१ लाख ३५ हजार भन्दा बढी नेपालीमा विगत विर्सने रोग

विगत विर्सिएका बिरामीको जीवन सहज बनाउने डा सापकोटा

रिता लम्साल

शनिबार, असोज ४, २०७६

Reading Time: 7 minutes

१ लाख ३५ हजार भन्दा बढी नेपालीमा विगत विर्सने रोग

एक व्यक्ति सवारी दुर्घटनामा पर्छन् । अस्पतालमा चिकित्सकले शरीरमा लागेको चोट निको बनाउँछन् र आफन्तलाई भन्छन्, ‘हामीले उहाँको ज्यान त बचायौं तर तपाईको बिरामीको स्मरण शक्ति फर्काउन सकेनौं ।’

‘तपाईहरुले उहाँको पुराना दिनका घटनाका स्थानहरुमा लगेर विगत सम्झाउने प्रयास गर्नुभयो भने उहाँको स्मरण शक्ति फेरि फर्कन पनि सक्छ,’ बिरामीका आफन्तलाई चिकित्सकले यसो भन्दै केही औषधि दिएर पठाउँछन् ।

चिकित्सकको सल्लाह अनुसार बिरामीका आफन्तले गुमेको स्मरणशक्ति फर्काउन प्रयास पनि गर्ने गरेका छन् ।

सिनेमाको कथामा हेरेको जस्तो दृश्य मानिसको जीवनमा पनि भएको सुन्दा तपाईंलाई पत्यार नलाग्न पनि सक्छ ।

तर यस्तै प्रकृतिको समस्याबाट नेपालमा १ लाखभन्दा बढी बिरामीहरु छन् भन्दा तपाई बिश्वास गर्नुहुन्छ ? तपाईलाई विश्वास नलाग्न सक्छ तर यो कुरा सत्य हो ।

तपाईले हेर्ने सिनेमामा मात्रै होइन, वास्तविक जीवनमा पनि अतित विर्सेका थुप्रै नेपालीहरु छन् । सबैले सवारी दुर्घटना वा अन्य दुर्घटनाका कारण मात्र आफ्नो अतित विर्सने भन्ने हुँदैन ।

माथि उल्लेख गरिएका १ लाख ३५ भन्दा बढी व्यक्ति मध्ये केहीले दुर्घटनाका कारण आफ्नो अतित विसिए भने केहीले डिमेन्सिया रोगबाट ग्रसित भएर अतित विर्सेका बिरामीहरु हुन् ।

नेपालमा डिमेन्सिया बिरामीको आधिकारीक तथ्यांक छैन । चिकित्सकहरुका अनुसार नेपालमा १ लाख ३५ हजार भन्दा बढी व्यक्तिमा यो रोग छ । तर चलचित्रमा जस्तो कुनै पनि अतितका पल दोहोर्औयाउँदा उनीहरुको स्मरण शक्ति फिर्ता हुन सक्दैन । समयमै यो रोगको पहिचान गरी उपचार गर्न सकेमा अतित विर्सनेहरुको जीवनलाई सहज र सरल बनाउन भने सकिन्छ ।

‘विर्सनेहरुलाई नविर्सौं’ भन्दै उनीहरुको जीवन सहज बनाउन ९ वर्षदेखि एक चिकित्सक लागेका छन् । उनी हुन्, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जेरियाट्रिक साइक्याट्रिक (जेष्ठ नागरिकका चिकित्सक) डाक्टर निदेश सापकोटा । डा सापकोटाले विगत विर्सिएका धेरै बिरामीको जीवन सहज बनाउन सहयोग पु¥याएका छन् ।

बाल्यकालमा बिरामी परेपछि डाक्टरकै प्रेरणाबाट डाक्टरी 

२०३३ सालमा तेह्रथुममा जन्मिएका सापकोटाले कक्षा तीनसम्म घर नजिकैका विद्यालयहरुमा पढे । उनले २०४८ सालमा विराटनगरको सेन्जोसेफ नामक निजी विद्यालयमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

बाल्यकालमा सापकोटाले इन्जिनियर बन्ने सपना बुनेका थिए । तर कक्षा ९ मा पढ्दैगर्दा उनको जीवनमा घटेको एउटा घटनाले उनको सपना परिवर्तन गरायो ।

कक्षा ९ मा पढ्दैगर्दा सापकोटालाई जण्डिस भयो । उनी एकसाता सम्म वेहोस् नै भए । सापकोटालाई उनका परिवारले दुई महिनासम्म काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराए ।

त्यतिवेला सापकोटाको उपचार गर्ने चिकित्सक प्राडा शेखर बाबु रिजालले भने, ‘बाबु तिमी के बन्छौं ?’ सापकोटाले निर्धक्क भएर भने, ‘म इन्जिनियर बन्छु ।’

डा रिजालले उनलाई फेरि भने, ‘तिमी जण्डिसको जटिल अवस्थामा पुगेपनि बाँचेका छौं, तिमी मरेर बाँचेका छौं, तिमी त डाक्टर बन्नुपर्छ ।’
डा रिजालको कुराले सापकोटालाई प्रभावित बनायो । उनले आफ्नो भविष्यको योजना परिवर्तन गर्न कत्ति पनि समय लगाएनन् ।

उनले डा रिजाललाई भने, ‘म जसरी भएपनि डाक्टर बनेर तपाई सामु आउँछु, म डाक्टर नबनेसम्म हजुरलाई भेट्दिन ।’

उनी एसएलसी पछि नै भारत गएर सन् २००३ मा एमवीवीएस डाक्टर भनेर नेपाल फर्किए ।

एमवीवीएस डाक्टर भएर नेपाल फर्किएपछि मात्रै उनले आफुलाई डाक्टर बन्न प्रेरणा दिने प्राडा शेखर बाबु रिजाललाई भेटे ।

‘म कक्षा ९ मा पढ्दा जण्डिसको जटिल बिरामी थिए, म संयोगले बाँचेको थिए, मेरो उपचार गर्ने प्राडा शेखर बाबु रिजालको प्रेरणाबाट मैले डाक्टरी पढें, सापकोटाले भने, ‘म एमवीवीएसको डाक्टर बनेर आएपछि उहाँको ठेगाना पत्ता लगाएर भेट्न गए । मैले पेपरमा मेरो नाम लेखेर दिदैँमा उहाँले कन्फिडेन्टका साथ यो बाबु डाक्टर बनेर आएछ भन्नुभयो ।’

भारतमा नेपाली बिरामीको विजोक देखेर मनोचिकित्सा 

डा सापकोटाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै मानसिक रोग(साइक्याट्रिक) एमडी गरेका हुन् । भारतमा एवीवीएस पढ्दै गर्दा भारतका अस्पतालहरुमा रहेका नेपालका मानसिक रोगका बिरामीको विजोग देखेर उनले नेपालमै मानसिक रोगीको उपचार गर्ने उदेश्यले साइक्याट्रिक पढेको बताउँछन् ।

भारतको राँचीको मानसिक अस्पतालमा डा सापकोटाले एवीवीएस गर्दा एक महिना काम गर्ने अवसर पाएका थिए । सोहि क्रममा उनले सो अस्पतालमा भारतीय भन्दा नेपाली मानसिक रोगका बिरामीहरु बढी भेटे ।

त्यहाँको अस्पतालले मानसिक सन्तुलन गुमाएका बिरामीलाई भर्ना लिएर उपचार गराउने र निको भएपछि मात्रै घर फर्काउने गथ्र्यो । तर दुखको कुरा, मानसिक समस्याबाट मुक्ति पाएपछि पनि नेपाली बिरामीहरु घर फर्किन पाउँदैन थिए ।

आफन्तले घरको ठेगाना नै गलत टिपाएर अस्पतालमा छाडेका बिरामीहरु निको भएपछि पनि घर फर्किन नपाउँदा त्यही कामदार भएर बस्नुपर्ने बाध्यता डा सापकोटाले देखे ।

नेपालका मानसिक रोगका बिरामीको भारतका अस्पतालमा त्यस्तो अवस्था देखेपछि उनले साइक्याट्रिक डाक्टर बन्ने निर्णय गरेका थिए ।

‘मैले साइक्याट्रिक पढ्नुको पनि ठूलो रहस्य छ, मैले भारतमा एमवीवीएस पढ्दा भारतको राचीँमा काम गरेको थिए, त्यहा भारतका भन्दा पनि नेपालका बिरामी धेरै थिए,’ डा सापकोटाले भने, ‘५, १० वर्षदेखि अस्पतालमा बसेका नेपाली बिरामी ६० प्रतिशत थिए, ती बिरामीहरु निको भइसकेपछि अस्पताल छाड्ने आफन्तले सहि ठेगाना नदिँदा मानसिक रोगका बिरामीहरु निको भएपछि त्यहि काम गरेर बस्न बाध्य थिए ।’

डा सापकोटाले साइक्याट्रिकमा एमडी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी समयपछि जेरियाष्ट्रिक साइक्याट्रिको डिमेन्सिया ( ज्येष्ठ नागरिकमा विर्सने रोग) विशेषज्ञताका लागि २०१४ मा अमेरिकामा फेसोसीप समेत गरेका छन् ।

उनी सन् २००८ देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवामा खटिएका छन् ।

नेपालमा एक लाखभन्दा धेरै डिमेन्सियाका बिरामी

नेपालमा सिमेन्सिया (विर्सने रोग) का बिरामीको आधिकारिक तथ्यांक सरकारसँग छैन । तर अस्पतालहरुमा आउने बिरामीको तथ्यांकलाई हेर्दा नेपालमा १ लाख ३५ हजार भन्दा बढी बिरामीमा डिमेन्सिया अर्थात विर्सने रोग रहेको डा सापकोटा बताउँछन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्येष्ठ नागरिकको हरेक मंगलबार जेरियाट्रिक मेन्टल हेल्थ र डिमेन्सियाको विशेष परीक्षणको व्यवस्था छ ।

‘शुरुमा त डिमेन्सिया भयो कि भनेर परीक्षणका लागि आउने बिरामी नै हुँदैन थिए, मानसिक रोगको जटिल अवस्थामा पुगेपछि मात्रै उपचारमा आउने गरेका छन्,‘ डा सापकोटाले भने, ‘अहिले चाँहि डिमेन्सियाको लक्षण हो कि भनेर परीक्षणका लागि आउने बिरामीहरु पनि छन् ।’

नेपालमा अस्पतालमा आउने बिरामीहरु अधिकांश ज्येष्ठ नागरिकहरु रहेको र उनीहरु रोग लागेको ४ वर्षपछि मात्रै आउने गरेको डा सापकोटाको भनाइ छ ।

‘डिमेन्सियाका विषयमा अझै सचेतना पुगेको छैन, बिरामीहरु रोगले जटिलता ल्याएपछि मात्रै उपचारमा आउँछन्,’ डा सापकोटा भन्छन्, ‘अस्पतालमा आउने बिरामीहरु विर्सिए भनेर होइन विर्सिएको कारण निम्तिएको समस्याको उपचार गर्न आइपुग्छन्, डिमेन्सिया भएका बिरामीहरु रोग लागेको ३ चार वर्षपछि अस्पतालमा आइपुग्छन् ।’

कस्तो रोग हो डिमेन्सिया ( विर्सने रोग ) ?

डिमेन्सिया रोग दिमागमा हुने कोशिकामा खराब प्रोटिन जम्मा हुँदा असर परेर लाग्छ । यो रोग लागेपछि बिरामीको स्मरण शक्ति हराउँछ । बिरामीले आफ्नो विगत नै विर्सिरहेको छु, भन्ने नै पत्तो पाउँदैन ।

जसको कारण बिरामीको दैनिकी असहज हुन्छ । विर्सने रोगको जटिल अवस्थामा पुग्दा बिरामीले होस् नै गुमाउँछ र दिसापिसाव गरेको समेत थाहा पाउँदैन । विर्सने समस्याले निम्त्याउने जटिलताले बिरामीहरु थला पर्छन् र अकालमै मृत्यु हुन्छ । यो रोग विशेषगरी ४० वर्ष माथिका व्यक्तिमा देखिने गर्छ ।

किन गर्ने उपचार ?

डिमेन्सिया भएपछि बिरामीको स्मरण शक्ति फर्किदैन । उनको स्मरण शक्ती कमजोर हुँदै जान्छ । डिमेन्सियाको उपचारले गुमेको स्मरण शक्ती नफर्किएपनि बिरामीको दैनिकीलाई सहज बनाउन सहयोग गर्ने डा सापकोटा बताउँछन् ।

उनी भन्छन्, ‘डिमेन्सिया भएका बिरामीको उपचार भएमा उसको मृत्युलाई १० वर्ष पर सार्न सकिन्छ, बिरामीले सामान्य जीवन विताउन पाउँछन्, बिरामीको परिवारले पनि दुख पाउँदैनन् ।’

डिमेन्सियाका बिरामीले आफ्नो अतित र आफन्त विर्सने भएकाले उनीहरुलाई डिमेन्सिया नभएका व्यक्तिले हेरचाह र माया गर्नुपर्ने डा सापकोटा बताउँछन् ।

‘डिमेन्सियाका बिरामीले त रोगका कारण सबैकुरा विर्सदै जान्छन्, तर हामी डिमेन्सिया नभएका व्यक्तिहरुले उनीहरुलाई विर्सनु हुँदैन,’ डा सापकोटा भन्छन्, ‘हामीले विर्सने समस्या उमेरको कारण नभइ रोगको कारण हो भनेर उपचारको पहुँचमा ल्याउनुपर्छ, म भन्छु ‘नर्विसौं विर्सनेहरुलाई, तपाई हाम्रो खाँचो छ विर्सनेहरुलाई भन्न चाहन्छु ।’

भर्खर

0