श्रीलंका आक्रमणमा कसको हात– इस्लामिक स्टेट, अल कायदा वा स्थानीय अतिवादी ? | Khabarhub Khabarhub

श्रीलंका आक्रमणमा कसको हात– इस्लामिक स्टेट, अल कायदा वा स्थानीय अतिवादी ?




काठमाडौं– श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएका श्रृङ्खलाबद्ध आतंकवादी हमलापछि दक्षिण एसियाभर सन्त्रास छाएको छ । यति ठूलो आतंकवादी हमला कुन समूहले कसरी गर्‍यो भन्नेबारे खोजी कार्य जारी छ । विगतमा पनि ठूलो जनधनको क्षति हुनेगरी भएका आत्मघाती आक्रमणबाट पीडित रहेको  श्रीलंका तमिल बिद्रोहको अन्त्यसँगै बिगत १ दशकदेखि शान्त थियो ।

श्रीलंका सरकारका सञ्चारमन्त्री हारिन फर्नाण्डोले ट्विट गर्दै त्यहाँका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले अप्रिल ११ का दिन सुरक्षा संयन्त्रलाई त्यहाँ सक्रिय नेशनल तौहिथ जमाथ नामक इस्लामिक उग्रवादी समूह र समूहका नाइके मोहम्मद जमानले ठूलो स्तरको आक्रमण गर्ने सूचना प्राप्त भएको जनाएको उल्लेख गरेका छन् ।

नेशन्स तौहिथ जमात नाम गरेको समूह पूर्वी श्रीलंकामा सक्रिय रहेको बताइन्छ । सन् २०१४ मा स्थापना भएको बताइने यो समूहले विगतमा बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी र मुसलमानबीच भएको धार्मिक दंगाका क्रममा बौद्ध धर्मावलम्बीमाथि आक्रमण गर्ने तथा बौद्ध धर्मावलम्बीका धार्मिक स्थानमा तोडफोडका घटना समेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, आइतबार भएको आक्रमणमा यही समूहको संलग्नता छ भन्ने पनि अझै स्पष्ट हुन सकेको छैन ।

श्रीलंकाले विदेशी गुप्तचरबाट हमलापूर्ब नै सूचना प्राप्त गरेको पुष्टि गरेसँगै श्रीलंका हमलामा अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको संकेत मिल्दछ।  अमेरिका या उसका साझेदार देशहरुका गुप्तचरहरुले श्रीलंका आक्रमणबारे सूचना प्राप्त गरेको संकेत मिले पनि धेरै पाटाहरु अझै सार्वजनिक भइसकेका छैनन् ।  तर प्रश्न उठ्छ के संगठित भइनसकेको स्थानीय समूहले मात्र यति ठूलोस्तरको आक्रमण गर्न सक्छ ? उच्च मानवीय क्षति हुने गरी आक्रमणको सामर्थ्य, योजना, आदेश, रकम, तालिम, संयोजन र सञ्चार लगायत प्रबन्ध गर्न स्थानीय समूह एक्लैले अवश्य सक्दैन । अनि विदेशी गुप्तचर समूह आफ्नो स्वार्थमा प्रत्यक्ष हानी हुने आतंकवादी गतिबिधिको निगरानी बाहेक स्थानीय र क्षमता नभएका समूहको पछि लाग्दैनन् ।

हाल विश्वमा प्रमुख २ अन्तर्राष्ट्रिय आतंकवादी समूहहरु, अलकायदा र इस्लामिक स्टेट क्रियाशील छन् । यी दुवै समूह अमेरिका र उसका साझेदारहरुको ठूलो प्राथमिकताका साथ निगरानी गरिरहेका छन् । सन् २०१४ को मध्यदेखि मध्यपूर्वी देश इराक र सिरियाको धेरै भू–भागमाथी कब्जा जमाइ विश्वकै शक्तिशाली बनेको इस्लामीक स्टेट हाल निकै कमजोर छ। इस्लामिक स्टेटले केही वर्ष संसारभर आफ्ना आतंकवादी क्रियाकलापलाई तीव्रता दिए पनि अमेरिका नेतृत्वको गठवन्धनको लगातारको हमलापछि यो समूहसँग अहिले निकै कमजोर छ।

अर्को समूह अलकायदा निकै लामो योजना, खर्च, तालिमपछि मात्रै  आक्रमण गर्ने गर्दछ । यी २ बाहेक यीनीहरुसँग साझेदारीमा रहेका क्षेत्रीय आतंकवादी समूहहरुले ठूला आक्रमण गर्ने क्षमता राख्दछन्, तर आफ्ना संगठन रहेको निश्चित क्षेत्रहरुमा मात्र ।

अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि संसारभरका आतंकवादी समूहहरुको आन्तरिक सूचनासम्म पहुँच राख्ने हुँदा योजनाबद्ध, ठूला र संगठित आतंकवादी हमलाहरुबारे पहिले नै सूचना प्राप्त गरिसकेको हुन्छ । अमेरिकासँग संसारका जुनसुकै आतंकवादी संगठनले देश बाहिर संगठित आक्रमण गर्ने योजना बनाउनासाथ सूचना प्राप्त गर्ने भरपर्दो गुप्तचरी संयन्त्र छ। वाह्य गुप्तचर संस्थाबाट श्रीलंकाले पूर्वसूचना प्राप्त गर्नु भनेको श्रृङखलाबद्ध आक्रमण लामो योजना र रकम खर्च गरी अन्तर्राष्ट्रिय आतंकवादी समूहकै प्रत्यक्ष या अप्रत्यक्ष संलग्नतामा भएको आकलन गर्न सकिन्छ । यी हमलामा हुनसक्ने संभाव्य सबै आतंकवादीका सम्पर्क या योजनाहरुका संकेतहरु प्राप्त भएपछि नै श्रीलंकालाई सचेत पारिएको हुसक्छ। खासगरी अन्तर्राष्ट्रिय या क्षेत्रीय आतंकवादी समूहका उपल्लो तहबाटै बनेका आक्रमणका योजनाहरु निस्तेज पार्न पश्चिमा गुप्तचर समूहहरुले हरतबरबाट प्रयत्न गरिरहेका हुन्छन्।

यस्ता किसिमका आक्रमणको विश्लेषण गर्दा यस्तो स्तर र नियोजित शैलीमा अन्तर्राष्ट्रिय आतंकवादी सञ्जालहरु इस्लामिक स्टेट र अल कायदाले गर्दै आएका छन् । दुबै आतंकवादी समूहले इसाई धर्मावलम्बीलाई लक्षित गरी बेलाबेला यस्तो ठूलो स्तरका आक्रमण गर्दै आएका छन् ।

यद्यपि बेलायतबाट प्रकाशित हुने डेली मेल अखबारले श्रीलंकाली मुसलमान समुदायको श्रोतलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणमा संलग्न हुनसक्ने भनी यसअघि सूचना प्राप्त भएको नेशनल तौहिथ जमाथ नामक समूहले इस्लामिक स्टेटप्रति वफादारिता कबुल गरेको थियो । त्यसबाहेक सन् २०१६ मा प्रकाशित एक समाचारअनुसार श्रीलंकाबाट ३२ जना इस्लामिक स्टेटमा भर्ना भएका थिए ।

तस्वीर– एफपी

सिरिया र इराकको ठूलो भूभाग गुमाएर हाल निकै नै कमजोर अवस्थामा रहेको भएपनि इस्लामिक स्टेटले विश्वका अन्य स्थानमा आतंककारी आक्रमण गर्ने क्षमतामा प्रश्न उठाउन त मिल्दैन । तर, इस्लामिक स्टेटले विगतमा विश्वका विभिन्न स्थानमा गराएको आक्रमणलाई विश्लेषण गर्दा भने श्रीलंकामा भएको आक्रमणमा इस्लामिक स्टेटकै संलग्नता छ भनेर भनिहाल्न कठिन छ । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएका श्रृङ्खलाबद्ध आक्रमणबाहेक इस्लामिक स्टेटले सिरिया, इराक तथा आफ्नो नियन्त्रण भएका मुलुक बाहिर गराएका आक्रमणमा मानिसहरुलाई ब्रेनवास गराएर आतंककारी आक्रमण गराउँदै आएको छ । ती आक्रमण घातक भए पनि श्रीलंकामा गराइएको जस्तै नियोजित भने नहुने देखिन्छ ।

इस्लामिक स्टेटले जिम्मा लिएको, सन् २०१६ मा अमेरिकाको फ्लोरिडा राज्यस्थित सन बर्नाडिनो शहरमा रहेको एक समलिंगी नाइट क्लबमा ४९ जनाको ज्यान जानेगरी गराइएको आक्रमणमा एक जनाको मात्र संलग्नता थियो । त्यस्तै, सन् २०१६ बेलायतको म्यान्चेस्टरमा २३ जनाको ज्यान जानेगरी गराइएको आत्मघाती बम आक्रमणमा पनि एक जनामात्र संलग्न थिए । म्यान्चेस्टर आक्रमणको जिम्मा पनि इस्लामिक स्टेटले नै लिएको थियो । त्यस्तै, सन् २०१६ मै फ्रान्सको निस शहरमा ट्रकले मानिसहरुलाई किचेर गराइएको आक्रमणमा पनि एकजना व्यक्तिको मात्रै संलग्नता थियो । निस आक्रमणको जिम्मा पनि इस्लामिक स्टेटले नै लिएको थियो । इस्लामिक स्टेटले जिम्मा लिने यस्ता किसिमका आक्रमणमा एक जना वा सानो समूहको संलग्नता रहने गरेको थियो भने सबै आक्रमणकारी इस्लामिक स्टेटको प्रोपागाण्डाबाट ‘ब्रेनवास’ भएका हुन्थे ।

तर, श्रीलंकामा गराइएको आक्रमणको स्तरबाट इस्लामिक स्टेटको प्रोपागाण्डाबाट ब्रेनवास भएका अतिवादीले आक्रमण गराएका हुन् भन्नेमा आशंका उत्पन्न हुन्छ । हाल इस्लामिक स्टेटका समर्थकहरुले प्रयोग गर्ने टेलिग्रामका च्यानलहरुमा आक्रमणको खुशीयाली मनाइएको भन्ने समाचार पनि आएका छन् । तर, विगतमा इस्लामिक स्टेटले गराउँदै नगराएको आक्रमणपछि पनि इस्लामिक स्टेटका समर्थकहरुले ‘अवसरवादी प्रोपागाण्डा’ शैलीमा खुसीयाली मनाउने गरेका थिए । त्यसैले इस्लामिक स्टेटका समर्थकहरुको यस्ता गतिविधि ‘अवसरवादी प्रोपागाण्डा’ मात्रै हुन् भन्ने कुरालाई पनि नकार्न सकिन्न ।

तस्वीर– डेली मिरर श्रीलंका

अर्कोतर्फ, अल कायदा र अल कायदासम्बद्ध समूहको आक्रमण गर्ने शैली भने इस्लामिक स्टेटको भन्दा भिन्न छ । अल कायदाले गराउने आक्रमणमा भने निकै लामो समयको गहन योजना र सावधानी अपनाउने गरिएको पाइन्छ ।

इतिहासकै सबैभन्दा कुख्यात आक्रमण सन् २००१ को सेप्टेम्बर ११ मा गराइएको आक्रमणको योजना वर्षाै लगाएर बनाइएको थियो । करिब ३ हजार जनाको ज्यान जानेगरी अमेरिकाको ट्विन टावर र पेन्टागनलाई लक्षित गरी गराइएको आक्रमणका लागि वर्षाैँ लगाएर विस्तृत योजना बनाइएको थियो । आक्रमणकै लागी आक्रमणकारीलाई पाइलटको तालिम समेत दिलाएको थियो ।

दक्षिण एशियामा भएका आतंककारी आक्रमणलाई हेर्दा श्रीलंकामा भएको पछिल्लो आक्रमणले सन् २००८ मा मुम्बईमा भएका आक्रमणको झझल्को दिन्छ । सन् २००८ नोभेम्बर २६ का दिन पनि अप्रत्याशीत रुपमा मुम्बईका विभिन्न स्थानमा निकै नियोजित शैलीमा भएको आक्रमणमा १ सय ६६ जनाको ज्यान गएको थियो । मुम्बईको ताज होटल, यहुदी सेनेगग, रेल स्टेशन लगायतका स्थानमा भएका आक्रमणको योजना वर्षौँ लगाएर बुनिएको खुल्न आएको थियो । आक्रमणको जिम्मा अल कायदासँग सम्बद्ध तथा पाकिस्तानमा रहेर कश्मीरमा सक्रिय रहँदै आएको लडाकु समूह लस्कर ए तैएबाले लिएको थियो ।

तस्वीर– डेलि मिरर श्रीलंका

सन् २००२ मा इण्डोनेशियाको पर्यटकीय शहर बालीमा भएको यस्तै किसिमको आत्मघाती आक्रमणमा २ सय ४ जनाको ज्यान गएको थियो । आक्रमणको जिम्मा अल कायदासम्बद्ध जेमाह इस्लामिया नामक उग्रवादी समूहले लिएको थियो । यो आक्रमणको योजना पनि लामो समय लगाएर निकै सावाधानीपूर्वक बनाइएको खुलासा भएको थियो ।

त्यस्तै, सन् २००४ मा स्पेनको राजधानी मड्रिडस्थित भूमिगत रेल स्टेशनमा गराइएको श्रृङ्खलाबद्ध बम आक्रमणमा १ सय ९३ जनाले ज्यान गुमाएका थिए । यो आक्रमणको जिम्मा पनि अल कायदाले लिएको थियो । यस्ता आक्रमणमा अल कायदाले निकै गहन योजना बनाउँदै तथा आक्रमणले पार्नसक्ने प्रभावलाई मध्यनजर गरेर आक्रमण गराउने गरेको छ । त्यस्तै, अल कायदाले आक्रमणको योजना बनाउँदा गुप्तचरी कमजोरीको पनि उत्तिकै फाइदा उठाउने गरेको देखिन्छ ।

श्रीलंकामा भएको आक्रमणको शैली हेर्दा पनि निकै सावधानीपूर्वक योजना बनाएर आक्रमण गरिएको देखिन्छ । आक्रमणमा प्रयोग भएको शैली र यसअघि अल कायदाले गराएका आक्रमणको शैली पनि मिल्दोजुल्दो नै छ । तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा नलिइसकेको अवस्थामा आक्रमण यही समूहले नै गराएको भनेर किटान गरिहाल्ने अवस्था भने छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ५७ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको