हात्तीपाइले नियन्त्रणमा सरकारको हेलचेक्र्याइँ, अनुमानको भरमा औषधि वितरण | Khabarhub Khabarhub

हात्तीपाइले नियन्त्रणमा सरकारको हेलचेक्र्याइँ, अनुमानको भरमा औषधि वितरण


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । जसअनुसार हरेक वर्ष विभिन्न जिल्लाहरुमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन, हात्तीपाइलेका रोगीको खोजी तथा पहिचान भएका बिरामीको उपचार गर्दै आइएको छ ।

हात्तीपाइले रोग निवारण कार्यक्रममा सरकारले वार्षिक २० करोड ६० लाख ७० हजार खर्च गर्दै आएको छ । रोग नियन्त्रणमा वार्षिक करोडौं खर्च भएपनि सरकारसँग हात्तीपाइलेका रोगीको यकिन तथ्यांक भने छैन ।

सरकारले हालसम्म १२ वटा जिल्लाका लक्षण देखिएका हात्तीपाइले रोगीको मात्रै तथ्याङ्क तयार पारेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले खबरहबलाई जानकारी दिए ।

‘हात्तीपाइले रोगी दुई किसिमका हुन्छन् । एउटा लक्षण देखिएका र अर्को लक्षण नदेखिएका, हामीले हालसम्म १२ जिल्लामा लक्षण देखिएका हात्तीपाइले रोगीको मात्रै तथ्यांक निकालेका छौं,’ निर्देशक डा. लालले भने, ‘लक्षण देखिएका १२ जिल्लाका ३० हजार हात्तीपाइलेका बिरामी छन्, देशभर कति छन् भन्ने तथ्याङ्क हामीसँग छैन ।’

लक्षण देखिएका हात्तीपाइले रोगीको उपचार र जीवनयापनमा सरकारले सहयोग गर्ने गरेको डा. लालले बताए । लालका अनुसार सरकारले थप १० वटा जिल्लाहरुमा पनि लक्षण देखिएका हात्तीपाइले रोगीको खोजी गर्ने योजना राखेको छ ।

रोग निवारण गर्ने सरकारी योजना सफल नहुने

विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार नेपाल सरकारले सन् २०२० मा हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार सरकारले सन् २००१ देखि लक्षण देखिएका हात्तीपाइले रोगीको पहिचान, उपचार र विभिन्न जिल्लाहरुमा आम औषधि सेवनका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

रोग निवारणको लागि प्रयास भइरहे पनि सरकारी योजनाअनुसार सन् २०२० मा रोग निवारण हुन नसक्ने महाशाखाका निर्देशक डा. लालले स्वीकारे । हात्तीपाइले रोग निवारण घोषणा गर्न नेपालमा हात्तीपाइले रोगीको संख्या १ प्रतिशतभन्दा कम हुनुपर्छ । तर, सरकारले देशभर लक्षण देखिएका तथा नदेखिएका रोगीको तथ्यांक समेत पत्ता लगाउन नसकेकाले रोग निवारण गर्ने सरकारी योजना असफल हुने देखिएको हो ।

‘रोग निवारण हुनको लागि हात्तीपाइले रोगको संक्रमण दर १ प्रतिशतभन्दा कम हुनुपर्छ, अहिले नेपालको जनसंख्याको करिव १ दशमलब ४७ प्रतिशतमा हात्तीपाइलेको रोग रहेको अनुमान छ । एक वर्षभित्र नै हामीले यसलाई कम गर्न सक्दैनौं,’ डा. लालले खबरहबसँग भने, ‘सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य पूरा हुनसक्ने अवस्था छैन । यो लक्ष्य प्राप्त गर्न सरकारलाई अझै ५ वर्ष लाग्न सक्छ ।’

अनुमानको भरमा औषधि वितरण

सरकारले हात्तीपाइले रोगीका लागि भनेर नेपालमा दुई प्रकारका औषधि खुवाउँदै आएको छ, डीईसी (डाइईथाइलकार्बामाजिन) र अल्बेन्डाजोल । इपियिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि हालसम्म ४८ जिल्लामा वितरण गरिसकेको छ । यी जिल्लाहरुमा सरकारले १० करोड भन्दा बढी डोस (मात्रामा) औषधि सेवन गराइसकेको जनाएको छ ।

तर, सरकारसँग औषधि सेवन गराइएका जिल्लाका रोगीबारे समेत यकीन तथ्याङ्क छैन । सरकारले औषधि सेवन गरेका व्यक्तिको नामावली समेत संकलन गरेको छैन । सरकारले हात्तीपाइलेका वास्तविक रोगीको पहिचाननै नगरी अनुमान कै आधारमा आम औषधि सेवन गराउँदै आएको छ ।

हात्तीपाइले रोग जुका जस्तै (मसिनो धागो आकार)को उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यो सरुवा रोग हो । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

हात्तीपाइले रोगबाट बच्नको लागि नेपालमा दुई थरीको औषधि वितरण हुने गरेको छ । रोगको संक्रमण हुन नदिन र संक्रमितलाई स्वास्थ्यको अन्य जोखिमबाट बचाउन ‘डाइईथाइलकार्बामाजिन’ र अलबेन्डाजोल नामक चक्की निःशुल्क वितरण गर्ने गरेको छ ।

कुनैपनि व्यक्तिले हात्तीपाइले रोगबाट बच्नको लागि यी औषधि वर्षमा एकपटक गरी ६ वर्ष सेवन गनुपर्ने डा. लाल बताउँछन् ।

तर आम औषधि वितरण गरेका जिल्लाहरुमा कति व्यक्तिले कतिपटक औषधि सेवन गरे भन्ने तथ्यांक महाशाखासँग नै छैन ।

थप १५ जिल्लामा औषधि सेवन कार्यक्रम

सरकारले आगामी फागुन १५ गतेदेखी थप १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम शुरु गर्दैछ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ती १५ जिल्लाका ७८ लाख ४९ हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ । तर, सरकारसँग ती जिल्लामा हात्तीपाइले रोगका कति संक्रमित छन् भन्ने जानकारीसम्म छैन ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका