कम्युनिस्ट आन्दोलनमा विचलन | Khabarhub Khabarhub

कम्युनिस्ट आन्दोलनमा विचलन



एक समय थियो विश्वमा कम्युनिस्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आम श्रमजीवी जनताको आशा र भरोसको एक मात्र बिकल्प आभास  हुन्थ्यो ।

त्यो आन्दोलन जन नैतिकता, इमानदारिता, जनसेवाका हिसाबले मात्रै होइन, सबै किसिमका सामाजिक–सांस्कृतिक तथा अर्थ–राजनीतिक भेदभाव अर्थात बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको सही दिशाबोध यसले गराएको थियो ।

त्यसका सान्दर्भिकता र महत्व आज पनि उत्तिकै छन् । अझ बढ्न गएको छ । यद्यपि पछल्ला केही दशकयता खाशगरी १९९० को दशक यतादेखि यो आन्दोलन ठूलो धक्का र पराजयको बिचलनकारी प्रबृत्तिको नराम्रो सिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । जनताको विश्वासको धरोहर जुन हिजो बन्न सकेको थियो आज त्यो स्थिति छैन ।

विश्व स्तरमै यस परिप्रेक्षमा अहिलेम्मको कम्युनिस्ट आन्दोलनलाई हामीले सर्सरी मात्रै पनि हेर्‍यौ र केलायौ भने त्यसमा मूलतः तीनवटा महत्वपूर्ण मोड आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सक्छौं ।

त्यस्तो पहिलो महत्वपूर्ण मोड १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन पछि आरम्भ भएको थियो ।

वस्तुतः यसले संसार अर्थात् मानब समाज र प्रकृति दुबैलाई हेर्ने र फेर्ने एउटा अत्यन्तै महत्वपूर्ण बैज्ञानिक तथा समकालीन विश्वका दर्शनभन्दा भिन्न नबीनतम् – द्वन्दात्मक भौतिकबादी दर्शन, बिचार, दृष्टिकोण र नीति दियो ।

कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले विश्वका सामु प्रस्तुत गरेको त्यो कम्युनिस्ट घोषणा पत्रले संसारलाई हेर्ने, बुझ्ने र ब्याख्या गर्ने र फेर्ने एउटा नयाँ र सशक्त आधार दियो र ऊर्जा प्रदान गर्‍यो ।

यसले विश्वमा ठूलो हलचल मात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा–शोषण, अन्याय, दमन, दबाब र थिचोको अमानबीय बाटोमा–हिडिरहेको संसारलाई बदल्न सकिन्छ । युगौ पुराना दुःखकष्टबाट पार पाउन सकिन्छ ।

सबै किसिमका बिभेद, अन्याय, असमानताबाट मुक्त हुन सकिन्छ। अनि परस्परमा प्रेमपूर्वक बाच्न सकिने सुन्दर र सुखमय एउटा सुनिश्चित भबिष्य भएको संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै सारगर्भित र दूरगामी सन्देश विश्वलाई यसले दियो ।

यसरी नयाँ किसिमले संसारलाई हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउदै लाने क्रममा नै रुसको १९१७ को महान अक्टोबर सामाजवादी क्रान्तिले सफलता पाएको हो ।

पूजीवाद साम्राज्यवादमा बिकसित भएपछि यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भब छ भन्ने निश्कर्ष माक्र्सबादकै आधारमा निकालेर लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले विश्वमा पहिलो पटक मजदुर किसानको शासन सत्ता स्थापना गराएको थियो ।

यसरी त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलो पटक विश्व कम्युनिस्ट आन्दोलनमा अर्को या दोश्रो आधारभूत महत्वपूर्ण मोड ल्याएको हो ।

त्यो मोड सर्बहारा क्रान्ति र साम्राज्यवाद बीचको संघर्षको मोड थियो र हो । अहिले पनि त्यो क्रान्तिको प्रवाहबाट विश्व कम्युनिस्ट आन्दोलन गतिमान छ । अर्थात् त्यो मोडलाई छोडियो भने त्यो कम्युनिस्ट आन्दोलन रहदैन । त्यसमा बिकृति बिसंगति आउँदछ ।

लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्ति पछि नै अरु धेरै देशमा सामन्तबाद, साम्राज्यवाद र उपनिवेशबाद बिरोधी आन्दोलनको लहर विश्वब्यापीरुपमा फैलिएको र त्यसले सफला पाएको हो ।

त्यही क्रममा नै चीन र भारत पनि उपनिवेशबादको पञ्जावाट मुक्त भएका हुन् । त्यसै क्रममा नै चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज विश्वको अग्रतम आर्थिक शक्तिकोरुपमा स्थापित हुन गइरहेको हो ।

तर विश्वले यतिबेला समाजवादी सोभियत संघमै त्यो महान समाजवादी क्रान्तिका उपलब्धीहरु नजोगिनु र सोभियत समाजवादको पत्तन हुनुको पछाडिको कारणहरु सही किसिमले केलाएर सार्थक निश्कर्षमा पुग्नुपर्ने आवश्यकता छ ।

विश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर अध्ययन, बिश्लेषण र संश्लेषणको अनिबार्य आवश्यकता छ ।

यो विश्व कम्युनिस्ट आन्दोनलको अहिलेको तेश्रो महत्वपूर्ण मोड हो । सोभियत समाजवादले ७० बर्ष चलेपछि १९९० मा खाएको गम्भीर धक्का र यसको पत्तन, जसको ब्यापक असर अहिले विश्वब्यापी रुपमा परिरहेको छ ।

यसले विश्व कम्युनिस्ट आन्दोलनका गम्भीर प्रकारका कमी कमजोरीहरु केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन विश्वभरीका कम्युनिस्ट तथा यो शोषण उत्पीडनमा आधारित विश्व समाजलाई समूल रुपमा फेर्न चाहने प्रगतिशील, बामपन्थी क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुले समेत आज गहनरुपमा सोचबिचार पुर्‍याउन पर्ने दूरगामी महत्वको कुरा छ।

हामी प्रष्ट देख्दछौं कि यसरी विश्वमा अहिलेसम्म कम्युनिस्ट आन्दोलनका दुइटा चक्रले पूर्णता पाइसकेका छन् भने तेस्रो चक्र अर्थात ठूलो धक्का खाएको कालखण्डमा आजको विश्व समाज छ ।

त्यसैले यतिबेला यो धक्काका साँङ्गोपाङ्गो कारणहरु केलाएर आन्दोलनको पुनर्समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट विश्व समाज अघि बढ्दै छ ।

यो चरण वास्तवमा घोर बिचलन, सिद्धान्तहीनता, भयंकर धक्का, र आत्म समीक्षाको अत्यन्तै गम्भीर र महत्वपूर्ण चरण हो। यो कुरालाई नेपाल लगायत विश्वभरीका कम्युनिस्ट तथा बामपार्टीहरुले महसुश गरेका पनि छन् ।

यस सन्दर्भमा केही बर्ष अगाडि पोर्चुगलको राजधानी लिस्वनमा विश्वका ६१ देशका ७६ कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठकले एकमतले के निचोड निकालको पाइन्छ भने ठूलो धक्का खाए पनि वास्तवमा बैज्ञानिक समाजवाद नै पूँजीवादी संकटबाट मुक्तिको विश्वको एक मात्र सही बिकल्प हो ।

तर बिगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका जस्ता गम्भीर गल्तीहरु दोहोर्‍याएका छन् ।

जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिबिधि भइरहेका छन् तिनबाट सही शिक्षा लिएर अघि बढ्न सक्दा मात्र बैज्ञानिक समाजबादका मानबीय, विश्वब्यापी उपलब्धीहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टी गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार त्यो संयुक्त बैठकले खिचेको थियो ।

बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन र त्यो दोहोर्‍याइरहन मिल्दैन र सकिदैन पनि भन्ने उल्लेख गरेको छ । तर समाजवादी क्रान्ति सम्पन्न गर्न, सशक्त समाजवाद निर्माण र त्यसको सही ढंगले ब्यवस्थापन गर्न जनताको अग्रतम र निर्णयक भूमिकालाई सुनिश्चित गरिनु पर्दछ । र, हुन्छ भन्ने कुरालाई बिशेषरुपमा दोहोर्‍याएको थियो ।

बर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षमा विश्वभरीका कम्युनिस्ट तथा श्रमजीवी जन समुदायकासाथै साम्राज्यवाद बिरोधी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुको ऐक्यवद्धता पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो । जसले बैज्ञानिक समाजवाद एउटा अजेय बिकल्प हो भन्ने कुरालाई चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्श बैठकले निकालेको थियो ।

यसका लागि विश्वका बद्लिदा गतिबिधिहरुलाई निरन्तर हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, बिचारहरुको आदान प्रदान गर्ने र समय सापेक्ष र सही क्रान्तिकारी गतिबिधिहरुलाई अघि बढाउन हर तरहले लाग्ने प्रतिबद्धता पनि जनाइएको थियो ।

यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन बिभिन्न नीति र बिभिन्न कदमहरुको अबलम्बन गर्ने तिनलाई ब्यवहारमा खरो उतार्ने महत्वपूर्ण निर्णयहरु समेत लिएको थियो ।

महान समाजवादी अक्टोबर क्रान्ति हुनु अघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हेर्‍यौ भने पनि त्यतिबेला कम्युनिस्टहरु राज्य सत्ता सञ्चालन गर्ने अबस्थामा नपुगेको भए पनि त्यो समय उनीहरुको निमित्त बृहत बहस, अन्तरक्रिया र रचनात्मक प्रकृयाको दृष्टिले अत्यन्तै उर्बर समय थियो ।

बिशेषगरी पेरिस कम्युनिजमको असफलतापछिको कालखण्ड कम्युनिस्ट सिद्धान्त र बिचारधाराको समृद्धिका निमित्त सबैभन्दा आदर्शतम काल खण्ड रहेको औंल्याउन सकिन्छ ।

वास्तवमा त्यो कालखण्डमा अरुको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी परिपाटी प्रबल बनेको थियो । त्यतिबेला माक्र्स र एंगेल्सलाई समकालीनहरुले गरेका बिभिन्न आलोचनाहरुबाट उनीहरुले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरण हो ।

वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिस्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षडयन्त्रहरुको गन्धसम्म पनि थिएन । मार्क्सवादी नेता कार्यकर्ताहरुमा पारदर्शीता, इमानदारीता र जनताप्रति शतत समर्पण त्यो बेलाको प्रष्ट चरित्र र उदात्त स्वाभाव थियो ।

वास्तवमा लेनिनको नेतृत्वमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः यही महत्वपूर्ण बिशेषता र बस्तुस्थितिलाई दिइनु सर्बथा उचित हुन्छ ।

आजका पछिल्ला दिनहरुमा समग्र विश्व कम्युनिस्ट अन्दोलन र बिभिन्न देशका कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नैतिकता, निष्ठा, इमानदारीता, आचरण र ब्यवहारको ठाउमा जालझेल र षडयन्त्रले गुँड लाउन थाल्यो र यो आन्दोलनलाई भित्रैबाटा कमजोर बनाउन थाल्यो ।

जालझेल र षडयन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिस्ट पार्टीका अध्यक्ष माओले आफ्नो जीवनको उत्तराद्र्धमा पुग्दै गर्दा ‘माक्र्सबादको प्रयोग गर संशोधनबादको होइन, एकजुट होऊ नफुट, खुल्ला र खुलस्त होऊ, जालझेल र षडयन्त्र नगर’भन्ने अत्यन्तै महत्वपूर्ण र सारगर्भित मार्गदर्शन गरेका र निर्देशन दिएका थिए ।

वास्तबमा यीनै महत्वपूर्ण सारलाई बुझेका तथा विश्व म्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपाली कम्युनिस्ट आन्दोलन भित्र पनि भित्रिएको जालझेल र षडयन्त्रको अनुभव बटुलेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले पनि ‘राजनीति जालझेल होइन, बास्तबिक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ भन्ने दूरगामी र महत्वपूर्ण निष्कर्श निकालेका थिए ।

बिभिन्न घटना, पघिटनाहरुबाट सही शिक्षा लिनुपर्ने महत्वपूर्ण सन्देश दिएका थिए । बास्तवमा आज पनि समग्र नेपाली जन आन्दोलनलाई र बिशेषतः कम्युनिस्ट आन्दोनललाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउन यो निष्कर्शले अत्यन्तै ठूलो र आधारभूत महत्व राख्दछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : २६ बजे

दुर्घटनामा घाइतेको उपचार व्यवस्था गर्न ओलीको आग्रह

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको

कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन

काठमाडौं– सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई

संसद् बैठक रोकेर प्रधानमन्त्रीले थाले कांग्रेससँग छलफल

काठमाडौं– मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चैतको दोस्रो साता सम्म सञ्चालन

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत– पर्वतका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