समाजको वास्तविकता बुझ्नेले मात्र विकास गर्न सक्छ

वीणा झा

बिहिबार, भदौ ५, २०७६

Reading Time: 6 minutes

समाजको वास्तविकता बुझ्नेले मात्र विकास गर्न सक्छ

एउटा गाउँमा गरीबी घटाउने र क्षमता अभिवृद्धिसंगै लैंगिक समानताको कार्यक्रम आवश्यक छ कि छैन भनि बुझ्न सामाजिक सांस्कृतिक परिवेश नबुझेका एक व्यक्ति गाउँमा पुगेछन् ।

गाउँमा बाटोमा हिँड्दै गरेका एक जना किसानलाई देखेपछि आफ्नो अनुसन्धान शुरु गर्ने उदेश्यले समाजको अवस्था बुझ्न प्रश्न सोधेछन्, ‘तपाईलाई आफ्नो खेतको उब्जनीबाट बर्ष भरी खान पुग्छ कि पुग्दैन ?’ ती व्यक्तिले झोक्किँदै “पुग्या पुग्यै हो” भन्ने जवाफ दिएछन् ।

अलि अगाडि बढे पछि ती महोदयले एउटी महिलालाई देखेछन् । उनले लैंगिक समानताको अवस्था बुझ्नु पर्यो भनि प्रश्न गरेछन्, ‘दिदी ! तपाइलाई घरको सबै काम एक्लै त गर्नु पर्दैन नि ? तिनको जवाफ थियो, ‘कहाँ पर्नु म त घरको महारानी हो नि ! किताबमा मात्रै समाज बुझेका ती सामाजिक ज्ञाताले अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाएछन् जसमा यो गाउँका “Every one has enough food and women has been treated as queen” अर्थात् गाउँमा गरीबी छैन र महिलाहरु अति सम्मानित जीवन बाचेका छन् भनि उल्लेख गरिएको थियो ।

एक छिन सोचौं त, त्यो प्रतिवेदनको असर के पर्ला ? र बास्तवमा त्यो गाउँको परिदृश्य कस्तो होला ? एक पढ्दै नपढेका सर्बसाधारण जसलाई गाउँको परिवेश थाहा छ, सहजै अनुमान लगाउन सक्छ । अन्य विषयका विज्ञताले समाज भित्रका अवयवहरुको अन्तर सम्बन्ध, बाह्य प्रभावहरुलाई शुक्ष्म र बृहतरुपमा बिश्लेषण गर्न सक्दैन। अनि सतही बुझाईको भरमा गरिने क्रियाकलाप प्रभावकारी हुँदैन ।

यहीं निर चाहिन्छ समाजशास्त्री जसले कुनै पनि तथ्य वा तथ्यांकलाई उक्त समाजको संरचना, त्यहाँ भित्रका एजेन्सी (कर्ता ) अनि समयको आधारमा विश्लेषण गर्न सक्छ । किनकी समाज कहिले पनि गणितीय आधारमा चल्दैन । कतिपय बाहिरबाट देखिने दृश्य कै आधारमा गरिएको अवस्थाको विश्लेषण गलत पनि हुन् सक्छ । यदी समाजशास्त्रीय दृष्टिकोण अपनाइएको छैन भने त्रुटी हुने प्रवल सम्भावना रहन्छ । जसले समाज बुझेको छैन, डुलेको छैन चित्र र अक्षरमा बाहेक समाज महशुस गरेको छैन उसले बनाउने बिभिन्न योजनाहरु, पहिचान गर्ने सामाजिक आवश्यकताहरु प्रति सम्बन्धित समाजको अपनत्व नहुन सक्छ । र अपनत्व बिनाको विकास र परिवर्तनले समाज रुपान्तरण गर्न सक्दैन । एउटै बस्तु वा अवस्थालाई समाजशास्त्रीय दृष्टिकोणले हेर्ने र ब्याख्या गर्ने फरक तरिका हुन्छ।

प्राध्यापक चैतन्य मिश्रले कक्षामा बोर्ड मार्कर देखाउदै यो के हो भनेर सोद्धा त्यसको जवाफमा त्यसको नाम, मूल्य, काम अनि कुन रंगको लेख्छ इत्यादी जवाफ आउदा वहाँले समाजशास्त्री नजरले हेर्नुस अनि यस भित्र मानिसहरु, संस्थाहरु ,तिनीहरु बिचका सम्बन्धहरु, बजार अनि संस्कृति इत्यादी पनि देखिन्छ भन्दै ब्याख्या गर्दा बल्ल प्रष्ट हुन्छ अन्य दृष्टिकोण र समाजशास्त्रीय दृष्टिकोण बिचको फरक ।

यसबाट के स्पस्ट हुन्छ भने अरु बिज्ञान र सामाजिक बिज्ञान पूर्णत पृथक छ । अरु बिज्ञान जस्तो कि भौतिकशास्त्र वा रसायनशास्त्र चाहे त्यो नेपालमा पढुन् वा विश्वका अन्य कुनै मुलुकमा त्यसका फर्मुलाहरु उही हुन्छ । क्रिया प्रतिक्रियाको परिणाम पनि समान नै आउँछ । तर समाजशास्त्रमा त्यस्तो हुने सम्भावना बिल्कुलै रहँदैन ।

किनकी सामाजिक अवयवहरु उस्तै उस्तै देखिए पनि समाज पिच्छे त्यसका प्रभाव र प्रतिक्रिया फरक फरक हुन्छ । त्यसैले एउटा समाजमा रहेको कुनै समस्या समाधान गर्न जुन उपाए प्रभावकारी हुन्छ उस्तै उस्तै प्रकृतिको समाजमा देखिने समस्या समान देखिए पनि उही उपाएले समाधान नदिन सक्छ । त्यसैले हरेक विकास ढांचा र नीति-निर्माण तयार गर्न सामाजिक आवश्यकताको पहिचान अपरिहार्य हुन्छ जसको लागी समाज बास्तवमा बुझेका व्यक्ति चाहिन्छ अन्यथा ती विकासहरुलाई न त सामाजिक स्वीकृति प्राप्त हुने सम्भावना रहन्छ न त लगानी अनुसारको प्रतिफल नै । हो यहाँ निर फेरि आवश्यक हुन्छ समाजशास्त्रीय दृष्टिकोणको ।

बर्तमान सत्तासिन राजनीतिक दलका नेताहरुको चुनाब अगाडिको प्रतिबद्धताहरु नागरिकहरुले ओल्टाई पोल्टाई हेर्छन् अनि निराश हुन्छन् । जुन अपेक्षा चुनावअघि नेताहरुले बाँडेका थिए पूरा गर्न नसकेको देखिन्छ । त्यसको बास्तविक कारण ती घोषणापत्रहरुको निर्माण गरिंदा समाजशास्त्रीय दृष्टिकोण नअपनाउनु नै हो ।

एउटा समाजशास्त्रीको योगदान शिक्षण, योजना, सल्लाह, सम्बन्धहरुको ब्यबस्थापन जस्ता बिभिन्न क्षेत्रमा हुनसक्छ तर शर्त एउटै हुन्छ आश र त्रास भन्दा टाढा बस्न सक्नु अन्यथा यसले निकै ठुलो नकारात्मक असर समेत गर्न सक्छ ।

समाजको अवस्था कस्तो छ, के कस्ता अपेक्षाहरु कुन समय र सन्दर्भमा पुरा गर्न सकिएला र कुन कुन किसिमले समस्या वा चुनौतीहरुको थप सामना गर्नु पर्ला भन्ने बिषयमा शुक्ष्म तथा बृहद दुबै तहको बिश्लेषण अभाव राजनीतिक नेतृत्वमा देखिन्छ जसको परिणाम स्वरूप आज समय समयमा असन्तुस्टीहरु बिभिन्न रुपमा फुट्छ ।

