कहाँनिर चुकिरहेछ नेपाली सिनेमा ? « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

कहाँनिर चुकिरहेछ नेपाली सिनेमा ?



सिनेमा क्षेत्रमा बहस उठ्ने गर्छ, कस्तो सिनेमालाई राम्रो भन्ने ? सिनेमा सफल बन्ने र भन्ने आधारहरू के–के हुन् ? सिनेमा सफलताको मानक के हो ? के बक्स अफिसमा नाफा कमाएका सिनेमा मात्र ‘हिट’ हुन् ?

कुनै पनि विषयमाथि प्रश्नहरू उठ्छन् भने त्यो विषय जीवन्त र सान्दर्भिक छ भन्ने मानिन्छ । नेपाली सिने क्षेत्रमा पनि पछिल्लो समय सिनेमा, तिनका प्रकार, गुणस्तर, सफलता र असफलतालाई लिएर विभिन्न विचार तथा विमर्श हुँदै आइरहेका छन्, यो सकारात्मक पनि हो ।

सिनेमालाई कलाको एक सशक्त पक्षका रुपमा लिने गरिन्छ । हरेक सिनेमाले कथाको उठान गरेको हुन्छ । त्यस्तो कथा समाज वा कुनै समयको हुन सक्दछ । विश्वव्यापी सिनेमा निर्माणको ट्रेण्ड हेर्ने हो भने पनि सिनेमामा कथाको सन्दर्भ प्रमुखताका साथ उठाइएको हुन्छ । सिनेमाको सय वर्षको समयलाई तुलानात्मक रूपमा हेर्ने हो भने समय–समयमा नयाँ/नयाँ सोच र आयामहरू विकसित भएका छन् सिनेमा उद्योगमा ।

सामाजिक, राजनीतिक, साहित्यिक, यथार्थवादी या अन्य कुनै विधामा सिनेमा बने पनि सिनेमामा कुनै न कुनै कथा वा सन्देश समावेश गरिएको हुन्छ र हुनुपर्छ भन्ने मर्म छ । सिनेमाको कथाले समाजसँग विविध विषयमा विमर्श गर्ने प्रयास गर्दछ । कतिपय सामाजिक/राजनीतिक र आर्थिक विषयले सिनेमाको माध्यमबाट समाजमा बहसहरू पनि छोडिएका धेरै उदाहरण हाम्रै सिनेमा उद्योगमा पनि प्रसस्त छन् । ‘दलन’, ‘नुमाफुङ’ जस्ता सिनेमाले सामाजिक विषयलाई राष्ट्रिय स्तरमा राम्रै बहस गराउन सफल भए ।

सिनेमाका लागि कथा एक अनिवार्य शर्त नै हो । नेपालमा सिनेमाको निर्माणमा कथानकको महत्त्व त स्मरण गरिएको छ तर साँचो अर्थमा त्यसलाई अनुशरण गरिएको भने पाइँदैन । नेपाली सिनेमामा समावेश गरिने प्रायः कथा नेपाली समाजभन्दा बाहिरबाट ल्याइएको भेटिन्छ ।

हाम्रा धेरै सिनेमाले भारतीय सिनेमाबाट कथालाई सापटी लिएर ती कथामा हामीलाई खोज्ने गर्दछन् । यसले गर्दा दर्शक कथासँग समाहित नै हुन सक्दैनन् । अर्कातिर ती कथा यति गुणस्तरहीन तवरले प्रस्तुत गरिन्छन् । जब दर्शकले उही कथा ओरजिनल रुपमा नै हेरिसकेको छ भने त्यसको भद्दा नक्कल फेरि किन हेर्नु ? नेपाली सिनेमाका शुरुवातकर्ताहरू सबै भारतीय सिने क्षेत्रबाट आएकाले यो परम्परा शुरु त भयो, तर दुर्भाग्य के रह्यो भने यो अभ्यासले अहिलेसम्म पनि निरन्तरता पाउँदै आएको छ ।

कलाकारहरु कथाका लागि निकै संवेदनशील हुनुपर्दछ । नेपालमा पनि सिनेमा र कथाको चरित्रका लागि केही कलाकार र तिनको मेहनत तारिफयोग्य छ । नेपालमा चरित्र केन्द्रित अभिनयको अभ्यास धेरै पछि मात्र भएको पाइन्छ

कुनै पनि राम्रो कथा वा कला अनुशरण गर्नु वा त्यसबाट प्रभावित हुनु नराम्रो होइन, तर त्यो कलालाई जथाभावी तोडमोड गरिनु पूरापूर गलत हो । नेपाली सिनेमाका निर्माता/निर्देशक तथा लेखकले धेरै समयसम्म आधा दर्जन हिन्दी सिनेमाको कथालाई काँटछाँट गर्दै एउटा नेपाली सिनेमा बनाए ।

जसले गर्दा आजको दिनसम्म पनि नेपाली सिनेमा कथाको ‘संकट’बाट गुज्रिरहेको छ । दुर्भाग्य त के छ भने, समाजभरि कथा नै कथा छन् । तर, सिनेमाहरू कथाविहीन बनाइन्छन् । सिनेमा चलाउनका लागि आज सबैभन्दा महत्त्वपूर्ण कुरा विषयवस्तुको खडेरी भएको छ । नेपाली सिनेमालाई घरेलु दर्शकसँग जोड्नका लागि कथाको खोजी गरिनुपर्दछ ।

नेपाली सिनेमाको अर्को समस्या पटकथाको उत्खनन गर्न नसक्नु पनि हो । यो वर्ष रिलिज भएका धेरै सिनेमा असफल बन्नुको मुख्य कारण पटकथाको अस्पष्टता नै हो । जुन कुरा स्वयम् मेकरले पनि स्वीकार्दै आएका छन् ।

सिनेमाको कथालाई निर्देश गर्ने क्षमता पठकथामा हुनुपर्दछ तर निर्माता निर्देशकले यो पाटोमा ध्यान दिँदैनन् । बरु कामचलाउ सिनेमा बनाएर प्रचारमा ‘फोकस’ हुन्छन् । कतिपयलाई यसको महत्त्वबारे सामान्य ज्ञान पनि नभएको देखिन्छ । यसले गर्दा पटकथा कमजोर बन्छ । कथा नै कमजोर भएपछि यसले सिर्जना गर्ने संवाद पनि स्वभाविक कमसल हुन्छ ।

नेपाली फिल्ममेकरहरूले जति पैसा स्टारका लागि छुट्याउँछन्, त्यस्तै रकम सिनेमा लेखकलाई पनि दिन सक्नुपर्दछ । नेपाली सिनेमा एउटै स्टारले आफ्नो भ्यालुमा चलाउन सक्ने अवस्था छैन । त्यसैले हिरो र हिरोइनमा मात्र ध्यान केन्द्रित गर्नुभन्दा सिनेमाका अन्य पाटोमा पनि विचार पुर्‍याउनु जरुरी छ । होइन भने नेपाली सिनेमाको दयनीय अवस्था धेरै पछाडिसम्म रहनेछ ।

सिनेमा सफल बनाउन वा धेरैभन्दा धेरै जनसङ्ख्यामा पुर्‍याउन पनि ध्यान दिनु जरुरी छ । सिनेमा छायांकनका लागि लोकेशन छनोटदेखि सिनेमालाई गुणस्तरीय बनाउनका लागि समय सान्दर्भिक प्रविधिलाई पनि अनुसरण गरिन्छ । नेपाली सिनेमामा प्रविधिको विषय सधै आर्थिक पक्षसँग जोडिएर आउँछ तर पनि यथेष्ट लगानी गरेर सिनेमा निर्माण गर्ने नै भएपछि प्रविधि पनि उत्कृष्ट छनोट गर्नु उपयुक्त छ । नेपाली सिनेमाले प्रविधिगत रुपमा विश्व सिने बजारमा प्रतिस्पर्धा गर्न धेरै अप्ठ्यारा छन् । तर पनि आफ्नो उत्पादनलाई सबल बनाउन पहुँचयोग्य प्रविधिलाई स्वीकार गर्नैपर्दछ ।

सिनेमा सफल बनाउन जसरी कथा र प्रविधि अब्बल हुन जरुरी छ, त्यसरी नै सिनेमाको कथालाई दृश्यगत गर्न र आम समुदायसम्म सञ्चारित गर्नका लागि सबल कलाकार पनि जरुरी पर्दछ । कथालाई जीवन्तता दिनका निमित्त कलाकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हलिउड सिनेमाका नामुद कलाकार चार्ली च्याप्लीन, अल पचिनो, ब्राड पिट, लियोनार्दो डिकापोरिया लगायतलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

पछिल्लो समय भिडन्तमा परेका कुनै पनि सिनेमाले लगानी उठाउन सकेको देखिँदैन । बक्स अफिसको अस्पष्टता देखाएर आफू सफल भएको दाबी त प्रस्तुत गरिन्छ तर त्यो दाबी सत्यको कति कोस पर हुन्छ, त्यो निर्मातालाई मात्र थाहा हुन्छ 

यी कलाकारले सिनेमाको कथामा स्वास नै भर्दिन्छन् भन्ने मान्यता सिनेमा जगतमा स्थापित भएको छ । भारतीय सिनेमा उद्योगकै कुरा गर्दा पनि दिलिप कुमार, देव आनन्द, गुरुदत्त, राजेश खन्ना र पछिल्लो समयमा अमिताभ बच्चन, आमिर खान, मनोज बाजपेयी, नवाजुद्दीन सिद्दीकी, रणवीर सिंह कंगना रनावत, विद्या बालन लगायतका सेलिब्रेटीलाई पनि अब्बल कलाकारको दर्जा दिइन्छ । कलाकारको जीवन्त अभिनयले सिनेमाको कथाले जीवन पाउँछ । त्यसले आम जनसमुदायसम्म पुगेर आफ्नो सन्देश सञ्चार गर्दछ ।

कलाकारहरु कथाका लागि निकै संवेदनशील हुनुपर्दछ । नेपालमा पनि सिनेमा र कथाको चरित्रका लागि केही कलाकार र तिनको मेहनत तारिफयोग्य छ । नेपालमा चरित्र केन्द्रित अभिनयको अभ्यास धेरै पछि मात्र भएको पाइन्छ । यस्तो अभ्यास नेपाली सिनेमा उद्योगका लागि भर्खरै प्रयोग भएको नौलो अभ्यास पनि हो ।

पछिल्लो छिमलका नेपाली कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने, अनुप बराल, सिर्जना सुब्बा, दयाहाङ राई लगायत दर्जनौँ कलाकारले चरित्रलाई फोकस गरेर अभिनय गरिरहेका छन् । कलाकारले सिनेमाको काँध थाप्ने काम गर्दछन् । त्यसैले सफल सिनेमाको एक मेरुदण्डको रुपमा सबल कलाकार पनि पर्दछन् । नेपाली सिनेमामा कथाले मागेको कलाकारभन्दा पनि लगानी गर्ने कलाकारको खोजी ज्यादा हुन्छ । यसले गर्दा धेरै सिनेमा हलमा पुग्न सहज भएका छन् तर टिक्न असफल हुने गर्दछन् । कटु सत्य यही हो यो क्षेत्रको ।

त्यसो त सिनेमाका लागि गीत–संगीतको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हलिउडका सिनेमामा संगीतको पनि उत्तिकै अर्थ रहन्छ तर संगीतमा उनीहरु ज्यादा ‘फोकस’ हुँदैनन् । तर हाम्रो सिनेमा इतिहास भारतीय सिनेमाबाट प्रभावित भएर आएकाले गीत संगीतको महत्त्व अनिवार्यजस्तो देखिन्छ ।

यिनै गीत तथा संगीतलाई नेपाली फिल्ममेकरले प्रचारको माध्यम बनाउँदै आएका छन् ।

पछिल्लो समय त एउटै राम्रो र हिट गीतको कारणले सिनेमाले लगानी उठाउन सहज भएका धेरै उदाहरण हामीमाझ छन् । यसरी हेर्दा ‘छक्का पञ्जा’ सिरिज, ‘शत्रु गते’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘नाइँ नभन्नू ल’, ‘प्रसाद’ लगायतका केही फिल्म सफल मानिन्छन् । यी सिनेमाको सफलतामा गीत र संगीतको भूमिका पनि प्रभावशाली रहेको थियो ।

सिनेमा प्रदर्शनको पद्धतिमा पनि सुधार गर्नु जरुरी छ । नेपालमा सिनेमा हलको संख्या पनि दिनप्रतिदिन घट्दै गएका छन् । यसतर्फ पनि पहल गर्नु आवश्यक छ

पछिल्लो समय प्रत्येक शुक्रबारजस्तो तीनवटासम्म नेपाली सिनेमाहरु रिलिज गरिन्छन् । किन होला ? प्रत्येक हप्ता भारतीय सिनेमा पनि नेपालमा रिलिज हुन्छन् । यसरी हेर्दा लगभग ४ देखि ८ वटासम्म सिनेमा प्रत्येक हप्ता जस्तो नेपालका हलमा नयाँ रिलिज हुन्छन् । अघिपछि बजार सानो भएको गुनासो गर्ने सिनेमाकर्मी किन एकैचोटी आफ्नो सिनेमा भिडाइरहेका छन् बुझ्न गाह्रो छ । एकथरीको भनाइ छ, ‘स्वतन्त्र बजारमा जति पनि सिनेमा रिलिज हुनुपर्दछ, जसको सिनेमा राम्रो छ, त्यो सिनेमा चल्छ ।’

यो तर्कलाई गलत भन्न त सकिन्न तर के त्यस्तै भइराखेको छ त ? प्रश्न उठ्छ ।

पछिल्लो समय भिडन्तमा परेका कुनै पनि सिनेमाले लगानी उठाउन सकेको देखिँदैन । बक्स अफिसको अस्पष्टता देखाएर आफू सफल भएको दाबी त प्रस्तुत गरिन्छ तर त्यो दाबी सत्यको कति कोस पर हुन्छ, त्यो निर्मातालाई मात्र थाहा हुन्छ ।

पछिल्लो समय हलवाला केही सञ्चालकले सामाजिक सञ्जालमा व्यक्त गरेका स्टाटसहरुले पनि फिल्म क्षेत्रको अहिलेको स्थितिलाई बुझाउँछ । बक्स अफिसको हल्ला व्यापक रुपमा चलाइए पनि यथार्थमा त्यो अझै कार्यान्वयनमा आइसकेको देखिँदैन । त्यसैले यो विषयलाई कडाइका साथ लागू गर्न जरुरी छ । अर्कातिर सिनेमा प्रदर्शनको पद्धतिमा पनि सुधार गर्नु जरुरी छ । नेपालमा सिनेमा हलको संख्या पनि दिनप्रतिदिन घट्दै गएका छन् । यसतर्फ पनि पहल गर्नु आवश्यक छ । नेपाली सिनेमामा रहेका समस्यालाई पहल गर्न सके सिनेमा सफल बन्ने सम्भावना बढ्दै जानेछ । यसले समग्रमा सिनेमा क्षेत्रको नै उत्थानमा मद्दत पुग्दछ ।


भर्खर

0