पर्खालले दुई चिरा बनाएको पूर्वी र पश्चिमी जर्मनी पुनः एक भएको तीन दशक पनि भएको छैन ।

यस्तो छ जर्मनीको इतिहास

दोश्रो विश्वयुद्ध अघि जर्मनीको अवस्था जे जस्तो रहेपनि दोश्रो विश्वयुद्ध यताको विषयको चर्चा गर्नु उपयुक्त होला । सन् १९४५ मे २ मा सोभियत संघको लालसेनाले तेश्रो जर्मन राइखको राजधानी बर्लिन मुक्त गरेपछि नाजी जर्मनीले आत्मसमर्पण गर्‍यो र युरोपमा औपचारिक रुपमा दोश्रो विश्वुयुद्धको अन्त्य भयो ।

त्यसअघि बर्लिनको चान्सलरी भवनमुनि निर्माण भएको बङ्करमा अप्रिल ३० का दिन तेश्रो राइखका फ्युहरर अडोल्फ हिटलरले आत्महत्या गरिसकेका थिए । तेश्रो राइख पराजित भइसकेपछि फासिवादविरुद्ध युद्ध लडेका साझेदार तीन मुलुकहरु सोभियत संघ, बेलायत र अमेरिकी सरकार प्रमुखहरुबीच दोश्रो विश्वयुद्धको समयमा तेश्रो राइखको प्रभावमा रहेका मुलुकको भविष्यका विषयलाई सन् १९४३ को अन्त्यतिर इरानको राजधानी तेहरान, १९४५ को शुरुमा क्राइमियाको याल्टा र जर्मनीले आत्मसमर्पण गरिसकेपछि सन् १९४५ को मध्यतिर जर्मनीको पोष्टड्याममा शिखर वार्ता भयो । सघन वार्तापछि युद्धउपरान्त युरोपको भविष्यका विषयमा छलफल भयो ।

पुनःएकीकरणपछि जर्मनीले आफ्नो पूर्वी भागको विकास र औद्योगिक पूर्वाधारको निर्माणलाई तीब्र पार्दै लग्यो । यसले पूर्वी र पश्चिमी जर्मनीबीच रहेको आर्थिक तथा सामाजिक खाडल पुरिँदै गयो

जर्मनीलाई दुई भागमा विभाजन गरी पश्चिमी जर्मनीमा अमेरिका, बेलायत र फ्रान्सको प्रभाव रहने तथा पूर्वी जर्मनीमा सोभियत संघको प्रभाव रहनेगरी सम्झौता भयो । सोही अनुसार दोश्रो विश्वयुद्धपछि जर्मनी औपचारिक रुपमै पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजन भयो । जर्मनीमात्र नभई जर्मनीको राजधानी बर्लिन पनि दुई भागमा बाँडियो । केही समयपछि दुबै जर्मनीलाई एकीकरण गरिने बताइए पनि शीतयुद्धको समयभर जर्मनीको पुनःएकीकरण भएन ।

सोभियत संघको प्रभावमा रहेको पूर्वी जर्मनीमा साम्यवादी शैलीको सरकार गठन भयो भने अमेरिकी प्रभावमा रहेको पश्चिमी जर्मनीमा लोकतान्त्रिक शैलीको सरकार गठन भयो । साम्यवादी शैलीको सरकार रहेको पूर्वी जर्मनी विभिन्न आर्थिक तथा राजनीतिक संकटका कारण गरिबीको दलदलमा फस्न पुग्यो । खासगरी सन् १९५३ मा तत्कालीन सोभियत शासक जोसेफ स्टालिनको निधनपछि सत्तामा आएका निकिता खुश्र्चेवले सोभियत संघलाई साम्राज्यवादी दिशामा अघि लगे ।

खुश्र्चेवले सोभियत संघको प्रभावमा रहेको पूर्वी तथा मध्य युरोपमा रहेका क्षेत्रमा आफ्नो प्रभाव बढाए । राजनीतिक हस्तक्षेप, अव्यवहारिक आर्थिक नीति, सामाजिक विभेद लादेका कारण पूर्वी जर्मनीको अवस्था झन नाजूक बन्दै गएको थियो ।

अर्कोतर्फ अमेरिकी प्रभावमा रहेको पश्चिमी जर्मनीसहितका मुलुकमा अमेरिकाले मार्शल प्लानका नाममा दोश्रो विश्वयुद्धपछि युरोपको पुननिर्माण र आर्थिक विकासका लागि ठूलो मात्रामा सहयोग गर्न थाल्यो । पश्चिम युरोपले आफ्ना साझेदार मुलुकमा गरिबी नहोस् र यसैका आडमा सोभियत संघबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलन मौलाउन नपाओस् भन्ने हेतुले अमेरिकाले शुरु गरेको मार्शल प्लानबाट आएको ठूलो सहयोगलाई समुचित सदुपयोग गरी आफ्नो आर्थिक विकासमा लगानी बढाउँदै समृद्धियो यात्रामा लम्किंन थाल्यो । आफ्ना औद्योगिक पूर्वाधार तथा अर्थतन्त्रका अन्य पक्षलाई सबल बनाउँदै लग्यो ।

पश्चिम जर्मनीले सन् १९५० मा युरोपेली मुलुकहरुबीच मानवअधिकार, लोकतन्त्र तथा कानूनी सहकार्यलाई जोड दिने उद्देश्यले स्थापित युरोपेली परिषद्मा आफ्नो सदस्यता पायो । त्यसबाहेक सन् १९५७ मा फ्रान्स, बेल्जियम, पश्चिम जर्मनी, इटाली, लक्जेम्बर्ग र नेदरल्याण्ड्सबीच इटालीको राजधानी रोममा युरोपेली मुलुकबीच खुला भन्सार कार्यक्रम लागू गर्ने विषयमा सन्धी भयो । यो सन्धीले पछि युरोपेली आर्थिक समुदाय ईईसी गठन गर्‍यो । यो सन्धीकै जगमा पछि युरोपियन युनियन (इयू)को गठन हुन पुग्यो । कालान्तरमा इयुमा अन्य युरोपेली मुलुकहरु पनि प्रवेश गर्दै गए । यसबाट पनि पश्चिमी जर्मनीले ठूलो आर्थिक फाइदा लिन थाल्यो ।

भू–राजनीतिक क्षेत्रमा नयाँ आयम

दुई भागमा बाँडिएको जर्मनीलाई शीत युद्धले थप विभाजित बनायो । सोभियत संघ र पश्चिमा मुलुकबीच शीत युद्ध उत्कर्षमा रहेका बेला सन् १९६१ मा बर्लिनलाई दुई भागमा विभाजन गर्ने गरी डेढ सय किलोमिटर लामो पर्खाल लगाइयो । विभाजनको तीन–चार दशकपछि पूर्वी र पश्चिमी जर्मनीबीचको आर्थिक तथा सामाजिक अन्तर स्पष्टै देखिन थालिसकेको थियो । तर, सन् १९८० को अन्त्यमा जर्मनीको भू–राजनीतिक क्षेत्रमा नयाँ तरंग आयो ।

व्यावसायिक मानसिकता तथा मेहनती जर्मन कामदारको आधारमा जर्मनीका अटोमोबाइल, प्रविधि, बैंकिङ् तथा बीमा क्षेत्र, कृषिमा आधारित उद्योगहरु, चिकित्सा क्षेत्र, शिक्षा क्षेत्रलगायतमा जर्मनी विश्वको शीर्षस्थ स्थानमा आइसकेको थियो

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन् १९८७ मा पश्चिमी बर्लिनमा आयोजित एक कार्यक्रममा सोभियत संघका तत्कालीन शासक मिखाइल गोर्भाचेभलाई सम्बोधन गर्दै ऐतिहासिक भाषण दिए । उनको ‘मिस्टर गोर्भाचेभ, टियर डाउन दिस वाल’ अर्थात् ‘गोर्भाचेभ, यो पर्खाल भत्काउनुहोस्’ भन्ने भाषण अझै पनि स्मरणीय मानिन्छ ।

त्यसबीच भएका राजनीतिक उथलपुथलबीच तीन वर्षपछि अर्थात् १९८९ मा बर्लिनका वासिन्दाले पर्खाललाई भत्काइदिए । त्यसको केही महिनापछि पूर्वी तथा पश्चिमी जर्मनीबीच पुनःएकीकरण भयो ।

त्यसबेला जर्मनी युरोपको महत्वपूर्ण आर्थिक केन्द्रको रुपमा विकसित भइसकेको थियो । पुनःएकीकरणपछि जर्मनीले आफ्नो पूर्वी भागको विकास र औद्योगिक पूर्वाधारको निर्माणलाई तीब्र पार्दै लग्यो । यसले पूर्वी र पश्चिमी जर्मनीबीच रहेको आर्थिक तथा सामाजिक खाडल पुरिँदै गयो । अझै पनि पूर्वी र पश्चिमी जर्मनीबीच केही हदसम्म आर्थिक विकासमा अन्तर देखिन्छ । यद्यपि समयक्रमसँगै त्यो अन्तर कम हुँदै गएको छ ।

जसले जर्मनी समृद्ध बन्यो

दोश्रो विश्वयुद्ध पछि नराम्रो आर्थिक संकट तथा युद्धका समयमा चरम आर्थिक दोहनको मारमा रहेको पश्चिम जर्मनी दोश्रो विश्वयुद्धको दुई दशकभित्रै युरोपको महत्वपूर्ण आर्थिक केन्द्रको रुपमा विकसित भइसकेको थियो । जर्मनी समृद्ध हुनुको कारण त्यहाँका मानिसहरुको लगनशीलता र सरकारका तर्फबाट लागू गरिएका आर्थिक नीतिहरु नै प्रमुख आधार हुन् ।

जर्मनीको आर्थिक चमत्कारको श्रेय दोश्रो विश्वयुद्धपछि पश्चिमी जर्मनीको चान्सलर बनेका कोनार्ड अडेनौर र त्यसताका पश्चिमी जर्मनीको अर्थमन्त्री रहेका लुड्विग आइनहार्डलाई जान्छ । सन् १९४९ देखि सन् १९६३ सम्म १४ वर्ष संघीय गणतन्त्र जर्मनीको चान्सलर रहेका अडेनौरले आफ्नो कार्यकालको १४ वर्षभित्रै पश्चिमी जर्मनीमा आर्थिक चमत्कार ल्याइदिएका थिए ।

क्रिष्टियन डेमोक्र्याटिक युनियनका नेता रहेका अडेनौर कट्टर कम्युनिष्ट विरोधी नेता थिए । नवउदारवादी छविका उनले व्यक्तिगत स्वतन्त्रता र बजार अर्थतन्त्रलाई ठूलो महत्व दिए । त्यसको विपरीत पूर्वी जर्मनीमा भने केन्द्रीय योजनामा आधारित अर्थतन्त्र र तानाशाही शैलीको आर्थिक राजनीतिक व्यवस्था थियो ।

पूर्वी जर्मनी र सोभियत संघबाट सैनिक आक्रमणको जोखिम खेपिरहेको पश्चिम जर्मनीको आन्तिरक सार्वभौमिकतालाई बलियो बनाउन उनले सन् १९५५ मा पश्चिम जर्मनीलाई उत्तर एटलाण्टिक सन्धी संगठन नेटोमा आबद्ध गराए । यसबाट पश्चिम जर्मनीको सार्वभौमिकता सुनिश्चित भयो । त्यसपछि जर्मनीको आर्थिक विकासमा उनले पूर्ण ध्यान दिन थाले ।

शरणार्थीको सही प्रयोग

दोश्रो विश्वयुद्ध लगत्तै पश्चिम जर्मनीमा ठूलो सङ्ख्यामा युद्धबाट भागेर आएका शरणार्थीहरु थिए । चेकोस्लोभाकिया, पोल्याण्ड, अष्ट्रिया तथा पूर्वी जर्मनीबाट करिब ४५ लाखको सङ्ख्यामा शरणार्थीहरु पश्चिम जर्मनीमा आएर बसेको बताइन्छ ।

शरणार्थी समाधान गर्नु उनका लागि चुनौती थियो । तर, त्यही चुनौतीलाई चान्सलर अडेनौरले अवसरका रुपमा बदले । चान्सलर अडेनौर र उनका अर्थन्त्री लुड्विग आइनहार्डले ती शरणार्थीहरुलाई उनीहरुको क्षमताअनुसार मुलुकको आर्थिक योजनाहरु अघि सारे । सोहीअनुरुप कोहीलाई कल–कारखानामा काम दिइयो भने केहीलाई व्यापार व्यवसायमा लगाइयो र अन्य केहीलाई खेती किसानीका काममा समेत व्यस्थ बनाइयो ।

जर्मनीको अर्थतन्त्रलाई बजारको स्वतन्त्र सिद्धान्तमा छाडिदिएकै कारण बजारको माग र आपूर्तिको सन्तुलनमा पश्चिम जर्मनीको अर्थतन्त्र अघि बढ्यो । साना तथा मझौला व्यावसायलाई प्रोत्साहन गर्ने तथा प्रगतिशील करको माध्यमबाट समाजको सम्पत्ति पुनर्वितरण गर्ने योजना ल्याएकै कारण पनि जर्मनीले आर्थिक विकासमा कोल्टे फेर्दै गयो ।

