जीवन त अस्थायी छ भने मन्त्री पद कसरी स्थायी हुनसक्छ– गोकर्ण बिष्ट (अन्तर्वार्ता) | Khabarhub Khabarhub

जीवन त अस्थायी छ भने मन्त्री पद कसरी स्थायी हुनसक्छ– गोकर्ण बिष्ट (अन्तर्वार्ता)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार मन्त्रिमण्डल पुनर्गठन गरिन् । पुनर्गठनका क्रममा केही मन्त्री बाहिरिए भने केही नयाँ अनुहारले जिम्मेवारी पाएका छन् । 

मन्त्रीको बहिर्गमन मध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको बहिर्गमन चर्चा र चासोको विषय बन्यो । सामाजिक सञ्जालहरुमा उनको पक्षमा बहस भयो । प्रधानमन्त्रीले नै लागू गरेको मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा ‘राम्रो’ नजिता प्राप्त भएपनि मन्त्रीबाट हटाइएको भन्दै सरकारविरुद्ध आक्रोश पोख्ने काम आम रुपमा भयो । आखिर बिष्टलाई किन मन्त्रीबाट हटाइयो ?

प्रधानमन्त्री र उनीबीच केही समस्या पैदा भएका थिए ? वा त्यस्तो कुन शक्ति वा तागत छ जसले बिष्टलाई मन्त्रीमा बसिरहँन दिएन ? यी यावत प्रश्नहरुको उत्तर हामीले खोज्ने प्रयास गरेका छौं । निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टसँग हामी यी र यस्तै विषयमा कुराकानी गरेका छौं । प्रश्तुत छ खबरहबका लागि रमेश भारतीले गरेको कुराकानीको सम्पादित अंश–

तपाईंलाई मन्त्रिमण्डलबाट बाहिर पठाइयो । यतिबेला के महसुस गरिरहनु भएको छ ? बाहिरिएसँगै त जनमत तपाईको पक्षमा देखियो । यसलाई कसरी लिनु भएको छ ?

म जस्तो अवस्थामा मन्त्रालयमा मन्त्रीको रुपमा प्रवेश गरें श्रम मन्त्रालय विदेश जाने नेपालीले दुख पाएको ठगीमा परेको युवाहरुले पीडा भोगेको अवव्यस्था सहितको ठाउँ हो । नेपाली युवाले काम नपाएर अलपत्र परेको संकटग्रस्त अवस्थामा थियो । नेपाली श्रमिकले दुःख गर्छन् जोखिम मोल्छन् तर सुरक्षा नभएको अवस्था । यस्ता धेरै प्रश्नहरुको बीचमा मन्त्री भएँ । मैले जिम्मेवारी लिएपछि केही जोखिमपूर्ण निर्णय लिनु पर्छ भन्ने महशुस गरें ।

तर मेरा अगाडि दुईवटा प्रश्न र विकल्प थिए । यात म जोखिमपूर्ण निर्णय लिएरै आम जनताको युवाको पक्षमा काम गर्नु यात म जे अवस्था छ त्यसमै रहेर लामो समय मन्त्री बन्नु ।

र मैले ति दुई विकल्प मध्ये पहिलोलाई रोजे । मन्त्री पद म बाँचुन्जेल होइन । न मेरो जीवन स्थायी छ न म बाँचुन्जेल मन्त्री बन्ने, न म मन्त्री बन्नका लागि म जन्मेको हुँ भन्ने सोचें । मेरो जन्म त सामाजिक काम गर्नका लागि भएको हो ।

मैले स्वभाविक रुपमा जनताको हितमा आम युवाको, श्रमिको हितमा निर्णय र अडान लिनुपर्छ । फाटेको चप्पल लगाएका ति गरिब जनताका छोराछोरीहरु जो बाँच्ने आधारका लागि भौतारिन्छन् । उनीहरुमाथि भएको शोषणलाई म कुनै पनि हालतमा सहन्न र त्यो सही हुँदैन भन्ने मा म पुगें ।

मैले उनीहरुको पक्षमा उभिनुपर्छ र निर्णय लिनुपर्छ भन्ने सोचें र मैले केही जोखिमपूर्ण निर्णय लिएँ । मैले निर्णय गर्दा नै सोचेको थिएँ कि मलाई लामो समय रहन दिँदैनन् भन्ने ।

खास कुन शक्ति र तागतले सहज रुपमा काम गर्न नदिने रहेछन् ?

मैले लाखौं ठगिएका युवाको पक्षमा कदम उठाएँ । अवश्यपनि मैले एक महिना, सात दिन वा कुनै पनि दिन बाहिरिनुपर्छ भन्ने महसुस गरेको थिएँ । तर युवाहरुको पक्षमा काम गर्नुपर्छ अडान लिनुपर्छ भनेर नै काम गरेको हुँ ।

कामको सिलसिलामा प्रधानमन्त्रीसँग तपाईको मतभेद भयो कि ? कार्यसम्पादन मूल्यांकनमा त तपाईको अव्वल अवस्था देखिन्थ्यो तर यसका बाबजुद पनि निस्कनु पर्ने अवस्था आयो । तपाईको इच्छाले त बाहिरनु भएको होइन होला ?

म एकदमै खुसी छु बाहिरिँदा । यसकारण म खुसी छु कि पदको अन्तिम अवस्थासम्म आफ्नो सम्मान र अडानका साथ युवा र वैदेशिक रोजगारीमा रहेकाहरुको पक्षमा अडानका लिन सकें ।

मन्त्रिमण्डल पुनर्गठन स्वभाविक कुरा हो । म बाहिरिने कुरा प्रति आपत्ति छैन । म थप उत्साही नै छु । जुन कार्यसम्पादनका बारेमा समाचार बन्ने गर्थ्यो त्यो कार्यसमपादनको मूल्यांकनको आधारमा जवाफदेही मूल्यांकन हुन्छ भन्ने पनि सुनिन्थ्यो तर त्यसको प्रयोग कहिले हुन्छ त्यो बेग्लै कुरा हो । त्यो कुन तात्पर्यले बनेको थियो त्यो तपाईंहरुको खोजिको कुरा हो ।

म यति मात्र भन्न चाहन्छु कि, म घाँस काटेर, दउरा बोकेर, कोदालो खनेर सामान्य किसानको परिवारमा हुर्किएको मान्छे हुँ । म जनताको छोरा हुँ । म जनताको छोरा पदमा रहुँ वा नरहुँ मैले अडानका र उच्च शिरका बनाएर आत्मसम्मानका साथ काम गर्छु । म बाहिर रहँदा पनि म अझ बेसी अन्यायमा परेका श्रमिक र युवाको पक्षमा काम गर्छु त्यो नै मेरो आत्मसम्मानको कुरा हो ।

कामको सिलसिलामा प्रधानमन्त्रीसँग कुनै मतभेद भएको थियो ?

म अहिले त्यता तिर जान चाहन्न । म यतिमात्र भन्न चाहन्छु कि मैले पद भन्दा कामलाई महत्व दिएँ । पद भन्दा अन्यायमा परेका आधारभुत तहका जनताहरु जसले आफ्नो आवाज पनि व्यक्त गर्न सक्देनन् । म आवाज विहीनहरुको लागि राज्यको प्रतिनिधित्व गर्ने हैसियतले भूमिका निर्वाह गर्न चाहन्थे । हिजो मन्त्री थिएँ त्यो भूमिका निर्वाह गरें । आज म मन्त्री छैन सडकबाट पनि ति अन्यायमा परेका ठगिएका आवाज विहीनहरुको लागि म निरन्तर आवाज दिन्छु ।

निरन्तर म उनीहरुलाई सहयोग गर्छु । हिजो मैले भित्र रहेको भन्दा धेरै उनीहरको सहयोगको लागि काम गर्छु ।

मन्त्रिपरिषद्को पुनर्गठनले के देखियो भने यो पार्टी वैचारिक हिसावले अस्पष्ट छ । पार्टी भित्रको गुट उपगुटको सिकार नेताहरु हुन्छन् । भोलि मुलुकको भविष्य र नेकपाको भविष्य कसरी अघि बढ्छ ?

यहाँले भन्नु भएको स्वभाविक नै हो । जनताले नेकपालाई जनमत प्रकट गरेका छन् । आधारभूत तहका जनतालाई माथि उठाउने देशलाई बलियो बनाउने सरकार र कम्युनिस्ट पार्टीको हातमा आएको छ । यो जिम्मेवारीलाई देश र जनताको पक्षमा उपयोग गरिनएन भने कहिले काँही ‘बेला आउँछ पर्खदैन, बगेको खोला फर्कदैन’ भन्ने अवस्था आउँछ । तर हाम्रो चाहना हरदम यही हुन्छ कि जनताको यो विश्वासलाई जनताको हितमै लगाउनु पर्छ । उनीहरुको जीवन रुपान्तरणको चाहनामा हामीलाइ मत दिएका हुन् । उनीहरुको सम्मानमा मन बचन र कर्मले व्यवहारमै हुन जरुरी छ ।  चल्ती चलाखी बोल्नका लागि जे बोलेपनि हुन्छ । तर हाम्रा व्यवहारहरु जनमुखी र जनपक्षीय हुनुपर्छ ।

मानवीय जीवनसँग जोडिएको मन्त्रालयमा रहनु भयो । धेरै चुनौती पनि व्यहोर्नुभयो । कस्तो अनुभव रह्यो ?

जनताको हितमा काम गर्ने कुरा अलि कठिन रहेछ । मैले पहिला नै सोचेको थिएँ । मन्त्रीको रुपमा यो मेरो दोस्रो कार्यकाल थियो । मैले जनताको हितमा साचो अर्थमा इमानका साथमा जनताको पक्षमा काम गर्ने कुरा धेरै चुनौती पूर्ण हुन्छ भन्ने महशुस गरेको छु ।

सरकार पुनर्गठनमा पार्टी एकताको छायाँले छोडेको देखिएन यो पक्ष र उ पक्ष भन्ने देखियोे, पार्टी भित्र गुट उपगुट पनि धेरै देखियो के भएको हो ?

फेरि पनि त्यही कुरामा जोड दिन्छु । जससम्म राजनीतिमा, समाजमा विधी प्रणाली स्थापित हुँदैन । जबसम्म गुण र दोषको आधारमा मूल्यांकन हुँदैन । जबसम्म व्यक्तिका मापदण्डका आधारमा व्यक्तिका योगदान परिणाम र मापदण्डका आधारमा कामहरुलाई व्यवस्थित गर्ने कोशिस हुँदैन तवसम्म यही प्रकारका व्यक्ति व्यक्तिका सम्झौता र विगतमा जुन प्रकारका अवस्था थिए त्यसकै निरन्तरता रहने कुरा स्वभाविक नै हो । तर म फेरि पनि एउटा पार्टीको कार्यकर्ताको रुपमा भन्न चाहन्छु कि पार्टीलाई विधीमा चलाउन र एकतावद्ध बनाएर अगाडि बढाएर लानुपर्छ ।

हामीले पार्टीलाई सरकारमा लैजाने कुरा महत्वपूर्ण कुरा छ तर त्यो भन्दा महत्वपूर्ण कुरा जनताको जीवन बदल्न सरकारलाई साधान बनाउने कुरा नै मुख्य पक्ष हो । व्यवहारमा हामीले त्यो सन्देश दिनुपर्छ । यो कामलाई पार्टीलाई थप वलियो र शसक्त बनाउने कुरामा ध्यान पु¥याउने छौं ।

पार्टी विधी मापदण्ड त स्खलित हुँदै गयो भन्ने देखियो । तपाई नै त्यसको सिकार हुनु भयो…..

हैन म एक प्रकारले पुरस्कृत भएको छु । मैले धेरै तनावको बीचमा काम गरें । अहिले मन्त्रीबाट बाहिरिएको छु । म अत्यन्त खुसी छु । यो कार्यकालले जनताको हितमा, पक्षमा इमानको पक्षमा काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ । आम दिदीवहिनी दाजुभाइ समर्थकले मलाई जनताको पक्षमा काम गर्न हौसला प्रदान गर्नुभयो । अझ मन्त्रीबाट बाहिर आइसकेपछि मलाई उहाँहरुले प्रेरणा दिनु भएको छ ऐकवद्ता व्यक्त गर्नु भएको छ यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण हो ।

हरेक व्यक्तिलाई जीवनभर पद पुग्दैन । मैले भन्दै आएको छु जीवन त अस्थायी छ भने पद त कसरी स्थायी हुन सक्छ ? म मन्त्री हुँदा नै मैले सोचेको थिएँ कि म एकदिन बाहिरिनुपर्छ । यो ठूलो कुरा होइन । यतिबेला मैले आम जनता श्रमिक युवाहरुको पक्षमा काम गर्न जुन प्रयत्न गरे त्यो महत्वपूर्ण छ । मैले एउटा शव्द पनि प्रयोग गरेको छु, ज्यामी माहुरीले जस्तै मैले निरन्तर काम गरें । मैले नाता गोता, आफन्तसँग पनि भेटघाट गर्न सकिन । मैले मेरो स्वास्थ्य परीक्षणलाई समेत पनि समय निकालिन । मैले त्यो ढंगले निरन्तर काम गरें । सायदै नेपालीहरुले प्रोत्साहित गरिरहनु भएको छ । बधाइ र धन्यवाद दिइरहनु भएको छ । यो नै मेरो लागि प्राप्त भएको ठूलो पुरस्कार हो ।

तनावको बीचको कुरा गर्दा, त्यो कुन शक्ति र तागत रहेछ जसले तपाईंलाई मन्त्रीको रुपमा काम गर्दा तनाव दियो ?

स्वभाविक रुपमा नेपाली समाज त रुपान्तरित भै सकेको छैन । अझै विधीमा आइसकेको छैन । संसारमा धेरै देशहरु विधीमा आए । त्यही भएर विकास गरे । नेपालमा राजतन्त्र गएर गणतन्त्र आइसक्यो तर विधी स्थापित हुन सकेको छैन । जे बोल्छौं त्यो व्यवहारमा गर्ने र जे गर्छौं त्यो बोल्ने कुरालाई अगाडि बढाउने सन्दर्भमा धेरै कुरा सुधार्नुपर्छ । सुधारको प्रयत्न गर्न खोज्दा सुधारलाई रोक्न खोज्ने र गर्न खोज्नेको बीचमा अन्तर्विरोध त रहन्छ नै । यसकारण नेपाली समाजमा जुन अवेशष विद्यमान छन् त्यसले कहि न कहि प्रतिकुलता पैदा हुन्छ । म आशावादी छु यो सरकारले ति चुनौतीहरुको सामना गरेर सुधार दिने छ । र आम जनताको अपेक्षालाई पूरा गर्नेछ ।
मैले पद बाहिर रहँदा पनि सरकारका परिवर्तनका एजेन्डालाई सहयोग गर्छु ।

दबाव त आउँछ नै तर यो ठूला कुरा होइन । मन्त्री भनेको सार्वजनिक पद हो । विधीमा टेकेर काम गर्नुपर्छ । यो जनताको पद हो मैले इमान्दारिता पूर्वक गुर्नपर्छ भनेर व्यवहार गरें । मैले आत्मसम्मान र गौरबका साथ काम गरेर बाहिरिएको छु । यो मेरो लागी ज्यादै खुसीको क्षण हो ।

त्यो शक्ति वा तागत पार्टी भित्र छ कि बाहिर जसले काम गर्नेलाई अफ्ट्यारोमा पार्छ ? के महशुस गर्नुभयो काम गर्ने क्रममा ?

नेपाल अन्तर्राष्ट्रिय भुगोलको बीचमै छ । पार्टीहरु नेपालीसमाज भित्रै छन् । यसकारण ति चिजहरु तपाईले खोज्दै जानुभयो भने फेला पर्छन् । म पात्रतिर प्रवेश गर्दिन । तपाईले खोज्दैं जाँदा अमुक ठाउँमा पाउने र अमुक ठाउँमा नपाउने कुरै छैन । तपाईले यत्रतत्र सर्वत्र पाउने अवस्था बन्न सक्छ । त्यता धेरै नजाउँ जनताका अपेक्षालाई पूरा गर्ने ऐतिहासिक दायित्व हाम्रा काँधमा छ त्यसलाई पूरा गर्नुपर्छ ।
दायित्वलाई पूरा गर्ने हजारौं सिपाही मध्ये म एक हुँ ।

प्रधानमन्त्रीले बाहिर पठाउँदै हुनुहुन्छ भन्ने केही आभाष वा संकेत थियो ?

मलाई त्यस्तो केही आभाष पनि थिएन । र मैले म बाहिरिने कुरालाई एजेन्डाको रुपमा पनि महशुस गरको छैन । एउटा पार्टीभित्र बेलाबेलामा मन्त्रीमण्डल पुनर्गठन हुनु जायज नै कुरा हो । यसलाई मैले अन्यथा लिएको छैन । नेपालको राजनीति मन मिल्ने नमिल्ने, नजिकको टाँढाको भन्ने कुराबाट अहिलेपनि बाहिर आउन सकेको छैन । मन मिल्ने र मिल्नेको बीचमा एउटा कुरा मन मिल्ने र नमिल्नेको बीचमा अर्को कुरा यी सबै चिजहरु अहिलेपनि आधार मापदण्ड भइरहेको देशमा यो भन्दा बाहिरबाट आउँछ र परिणाम आउँछ भनेर मैले सोच्नु पनि राम्रो कुरा होइन । हामीले कहिले काँही हामी जहाँ छौं त्यही रहेर सोच्नु पर्छ । बाहिर रहेर सोच्यौं भने त भ्रममा पर्छौं नि ! त्यसले निराशा हुन्छ । मैले बाहिर गएर सोचिनँ । अहिले पनि यस्ता धेरै कुराहरुको अर्थ छ । देश जस्तो छ या त देश अनुसार चल्नु परो या त आत्मसम्मानका साथ जहाँ रहँदा पनि जनताको पक्षमा काम गर्नुपरो ।

यो समग्र गतिविधी हेर्दा पार्टीमा सबै सन्तुष्ट छैनन् । राष्ट्रपतिलाई पनि मुछ्ने काम भयो । मन्त्रीबाट बाहिरिएपछि नेताहरुसँग कुराकानी गर्नुभयो ?

मैले मन्त्रीबाट बाहिरिएपछि नेताहरु भन्दा पनि आम पार्टी पंक्ति, नागरिक समाज, पत्रकार वा देशभित्र रहेका वुद्धिजीवीहरु, श्रमिकले जे प्रतिक्रिया व्यक्त गर्नु भएको छ त्यता धेरै केन्द्रीत भएको छु । अझ धेरुै काम गर्नुहोस् भनेर जुन शुभेक्षा व्यक्त गर्नु भएको छ यसमै म अलि व्यस्त छु । यसकारण मेरो नेताहरुसँग भन्दा प्रथमिकता समर्थक सुभेक्षुकहरुसँग कै कुरा सुन्ने र प्रेरणा लिने प्रथमिकतामा परेको छ ।

म पार्टीलाई थप जनताको पक्षमा काम गर्ने विषयमा केन्द्रीत भएको छु । म मन्त्री रहँदा भन्दा बेसी उत्साहका साथ खुसीका साथ काम गर्छु ।
मलाई त प्रधानमन्त्री ज्यूले देशको बारेमा बुझ्ने यति महत्वपूर्ण अवसर दिनुभयो । मलाई उहाँले विश्वास गरेर २० महिना मन्त्रीमा नियुक्ति गर्नु भयो । यो अवसरले केही सिक्ने र काम गर्ने मौका नि पाएँ । जनताको मायाँ पनि पाएँ । म त प्रधानमन्त्री प्रति असाध्यै कृतज्ञ छु । आभारी र खुसी छु । पार्टीका नेताहरु र पार्टी पंक्तिप्रति खुसी छु । मेरो त केही गुनासो छैन । पार्टीमा म भन्दा अत्यन्त योग्यतम साथीहरुको हजारौं पंक्ति छ । उहाँहरुले अवसर पाउनु भएको छ । म उहाँहरुको रामो कामको समर्थन गर्छु ।

पार्टीको नेतृत्व पंक्तिको द्वन्द्वको सिकार तपाईं हुनुभयो नै बहुमतपछि राजनीतिक स्थिरता देखिने कुरा त अस्थितरता तिर देखियो नि !

