‘चिकित्सा पेशा पहिला समाजसेवा थियो, अहिले व्यवसाय बन्यो’ « Khabarhub
Logo
२२ फाल्गुन २०७७, शनिबार

‘चिकित्सा पेशा पहिला समाजसेवा थियो, अहिले व्यवसाय बन्यो’



डाक्टरी पेशालाई समाजले प्रतिष्ठित पेशाको रुपमा हेर्छ । त्यसैले पनि मेडिकल क्षेत्रमा रहेकाहरु आफ्नो निजी जीवनलाई ‘हाइ प्रोफाइल’ को बनाउने प्रत्यत्न गर्छन् ।

चिकित्सा पेशा सेवामुलक भएपनि यहि पेशाबाट धेरै आम्दानी गर्ने, घर, गाडी लगायत सम्पति जोड्ने चाहना धेरै चिकित्सकको हुन्छ ।

आफ्नो मेहनत र परिश्रमबाट सम्पन्न र खुसी जीवन बनाउने चाहना राख्नु स्वाभाविक पनि हो । त्यसका लागि केहीले गलत बाटोको प्रयोग गरेको पनि पाइने गरिएको छ ।

तर केही चिकित्सकहरु भने सम्पन्नतालाई भन्दा पनि बिरामीको खुसीमा आफ्नो सन्तुष्ट भेट्छन् । त्यहि सन्तुष्टि पाएका एक चिकित्सक हुन् वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर भाष्कर मोहन मेहर कायस्थ ।

डा कायस्थले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)का डर्माटोलोजी (छालारोग) विभागका प्रमुख एवं प्रोफेसरको रुपमा काम गरेर भदौमा मात्र अवकाश पाएका हुन् ।

२०३३ सालमा चिकित्सा शास्त्र अध्ययन संस्थाना (आइओएम)मा हेल्थ असिस्टेन्ट कोर्षबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा कायस्थ २०४६ सालदेखि वीर अस्पतालमा कार्यतर थिए । वीर अस्पतालमा मेडिकल अफिसर देखि विशेषज्ञ डाक्टर हुँदै प्रोफेसर सम्मको यात्रामा पुरा गरेका डा कायस्थको जीवन भने सामान्य नागरिककै जस्तो छ ।

उनी अहिले पनि २०५७ सालमा पहिलो पटक आफ्नै कमाइबाट किनेको ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल चढ्छन् । उनीसँग २०३६ सालमा हेल्थ असिस्टेन्ट भएदेखि विभागिय प्रमुख हुँदासम्मको लामो अनुभव र बिरामीको उपचार गर्दा पाएको खुसीका संगालोहरु छ ।

यति लामो समय चिकित्सा क्षेत्रमा रहेपनि मलाई धेरै पैसा कमाउनपर्छ भन्ने लागेन भन्ने प्रश्नमा उनी भन्छन्– मैले २०५७ सालमा पोखरमा जागिर खाँदा ५७ हजारमा सेकेण्ड ह्याण्ड बाइक किनेको थिए, अहिले पनि म त्यहि बाइक कुँदाइरहेको छु,’ डा कायस्थले भने, ‘धेरै पैसा नकमाए पनि मलाई नराम्रो लाग्दैन, म आफ्नो पेशाप्रति सन्तुष्ट छु । मैले इमान्दारिताका साथ बिरामीको सेवा गरेको छु, आत्मआलोचना गर्ने ठाउँ राखेको छैन ।’

लामो नाम हुँदा समस्या !

डा कायस्थ २०१७ साल माघ २२ गते ललितपुरको चाँपागाउँमा जन्मिएका हुन् । कायस्थ जन्मिएको समयमा उनका बाबु सरकारी विद्यालयको शिक्षक थिए ।

कायस्थ जन्मिएको भोलिपल्ट सूर्य नउँदाउँदै घर आइपुगेका कायस्थका बुबाले उनको नाम भाष्कर राख्ने निर्णय लिए । बाबुले राखेको मेहर कायस्थ वंश र बाहुनहरुको ‘प्रसाद’ भनेजस्तै उनको नाम पछाडि हजुरआमाको नामको ‘मोहन’ पनि थपियो । उनको पुरा नाम ‘भाष्कर मोहन मेहर कायस्थ’ भयो ।

आफ्नो लामो नाम हुँदा साथीहरुले उनलाई सहज रुपमा चिने । तर त्यही नामको कारण स्कुल देखि डाक्टरी पेशामा रहदा सम्म उनले समस्या भोग्नुपर्‍यो ।

‘मेरो नाम निकै लामो छ, यही नामको कारण साथीहरुले चाँही नर्विसने गरी चिने, तर स्कुल पढ्दा देखि हरेक ठाउँमा फारम भर्दाचाँही लामो नामले धेरै समस्यामा पार्‍यो,’ डा कायस्थले नामको कारण भएको समस्याबारे हाँस्दै बताए, ‘फारमहरु भर्ने बेलामा अंग्रेजीमा भर्नुपर्ने फारममा त झण्डै २६ वटा शब्द पुग्छ, फर्महरुमा २०,२२ वटा कोठा हुन्छ, के लेख्ने ? बैंक भौचरहरुमा त पुरा नाम लेख्नुपर्ने हुन्छ, नाम नअटेर तनाव नै हुन्थ्यो ।’

सरकारी बाट बोर्डिङमा जाँदा अंग्रेजीको समस्या

उनले कक्षा ५ सम्म चाँपागाउँकै सरकारी विद्यालय बज्रबाराही प्राथमिक विद्यालयमा पढे । पाँच कक्षा पास गरेपछि कायस्थलाई उनका परिवारले राम्रो विद्यालयमा पढाउने भनेर स्वयम्भू रहेको आनन्द कोटी विद्यापिठमा ६ कक्षामा भर्ना गरिदिए । उनले होस्टलमा बसेर पढ्नुपर्ने भयो । होस्टलको बसाइ भन्दा पनि अंग्रेजी माध्यमले उनलाई धेरै तनाव दियो । तनाव मात्र होइन, सरकारी स्कुलमा प्रथम हुने कायस्थ ६ कक्षाको प्रथम परीक्षामा नेपाली विषय बाहेक सबैमा फेल नै भए ।

‘म त पाँचकक्षासम्म सरकारी विद्यालयमा पढेको ‘माइ इंग्लिस बुक’ बाहेक सबै नेपाली भाषामा थियो, त्यहाँ त नेपाली विषय बाहेक सबै अंग्रेजीमा पढाइ हुने, प्रश्नहरु त केके हो के के ? केही बुझिन्,’ कायस्थले बाल्यकालको त्यो समय सम्झिए, ‘पाँच कक्षासम्म प्रथम हुन्थें त्यहाँ त पहिलो परीक्षामा त नेपाली बाहेक सबै विषयमा फेल भए । दोस्रो परीक्षाबाट अंग्रेजीमा मेहनत गरे, सुधार पनि भयो । १० कक्षासम्म टपटेनमै पर्थें।’

०००

स्वयम्भूमा रहेको आनन्दकोटी विद्यापिठको होस्टलमा पानीको समस्या थियो । नुहाउनको लागि शनिबार कुर्नुपर्ने, त्यो पनि ट्रकको पछाडी बसेर बाइधारामा पुगेर ।

विद्यार्थीले प्रयोग गर्ने शौचालयमा पानी नहुँदा कायस्थ र उनका साथीहरु शिक्षकको क्वार्टरमा लुकी लुकी जान्थें । त्यो पलका घटनाहरु उनलाई अझै याद छ ।

‘स्वयम्भूमा पानीको निकै समस्या थियो, शनिबार शनिबार अहिले भैंसी राख्ने जस्तै ट्रक हुन्थ्यों, त्यहि ट्रकमा उभिएर बाइसधारामा नुहाउँन जानुपथ्र्यो,’ कायस्थले बाल्यकाल सम्झिए, ‘शौचालयमा पानी नहुँदा शिक्षकको क्वार्टरमा लुकी लुकी जान्थेंम ।’

कायस्थले एसएलसी दिँदा उनको वास्तविक उमेर १४ वर्ष मात्र थियो । तर एसएलसी दिनको लागि त्यतिबेला १६ वर्ष उमेर पुरा भएको हुनुपथ्र्याे । १० कक्षामा पुगिसकेका कायस्थले जन्ममितिको कागजमा उमेर बढाएर २०३२ सालमा एसएलसी परिक्षा दिए । उनले प्रथम श्रेणीमा एसएलसी पास गरे ।

हेल्थ असिस्टेन्ट कोर्षबाट चिकित्सा शिक्षा

कायस्थको घर चाँपागाउँमा एक सामाजिक संस्थाको स्वास्थ्यसंस्था थियो । बाल्यकालमा नै उनले बिदेशी डाक्टरहरु त्यहाँ आएको र बिरामी जाँचेको देखेका थिए । त्यसैले उनले बाल्यकालमै आफु पनि डाक्टर बन्ने सपना बुनेका थिए । उनका बाबुको सपना पनि कायस्थलाई डाक्टर नै बनाउने थियो । त्यसैले कायस्थले एसएलसी पास भएपछि २०३३ सालमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा हेल्थ असिस्टेन्टको कोर्ष शुरु गरे ।

नारयणकाजी र प्रकाशशरण साथी

कायस्थले आइओममा हेल्थ असिस्टेन्ट कोर्ष पढ्दा उनीसँगै हालका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता प्रकाशशरण महत पनि हेल्थ असिस्टेन्ट कोर्ष पढ्थे । उनीहरु क्लासमा मिल्ने साथी पनि थिए ।

आइओएममा पढ्दा उनीहरु कहिलेकाँही होस्टलबाट भागेर फिल्म हेर्न जान्थें ।

‘अहिले नेकपाका नेता नारायणकाजी र कांग्रेस नेता प्रकाशशरण मेरो मिल्ने साथी थिए, हामी क्लासबाट भागेर फिल्म हेर्न जान्थ्यौं, प्रकाशशरण भन्दा पनि नारायणकाजीसँग धेरे फिल्म हेरें । अहिले म डाक्टर भए, उहाँहरु नेता हुनुभयो ।’ कायस्थले भने, ‘मन्त्री नै हुँदा त धेरै भेट हुँदैनथ्यौं, तर हामीले महाराजगञ्ज क्याम्पस फोर्थ ब्याजको भाइबर ग्रुप बनाएका छौं, अहिलेपनि पनि कुरा हुन्छ । पेशा फरक भएपनि मित्रता त उस्तै हुन्छ नि ।’

उनले २०३६ सालमा हेल्थ असिस्टेन्टको कोर्ष पुरा गरे । त्यसपछि उनले गोदावरीको बाडेगाउँमा रहेको हेल्थपोष्टमा हेल्थपोष्ट इन्चार्जको रुपमा काम गर्न शुरु गरे । ३ वर्ष हेल्थपोष्टमा काम गर्दा उनले धेरै बिरामीहरुको उपचार गरे । त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकालेर २०३९ सालमा एमबीबीएस पढन् बंगलादेश गए ।

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययन पुरा गरेर आएपछि सरकारी जागिर खानुपर्ने अनिवार्यता थियो । उनले शिक्षा मन्त्रालयमा आफुले अध्ययन पुरा गरेको भनेर जागिरका लागि निवेदन दिए । तर त्यतिबेला शिक्षा मन्त्रालयले जागिर दिएन । त्यसपछि उनले २०४५ कालीमाटिमा रहेको निजी अस्पतालमा काम गर्न थाले ।

त्यहाँ दुईवर्ष काम गरेपछि उनले वीर अस्पतालमा २०४६ सालमा मेडिकल अफिसको रुपमा जागिर पाए । उनले वीर अस्पतालमै रहदा स्थायी जागिरका लागि लोकसेवा तयारी गरे र २०४७ सालमा लोकसेवा पास गरी सरकारी चिकित्सकको रुपमा सर्लाही गए ।

नक्कली रिपोर्ट बनाउने दबाव !

सर्लाहीमा मेडिकल अफिसरको रुपमा काम गर्दा कुटपिटका घटनाहरु आइरहन्थे । ती घटनामा पीडितको स्वास्थ्य अवस्थाबारे चिकित्सकले स्वास्थ्य जाँच गरेर रिपोर्ट दिन्थे । सोही रिपोर्टको आधारमा घटना कति गम्भिर प्रकृतिको हो भनेर छानवीन हुन्थ्यो । त्यतिबेला अस्पतालमा नक्कली पीडितहरुले ‘गम्भिर चोट’ भनेर रिपोर्ट लेखाउँन दवाव नै दिन्थें । यस्तै पीडिकहरु पनि डाक्टरहरुलाई प्रभाव र दवाबमा पारेर घटनालाई सानो बनाउन चाहन्थे ।

पीडित र पीडकको दवाब र प्रभाव चिकित्सकले भोग्नुपर्ने हुन्थ्यो । त्यहि मौकाको फाइदा उठाउँदै कतिपय चिकित्सकहरु दुवैपक्षसँग रकम लिएर रिपोर्ट भने वास्तविक नै बनाउथे । तर डा कायस्थले पीडित र पीडकको दवाब र प्रभावमा नपरी चिकित्सा पेशाको धर्म नछाडेको दावी गर्छन् ।

‘सर्लाहीमा हुँदा कुटपीटको घटनाहरु धेरै आउथ्यो । कतिपय नक्कली पीडितहरु आएर, ठूलो चोट छ भनेर रिपोर्ट लेख्नु भन्दै वकिल नै लिएर प्रभाव पार्न आउथें, अनि पीडकहरु चाँही चोट बढी हुँदा कारबाही हुने भएकाले सामान्य चोट भनेर रिपोर्ट बनाउँनु भन्न आउथें,’ डा कायस्थले भने, ‘कतिपय डाक्टरहरुले दुवैपक्षसँग पैसा लिन्थे रे, तर मैले त्यस्तो गरिन, त्यसरी गलत तरिकाबाट पैसा नकमाउँदा पेशाप्रति अझै गर्व महशुस हुन्छ ।’

उनले सर्लाहीमा साढे २ वर्ष मेडिकल अफिसरको रुपमा काम गरेपछि फेरी वीर अस्पतालमै पोष्टिङ भयो । एमबीबीएस मात्र पढेका डा कायस्थले एमडी पढ्न वेतलबी अध्ययन विदा लिएर २०५१ सालमा फेरी वंगलादेश गए ।

छाती रोगबारे पढ्ने चहाना तर छालारोगबारे पढे

डा कायस्थले छातीरोगको विषयमा एमडी गर्ने सोचेका थिए । तर बंगलादेशमा छाती रोगको विषयमा पढ्ने अवसर पाएनन् । सर्लाहीमा काम गर्दा छालारोगका बिरामीको समस्या देखेका डा कायस्थले डर्माटोलीजी पढ्ने सोच बनाए ।

उनले बंगलादेशमा ४ वर्ष बसेर २०५५ सालमा छालारोग विशेषज्ञ भएर नेपाल फर्किए । विशेषज्ञ चिकित्सक भएर वीर अस्पतालमा सेवा दिन थालेको एकवर्षपछि उनको फेरि पोखरामा रहेको पश्चिमाञ्चाल क्षेत्रिय अस्पतालमा पोष्टिङ भयो ।

पोखरा छाड्न मन थिएन, स्वास्थ्य मन्त्रीले वीरमै ल्याए

२०५५ सालमा पोखरमा विशेषज्ञ चिकित्सक भएर गएका डा कायस्थ त्यहाको वातावरण र बिरामीको उपचारमा सन्तुष्ट थिए । तर डा कायस्थलाई न्याम्समा डर्माटोलोजीमा पीजी अध्ययन शुरु गर्ने भनेर फेरि वीर अस्पतालमा सरुवा गर्‍यो ।

तत्कालिन स्वास्थ्य मन्त्री डाक्टर उपेन्द्र देवकोटाले डर्माटोलोजी अध्ययन गरेको चिकित्सक खोज्दै न्याम्समा पीजी अध्ययन शुरुगर्ने भनेपछि उनी २०६१ सालमा फेरी वीर अस्पतालमा आए । २०६१ सालदेखी डा कायस्थ न्याम्सको डर्माटोलोजी विभागका प्रमूख र प्रोफेसरको रुपमा रहे । सबै विरामी मात्र जाँचेका कायस्थलाई विद्यार्थीहरु पढाउने जिम्मेवारी पनि थपियो ।

‘म त पोखरामा विशेषज्ञ चिकित्सक भएर काम गरिरहेको थिए, त्यही रमाइरहेको थिए, तर तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाले न्याम्समा पीजी खोल्ने भनेर मलाई काठमाडौं नै सरुवा गर्नुभयो,’ डा कायस्थले भने, ‘पढाउने भनेर त मैले सोचेकै थिइन, तर सरकारी सेवामा डर्माटोलोजी पढेको म मात्र रहेछु, अरुलाई वीर अस्पतालमा आउन सोर्स लगाउनुपर्ने हुन्थ्यो, तर मेरो विशेषज्ञताले मलाई भने स्वास्थ्यमन्त्री आफैले खोज्नुभयो, अनि म फेरि वीर अस्पतालमा प्रोफेसर र विशेषज्ञ चिकित्सकको रुपमा आए ।’

डा कायस्थ वीर अस्पतालमा आएपछि २०६१ सालदेखि डर्माटोलोजीको विषयमा एमडी शुरु भयो । उनले १४ औं ब्याजसम्म गरी झण्डै ३४  छालारोग विशेषज्ञहरु उत्पादनमा योगदान पुर्‍याए ।

छालारोगका बिरामीको उपचारले पाएको खुसी

डा कायस्थले छाला रोग विशेषज्ञ भएर हजारौं बिरामीको छालासम्बन्धि सानो देखि ठूलो–ठूलो समस्याहरुको समाधान गरिदिए । उनलाई बिरामीहरुले सस्तो औषधिमा रोग निको पार्ने डाक्टरको उपचार पनि चिन्छिन् । छालासम्बन्धि सामान्य समस्याको सहि उपचार नपाउँदा धेरै खर्च गरेर अन्तिममा डा कायस्थका पुग्नेहरु निको भएर खुसी भएर फर्किदा उनलाई आफ्नो पेशामा सन्तुष्टि मिल्छ ।

त्यस्तै सन्तुष्टिको एउटा घटना उनी यसरी सुनाउँछन्

कतिपय बिरामीहरु चिलाउने समस्या भएर धेरे ठाउँमा उपचार गर्दा पनि ठिक नभएर आइपुग्छन् । उनीहरुलाई सामान्य एलर्जी भएको हुन्छ । तर सहि औषधि प्रयोग गरेका हुँदैनन् । यस्तै घटना लिएर एकजना ४२ वर्षका पुरुष विरामी आएका थिए । उनको देव्रे हातमा घाउँ थियो ।

५० हजार जति खर्च भइसकेको थियो भनेका थिए । मेले छालाको घाउँ हेरे, इन्फेक्सन भएको रहेछ,मैले एकसय ५० रुपैयाँको औषधि देखिदिए, उनको घाउँ ठिक भयो । त्यो बिरामी १० वर्षपछि आउँदा पनि निकै खुसी भए । मैले खासै ठूलो काम गरेको थिइन्, इन्फेक्सन हेरेर औषधि सिफरिस गरेको थिए । तर त्यो बिरामीले व्यक्त गरेको खुसीले मन निकै आनन्दित भयो । आफुले गरेको पेशाप्रति गर्व गर्ने कुरा नै बिरामीको खुसी हो ।

पत्नीको जागिर छुटाएकोमा पश्चताप

डा कायस्थले एमबीबीएस सकेर कालीमाटिको निजी अस्पतालमा काम गर्दा त्यहि काम गर्ने युवतीसँग विवाह गरे । विवाह पछि डा कायस्थले आफ्नो अध्ययन र जागिर दुवैलाई अगाडी बढाए । तर उनकी पत्निले भने जागिर छाडेर घरव्यवहार सम्हाल्न थालिन् ।

