काठमाडौंका घरधनीलाई नयाँ नियम– दशैंमा बाहिर जाँदा प्रहरीलाई खबर गर्नुपर्ने ! | Khabarhub Khabarhub

काठमाडौंका घरधनीलाई नयाँ नियम– दशैंमा बाहिर जाँदा प्रहरीलाई खबर गर्नुपर्ने !


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा घर भएर दशैंका बेला पुर्ख्यौली घर जाने व्यक्तिले घर छाडेर जानेबेला प्रहरीलाई खबर गर्नुपर्ने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैं, तिहार तथा छठ पर्वका लागि तयार पारेको सुरक्षा योजनामा दशैंका बेला काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।

दशैं, तिहार तथा छठ मनाउनका लागि काठमाडौंको घर छाडेर पुर्ख्यौली घर जाँदा घरमा चोरी लगायतका घटना हुने भएकाले सबै घरधनीहरुले आफूहरुलाई घर छाडेर गएको जानकारी दिन प्रहरीको अनुरोध छ ।

साथै, घरमा काम गर्ने कामदार र सुरक्षाका लागि खटाइएका व्यक्ति (सुरक्षा गार्ड)बारे पनि प्रहरीलाई जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

‘चाडपर्व मनाउन पुर्ख्यौली घर जाने व्यक्तिको काठमाडौं उपत्यकामा रहेका घरमा चोरी हुने घटना यसअघिका वर्षमा धेरै हुने गरेको देखियो । यो वर्ष हामीले यस्ता चोरीका घटना नहोउन् भनेर घरधनीसँग नै समन्वय गर्ने योजना बनाएका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले खबरहबसँग भने, ‘दशैं मनाउन आफ्नो पुर्ख्यौली घर जाने सबै घरधनीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुभयो भने हामीलाई त्यसबारे जानकारी हुन्छ । जहाँ घर खाली हुन्छ, त्यहाँ हामीले विशेष निगरानी राख्न पाउँछौं ।’

१ मिनेटमा प्रहरी उपलब्ध हुने

दशैं, तिहार र छठ पर्वका बेला प्रहरीका लागि काठमाडौं प्रहरीले छुट्टै सुरक्षा योजना लागू गर्ने भएको छ । उक्त सुरक्षा योजनाअन्तर्गत नियमितभन्दा २५ प्रतिशत बढी प्रहरी जनशक्ति परिचालन हुनेछन् ।

‘चाडपर्वका बेला हामीले नियमित प्रदान गरिरहेको जस्तै सुरक्षा प्रदान हुन्छ । तर, परिचालनको अवस्था भने अलि फरक हुन्छ,’ काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने, ‘हामीले लामो अध्ययन र अनुसन्धान गरेर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र पहिचान गरेका छौं । जहाँ हाम्रो विशेष निगरानी हुन्छ ।’

एसएसपी सुवेदीका अनुसार दशैं, तिहार र छठ पर्वका लागि तयार पारिएको सुरक्षा योजनाअन्तर्गत काठमाडौं जिल्लाका १४ ठाउँहरुलाई सुरक्षा संवेदनशीलताका आधारमा ‘भिन्न भिन्न एरिया’का रुपमा विभाजन गरिएको छ । यस्ता एरियामा परिचालन हुने प्रहरी टोली पनि सुरक्षा संवेदनशीलताका आधारमा निर्धारण गरिएको सुवेदी बताउँछन् ।

‘कुनै ठाउँमा पैदल मात्रै जान सकिन्छ, कुनै ठाउँमा गाडीमा जानुपर्ने हुन्छ । त्यसकारण हामीले गस्ती टोलीलाई पनि त्यहि अनुसार तयारी अवस्थामा राखेका हुन्छौं,’ एसएसपी सुवेदी भन्छन् ।

दशैंको बेला सामान्यतः गस्ती गर्नका लागि पैदल, साइकल, मोटरसाइकल र मोटर गस्ती गरी ३ वटा गस्ती टोली तयारी अवस्थामा हुने एसएसपी सुवेदी बताउँछन् ।

पैदल गस्ती टोलीमा ६०, साइकिल गस्तीमा ३५, मोटरसाइकल गस्तीमा ८३ र मोटर गस्ती ४६ सीआरभी तथा ४८ मोबाइल गरी ९४ जना प्रहरी परिचालन हुनेछन् ।

‘कुनै ठाउँमा घटना भएको कम्तिमा पनि १ मिनेटभित्रै प्रहरी उपस्थित हुने गरी हामीले तयारी गरेका छौं,’ एसएसपी सुवेदी भन्छन्, ‘सर्वसाधारणले कुनै घटनाबारे सूचना दिएमा पनि घटनास्थलमा १ मिनेटमै प्रहरी पुग्छ ।’

कुकुरसहितको सर्च अपरेशन चलाइने

दशैंका बेला हुनसक्ने संभावित घटनाका लागि सादा पोसाकमा पनि प्रहरी परिचालन हुने एसएसपी सुवेदीको भनाइ छ । यस्तो टोलीले संकलन गरेको सूचनाको विश्लेषण गरेर पनि ‘तत्कालीन सुरक्षा रणनीति’ बनाइने एसएसपी सुवेदीको भनाइ छ ।

सूचना संकलनका लागि ७० जना प्रहरीलाई सादा पोषाकमा खटाइने एसएसपी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सादा पोषाकमा खटिने प्रहरीले दिएको सूचनाका आधारमा संभावित घटना रोक्नका लागि प्रहरीको विशेष टोली परिचालन हुने छ ।

संभावित घटना नियन्त्रणका लागि ‘सिल एण्ड सर्च’, ‘कर्डन एण्ड सर्च’, ‘एम्बुसिङ र निगरानी’, ‘डग सिफ्टिङ’, ‘स्ट्राइकिङ’, ‘क्यूआरटी’ र ‘नाकाबन्दी’ गर्ने टोली परिचालन हुने छ ।

काठमाडौं प्रहरीले ‘सिल एण्ड सर्च’ अपरेशनका लागि ३० जना, ‘कर्डन एण्ड सर्च’ अपरेशनका लागि ३०, ‘एम्बुसिङ र निगरानी’ अपरेशनका लागि ३०, ‘डग सिफ्टिङ’ अपरेशनका लागि ७, ‘स्ट्राइकिङ’का लागि ३, ‘क्यूआरटी’ हतियारसहित मोटरसाइकल गस्तीका लागि ५३ र ‘नाकाबन्दी’का लागि २५ जनालाई तयारी अवस्थामा राखिने जनाएको छ ।

प्रहरीले काठमाडौं भित्रिने मुख्य नाकामा कुकुरसहितको सर्च अपरेशन चलाइने जनाएको छ । नागढुङ्गा, कोटेश्वर, बल्खु, कलंकी, नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला लगायतका क्षेत्रमा कुकुरसहितको सर्च टोली गर्ने छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : १५ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा