विधि, मापदण्डको आधारमा पार्टी चलाइयो भने सबै कुरा ठीक हुन्छ– माधवकुमार नेपाल

‘कागजमा गडबडी भएको छैन भने सहमति भएको हो’

खबरहब

सोमवार, बैशाख ९, २०७६

Reading Time: 11 minutes

विधि, मापदण्डको आधारमा पार्टी चलाइयो भने सबै कुरा ठीक हुन्छ– माधवकुमार नेपाल

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको ११ महिनापछि नेकपाले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । तीन महिनामा पार्टी एकताका सम्पूर्ण काम सक्ने गरी गत जेठ ३ मा पार्टी एकता भए पनि वर्षदिन बित्नै लाग्दा समेत पार्टीका जिल्ला कमिटीहरू गठन हुन सकेका थिएनन् । जसले गर्दा नेता कार्यकर्तामा निराशा छाएको थियो ।

एकीकरणका क्रममा प्रदेश इन्चार्ज, सह–इन्चार्जहरूको चयन आफूखुसी गरेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट देखिएका थिए । अध्यक्ष केपी ओलीले आफ्ना पक्षका नेता कार्यकर्तालाई काखी च्याँपेको र अरुलाई ‘पेलेको’ भन्दै नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

पार्टी विधिअनुसार नचलेको भन्दै आएका नेता नेपालसँग केही दिनयता भएको छलफलपछि नेकपाका दुई अध्यक्षले सहमति गरेका छन् र अब नेकपाको जिल्ला तहको एकता भएको छ । यसै क्रममा हामीले वरिष्ठ नेता नेपालसँग तपाईं र अध्यक्षहरूबीच सालाखाला सहमति भएको हो ? भन्ने प्रश्न गरेका थियौं । जवाफमा नेता नेपालले भने, ‘के सालाखाला नि ‘हन्ड्रेड पर्सेन्ट सहमति’ हो । सहमतिको कागजमा गडबढी भएको छैन भने सहमति ।’

पार्टी सञ्चालन विधि, एकता प्रकृया, आगामी महाधिवेश लगायतका विषयमा हामीले नेता नेपालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेकपा गठन भएको लामो समयसम्म एकता नुहँदा पार्टीमा समस्या देखियो जसले गर्दा कार्यकर्तामा निराशा छायो, खास किन र के कारणले गर्दा समस्या उत्पन्न भएको हो ?

पहिलो कुरा के छ भने पार्टीभित्र ठूलो समस्या केही पनि छैन । विधिमा पार्टी चलाइयो भने सबै कुरा ठीक हुन्छ । मापदण्डका आधारमा पार्टी चलाइयो भने सबै कुरा ठीक हुन्छ । र, स्वच्छ तरिकाले के चाहिएको छ भन्ने सोच्यौं भने समस्या समाधान हुन्छ । वैज्ञानिक तरिकाबाट कामहरू गर्नाले सबै कुरा ठीक हुन्छ भन्नुको मतलब कमिटीको बैठक नियमित रुपमा गर्‍यो भने, व्यवस्थित रुपमा एजेन्डा प्रस्तुत गरेर छलफल गर्‍यो भने, कमिटीबाट निर्णय गर्ने परिपाटी बसाल्यो भने समस्या समाधान हुन्छ ।

यी नै विधिको प्रक्रिया हो । कमिटीको निर्णय पालन गर्‍यो भने, कमिटी सर्वेसर्वा हो, नेता सर्वेसर्वा होइन भन्ने मान्यतामा पुग्यो भने र कार्यकर्तालाई पनि योग्यता, क्षमता र कामको आधारमा मूल्याङ्कन गरिकन राम्रालाई राम्रो भन्ने र नराम्रालाई आलोचना गर्ने र सुधार गर्ने कोशिश गर्ने, पार्टीभित्र कुनै विकृति विसङ्गति छन् भने, पैसाको मामलामा होस्, चरित्रको मामलामा होस् वा कामको मामलामा होस् ।

कुन पूर्वमाओवादीलाई कुन पूर्वएमालेलाई भन्ने कुरा जे मिल्यो मिलेन तर सहमति भयो । एमाले होस् वा माओवादी होस् जो अध्यक्ष वा संयोजक छ उही बन्छ । यहाँ ‘रेसियो’को कुरा आएन ।

काम नगर्ने पद मात्र ओगट्नेलाई त्यहीअनुसार मूल्याङ्कन गर्ने विधि स्थापित गर्ने हो भने र पार्टी एउटा सैद्धान्तिक आधारमा उभिने हो भने पार्टीमा समस्याहरू देखिने सम्भावना नै हुँदैन । जस्तो माक्र्सवादप्रति दृढताका साथ उभिने, जनताको जनबहुदलीय जनवाद वा २१ औं शताब्दीको जनवादमा अगाडि बढ्ने हो भने अनि हाम्रो राष्ट्रियताको बारेमा प्रस्ट धारणा लिएर चल्ने, राष्ट्रिय स्वाभिमानको बारेमा स्पस्ट हुने, भ्रष्टाचारको विरुद्धमा दृढताका साथ लाग्ने, त्यसमा आफू संलग्न नहुने हो भने र कुरालाई पारदर्शी रुपमा कार्यान्वयन गर्ने हो भने समस्या देखिँदैन । त्यस्तै नेताहरूको बीचमा विश्वास र समझदारीको वातावरणको बनाउने हो भने जस्तो सुकै समस्या समाधान गर्न सकिन्छ ।

त्यस्तो केही विधि तय गर्ने सहमति भयो ?

जिल्लाको तहमा एकीकरणको काम गर्न सकेका थियौं । त्यसलाई गर्‍यौं ।

कसरी मिलाउनुभयो, भागबण्डा लगाएर ?

पुरानो जिल्ला कमिटी, एमाले पक्षको जिल्ला कमिटी सबै स्थानमा छ अधिवेशनबाटै आएको छ । ति सबै व्यक्तिलाई अध्यक्ष मिल्यो भने अध्यक्षमा मिलेन भने सचिवमा व्यवस्थापन गर्ने गरी मिल्यो । यदि एमाओवादी पक्षले अध्यक्ष पाउने भयो भने एमाले पक्षले सचिव पाउने गरी र एमाले पक्षले अध्यक्ष पाउने भयो भने एमाओवादी पक्षले सचिव पाउनेछन् । हामीले मोटामोटी मंसिर मसान्त भनेका छौं । त्योभन्दा पर नजाने गरि जिल्लाको अधिवेशन सम्पन्न गर्ने र नेतृत्वमा चुनेर आउने विधि बनाएका छौं ।

यो तरिकाबाट जाने सहमति भएको छ । र सजिलै टुङ्गियो पनि । जिल्ला कमिटीमा जो छन्, उनीहरू यथावत रहन्छन् तर तोकिएको संख्या भन्दा धेरै जिल्ला कमिटीमा भए भने जुनियरहरू हट्छन् । तोकिएभन्दा संख्या कम भए ‘सिनियर’हरू थपिन्छन् ।

प्रतिशतको केही कुरा छ ?

केही छैन आँखा चिम्लिएर मिलाइएको छ । माओवादीसँगको एकीकरण गर्ने कुरामा एउटा तरिका हो । कुन पूर्वमाओवादीलाई कुन पूर्वएमालेलाई भन्ने कुरा जे मिल्यो मिलेन तर सहमति भयो । एमाले होस् वा माओवादी होस् जो अध्यक्ष वा संयोजक छ उही बन्छ । यहाँ ‘रेसियो’को कुरा आएन ।

तीन महिना मै एकता सक्ने गरी दुई पार्टीबीच एकीकरण भएको थियो तर ११ महिनासम्म एकता हुन सकेको थिएन । एकाएक एकताका बाँकी काम निष्कर्षमा पुग्यो । आखिर के परिस्थिति बन्यो जसले गर्दा नमिलेको कुरा मिल्न पुग्यो ?

एकता गर्न ढिलो भइरहेको थियो । सबैतिरबाट आलोचना भइरहेको थियो । सबैतिरबाट ढिलो भयो ढिलो भयो भन्ने आइरहेको थियो । तपाईंहरूले सुनिरहनुभएको थियो, केही वर्कआउट भइरहेको छ भन्ने । तर, म संलग्न थिइन । पछि मलाई संलग्न गराइयो । आवश्यकता महसुस भयो होला उहाँहरूलाई । त्यसपछि मैले विधिको कुरामा जोड दिए र सबैको सहमति त्यसमा भयो ।

अब कुरा छ पोलिटब्यूरोको । पोलिटब्यूरोको एकता गर्न पनि गाह्रो छैन । एमालेको पोलिटब्यूरो जम्मा संख्या ५९ छ । हुनुपर्ने ८१ हो । माओवादी पक्षको ६६ हुन्छ । त्यसो गर्दा जम्मा १४७ हुन्छ

जिल्ला कमिटीमा पुरानो जो छ, हामीले के विधिले एकता गरेका थियौं भने एमाले पक्षको केन्द्रमा जति सदस्य छन्, त्यसलाई आधार मानेर एकता गर्ने । एमाओवादी पक्षको झण्डै पाँच हजार केन्द्रीय कमिटी सदस्य थिए त्यसलाई आधार बनाउन सकिँदैन थियो । एमालेको केन्द्रीय कमिटीको संख्या २ सय थियो । २ सयलाई आधार बनाएपछि माओवादी पक्षलाई २ पाएपछि हुन्छ भन्ने भएपछि एमाले पक्षले २ सय ४१ सीट पायो । रेसियो मिलाउनका लागि । त्यसबाट ४ सय ४१ भयो । यो एक सिद्धान्तमा उभियो । पार्टी अध्यक्ष ओली र मलाई जिम्मा दियो र हामीले ४१ जना छनोट गरेर ल्यायौं ।

स्थायी कमिटी बने पनि त्यसमा समस्या देखिएको छ, सचिवालयप्रति पनि नेताहरूको असन्तुष्टि छ ….

हामीले स्थायी कमिटी बनायौं । एमालेको २६ भनिएको हुनाले सोही सङ्ख्या माओवादीको पनि भयो र ४५ सदस्यीय भयो । तर, एमाले पक्षको जम्मा २२ जना मात्र रहेछ । चार जना थपिए चार जना थप्दा ओली र म बिचमा छलफल भएर थप्यौं । समस्या समाधान भयो ।

सचिवालय बनाउने बेलामा सिनियर नेताहरूलाई राखेर ‘कोर अफ लिडरशिप’ बनाउने कुरा भयो त्यसअनुरुप सहमतिका साथ टुंगो लाग्यो ।

पोलिटब्यूरो बन्न सकेको छैन अझै, किन के ले समस्या पर्‍यो ?

अब कुरा छ पोलिटब्यूरोको । पोलिटब्यूरोको एकता गर्न पनि गाह्रो छैन । एमालेको पोलिटब्यूरो जम्मा संख्या ५९ छ । हुनुपर्ने ८१ हो । माओवादी पक्षको ६६ हुन्छ । त्यसो गर्दा जम्मा १४७ हुन्छ । ८१ मध्ये ५९ छ भनेपछि थप्नुपर्ने २२ हुन्छ । पहिला ५९ सदर गर्नुपर्‍यो । २२ जना ल्याउन समस्या छैन । त्यसका लागि केही मापदण्ड आवश्यक छ । अब जो पहिला पोलिटब्यूरोमा बसिसकेका छन् उनीहरूलाई ल्याउनु पर्‍यो ।

दोस्रो भनेको चौंथो, पाँचौं, छैठौं महाधिवेशन, सातौं सम्ममा केन्द्रीय कमिटी आएका वा एकपटक भन्दा बढी केन्द्रीय सदस्लाई ल्याउनु परो । आठौं, नवौंमा आएकामध्ये सिनिरयलाई बनाउनु पर्‍यो । त्यसैले विधिबाट जाँदा यो पनि समस्या भएन । समय नपाएका कारण टुंगो लगाउन पाएनौं । त्यस्तै विभिन्न आयोगहरू बनाउनुपर्ने छ । अनुशासन लेखा निर्वाचन आयोग सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्च बनाउनुपर्ने छ । त्यसका लागि पनि संख्या तोकेर एउटा मापदण्ड बनाउनुपर्ने छ ।

सचिवालयमा केही थपिन्छन् ?

अहिलेसम्म त्यो कुरा आएको छैन ।

तपाई पार्टीमा एक व्यक्ति एक पदको कुरा उठाउँदै आउनुभएको थियो, अहिले छोड्नुभएको हो ?

एक व्यक्ति एक पदको कुरामा चाँहि ‘टेम्पोरर्ली’यसमा गएनौं तर त्यो दिशामा नै जानुपर्छ । होइन भने एउटालाई भ्याइनभ्याइ हुने र अरुले काम नपाउने अवस्था बन्छ ।
पोलिटब्यूरो पछि कार्य विभाजनमा जान्छौँ । जनवर्गीय संगठन एकता गर्नुपर्ने छ । त्यसपछि कार्य विभाजनमा जानुपर्छ, प्रवासको पनि बनाउनुपर्ने छ । एउटा सिद्धान्तमा उभिएपछि फटाफट हुन्छ । तर जब मान्छे रोज्न थालिन्छ, मेरो र तेरो भन्न थालिन्छ, तब विवाद हुन्छ ।

भनेपछि तपाईं र अध्यक्षहरूबीच सालाखाला सहमति भयो ?

के सालाखाला नि ‘हन्ड्रेड पर्सेन्ट सहमति’ हो । सहमतिको कागजमा गडबढी भएको छैन भने सहमति ।

आगामी महाधिवेशन र नेतृत्व चयनका बारेमा पनि सहमति भएको हो ?

अहिले हामी त्यसमा प्रवेश नै गरेनौं । यो धेरै टाउको दुखाउने विषय होइन । अहिले भनेको सरकारलाई सफल बनाउने हो । पार्टीलाई क्रान्तिकारी बनाउने हो । पार्टीमा रहेको असन्तुष्टिलाई विकृति र विसङ्गतिलाई हटाउने र जनताको प्यारो पार्टी बनाउने हो ।

आगामी महाधिवेशनको प्रतिस्पर्धामा आफूलाई कसरी उभ्याउने भन्नेबारे सोच बनाउनुभएको छ ?

महाधिवेशनको भारी बोकेर अहिले नै हिँड्नु हुँदैन । अहिलेको समय सबैले काम गर्ने हो । महाधिवेशनको लागि माला जपेर हिँड्ने समय होइन । म त्यस्ता कुराको पक्षमा छैन । समय आएपछि समयको मागअनुसार चुनौतीहरूको सामना गरेर अगाडी बढ्ने हो । समय नै आएको छैन । त्यसै गीत गाएर हिँडेर मात्रै हुँदैन । केही फाइदा छैन ।

सरकारले काम गर्न सकेको छैन भन्ने आलोचना र गुनासाहरू आइरहेका छन्….

छन् भने के के गुनासा र आलोचनाहरू हुन् ती आउनुपर्छ । उद्देश्यमूलक रुपमा प्रचार गरिएको छ भने खण्डन पनि गर्नुपर्छ । साँचो गुनासा छन् भने ग्रहण गर्नुपर्छ । सुधार गर्ने गरी अघि बढ्नुपर्छ ।

पार्टीमा एकलौटी गतिविधिमा बढ्यो, पार्टीले सरकार चलाउने कि व्यक्तिले भन्ने बहस चलेको छ, यसले कसरी आकर्षण बढ्ला र पाटीलाई जनताको बीचमा लोकप्रिय बनाउन सकिएला ?

पार्टीको क्रान्तिकारिकरण गर्नुपर्छ भनेर मैले भनिरहेको छु । पार्टीमा वैचारिक प्रवत्ति हुर्काउनुपर्छ । पार्टीमा वैचारिक प्रवृत्ति हुर्काउनु पर्छ । विचार शून्यता होइन, अध्ययन गर्ने प्रवृत्ति हुनुपर्छ । माक्सवादको वर्गिय दृष्टिकोणलाई आत्मसाथ गर्नुपर्छ । र इमान्दारीता निष्ठा र समर्पणको भाव पैदा गर्नुपर्छ । जनताको बीचमा लोकप्रिय भएर जनताको विश्वास जित्नुपर्छ । जनताको दुः ख र सुखमा सहभागि हुने आधार निर्माण गर्नुपर्छ । यी केही आधारभूत मान्यताहरू छन् । यसमा जनवादी सिद्धान्त लागु हुन्छ । निर्णय गर्नुभन्दा पहिला व्यापक बहस गर्ने जनबादको प्रयोग गर्ने र निर्णय भइसकेपछि त्यसलाई सबैले अनिवार्य रुपमा पालना गर्ने । त्यस्तो निर्णय एकदुईजना नेताले होइन जिम्मेवारी पाएका आधिकारीक कमिटिले गर्ने हो ।

तपाईहरूबीचको सहमतिको सन्देशको के ?

कम्युनिष्ट पार्टी बाहेको देशमा मुलुकलाई परिर्वतन र रुपान्तरण गर्न सकिदैन । देशको रक्षा र जनताको हितको पक्षपोषण अरु कसैबाट हुन सक्दैन । त्यो पार्टी जसलाई पुष्पलालले २००६ सालमा स्थापना गर्नुभयो । जो अहिले ७० वर्ष पुरा भएर हामी अहिले ७१ औं पार्टी स्थापना दिवस मनाइरहेका छौं । यो बेलामा त्यो पार्टीको संस्थापक चार पाँच जना नेताहरूसँग हुनुहुन्थ्यो । उहाँहरूले रोपेको विउ आज फैलियो । त्यही पार्टी २०३५ सालमा नेकपा माले बनाउँदै, २०४७ सालमा नेकपा एमाले हुँदै त्यसपछि माओवादी हुँदै एकता केन्द्र हुँदै माओवादी केन्द्र हुँदै २०७५ को जेठ ३ गते हामीले नेपाल कम्युनिष्ट पार्टीको रुपमा दुई पार्टीको एकता गर्‍यौं । त्यसपछि चुनावमा हामीले एकतावद्ध भएर अघि बढ्यौं ।

पार्टीको क्रान्तिकारिकरण गर्नुपर्छ भनेर मैले भनिरहेको छु । पार्टीमा वैचारिक प्रवत्ति हुर्काउनुपर्छ । पार्टीमा वैचारिक प्रवृत्ति हुर्काउनु पर्छ । विचार शून्यता होइन, अध्ययन गर्ने प्रवृत्ति हुनुपर्छ । माक्सवादको वर्गिय दृष्टिकोणलाई आत्मसाथ गर्नुपर्छ 

स्थानीय तहको चुनावमा एकता गर्न सकेनौं त्यसैले अपेक्षा गरेअनुसार जित्न सकेनौं तर सिंगो संख्याको बहुमत स्थानीय तहमा जितेका छौं । प्रादेशिक तहमा पनि ७ मध्य ६ वटा प्रदेशमा हाम्रो महुमत छ । केन्द्रमा झण्डै ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं सिटमा झन्दै दुईतिहाइ हासिल गरेका छौं । जनताले हामीलाई विश्वास गरेर नै यस्तो मत दिएका हुन् । किन दिए भन्दा देशको रक्षा गर्छन् भन्ने विश्वास गरेर नै हामीलाई जनताले विश्वास गरेका हुन् ।

जनताको समस्या, गरीवि, अभाव र पछौटेपनको अन्त्य गर्छन् र जनतालाई सुखी र देशको समृद्धि गर्नछन् भन्ने विश्वासका साथ जनताले हामीलाई अभिभारा सुम्पेका हुन् । सरकारले जनताको अपेक्षा अनुसारको काम गर्नुपर्छ र पार्टीले जनताको अपेक्षा अनुसार काम भयो वा भएन भनेर अनुगमन मुल्यांकन गर्नुपर्छ । र सरकारलाई मार्गदर्शन गर्नुपर्छ । यसअर्थमा हामी एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन । त्यसको निम्ति एउटा विधिमा उभिएर अघि बढ्ने हो भने, निजी–कसका के हित र स्वार्थ छन् भन्ने कुराको आधारमा होइन नभइ विभिका साथ एकतावद्ध भएर अघि बढ्ने हो भने जनताको अपेक्षा पुरा गर्न सक्छौं ।

भर्खर

0