अस्थिरता र स्थिरताका लागि महत्वपूर्ण कुरा फेरि पनि प्राणाली नै भएको बताउँ । मलाई हिजो एकजना साथीले सुनाउँदै हुनुहुन्थ्यो, कसैको भनाइ हो विद्वानको– हामी शोषण गर्ने प्रणालीलाई टिकाइ राख्छौं वा परिवर्तन ल्याउने प्रणालीको विकास गर्छौं ? विकासको मुख्य चिज त्यो हो । स्थिरताको कुरा मुख्य स्थितिरता नै प्रणाली बनाउने कुरा हो । कहिले काँही जापानमा सरकार चाँडो चाँडो परिवर्तन हुन्छ तर प्रणाली कायम छ । प्रणाली स्थापित हुँदा छिटोछिटो परिवर्तन हुँदा पनि अग्रगतिको लागि प्रभाव पार्दैन । हामी स्थिरताको लागि सुशासनका लागि एउटा मापदण्ड र प्रणाली स्थापित गर्नुपर्छ । हामी सम्भवत त्यता तिर जाँदै छौं ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन भन्ने गुनासो आइरहेको छ, किन होला ?

इमान्दारितापूर्वक जनताको पक्षमा काम गरेयौं भने कहिन कहित परिणाम त आउँछ नै । सायद तपाईं मेरो र आम जनातको यही अपेक्षा हो । जनताको सरोकारको पक्षमा इमान्दारिता पूर्वक काम गर्नुपर्छ ।

तपाईंले अघि नै भन्नु भयो श्रम मन्त्रालयमा चुनौती छन् भनेर त्यसको सामाना कसरी गर्ने ?

हामीले नेपाल र मेलेसिया युएइ, मौरिस जापानमा श्रमिकलाई केन्द्रीत गरेर जोगाउँदै शून्य लागतमा नेपाली श्रमिकहरु लाई ठगी नभइ जान पाउने गरि सम्झौता ग¥यौं । नेपाल र ओमानको बीचमा पनि सम्झौता सकिएको छ केवल हस्ताक्षर मात्र बाँकी छ । क्याविनेटबाट कुरा भएर सम्झौता हुन बाँकी छ । नेपाल र साउदी र कुवेतसँग पनि अन्तिम अवस्थामा छ । अब एक प्रकारले भन्ने हो भने राजमार्ग तयार भएको छ । अब राम्रोसँग हिँडेमात्र पुग्छ ।

सरकारले प्राथमिकतामा राखेको सामाजिक सुरक्षा कोष र रोजगार कार्यक्रमलाई कसरी लिनु भएको छ ?

सरकारले थप पाँचलाखलाई रोजगारी दिने भनेर घोषणा गरेको छ । त्यसको आधारहरु बनेका छन् । त्यो अब गारो काम छैन । अब त्यो सम्भव छ । त्यो दिन सकिन्छ । सामाजिक सुरक्षा योजना सफल भएर अघि बढेको छ ।

यसलाई टिकाउँदा मात्र पनि दूरगामी भविष्यका लागि एउटा महत्वपूर्ण अभियानको रुपमा अघि बढ्छ । यसकारण जति चुनौती कठिनाइ, तनाव झेल्नुपर्ने त्यो त यो बीचमा हामीले झेलिसकेका छौं । रोजगारी वा वैदेशिक रोजगारी वा आन्तरिक श्रम बजार नीति कानून आइटी प्रणाली जनशक्ति लगायत सबैलाई अघि बढाएका छौं । टिकाउँदा मात्र पनि धेरै परिणाम आउने अवस्थामा छ । कुनै ९५ कुनै ९८ प्रतिशतमा पुगेको छ । गारो छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका