घरेलु संरचना नै नभएको फुटसल– अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेश यात्रामा खेलाडी | Khabarhub Khabarhub

घरेलु संरचना नै नभएको फुटसल– अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेश यात्रामा खेलाडी



काठमाडौं – ‘कही नभएको जात्रा हाँडी गाउँमा !’ यो उखान नसुन्ने कमै नेपाली होलान् । यस्तै जात्रा नेपाली खेलकुद क्षेत्रमा बेलाबेलामा सुन्ने र देख्ने गरिएको छ ।

पछिल्लो समय यस्तै जात्रा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देखाएको छ । घरेलु संरचनानै नभएको फुटसलका खेलाडी यतिबेला इरान पुगेका छन् ।

बुधबारदेखि इरानमा हुन लागेको एएफसी कप फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

नेपाली टोली एएफसीको सहयोगमा इरान पुगेको एन्फा फुटसल कमिटीका संयोजक दाबा लामाले बताए ।

एन्फामा कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फा नयाँ तरिकाबाट अगाडि बढ्ने धेरैको अनुमान थियो ।

तर, संरचनाविनैको फुटसलको अन्तर्राष्ट्रिय सहभागीता र त्यसको खेलाडी छनोट प्रक्रिया जस्ता कुराहरुले एन्फाको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।

एन्फाका विभिन्न समितिहरुमध्ये फुटसल समिति एक महत्वपूर्ण समिति हो । यो समितिमा दाबा लामा संयोजक रहेका छन् ।

लामा फुटसल संयोजक भएको पनि एक बर्ष पूरा भइसकेको छ । तर, उनले अहिलेसम्म फुटसलका लागि कुनै पनि कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन् ।

यसअघि २ वर्ष अगाडि नेपाली फुटसल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । तर, त्यतिबेला लिग आयोजना गरेर खेलाडी छनोट गरिएको थियो भने फुटसल संयोजक थिए, रमेश रायमाझी ।

लामा पछिल्लो समय फुटसलमा भन्दा पनि फुटबलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अफिसियलका रुपमा दौडिरहेका छन् ।

बिहीबारमात्रै नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप छनोट अन्तरगत अस्ट्रेलिया र जोर्डन भ्रमणबाट स्वदेश फर्कियो । लामा विश्वकप छनोटमा एन्फाबाट अफिसियलका रुपमा सहभागी भएका थिए ।

आफू फुटसल समितिमा हुँदा फुटसलका कार्यक्रम आयोजना गर्न नसकेका उनी फुटबलमा हिँडिरहनुमा आफ्नो विगत रहेको बताउँछन् ।

त्यसोत, लामा आफुले नेपाली फुटसलका लागि योजना बनाएर एन्फा नेतृत्वलाई जानकारी गराइसकेको तर, एन्फाले चाँसो नदेखाएको पनि बताउँछन् ।

‘फुटबलमा कुद्ने भन्दा पनि, म फुटबलकै मान्छे हो । पछि फुटसलमा संयोजक भएको मात्रै हुँ । फुटबलको ‘म्यानेजर’ भइसकेको मान्छे हुँ,’ लामाले भने,‘मेरो प्राथमिकतामा त फुटसल नै पर्नु पर्ने हो । तर, मैले फुटसलका लागि नीति, कार्यनीति नबनाएको पनि होइन् । त्यसलाई एन्फा नेतृत्वले गम्भिर रुपमा नलिँदा समस्या भएको हो । एन्फालाई काम गरौं भन्दा पनि गरौंला नि भन्छन् ।’

लामाले फुटसल संजोक बन्न निकै धेरै ‘पावर एक्ससाइज’ गरेर आएको एन्फा स्रोत बताउँछ ।

‘कुनै पनि समितिको संयोजक बन्न एन्फा केन्द्रीय कार्यसमिति सदस्य हुनु पर्छ । उनले एन्फा कार्यसमितिसम्म आइपुग्न पनि अनेकन तिकडम गरे । पछि फुटसल संयोजकसम्म भएका हुन्,’ स्रोतले बतायो ।

स्रोतका अनुसार जुन किसिमले उनी संयोजकको जिम्मेवारीमा आए त्यो तरिकाले काम गर्न सकेका भने छैनन् । काठमाडौंमा दैनिकि सामुदायीक फुटसलका प्रतियोगिताहरुमा अतिथीका रुपमा जाने खादा लाउने र पुरस्कार बाँड्ने बाहेक काम नरहेको बताउँछ ।

यता, लामा आफै भने नेपालमा फुटसल व्यवसायिक रुपमा खेल्ने खेलाडी नै नरहेको बताउँछन् । त्यस्तै फूटसलमा पूर्वाधार नभएको पनि उनको भनाइ छ ।

‘खास भन्नुपर्दा नेपालमा अहिले व्यवसायिक रुपमा फुटसल खेल्ने खेलाडी नै छैनन्,’ लामाले भने,‘कार्यक्रम मैले एन्फालाई बुझाउने हो । एन्फाले कार्यक्रम गर्न निर्देशन दिएपछि मैले गर्ने हो । एन्फामा मैले उमेर समूहका लिगका लागि योजना बनाएर बुझाइसकेको छु । यसमा एन्फाले सहयोग गरिरहेको छैन् ।’

यता, एन्फा प्रवक्ता किरण राईले भने लामाले अहिलेसम्म प्रस्तावकै रुपमा कुनै पनि योजना नल्याएको वताउँछन् ।

‘एन्फामा योजना आएको कुरा मलाई थाहा छैन । यो प्रस्तावकै रुपमा आएको मलाई जानकारी छैन । तर, अनौपचारिक रुपमा कुरा भइरहेको हो,’ प्रवकता राईले भने,‘छलफल चलिरहेको छ । उहाँले ल्याएको योजनामा एन्फाले ठिक ठानेको कुरामा अगाडि बढ्ने हो ।’

लामा फुटसलको विकास गर्न ‘ग्रासरुट लेभल’ देखि सुरु गर्नु पर्ने बताउँछन् । यहीँ बर्ष एन्फाले २ वटा फुटसल प्रतियोगिता गर्ने तयारी रहेको उनले बताए ।

‘एन्फासँग सबै कुरा भइसकेको छ । स्कुल लेभलको लिग तिहार लगत्तै गछौं भने बि र सी डिभिजन लिग सकिने वित्तीकै यसअघिको ‘रेडबुल’ लिग जस्तै लिग गछौं,’ लामाले भने ।

लामाले मन्डिखाटारमा रहेको १५–१६ रोपनी जग्गा फुटसलका संरचना निर्माणका लागि हेरिएको बताए । उक्त जग्गामा कुरा मिले आगामी जेष्ठमहिनादेखि नै काम शुरु हुने उनले बताए ।

तर, अहिले एएफसी कपका लागि नेपाली टोलीलाई त्यहाँ पठाउने खर्चले नेपालमा व्यवसायिक फुटसललाई अगाडि बढाउन तर्फ लागेको भए हुने भन्दै एन्फाको आलोचना भइरहेको छ ।

यता, लामा भने ‘एक वर्षमा तत्काल संरचना बनाउने वातावरण थिएन । अहिले हामीले पठाएको छनोट प्रतियोगिता २०१८ को हो,’ इरानमा हुने खेलबारे लामाले भने,‘हामीसँग संरचना छैन भनेर खेलमा सहभागी नहुने कुरा पनि भएन ।’

लामाले एन्फाको फुटसल कमिटिमा यसअघि रहेका मानिसहरुले पनि चुस्त रुपमा काम नगरेका कारण असहजता भएको बताउँछन् । ‘यसअघिको फुटसल समितिले सही तरिकाले काम गरेको भए अहिले यस्तो अवस्था आउने थिएन । उहाँहरुले पनि काम गर्न पाउनु भयो जस्तो मलाई लाग्दैन्,’लामाले भने ।

एन्फाका कार्यबाहक अध्यक्ष पंकज नेम्वाङले एन्फाले नेपालमा लिग आयोजना खेलाडी उत्पादन लगायतका कुरालाई व्यवस्थीत गर्न फुटसल कमिटिले काम गरिरहेको बताएका छन् ।

‘फुटसल समितिले त्यसका लागि ‘वर्क आउट’ गर्दैछ । अहिले समय छोटो भएकोले प्रतियागिता गर्न सकिएन । आउँदो साल प्रतियोगिता हुन्छन् । एन्फाले यो विषयलाई चाँसोका साथ हेरेको छ । फुटसल लिग एन्फाले गर्दै जान्छ,’ कार्यबाहक अध्यक्ष नेम्वाङले भने ।

फुटसलमा एन्फाले अहिले आवश्यक खर्च व्यवस्थापन गरिरहेको एन्फा प्रवक्ता राईले बताए । राईले संरचना छैन भन्दैमा प्रतियोगिताहरुमा पनि सहभागीता नजनाउँदा समस्या हुने बताए ।

सन् २०२० मा तुर्किमिनिस्तानमा हुने एएफसी कप फुटसल च्याम्पियनसिप छनोट अन्तरगतको खेलका लागि फुटसल टोली यतिबेला इरानमा रहेको छ ।

नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २४ अक्टोबरमा उज्वेकिस्तानसँग र समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग २५ अक्टोबरमा खेल्नेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५० बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार