गमलामा रोपेको रुखको मूल्य ४० हजारसम्म « Khabarhub
Logo
१३ कार्तिक २०७७, बिहीबार

गमलामा रोपेको रुखको मूल्य ४० हजारसम्म



काठमाडौं- पिंजडामा राखेको सुगा । छेउमै सेता रङका ढुकुर र बट्टाई चराहरु कराइरहेका थिए ।

चारैतिर गमलामा प्लान्ट, फलफूल र साना-ठूला रुखहरु देखिन्थे । भित्रको वातावरण र चराका मीठो आवाज । मन नै आनन्दित बनाउने ।

बानेश्वरचोकबाट केहीभित्र प्रवेश गरेपछि खरिबोट आउँछ । एउटा खरिबोट पार गरेसँगै आन्नद पार्टी प्यालेस (ठूलो खरिबोट) नपुग्दै रोडमा एउटा बोर्ड देखिन्छ । जहाँ लेखिएको छ ‘रोज डेल नर्सरी।’

झट्ट हेर्दा सडकबाटै भित्रको हरियाली वातवरण नियाल्न सकिन्छ । अझ गेटभित्र प्रवेश गरेपछिको आन्नद छुट्टै छ । करिब २ सय भन्दा बढी प्रजातीका बोटविरुवाहरु सजाइएका छन् ।

जताततै गमला । कतै बासको टोकरी बनाएर झुन्डाइएको छ त कतै भुइमै राखिएको कतिपय विरुवाहरु पाइपमै पनि रहर लाग्दो तरिकाले सजाइएको ।

अझ अचम्मको कुरा त प्रशस्त जरा र मोटो रुख तर हाँगा छैनन् । करिब ३० वर्षअघिका रुखहरुलाई कसरी समायोजन गरेर राखेको होला ?

जसलाई बोनसाइ भनिन्छ । जुन जापानिज प्रविधिबाट बनाइएको एउटा आर्ट हो । नर्सरीमा हेर्न आउनेहरुको उत्सुकता जगाउँदै हेरिरहेका थिए भने अन्य केही मानिसहरु जानकारीका लागि समेत आएका थिए ।

यो नर्सरी दार्जलिङका प्रकाश राईको हो । उनको नर्सरीमा ३० वर्षअघिका रुखहरु देख्न सकिन्छ । जसलाई उनले बोनसाइन बनाएर राखेका छन् । लामो समय आर्थिक संकट झेलेका प्रकाश सफल नर्सरी व्यवसाय बनेका छन् । अहिले उनी बोनसाइ व्यवसायीका रुपमा चिनिएका छन् ।

प्रकाशको जन्म वि.स. २०२६ सालमा दार्जलिङको मिरिकमा भयो । ४ दाजुभाइ र ३ दिदीबहिनी रहेको परिवारमा उनी साइला छोरा हुन् । दार्जलिङको ग्रामीण भेगमा जन्मिएका प्रकाशको आर्थिक अवस्था न्यून थियो ।

६ वर्षको उमेरमा गाउँकै एउटा सरकारी विद्यालयमा अध्ययन गर्न थाले उनले । बिट्रिसले चलाएको एक चिया कम्पनीमा बुबाआमाले काम गर्थे । घरमा गाईवस्तु पालेकाले बिहानबेलुका उनी घास काट्ने भकारो सोर्ने काममा व्यस्त हुन्थे भने दिउसो विद्यालयमा ।

प्रकाशलाई ती दिनहरु अझै पनि याद छ । जतिबेला उनी स्कुल पढ्थे । ती दिनहरु स्मरण गर्दै उनी भन्छन्, ‘पल्लो गाउँमा एकजना दाइले बनसाइ गर्नु भएको रहेछ गाउँभरी हल्ला चलेको थियो मलाई पनि त्यो जान्ने इच्छा जाग्यो ।’

‘गाउँमा दिनप्रतिदिन त्यो दाईको कुरा बढ्न थाल्यो’ उनले थपे ‘मैले एकदिन साथीलाई लिएर पल्लो गाउँसम्म पुगे र बनासइका बारेमा राम्रोसँग बुझेर आएँ ।’

उनले घर फर्किए लगात्तै आफूले पनि बर र पिपलका विरुवा खोजेर बनसाइ बनाउन प्रयत्न गरेका थिए ।

‘आफ्नै स्रोतलाई परिचालन गर्न सकेमा स्वदेशमै आम्दानी गर्न सकिने रहेछ आखिर हामीले वस्तु चिन्न नसकेको रहेछौं’ प्रफुल्ल हुँदै उनले भने ‘रुखलाई आकृति बनाउन सकेमा पैसा यही फल्छ नि ।’

तर आर्थिक समस्याका कारण उनले कक्षा ९ मा अध्ययन गर्दागर्दै छोड्नु पर्ने अवस्था आयो । पढाइ छोड्ने मनस्थितीमा भने उनी थिएनन् । आफैं पैसा कमाएर भएपनि पढाइलाई निरन्तरता दिने सोच थियो उनको ।

मिरिकामा अध्ययन गरिरहेका प्रकाशले काठमाडौं आएर जागिर खाने र अध्ययन अघि बढाउने सोच राखेका थिए । त्यस समय उनकी दिदी काठमाडौं बस्थिन् । जसकारण उनी राजधानी आउन दिदीबाट प्रेरित भए ।

‘दिदी काठमाडौं बस्नुहुन्थ्यो’ प्रकाशले स्मरण गर्दै भने ‘काठमाडौं आइज यही केही काम गरेर पढ्लास भन्नुभयो दिदीले म पनि तत्काल हिँडिहाले ।’

पहिलो पटक काठमाडौं आउँदा १६ वर्षका थिए उनी । ललितपुरको जावलाखेलमा रहेको दिदीको डेरामा बस्न थाले। शुरुका दिनमा उनलाई शहर निकै बिरानो लाग्थ्यो । जागिरको खोजीमा हिडे तर कतै जागिर पाएनन् । पढ्ने सोच त छोडे नै उनले तर जेनतेन जीवन धान्नका लागि पनि खर्च जुटाउन गाह्रो हुन्थ्यो उनलाई ।

संगीत क्षेत्रमा लागे प्रकाश

केही दिन जागिरको खोजीमा भौतिरिएका उनी साङ स्टुडियोमा काम गर्न पुगे । मामाको साथमा पुगेका उनी केही दिन सुटिङमा हिड्थे । ‘क्यामेरा बोकेर हिड्थेँ’ उनले भने ‘लाइटको काम गर्थे मैले ।’ उनकाअनुसार करिब २ वर्ष उनले त्यहाँ काम गरेका थिए ।

त्यससँगै प्रकाश साङ्गीतिक क्षेत्रतिर प्रवेश गरे । काठमाडौंको बसाइ बिहान बेलुका खानाकै लागि पनि दुःख त गर्नै पर्‍यो । उनी ब्यान्डमा गिटार बजाउने गर्थे । जसकारण उनले गायक अर्जुन थापाको गीतमा गिटार बजाउने अवसर समेत पाए ।

नर्सरीका क्षेत्रमा बोनसाइबाट अघि बढ्ने सोच बनाएपनि आर्थिक समस्याकै कारण पाछाडिँदै गएको बताउँछन् । तर उनी जहाँ जहाँ डेरा सर्थे त्यहाँको घरको छतमा बोनसाइ राख्ने गर्थे ।

भन्छन्, ‘मलाई बोनसाइ गरेर मात्र सम्भव थिएन त्यसकारण कलाकारसँग पछिपछि हिड्थे, तर मैले घरबेटीको छतमा थोरै ठाउँ मागेर बोनसाईका केही रुखहरु चाहिँ लगाएको थिएँ ।’

डेढवर्ष सम्म कलाकारसँग हिडेका उनलाई त्यो पेशाले आफ्नो जीवन नचल्ने सोच्न थाले । कलाकारितासँगै उनले थुप्रै काम गरे तर ती कुनै पेशामा रमाउन भने सकेनन् ।

आर्थिक अवस्थाकै कारण लामो समय कुनै जागिरमा काम गर्न समेत सकेनन् । अन्नतः आफ्नै व्यवसायलाई अघि बढाउन सोच बनाए प्रकाशले ।

साङ्गितिक यात्रा छोडेर बोनसाइ व्यवसायतिर

१८ वर्षअघिको कुरा हो । बोनसाइ व्यवसायतिर प्रवेश गर्ने सोच बनाएका उनलाई काठमाडौंको ठाउँ माटो कहाँ पाइन्छ ? मलजल कसरी ल्याउने ? कहाँबाट ल्याउने ? लगानी कसरी जुटाउने ? यी सबकुराले पिरोल्न थाल्यो ।

घरकै छतमा राखेको करिब २२ वटा विरुवाबाट बोनसाइ व्यवसायतिर प्रवेश गरे ।’ ‘माटो खोज्नका लागि धेरै दुख पाएको थिएँ’ प्रकाशले भने ‘राति सबै सुतेका बेला म चाहिँ अरुको जग्गामा माटो खोज्न पुग्थें ।’

‘व्यवसाय गर्नका लागि लगानी नै थिएन’ उनले भने ‘एकजना दाइले गमला किन्नका लागि ७ सय रुपैयाँ दिएका थिए, त्यसबाट पनि थप गरेँ ।’ विस्तारै छिमेकीहरुको माया पाउन थाले उनले । ‘रुखविरुवा राम्ररी कटिङ गरेको देखेर धेरैले सित्तैमा विरुवा ल्याइदिन्थे नर्सरीमै’ उनले मुस्कुराउँदै भने ‘मलाई सफल बोनसाइ बनाउनका लागि सबैले साथ दिनुभएको थियो ।’

के हो बोनसाइ ?

बोनसाइ कुनैपनि विरुवाको तयार गर्न सकिन्छ । यो कला दिनानुदिन विश्वभर उत्कृष्ट कलाका रुपमा फैलिदै गइरहेको छ । बोनसाइ तयार गर्दा त्यस विरुवाको प्राकृतिक सौन्दर्यलाई सदैव ख्याल गर्नुपर्छ । बोनासइ बनाउनकालागि विरुवा गमला र तारको आवश्यकता पर्दछ ।

पछिल्ला समय विभिन्न नर्सरीमा यस्ता विरुवाको ठूलो माग रहेको प्रकाश बताउँछन् । ‘इच्छा र रुचीअनुसार पनि बोनसाइ तयार गर्न सकिन्छ’ उनी भन्छन्, ‘विरुवालाई सुन्दर शैलीमा परिणत गर्न सकिन्छ ।’

कसरी गर्ने बोनसाइ ?

सुन्दा अचम्म लाग्न सक्छ । कसरी विरुवालाई गुज्रुक्क र ठूला वृक्षलाई कसरी ती गमलामा समायोजना गर्न सकिन्छ त ? उनी भन्छन्, ‘बोनसाइ तयार गर्दा वृक्षअनुसार भाँडो वा गमला चयन गर्नुपर्छ बोनसाइका लागि जल, माटो, खनिज तत्व तथा हावाको आवश्यकता पूरा गर्नुपर्छ ।’

उनकाअनुसार बोनसाइ तयार गर्ने भाँडो पानी नजम्ने खालको हुनुपर्छ । गमला र चट्टानबाट पनि बोनसाइ गर्ने भाडो तयार गर्न सकिन्छ । बोनसाइ तयार गर्ने बोटविरुवा काट्नका लागि कैंची, विरुवा अड्याउने काठको लठ्ठी, डोरी वा तारजस्ता सामानको आवश्यकता पर्दछ ।

बोनसाइका लागि प्रयोग हुने विरुवाले स्वयम् आफ्नो आकार निर्धारण गर्छ तर यसको कटाइद्धारा हाँगाको आकार प्रकारमा डोरीले बाँधेर बदल्न सकिन्छ । आकार दिएसँगै बोनसाइ विरुवालाई कहाँ राख्ने हो सोही ठाउँमा राख्नुपर्छ । बोनसाइको आकार सदैव एउटै राख्ने हो भने बेलाबेला काट्नुपर्छ । काटछाट गरेपछि विरुवालाई मलजल हाल्नुपर्छ ।

नेपालको हावापानीअनुसार बोनसाइ राम्रो हुने उनको अनुभव छ ।

बोनासइका बारेमा धेरैलाई ज्ञान दिइसकें

प्रकाशले बोनसाइको बारेमा धेरै युवाहरुलाई जानकारी दिइसकेका छन् । केही महिनाअघिको घटना सुनाउँदै उनी भन्छन्, ‘चितवनदेखि एकजना युवा मेरो नर्सरी खोज्दै आएका थिए । मैले बोनसाइका बारेमा बताएपछि गाउँ फर्किएर बोनसाइ गरिरहेका छन् ।’

त्यस्तै अन्य थुप्रै साथिभाइहरुले सोध्ने बताउँदै उनी भन्छन्, ‘विदेश जान चाहने साथीहरुलाई पनि मैले बोनसाइका बारेमा बताइदिएपछि यही काममा फर्किका छन् ।

‘बोनसाइ गर्न सकेमा रमाइलो पनि हुन्छ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘आम्दानी पनि हुन्छ ।’

एउटै बोनसाइबाट ४० हजार आम्दानी

रुखका काटेर काठ बेच्दा आम्दानी हुने कुरा सुनिरहेका हामीलाई गमलामै राखेको रुखलाई ४०/५० हजार रुपैयाँ पर्छ भन्ने कुरा सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ ।

तर प्रकाशको नर्सरीमा १० हजारमाथि ५० हजारसम्मका बोनसाइ रहेका छन् । ‘केही महिनाअघि ४० हजार रुपैयाँमा लोकल सल्ला बेचेको छु’ उनले भने ‘यसको माग नेपालभित्रकै विभिन्न ठाउँमा पुगेका छन् ।’

उनको नर्सरीमा ३० वर्षअघिदेखिका बोनसाइहरु छन् । अहिले पोखरा, चितवन, इलाम, दमक, बुटवल लगायतका ठाउँमा बढी मात्रामा गइरहेका छन् । पछिल्ला समय मानिसहरुले विशेषगरी घर तथा कार्यालयमा सजाउनका लागि पनि बोनसाइ रुचाएको पाइन्छ ।

उनले नर्सरीमा बोनसाइबाहेक फलफूल र विभिन्न प्लान्ट्हरु छन् ।


भर्खर

0