कांग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने | Khabarhub Khabarhub

कांग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ लाई अन्तिम रूप दिई कांग्रेसले आज सार्वजनिक गरेको छ ।

कांग्रेसको गत साउन १७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले १३औँ महाधिवेशनबाट निर्वाचित पार्टीको स्थानीय संरचनालाई विधानअनुसार सङ्घीय राज्य संरचनामा व्यवस्था भएको संरचनाअनुरूप रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार पार्टीको स्थानीय सङ्गठनको समायोजन र गठन गर्न केन्द्रीय कार्यसमितिको गत साउन २६ गतेको बैठकले उक्त निर्देशिका पारित गरेको थियो ।

पार्टीको स्थानीय सङ्गठनको समायोजन

नेपालको संविधानबमोजिम पार्टीका साविकका स्थानीय संरचनाका थपघट तथा सीमाङ्कंन हेरफेर भई हाल नयाँ कायम भएका कार्यसमितिमा सबै पदाधिकारी र सदस्य आफ्नो पदमा कायम रहनेछन् र पुनःसरचनापछि बनेको नयाँ क्षेत्रभित्रको कार्यसमितिमा समायोजन हुनेछन् ।

साविकका गाउँ कार्यसमिति पुनःसंरचनामा परी साविकको नगरपालिकामा समायोजन भएको अवस्थामा ती वडा कार्यसमितिका सभापति नगर कार्यसमितिको पदेन सदस्य हुनेछन् । सिमाना हेरफेर भई हाल नयाँ कायम भएका स्थानीय संरचनाभित्रका सभापतिको हकमा एक मात्र सभापति भएमा निज नै पार्टीको सम्बन्धित निकायको कार्यसमितिको सभापति हुनेछ ।

दुई वा दुईभन्दा बढी सभापतिहरु भएको र निजहरुबीच एक जनालाई सभापति बनाउने गरी सहमति भइसकेको भए सोहीअनुसार हुने निर्देशिकाले व्यवस्था गरेको छ । सहमति नभए हाल तोकिएको केन्द्रमा रहेको निकायको सभापति कार्यसमितिको सभापति हुनेछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा भने सहमति नभएको अवस्थामा क्षेत्रीय कार्यसमितिको सभापति पदमा बढी पदावधि (कार्यकाल) काम गरेको व्यक्ति कार्यसमितिको सभापति हुनेछ ।

उपरोक्त अवस्थाले पनि सभापतिको टुङ्गो नलागेमा जुन क्षेत्रमा बढी सङ्ख्यामा पार्टीको क्षेत्रीय अधिवेशनका प्रतिनिधि छन्, सोही क्षेत्रको सभापति कार्यसमितिको सभापति हुनेछ ।

क्षेत्रीय अधिवेशन प्रतिनिधि पनि बराबर सङ्ख्यामा भएमा क्रियाशील सदस्यता सङ्ख्याको आधारमा र क्रियाशील सदस्यताको सङ्ख्या पनि बराबर भएमा गोला प्रथाद्वारा सभापति चयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

सीमाङ्कन हेरफेर भई नयाँ कायम भएको संरचनामा सभापति नभए साविकको कार्यसमितिका पदाधिकारी मध्येबाट जेष्ठ पदाधिकारी सभापति बन्नेछ । समायोजन भएका अलग–अलग क्षेत्रबाट समान पदका पदाधिकारी आएमा साविकको क्षेत्रमा बढी क्षेत्रीय प्रतिनिधि भएको पदाधिकारी सभापति हुनेछ । पदाधिकारी नभए कार्यसमितिको उमेरले ज्येष्ठ सदस्य सभापति हुने निर्देशिकामा उल्लेख छ ।

पुनःसंरचनामा हाल नयाँ बनेको कुनै वडामा साविकको सभापति वा पदाधिकारी वा कार्यसमितिको सदस्यसमेत नभएमा साविकको क्षेत्रीय अधिवेशनको प्रतिनिधि भए उमेरले ज्येष्ठ प्रतिनिधि र सो पनि नभए उमेरले ज्येष्ठ क्रियाशील सदस्य सभापति हुनेछ । यस्तो अवस्थामा सभापतिले वडा भित्रका क्रियाशील सदस्यसँग सल्लाह गरी कार्यसमिति गठन गर्नेछ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको गठन

साविकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भई हाल एक कायम भएको छ भने साविकको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिसहित सम्पूर्ण कार्यसमिति प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा रूपान्तरित हुनेछ ।

साविकमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका जिल्ला सभापति बाहेकका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य सोही प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा सम्बन्धित क्षेत्रको ज्येष्ठ पदाधिकारी वा पदाधिकारी नभए कार्यसमितिको उमेरले ज्येष्ठ सदस्य सो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु सोही प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन् ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको साविकको सभापति उक्त प्रदेशसभा निर्वाचन क्षेत्रमा भए निज नै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ । निजले हुन मन्जुर नगरेमा वा त्यस्तो सभापति नभएको खण्डमा पदाधिकारी मध्ये ज्येष्ठ पदमा रहेको र पदाधिकारी पनि नभएको खण्डमा उमेरले ज्येष्ठ सदस्य सभापति हुनेछ ।

लोकतान्त्रिक फोरम र अन्य दलको समायोजन सम्बन्धमा

निर्देशिका बमोजिम कांग्रेसको स्थानीय तहहरुमा समायोजन गर्दा पूर्वनेपाल लोकतान्त्रिक फोरम र अन्य विभिन्न दलको स्थानीय सङ्गठन भएको स्थानमा सङ्गठनको सभापति र आवश्यकतानुसार पदाधिकारीलाई अनिवार्य रूपमा छलफलमा सहभागी गराइनेछ ।

लोकतान्त्रिक फोरम र अन्य दलको कांग्रेसको स्थानीय सङ्गठनमा समायोजनको बारेमा कांग्रेस केन्द्रीय कार्यसमितिले गठन गरेको समायोजन समितिले गरेको सिफारिसको आधारमा केन्द्रीय कार्यसमितिको निर्णयअनुसार स्थानीय सङ्गठनमा समायोजन गरिने निर्देशिकामा उल्लेख छ ।

साविकको सभापति सहसभापति हुने

साविकको कार्यसमितिका सभापति समायोजन प्रक्रियामा सभापति हुन नसकेमा वडा/गाउँ/नगरपालिका तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति हाल कायम भएका सम्बन्धित कार्यसमितिका सहसभापति हुनेछन् ।

निर्देशिका बमोजिम समायोजन कार्यान्वयन गर्न पार्टीको स्थानीय सङ्गठनको पुनःसंरचना र समायोजन गर्न प्रत्येक जिल्लामा केन्द्रीय निर्वाचन समितिले एक जना प्रतिनिधि तोक्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पुनःसंरचना र समायोजनको कार्य यही भदौ २० गते भित्र र वडा/गाउँ नगरपालिकाको हकमा कात्तिकभित्र सम्पन्न गरिनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : १५ बजे

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको