आफू जन्मेकै अस्पतालमा विशेषज्ञ डाक्टर भएर खटिएका ऋषि « Khabarhub
Logo
२१ श्रावण २०७८, बिहीबार

आफू जन्मेकै अस्पतालमा विशेषज्ञ डाक्टर भएर खटिएका ऋषि



काठमाडौं-आफू जन्मिएको स्थान सबैका लागि विशेष हुन्छ । कसैले तिमी यही ठाउँमा जन्मिएका थियौ भनेर देखायो भने, त्यो ठाउँको विशेष बन्न जान्छ ।

आफू जन्मिएकै ठाउँमा काम गर्न पाउँदा झनै खुसी लाग्छ ।

वीर अस्पतालका चिकित्सक डा. ऋषि विष्टले त्यस्तो सौभाग्य पाए । जसले आफूले जन्म लिएको अस्पताल मै काम गर्ने अवसर पाए । २०३५ सालमा वीर अस्पतालमा जन्मिएका विष्ट अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।

डा विष्ट राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन् । उनी हाडजोर्नीका बिरामीको शल्यक्रिया गर्नुपर्ने दिनहरुमा विहानै अस्पतालमा पुग्छन् । सातामा तीन दिन उनी शल्यक्रियामै खटिएका हुन्छन् । अन्य दिन ओपीडी र राउण्डमा हुन्छन् । उनी आफ्नो पेसाप्रति खुसी छन् ।

स्कुलमा धेरै बोल्यो भनेर कम्प्लेन आउँथ्यों

विष्टले सेन्ट जेभियर्स स्कुल जावलाखेलबाट २०५१ सालमा एसएसली दिएका हुन् । पढाइमा विष्ट अब्बल थिए । पढाइसँगै उनको रुची खेलकुदमा पनि थियो । उनले स्कुल र कलेजमा बास्केटबल खेलेर गोल्ड मेडल पनि जितेका छन् ।

स्कुल पढ्दा उनलाई शिक्षक र साथीहरुले धेरै बोल्ने विद्यार्थीको रुपमा चिन्थे । ‘स्कुलमा मेरो पढाइ राम्रो थियो,’ विष्टले हाँस्दै बाल्यकाल सुनाए, ‘पढाइ राम्रो भएपनि धेरै बोल्छ भनेर कम्प्लेन पनि आइरहेको हुन्थ्यों ।’

स्कुल पढ्दा विष्टको सपना अन्तरिक्ष यात्री बन्ने थियो । उमेर बढ्दै जाँदा बुझ्ने हुँदै गएपछि उनले आफ्नो सपना परिवर्तन गरे ।

९,१० कक्षामा पढ्दा उनले आफू डाक्टर बन्ने सपना बनाए । समाजमा डाक्टरलाई गरिने सम्मान र प्रतिष्ठाले विष्टले आफू प्रतिष्ठित पेसा रोज्ने योजना बनाए । सेन्ट जेभियर्स कलेज माइतीघरबाट आइएसी गरे । आइएसी सकेपछि विष्टले डाक्टर बन्ने योजना अनुसार नेपाल मेडिकल कलेजमा एमवीवीएस गरे ।

सन् २००४ मा एवीवीएस सकेपछि नेपाल मेडिकल कलेजमै डेढ वर्ष काम गरे ।

विकटमा सेवा गर्दाको अनुभव

सन् २००७ मा विष्टले लोकसेवा परीक्षा पास गरी सरकारी अस्पतालमा काम गर्न शुरु गरे । लोकसेवा पास भएपछि उनको पहिलो पोष्टिङ डोल्पामा भयो ।

काठमाडौंमा जन्मिएका विष्टका लागि डोल्पाको विकट क्षेत्रमा काम गर्नु चुनौतिपूर्ण थियो । तर दुर्गम जिल्लामा काम गर्नु उनको रुची नै थियो । किनकी हिमाल र पहाडी क्षेत्रका सुन्दर प्रकृतिलाई नियाल्न पाउने आसामा पनि उनले विकट क्षेत्र आफैले रोजेका थिए । तर जब पहिलोपटक उनी डोल्पाको सदरमुकाम पुगे उनलाई गएकै दिन दुईवर्ष कसरी विताउँला भन्ने चिन्ता लाग्यो ।

‘मलाई अहिले पनि कसैले विदामा बैंकक जान्छौं कि बेस क्याम्प भनेर सोधे भने म बेस क्याम्प नै रोज्छु, त्यसैले पनि मैले हिमाली क्षेत्रमा रोजेको थिए,’ विष्ट सम्झन्छन्, ‘सदरमुकाममा बिजुली थिएन, घाम लाग्यो भने मात्रै टेलिफोन चल्थ्यो, खानेपानीको पनि समस्या रैछ, हिमाल देख्न पाइन्छ भनेर विटक क्षेत्र रोजेको समस्या नै समस्या देखे, दुई वर्षसम्म यहाँ बस्न सकुँला र भन्ने पनि लाग्यो ।’

तर पोष्टिङ भइसकेको क्षेत्रबाट फर्कन सम्भव थिएन । उनले त्यही वातावरणमा रमाउने प्रयास गरे ।

२०६२/६३ को जनआन्दोलन साम्य भइसकेको थिएन । सोहि समयमा काठमाडौंबाट जिल्ला अस्पताल गएका विष्टलाई त्यहाँका स्थानीयले सेनाबाट जासुसी गर्न आएको हो कि भनेर शंका पनि गर्थे ।

‘म आर्मीले जस्तै कपाल छोटो बनाएर काटेथें, काठमाडौं हुँदा जिम गएर ज्यान पनि हट्टाकट्टा थियो,’ विष्टले सुनाए,’ जिल्ला अस्पतालको डाक्टर भएर गएपनि मलाई सबैले आर्मी होला भनेर संका गर्थें ।’

प्रहरी जवानलाई बचाउँदा

जनआन्दोलनपछि भएको २०६४ सालको चुनावमा डोल्पाको विकट क्षेत्रमा खटिएका प्रहरी लेक लागेर सिकिस्त बिरामी भए । प्रहरीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टरमा उद्धार टोली औषधि लिएर आए । तर बिरामी परेका प्रहरी रहेको लोकेसन भने कसैले पत्ता लगाउन सकेनन् ।

विरामी रहेको लोकेसन पत्ता लगाएर उपचार गर्नुपर्‍यो भनेर प्रमुख जिल्ला अधिकरीले डा विष्टलाई भने । त्यपछि उनी प्रहरीको खोजीमा आफै खटिए । डा विष्टले ती प्रहरी जवानलाई हेलिकप्टरभित्रै उपचार शुरु गरेर बचाउँन सफल भए ।

‘लेक लागेर प्रहरी जवानको फोक्सोमा पानी जमिसकेको थियो, मैले उद्धारको क्रममा हेलिकप्टरभित्रै स्लाइनहरु दिएर प्राथमिक उपचार शुरु गरे, उनी बाच्न सफल भए,’ विष्ट भन्छन्, ‘बिरामी भएको लोकेसन नै पत्ता नलागेको अवस्थामा खोजेर उहाँलाई बचाउँन पाउँदा खुसी पनि लाग्यो, त्यो घटना म सधैं सम्झन्छु ।’

बिरामीको आफन्तले यार्सागुम्बा उपहार दिदाँ

विष्ट जिल्ला अस्पताल डोल्पामा काम गर्दा झाडापखलाका बिरामीहरु धेरै आइरहेका हुन्थे । सामान्य अवस्था भएमा जिल्ला अस्पतालमै उपचार सम्भव हुन्थ्यो । नभए राम्रो अस्पतालमा रेफर गर्नुपथ्यो । तर २०६४ सालमा जिल्ला अस्पतालनै बल्लतल्ल आएकी बिरामीलाई सुगमको अस्पतालमा जानु सहज थिएन ।

सम्पति भएका मानिसहरुले हेलिकोप्टरमार्फत उद्धार गरेपनि गरीब बिरामीका लागि जिल्ला अस्पतालको डाक्टरले निको नबनाए मृत्यु वरण गर्नु बाहेक विकल्प हुँदैन थियो । सोहि क्रममा एकपटक झाडापखलाले सताएर ३ जना बिरामी एकैपटक आए ।

उनीहरुलाई जिल्ला अस्पतालमा उपचार सम्भव थिएन । सुगमको अस्पतालमा रेफर गर्दा दुईजनालाई मात्रै हेलिकोप्टरमार्फत उद्धार भयो । तर गरीब परिवारका एक बालकलाई उनका बाबुले सुगमको अस्पताल लान सकेनन् ।

ती बालकका बुबाले डा विष्टलाई पैसा नभएकाले श्वास भएसम्म जे सक्नुहुन्छ यही उपचार गर्नुस् भने । डाक्टर विष्टले ती बालकको केयर र उपचार गरे । अन्नतः ती बालकलाई निको भयो ।

निको भएर घर फर्किने समयमा बालकका बाबुले यार्सागुम्बा उपहार दिएको डा विष्ट अझै सम्झन्छन् ।

‘झाडापखलाको गम्भिर बिरामी थियो । ती बालकका बुबाले पैसा छैन, बाहिर लान सक्दिन भने, मैले सम्भव भएसम्मको उपचार गरे, भाग्यवश उसलाई निको भयो,’ विष्टले भने, ‘घर फर्किने समयमा ती बालकका बुबाले केही दिन सक्दिन भनेर ३,४ वटा यार्सागुम्बा र हाँसको फुल उपहार दिनुभएको थियो । त्यो म कहिल्यै विर्सन सक्दिन ।’

जिल्ला अस्पताल डोल्पामा दुईवर्ष काम गरेपछि उनलाई सरकारले स्वास्थ्य सेवा विभागमा सरुवा गर्‍यो । उनले केही महिना विभागमा पनि काम गर्ने अवसर पाए ।

काठमाडौं फर्किपछि उनले विष्टले सन् २०१२ मा न्याम्सबाट हाडजोर्नी विषयमा एमएस गरे । सन् २०१२ देखि नै विष्ट हाडजोर्नी विशेषज्ञको रुपमा न्याम्समा कार्यरत छन् ।

चिकित्सा पेसाको प्रतिष्ठा घट्यो

पहिला पहिला डाक्टरलाई भगवान्को अर्को रुपम मानिथ्यों । तर अहिले पहिलाको तुलनामा चिकित्सा पेसाको प्रतिष्ठान कम हुँदै गएको डा विष्ट बताउँछन् ।

‘पहिला पहिला चिकित्सा पेसालाई प्रतिष्ठित पेसाको रुपमा लिइन्थ्यों, तर विभिन्न कारणले गर्दा अहिले पहिला भन्दा प्रतिष्ठा घटेको छ,’ विष्ट भन्छन्, ‘चिकित्सा पेसाको प्रतिष्ठा घट्दै जाँदा दुःख लाग्छ ।’

स्वास्थ्य क्षेत्रमा व्यापरिकरण भइरहदा तीनलाई नियन्त्रण गर्ने निकायले राम्रोसँग काम नगर्दा चिकित्सा क्षेत्रको प्रतिष्ठामा कमी आएको डा विष्टको धारणा छ ।
‘नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी अगाडी बढाउने भनेर सोच्नुपर्ने बेला आएको छ,’ विष्ट भन्छन्, ‘निजी अस्पतालहरु पनि आश्यक छन् तर ती अस्पताललाई सरकारल समयमै नियन्त्रण गर्न सकेन भने, नियमन नियन्त्रण गर्ने निकाय बलियो भएन भने अस्पतालमा हुने तोडफोडका घटना अझै बढ्छ ।’


भर्खर

0