घोषणाले मात्रै खुला दिसामुक्त बन्ला काठमाडौं ? « Khabarhub
Logo
८ माघ २०७७, बिहीबार

घोषणाले मात्रै खुला दिसामुक्त बन्ला काठमाडौं ?



काठमाडौं– राजधानीको बाघबजार र रत्नपार्क जोडिएको आकाशे पुल । जहाँ फोहोरका कारण पैदलयात्रुहरु पुल चढ्न रुचाउदैँनन् ।

त्यतिमात्र होइन, दुर्गन्धका कारण मानिसहरु नाक र मुख छोप्दै हिड्न बाध्य छन् ।

आकाशे पुल मुनि नै रहेका सार्वजनिक शौचालयको हालत पनि उस्तै छ । ट्रमा सेन्टर अगाडी रहेको आकाशे पुल मुनि एउटा सार्वजनिक शौचालय छ ।

फुटपाथमै राखिएको सो शौचालय महिला र पुरुष दुवैलाई लक्षित गरी निर्माण गरिएको हो । तर, शौचालयमा ढोकाको व्यवस्था नहुँदा पुरुषहरु खुला रुपमै शौच गर्न बाध्य छन् ।

अर्को छेउमा रहेको महिला शौचालयको हालत पनि उस्तै छ । भित्र कोही पस्दा बाहिर साथी कुर्नुपर्ने बाध्यता रहेको शौचालयको प्रयोग गरेर बाहिर निस्केकी सकुन्तला खड्काले बताइन् ।

शौचालयमा पानीको अभाव, ढोकाका चुकुल नै बिग्रनु जस्ता कारण प्रयोगकर्ताहरु सार्वजनिक शौचालय जान पनि हिच्किचाउँछन् ।

शहरजस्तो ठाउँमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय छैनन् । व्यस्त ठाउँलाई लक्षित गरेर बनाइएका यी शौचालयमा पनि भौतिक संरचना नै बिग्रिएका देखिन्छन् ।

त्यति मात्र होइन, शौचालयको रेखदेखका लागि बसेका कर्मचारीले सरसफाई नगर्दा पैदलयात्रु समेत समस्यामा छन् ।

फुटपाथमा आवतजावत गर्ने मानिसहरु दिनहुँजसो कसरी शौचालय क्षेत्र पार गर्नु भन्दै फड्को मार्दै हिड्ने गर्छन् ।

त्यसो त शौचालयको रेखदेख गर्ने जिम्मा खटिएका कामदारको पनि हो तर उनीहरु सरसफाइमा भन्दा पैसा कमाउन तिर बढि केन्द्रित भएको देखिन्छ ।

मुलुकको राजधानी काठमाडौंमा सार्वजनिक शौचलायको अभाव हुनु लज्जास्पद कुरा पनि हो ।

मानिसहरुको भीड र व्यापारीक केन्द्र रहेका स्थान, विभिन्न पार्क तथा रमणीय स्थानमा समेत शौचालयको अभाव देखिन्छ ।

घुम्न निस्किएकाहरु पनि शौच गर्नका लागि खाजा घरतिर पस्ने गर्छन् कारण ‘पार्कमै पनि शौचालयको अभाव।’

११ वर्षमा २ लाख ९२ हजार शौचालय

पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौं पहिचान’ भन्ने नारासहित जिल्ला समन्वय समिति काठमाडौंले काठमाडौं जिल्लामा वि.स. २०६५ सालमा ससफाई अभियानको सुरुवात गरेको थियो ।

यो समितिको मुख्य लक्ष्य १० वटा नगरपालिकाभित्र ‘एक घर, एक शौचालय’ निर्माण गराउनु रहेको थियो । समितिका अनुसार सुरुवाती दिनमा चर्पीको महत्व र फाईदाबारे जनस्तरमा चेतना पुर्‍याउन समितिलाइ निकै कठिन भएको थियो ।

समितिले सन् २००० मा राज्यले सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको थियो ।

सरकारी तवरबाटै वि.स. २०६८ सालमा शौचालय निर्माण सम्बन्धि गुरुयोजना नै तय गरेर कार्यक्रमको शुरुवात गरेको समितिका सदस्य दीपककुमार केसीले बताए ।

त्यसलाई नै मध्यनजर गर्दै काठमाडौंले २०७० साल वैशाख २७ गते पुरानो नैकाप गाविस. घोषणा गर्‍यो र शौचालय निर्माणको अभियान तीव्र बनायो । शौचालय निर्माणका क्रममा दोस्रो गोगबु गाविस हुदैं अघि बढ्यो ।

‘समितिले २०७४ सालमै काम सम्पन्न गर्ने गरी निर्माण बढाएको थियो’ केसीले खबरहबसँग कुरा गर्दै भने ‘विनाशकारी महाभूकम्पले त्यसलाई असर पुर्‍याएकाले केही ढिलाई भयो।’

गुरुयोजनामा एक घर एक शौचालय निर्माण सम्पन्न गरिसकेपछि त्यसलाइ खुला दिसामुक्त क्षेत्र भन्न मिल्ने बताउँछन् उनी ।

‘गुरुयोजनामा भएअनुरुपनै १० वटै नगरपालिकाले एक घर एक शौचालय निर्माण गरेका हौं’ उनले भने ‘जसअन्तर्गत २ लाख ९२ हजार ४ सय ५२ वटा शौचालय निर्माण भएका छन्।’

काठमाडौं जिल्लालाई खुला दिसामुक्त क्षेत्र भन्न मिल्ला ?

सरकारले नै नेपाललाई आगामी असोज १३ गते खुला दिसामुक्त देशका रुपमा घोषणा गर्ने लक्ष्य राखेको छ ।

समितिले काठमाडौं जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषित गरिसेकेको छ भने काठमाडौं महानगरपालिकाले पनि गत भदौ २४ गते खुला दिसा मुक्त महानगर घोषणा गरिसकेको छ ।

एक घर एक शौचालय अभियान सम्पन्न हुदैंमा पुरै काठमाडौं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न मिल्छ ? भन्ने प्रश्नमा खानेपानी सरसफाइ स्वच्छता समवन्य समितिका सदस्य सचिव हरिदत्त पौडेल जवाफ दिन्छन्, ‘यो एउटा सरसफाई सम्बन्धि अभियान हो, जसअन्तर्गत घरमा शौचालय बनाउनु नै खुला दिसामुक्त हुनु हो भन्ने बुझिन्छ।’

‘सार्वजनिक स्थलमा पनि शौचालयको पुहँच छैन त्यो हामी सबैले भोगेकै कुरा हो’ उनले थपें ‘तर त्यसलाइ चाहिँ पूर्ण सरसफाइ अभियान भन्छ त्यसकारण अहिलेलाइ हामीले काठमाडौं जिल्ला खुला दिसामुक्त घोषणा भएकै बुझौं।’

पौडेलका अनुसार जिल्ला समन्वय समितिले मंगलबार काठमाडौंलाई खुला दिसामुक्त घोषणाका लागि खानेपानी सरसफाई स्वच्छता समवन्य समितिलाई अनुगमन तथा अनुमतिको लागि अनुरोध गरेको थियो ।

अनुगमन पश्चात तयार पारिएको प्रतिवेदनअनुसार मंगलबार खुला दिसामुक्त क्षेत्र (ओडिएफ) घोषणा गरिएको पौडेलले बताए ।
सार्वजनिक स्थलमा कति शौचालय ?

काठमाडौं महानगरपालिकाले २०७३ सालमा १ सय ३० वटा सार्वजनिक शौचालय बनाउने योजना ल्याए पनि अझैं निर्माण हुन सकेको छैन । तत्कालीन समयमा शौचालय निर्माणका लागि २ करोड बजेट छुट्याएपनि महानगरले न त शौचालय निर्माण गर्न सक्यो न त बजेट नै खर्च गर्न ।

त्यससँगै महानगरले स्मार्ट शौचालयको अवधारणा पनि अघि सार्‍यो र अनुगमन समेत गर्‍यो । हालसम्म कुनै पनि स्थानमा शौचालय थपिएका छैनन् । शौचालय थप्ने क्रममा महानगरले चालु आर्थिक वर्षका लागि ३ करोड बजेट छुट्याएको छ ।

हाल महानगरभित्र ३८ वटा सार्वजनिक शौचालय छन् ।


भर्खर

0