सामाजिक परिवेशहरु इतिहासिक, आर्थिक, संस्कृतिक र विकास संरचनाका आधारले फरक फरक हुन्छन् । त्यसै कारण व्यक्तिका दैनिकी पनि फरक हुन्छ । एउटा हिमाली गाउँमा बस्ने व्यक्तिको दैनिकी मधेसमा बस्नेको भन्दा फरक हुन्छ । एउटा हिमाली गाउँको बच्चाको शब्दकोश, तिनका मनमा आउने जिज्ञाशा, हाउभाउ र ब्यबहार मधेसमा जन्मेको बच्चाको भन्दा बिल्कुल फरक हुन्छ त्यसैले सकेसम्म तिनलाई सहज वातावरणमा पठन-पाठन गराउन बिषय बस्तुको निर्माण, सम्बन्धित सबै पक्षको सम्बेदनशिलता बढाउन फेरी यहाँ पनि समाजशास्त्रीहरुको आवश्यकता हुन्छ ।

बर्तमानमा नेपालको अवस्था हेर्दा सामाजिक सद्भाव खलबलिएको, युवाहरु रुमल्लिएको सरकार अलमलिएको र नीति भन्दा नियतबस महिला पछाडि पारिएको देखिन्छ । साथसाथै भ्रष्टाचार, अराजकता र गरीबी जताततै बिकराल रुपमै भेटिन्छ । यी अवस्थाहरुलाई समाजशास्त्रीय दृष्टिकोणले विश्लेषण गर्दा बास्तवमा समस्याका जडा कुन हुन् अनि तिनकाबीचमा के कस्तो सम्बन्ध छ र साथै यसका कुन कुन चाहिं प्रभावहरु हुन् भनि प्रष्ट्याउन सजिलो हुन्छ।

समस्याको सही पहिचानले समाधान तिरको आधि काम पुरा भएको बुझ्न सकिन्छ । त्यसैले समस्याको सही विश्लेषण र उचित ब्यबस्थापनको माध्यमले दीर्घकालिन समाधान खोज्न समाजशास्त्रीय दृष्टिकोण आवश्यक पर्छ । समस्याको दीर्घकालिन समाधानको लागी तिनका कारण अर्थात् जराको पहिचान अति नै महत्वपूर्ण हुन्छ अन्यथा रुखको हाँगा जति काटे पनि पुनः पलाए झैँ समस्याको पुनराबृति भै राख्छ ।

त्यति मात्रै होइन शब्द, शैली र प्रस्तुतिका कारण जुन किसिमले बिभिन्न राजनीतिक दल भित्र, एक र अर्को दलसंग, राजनीतिक दल र नागरिक समाजसँग दुरी बढ्ने, द्वन्द सिर्जना हुने वा भनौ सम्बन्धहरु धुमिलिने गर्छ त्यसलाई पनि न्यूनीकरण गर्न समाजशास्त्रीय दृष्टिकोणले मदत गर्छ र साथै कुन बिषयलाई कसरी बरियता क्रममा के को आधारमा राख्ने भनि यसले स्पस्टता प्रदान गर्छ ।

समाजको भावी आवश्यकता आंकलन गर्न जस्तो कि आउँदो १० बर्षमा नेपाली समाजमा अत्यधिक संख्यामा बृद्धाश्रमको आवश्यकता हुन् सक्छ भनि अनुमान गर्न खुकुलिदै गएका मानवीय सम्बन्धहरु तथा बाल-बालिका हुर्काउने र समाजीकिकरणका तरिका र निकायहरुको अध्ययन गर्दै समाजशास्त्रीय दृष्टिकोणको अहम् भूमिका रहन्छ ।

त्यसैले यसो हेर्दा इतिहास बुझ्न, बर्तमानका परिवर्तनहरुका कारण खोतल्न अनि भविष्यको दृश्य कोर्न समाजशास्त्रीय दृष्टिकोण अति आवश्यक हुन्छ । समाजशास्त्रीले जे देख्छ त्यो बिना कुनै प्रभाव प्रस्तुत गर्न सक्नु पर्छ । समाजलाई जस्ताको त्यस्तै ऐना देखाउने कार्य गर्नु समाजशास्त्रीको दायित्व हो ।

त्यसैले एउटा समाजशास्त्रीको योगदान शिक्षण, योजना, सल्लाह, सम्बन्धहरुको ब्यबस्थापन जस्ता बिभिन्न क्षेत्रमा हुनसक्छ तर शर्त एउटै हुन्छ आश र त्रास भन्दा टाढा बस्न सक्नु अन्यथा यसले निकै ठुलो नकारात्मक असर समेत गर्न सक्छ ।

भर्खर

0