कायस्थ दम्पत्तिका दुईछोरीले अहिले एमबीबीएस पुरा गरिसकेका छन् भने छोराले ११ मा पढ्दै छन् । विवाह गर्ने वित्तिकै जागिर छुटाएपनि डा कायस्थकी पत्निले कहिल्यै गुनासो गरिनन् ।

पत्नीले घरव्यवहार सम्हालेकै कारण डा कायस्थ ढुंक्कसँग आफ्नो पेशामा ध्यान दिन सके । तर उनलाई अहिले भने आफ्नी पत्नीको जागिर छुटाएकोमा पश्चताप लाग्ने बताउँछन् ।

‘एमबीबीएस सकिएपछि कालीमाटिमा काम गर्दा नै त्यही लभ पर्‍यो, विवाह गरे, उनी अहिले गृहीणी छन्, उसैको सपोर्ट पाएर मैले आफ्नो पेशा अगाडी बढाए,’ डा कायस्थले भने, ‘उनले कहिल्यै गुनासो गरिनन्, तर त्यतिबेला उनको जागिर छुटाएकोमा अहिले चाँही पश्चताप लाग्छ ।’

अहिलेको चिकित्सा शिक्षा र पेशा विजनेश जस्तो भयो

डाक्टर कायस्थले एमबीबीएस पढ्दा नेपालमा निकै थोरै डाक्टर थिए । उनी नेपाल मेडिकल काउन्सिलमा १२ सय ६१ नम्बरमा दर्ता छन् । त्यतिबेला डा कायस्थले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएस पढ्न पाए । तर अहिलेको चिकित्सा शिक्षा र पेशा विजनेशको रुपमा परिवर्तन भएको उनको बुझाइ छ ।

‘पहिला मेडिकल क्षेत्र भनेको समाजसेवा भन्ने बुझिन्थ्यो, तर पछि नर्सिङहोम, मेडिकल कलेजहरु खुलेपछि चाँहि मेडिकल क्षेत्र उद्योगको रुपमाय विकास भयो, अहिले मेडिकल क्षेत्र उद्योगको रुपमा आयो र लगानी गरेअनुसार प्रतिफल खोज्नेहरु भए,’ डा कायस्थ भन्छन्, ‘ लगानी गरेपछि प्रतिफल त मान्छेले खोज्छ तर अहिले चिकित्सा क्षेत्रमा नाफा खोज्ने क्रम बढेको देखिन्छ, जसले गर्दा बेलाबेलामा समस्या आउने गरेको छ ।’

गीत रेकर्डिङको सोच

डा कायस्थको रुची चिकित्सा क्षेत्रमा मात्र होइन । उनको रुची संगित क्षेत्रमा पनि छ । आइओएममा हेल्थ असिस्टेन्टको कोर्ष पुरा गरेपछि एमबीबीएस पढ्न बंगलादेश जानुअघि रेडियो नेपालमा भक्तिराज आचार्यसँग एकवर्ष संगित समेत सिकेका थिए ।

बंगलादेशमा एमबीबीएस पढ्दा बंगालीहरुलाई नेपाली र हिन्दी गीत सुनाएर आफ्नो अर्को प्रतिभा पनि देखाएका थिए । चिकित्सा पेशाको व्यवस्थताले संगितामा नलागेका डा कायस्थ अब भने गीतसंगितको क्षेत्रमा लाग्ने सोचमा छन् ।

‘मैले गीत पनि गाउँछु, स्कुल पढ्दादेखि एमबीबीएस पढ्दापनि म गीत गाएर सुनाउथें, तर नेपाली गीत रेकर्ड भने गरेको थिइन्, अब वीर अस्पतालबाट अवकाश पाए, फ्रि भएको छु, अब चाँहि गीत रेकर्डिङ गर्छु,’ उनले हाँस्दै भने, ‘कुनै गीत लेख्नुभएको भए भन्नुस् है म गाइदिन्छु ।’


भर्खर

0