जर्मनीकै पहलमा युरो त्यसपछि सन् १९९९ मा युरोपेली युनियनभर युरो नाम गरेको एउटै मुद्रा प्रचलनमा ल्याइयो । युरोपको ठूलो अर्थतन्त्र भएको तथा युरोपमा एउटै मुद्रा प्रचलनमा रहेका कारण यसबाट जर्मनीले युरोपभर आफ्नो आर्थिक प्रभाव विस्तार गर्न सफल भयो

त्यतिमात्र नभएर नाफा कमाउने उद्देश्यबाट गरिने कामबाट कर उठाएर त्यसलाई जनताको शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारको विकास र विस्तारमा लगानी गर्न थालियो । व्यावसायिक मानसिकता तथा मेहनती जर्मन कामदारको लगनशीतलाको परिणामस्वरुप जर्मनीमा अटोमोबाइल, प्रविधि, बैंकिङ् तथा बीमा क्षेत्र, कृषिमा आधारित उद्योगहरु, चिकित्सा क्षेत्र, शिक्षा क्षेत्रलगायतले फड्को मार्‍यो ।

अडेनौरले शुरु गरेको आर्थिक चमत्कार जर्मनीको पुनःएकीकरणको समयसम्म जारी नै रहेको थियो । यी विविध विकास निर्माणका कामले छोटो समयमा नै जर्मनीले विश्व अर्थतन्त्रमा आफ्नो प्रभुत्व जमाउन सफल भयो ।

विर्चसातवुण्डर भनिने जर्मनीको आर्थिक चमत्कारलाई राइन नदीको चमत्कारको उपनाम पनि दिने गरिन्छ । पश्चिम र पूर्वी जर्मनीका वासिन्दाको जीवनस्तरमा आएको अन्तरले उनीहरुमा द्वन्द्वको भावना उब्जिएको भएपनि समयक्रमसँगै सन् १९८९ मा बर्लिनको पर्खाल भत्काइएपछि सवै साम्य भएको थियो ।

एउटै मुद्रा प्रचलन

जर्मनीकै पहलमा सन् १९९९ मा युरोपेली युनियनभर ‘यूरो’ मुद्रा प्रचलनमा ल्याइयो । युरोपको ठूलो अर्थतन्त्र भएको तथा युरोपमा एउटै मुद्रा प्रचलनमा रहेका कारण यसबाट जर्मनीले युरोपभर आफ्नो आर्थिक प्रभाव विस्तार गर्न सफल भयो । त्यसपश्चात सन् २००६ मा विश्वकप फुटबलको आयोजना गरेर जर्मनीले आफू विश्व अर्थतन्त्रको महत्वपूर्ण केन्द्रको रुपमा रहेको सन्देश दिइसकेको थियो ।

पछिल्लो समय सन् २०१४ मा जर्मनीले मध्यपूर्व र अफ्रिकाबाट युद्ध र गरिबीबाट भागेर युरोप आउने ठूलो सङ्ख्याका शरणार्थी तथा आप्रवासीलाई शरण दिने नीति अघि सार्‍यो । ती आप्रवासी र शरणार्थीहरुले पनि जर्मनके अर्थतन्त्रमा योगदान दिइरहेका छन् ।

विश्वयुद्वमा पराजित भए पनि जर्मनीले पराजयलाई अवसरका रुपमा उपयोग गर्दै आफ्नो समृद्धिको यात्रालाई निरन्तरता दिइरहेको छ । देशको आर्थिक नीति, कुशल नेतृत्व, मुलुकको विकासका लागि चालिएका अल्पकालीन र दीर्घकालीन योजनाको सफल कार्यान्वयनको उपज जर्नमी विश्व अर्थतन्त्रमा राज गर्न सफल भएकोमा द्विविधा छैन । जर्मनीको समृद्धिको यात्राबाट थोरै भए पनि हामीले केही अनुशरण गर्न सक्यौं भने हाम्रो ‘सुखी नेपाली समृद्ध नेपाल’को यात्रालाई गन्तव्यमा पुर्‍याउन सफल हुन सक्छौं भन्ने विश्वास गर्न सकिन्छ ।


भर्खर