स्वरोजगार बन्ने एउटा उदाहरण, ह्वीलचियरले धानेको जीवन « Khabarhub
Logo
९ आश्विन २०७८, शनिबार

स्वरोजगार बन्ने एउटा उदाहरण, ह्वीलचियरले धानेको जीवन



काठमाडौं– शारीरिक रुपमा अशक्त व्यक्ति जसरी पनि आत्मनिर्भर बन्न चाहन्छन् । उनीहरुलाई कोहीभन्दा कम हुनु नपरोस भन्ने भावनाले आत्मनिर्भर बन्ने माध्यम सोचिरहेकै हुन्छन् । त्यसका लागि कसैको साथ त चाहिन्छ नै धेरै चुनौतिको पनि सामना गर्नुपर्छ । तर, मनदेखि चाहने हो भने जीवनका जस्तासुकै अप्ठेरा परिस्थिती पनि सजिलै सामना गर्न सकिने अनुभव छ, क्षेत्रबहादुरको ।

काभ्रेका क्षेत्रबहादुर भण्डारी पनि जीवनका यस्तै अप्ठेरा परिस्थितिलाई पार गर्दै जीवनको ‘रथ’ अगाडि बढाइरहेका छन् । भद्रकालीबाट शहीदगेट जाने सडकको दायाँतर्फ ह्वीलचियरमा बसेर पत्रिका, खानेपानी (मिनिरल वाटरका बोतल), चुरोट बेच्ने उनको दैनिकी हो । शरीरको तौल जोख्ने मेसिनसँगै राखेका उनले त्यसलाई पनि रोजगारीको माध्यम बनाएका छन् ।

एक्लो जीवन पाल्नका लागि दिनरात सडकमै बिताउँछन् । ‘केही न केही त गर्नै पर्‍यो’ भनेर काम थालेका क्षेत्रबाहदुरको सहारा अहिले ‘ह्वीलचियर’ बनेको छ ।

उनी राति अम्बे कम्पेल्सको बरण्डामा सुत्छन् । बिहान ४ बजे उठ्छन् । ह्वीलचियरकै सहयताले पत्रिका लिन प्रेससम्म जान्छन् ।
कान्तिपुर, अन्नपूर्ण, नागरिक, नयाँ पत्रिका, समाचार पत्र, गोरखा पत्र, राजधानी दैनिकलगायतका पत्रिका प्रेसबाट किन्छन् र सडकमा ल्याएर बेच्छन् ।

हरेक मानिसको काम गर्ने आफ्नो छुट्टै शैली हुन्छ । क्षेत्रबहादुरले रातभर लगाएर पत्रिका बेच्ने शैली सोचेका थिए । उनले पत्रिका बेच्ने शैली यसरी सुनाएँ:
आयो अचम्मको समाचार, उल्कैको खबर, १४ अञ्चल, ७७ जिल्ला कुना कप्चा, पहाड, पर्वत, तराई, मधेश सारा संसारका समाचार छाता ओढ्दै, खोला तर्दै, हिजो दिनभरीको संकलन, रातभरिको छपाइ, बिहानको वितरण, समाचार वाचकको लागि पत्रिका ताजै छ छानेर लैजानुस् । सर्लक्क पाना पल्टाएर हेर्नुभयो भने देश र अन्तराष्ट्रिय समाचारले मनै दङ्ग पर्ने छ । २/४ वटा ठेलामा होइन एउटै ठेलामा । मेरो देखाउने काम तपाईको हेर्ने काम लौ लानुस पत्रिका !

क्षेत्रबहादुर सधैँ बिहानको ६ बजे ह्वीलचियर लिएर निस्कछन् । टेकुबाट, त्रिपुश्वेर, सुन्धारा हुँदै वीरअस्पतालसम्म पुग्दा केही पत्रिका बेच्छन् । १० बजेपछि वीरअस्पताल छेउमा रहेको हाटेलमा खाना खान्छन् ।

फेरि आफ्नो कामतिर लाग्छन् । एक पोका मिनरल वाटर (बोतलको पानी) किन्छन् र ह्वीलचियरको एक छेउमा राख्छन् र हिँड्छन् । वीर अस्पतालबाट रत्नपार्क, पुरानो बसपार्क, भृकुटीमण्डप, भद्रकाली हुदैँ शहीदगेट पुग्छन् ।

शुक्रवार क्षेत्रबहादुर भद्रकालीबाट शहिदगेट जाने सडकमा बसिरहेका थिए । बाटोमा हिँड्नेहरुले पत्रिका किन्छन् कि ? पानी पो किन्छन् कि ? भन्ने आशामा मानिसको मुखमा हेर्दै बसेका देखिन्थे ।

फूटपाथमा हिँडिरहेका बटुवाहरु क्षेत्रबहादुरलाई माया गर्दै चिया ‘खानुस् ल…’ भन्दै ५०, १०० रुपैयाँ हातमा थमाइदिन्थे । क्षेत्रबहादुर निकै खुसी हुन्थे ।

मानिसहरु पत्रिका किन्न आउँदा अलि व्यस्त देखिन्थे । तर, फुर्सद हुनासाथ गीत गाउन सुरु गर्थे, ‘कस्तो कर्म जिन्दगी रहेछ, ह्वीलचियरको ड्राइभर पो भइएछ !’


क्षेत्रबहादुरले यसरी पत्रिका बेचेर जीवन धानेको १० वर्ष भइसक्यो ।

क्षेत्रबहादुरको स्थायी घर काभ्रे जिल्लाको घुम्लु हो । गाउँमै जन्मिएका उनी सानैदेखि खेतीपातीको काम गर्न निकै रुचाउँथे । त्यो समय परिवारको आर्थिक अवस्था राम्रै थियो, तर पनि रुचि नभएकाले उनले लेखपढ गरेनन् ।

उनी भन्छन्, ‘बुवा इन्डियाको लाहुरे थिए, आर्थिक अवस्था राम्रै थियो, तर पढ्न मन लागेन ।’

लेखपढ गर्न नआएपनि उनी आफूलाई पढेलेखेका मान्छे भन्दा कमजोर ठान्दैनन् । क्षेत्रबहादुर भन्छन्, ‘मान्छेले धेरै कुराहरु पढेर भन्दा पनि परेर सिक्छ । मलाई पनि त्यस्तै भयो ।’

बाल्यकालका कुरा जोडिँदै जाँदा उनको मन खिन्न हुन्छ । १० वर्षको हुँदा बुवा गुमाउँदाको पीडाले उनका आँखा रसाउँछन् ।

बुवाको मृत्यु भएको केही समयमै जन्म दिने आमा छाडेर जानुभयो । ‘सायद बुवाको मृत्युको पीडा आमाले सहन सकिनन्,’ दुखी हुँदै क्षेत्रबहादुरले सुनाए ।

एक भाइ र पाँच बिहिनीमध्येका जेठा सन्तान थिए क्षेत्रबहादुर । बुवा–आमाको मृत्युपछि भाइ–बहिनीलाई हेर्ने जिम्मा उनकै थाप्लोमा आइपर्‍यो । गाउँमा प्रशस्त जग्गा जमिन भएकाले उनले १०–१५ वर्षसम्म खेतीपातीमै बिताए । भाइ–बहिनीलाई पनि खेतीपातीकै काममा प्रेरित गरे ।

विवाह गरिसकेपछि भने उनलाई खेती गरेरभन्दा अरु नै काम गरेर ‘पैसा कमाउने’ सोच आयो । श्रीमतीलाई गाउँमै छोडेर उनी काठमाडौँ आए ।

गाउँमै हुँदा पनि पटकपटक काठमाडौँ आइरहने भएकाले उनलाई यहाँको वातावरण नौलो थिएन । तर, कामको खोजीमा केही दिन भौतारिनु पर्‍यो । अन्तिममा उनी ‘ड्राइभर’ बन्ने सोचमा पुगे । केही समय गाडीमा काम गरे पछि उनी काठमाडौंका सडकमा गाडी हुइक्याउन सक्नेगरी ‘ड्राइभर’ बने ।

श्रीमतीको साहै माया गर्ने उनी । फुर्सदको हुनेवित्तिकै उनी घर गइहाल्थे । यसबीचमा उनी ३ सन्तानको बाबु पनि बने । खुसीसाथ चलिरहेको उनको जीवनमा भगवानको ‘आँखा’ लाग्यो सायद, एकपछि अर्को दुःखका दिन शुरु भए ।

सामान्य ज्वरोले नै श्रीमतीको मृत्यु भयो । श्रीमतीको मृत्युपछि छोरा–छोरीलाई पढाउन काठमाडौं ल्याए । एसएलसीसम्म पढाएका छोरा–छोरी कमाउने पनि भए । तर, उनी भने साहाराबिहीन बन्दै गए ।

१२ वर्ष अगाडि मधुमेह रोगका कारण दायाँ खुट्टा नै काट्नु पर्‍यो । ५ लाख तिरेर उपचार गरे । प्लास्टिकको खुट्टा राखेर बिस्तारै आवतजावत गर्न थाले । उपचारका क्रममा रातदिन अस्पताल गइरहे । तर, १ वर्षकै अन्तरालमा उनको अर्को खुट्टा पनि काट्नुपर्‍यो ।

दुवै खुट्टा काटेपछि संसार निकै फरक लाग्यो उनलाई । सुरुवाती दिनमा त उनी निकै रोए । सबल रुपमा स्वतःस्फूर्त रुपमा हिँडिरहेका उनले शारीरिक रुपमा अशक्त बन्दाको पीडा सुनाउँदै भने, ‘खुट्टा काट्दा जुरुक्क उठ्न, हिड्न नसक्ने भएँ, अब कसरी बाच्ने भन्ने कुराले मनमा कौतुहलता हुन्थ्यो ।’

शारीरिक रुपमा अशक्त भएपछि घरमा आफूमाथि गरिने व्यवहारमा निकै फरक पाउँदै गएको क्षेत्रबहादुर सुनाउँछन् । ‘बुहारीको रुखो बोलीले दिनदिनै मन रुन्थ्यो, तै पनि कठोर बनेर बसेको थिएँ । जब सहन सकिन, त्यसपछि घरबाट निस्केर हिडेँ,’ क्षेत्रबहादुरले घर छाड्नुपर्दाको कारण सुनाए ।

बेसहारा बनेका उनलाई सहारा दिने कोही थिएनन् । अवस्था कमजोर भएपछि आफन्तले नि नचिने झैँ गरेर हिँडेकोे पीडाले उनलाई धेरै घोच्यो । घरबाट निस्किँदा शुरुका दिनमा उनले टेकुस्थित पिपलको फेदमा धेरै रात बिताए ।

केही समयपछि त्यही छेउमा अम्बे भवन बनेपछि उनी त्यो भवनको पेटीमा सुत्न थाले । एक सामाजिक व्यक्तिले उनलाई ह्वीलचियर उपहार दिएदेखि पत्रिका र पानीका बोत्तल बेचेर आफ्नो गुजरा चलाइरहेका छन् ।


भर्खर

0