सन् २०२० देखि ई–पासपोर्ट जारी गरिने, खर्च दुई गुणा बढ्ने अनुमान | Khabarhub Khabarhub

सन् २०२० देखि ई–पासपोर्ट जारी गरिने, खर्च दुई गुणा बढ्ने अनुमान


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले राहदानी (पासपोर्ट) लाई अझ व्यवस्थित र सुरक्षित बनाउन सन् २०२० देखि ई–पासपोर्ट वितरण गर्ने प्रक्रिया पूरा गरेको छ ।

सरकारले सन् २०१० डिसेम्बरदेखि हस्तलिखित राहदानीका ठाँउमा मेशिन रिडेबल राहदानी (एमआरपी) जारी गर्दै आएको छ । एमआरपी जारी गरेको १० वर्षपछि ई–पासपोर्ट जारी गर्न लागेको हो । जसका लागि परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागले सबै अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरी सकेको जानकारी दिएको छ । सन् २०२० सुरु भएपछि एमआरपीको ठाउँमा ई–पासपोर्ट जारी गर्ने पक्कापक्की भइसकेको विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले दिएको विशेषतालाई मान्यता दिँदै सरकारले ई–पासपोर्टमा जाने निर्णय गरेको विभागको भनाइ छ ।  ई–पासपोर्ट जारी गर्न सरकारले सबै प्रक्रिया पूरा गरेको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औँठा छापलगायत फिचर राखेर ई–पासपोर्ट बन्ने महानिर्देशक खडकाले बताए । ‘ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । एमआरपीमा त्यस्तो सुविधा थिएन । ई–पासपोर्टमा नक्कली र झुक्काउन सकिँदैन । ई–पासपोर्टलाई कतिपय अत्याधुनिक विमानस्थलमा अध्यागमन अधिकारीले जाँच गर्दैनन् ।’ उनले भने, ‘पासपोर्टवाला व्यक्तिले हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुन्छ । सेन्सर प्रयोग गरेर दुरुपयोग नियन्त्रण हुने प्रविधियुक्त हुन्छ । अहिले जस्तो अरुको राहदानी लिएर विदेश जाने क्रम अन्त्य हुन्छ ।’

राहदानी विभाग र कन्सुलर विभागको हाल निर्माणधीन अवस्थामा रहेको काठमाडौं, त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्ट जारी गर्ने विषयमा छलफल र परामर्श भइरहेको विभागले जनाएको छ ।

एक दशकमा ६० लाख नेपाली नागरिकलाई मेशिन रिडेबल राहदानी (एमआरपी) जारी गरेको विभागको तथ्यांकमा छ । हाल सरकारसँग ८ लाख एमआरपी बाँकी छन् । यी एमआरपी वितरण गर्न १ वर्ष ६ महिना लाग्ने अनुमान विभागको छ । हाल विभागले वार्षिक ६ लाख राहदानी जारी गर्दै आएको छ ।

खर्च दोब्बर बढ्ने

सेवाग्राही र सरकारलाई एमआरपीभन्दा ई–पासपोर्टका लागि दोब्बर खर्च लाग्ने अनुमान विभागको छ । हाल राहदानी बनाउँदा जिल्लाबाट ५ हजार रुपैयाँ र केन्द्रबाट बनाए १० हजार रुपैयाँ लाग्छ । तर ई–पासपोर्ट बनाउँदा करिब १२ हजार खर्च लाग्ने विभागको अनुमान छ ।

ई–पासपोर्टको काम प्रक्रियामै भएकाले खर्च यति लाग्छ भन्ने अवस्था नभएको महानिर्देशक खडकाले बताए । एमआरपीभन्दा महँगो हुने भएकाले ई–पासपोर्ट बनाउन बढी खर्च लाग्नसक्ने उनको भनाई छ ।

१ सय १४ देशमा ई–पासपोर्ट

विश्वका आधा भन्दा बढी रोजगारी, व्यवसायी र अन्य कामले हिँड्ने नागारिकले ई–पासपोर्ट प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । आइकाओका अनुसार पनि आधा वैदेशिक यात्रीले ई–पासपोर्ट बोक्ने गरेका छन् । १ सय १४ देशले ई–पासपोर्ट जारी गर्दै आएका छन् ।

सन् २०२५ देखि आइकाओले एमआरपी राहदानी बन्द गर्दै ई–पासपोर्ट प्रयोगमा ल्याउन विश्वका सबै राष्ट्रलाई भनेको छ ।
नेपालले आइकाओकै मापदण्डअनुसार ई–पासपोर्ट प्रयोगमा ल्याउन लागेको हो ।

ह्याक हुने सम्भावना

ई–पासपोर्टलाई सुरक्षित मानिए पनि यो ह्याक हुने सम्भावाना धेरै हुन्छ । यो पासपोर्ट दुई प्रकारले ह्याक हुने सम्भावना रहेको महानिर्देशक खडका बताउँछन् ।

कुनै ह्याकरले नजिकबाट पासपोर्टमा भएको चिप्सलाई ह्याक गर्ने सक्ने र राहदानी प्रयोग गरेको अवस्थामा अनलाइनबाट ह्याक हुनसक्ने उनले बताए । तर प्रयोगकर्ता सचेत भए ई–पासपोर्ट सुरक्षित हुने महानिर्देशक खडकाको दावी छ ।

तीन प्रकारको राहदानी जारी

सरकारले अहिले तीन किसिमका राहदानी जारी गर्दै आएको छ । कुटनीतिक राहदानीका रुपमा रातो रंगको राहदानी जारी गरिन्छ भने विशेष राहदानीका रुपमा निलो रंगको राहदानी जारी हुँदै आएको छ । त्यस्तै आम सर्वसाधारणका लागि हरियो रंगको साधारण राहदानी वितरण गरिने गरेको विभागले जानकारी दिएको छ ।

गएको १० वर्षमा विभागले ६ हजार १ सय कुटनीतिक राहदानी जारी गरेको छ । विभागले यो अवधिमा १५ हजारभन्दा धेरै विषेश राहदानी जारी गरेको छ ।

पछिल्लो समय द्रुत सेवाअन्र्तगत एक दिनमा राहदानी लिन चाहनेले १५ हजार रुपैयाँ, आज आवेदन दिएर भोली राहदानी लिन चाहनेले १२ हजार र आज आवेदन दिएर ३ दिनपछि राहदानी लिन चाहनेले १० हजार रुपैयाँ तिर्दै आएका छन् । जिल्लाबाट लिन चाहनेले ५ हजार रुपैयाँमा राहदानी पाउँने गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : १५ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले