काम सानो हुँदैन, सफलताका लागि सोच ठूलो चाहिन्छ « Khabarhub
Logo
९ माघ २०७७, शुक्रबार

काम सानो हुँदैन, सफलताका लागि सोच ठूलो चाहिन्छ



काठमाडौं- प्रिन्ट गरेर झुन्डाएका टिसर्ट र ज्याकेटका बीचमा काम गर्नेहरु खटखट पार्दै कपडा बुन्ने मेसिन चलाइरहेका थिए ।

काठमाडौंको माछापोखरी चोकबाट बायोपास जाने बाटोतर्फ लस्कारै केही सटरहरु देखिन्छन् । सडकबाटै प्रस्ट देखिने गरी दोस्रो तलामा ठूलो बोर्डमा लेखिएको छ-‘एन्जिता रेडिमेट गार्मेन्ट।’

यो गार्मेन्ट उद्योग धादिङका प्रेम कुमार तामाङको हो । उनी विगत १ वर्षदेखि टिसर्ट तथा ज्याकेट प्रिन्ट गरी उत्पादन गरिरहेका छन् भने आफ्ना उद्योगबाट उत्पादन भएका कपडा विभिन्न जिल्लाहरुमा पुर्‍याइसकेका छन् ।

विशेषगरी युवाहरु स्वदेशमै बस्नुपर्छ भन्ने भनाई प्रेमको छ । आफुजस्तै उद्यमी बन्न उनी अरुलाई समेत सुझाउँछन् । ‘थोरै लगानीमा स्वदेशमै व्यवसाय थालौं’ यही उनको मुलमन्त्र पनि हो ।

‘हामीले आज स्वदेशमै केही गर्न सक्यौं भने भोलि हाम्रा सन्ततीहरु स्वदेशमै बस्ने वातावरण मिल्छ’ प्रेम भन्छन्, ‘त्यसकारण देशलाई विकसित बनाउनकै लागि पनि हामीजस्ता युवक स्वदेशमै काम गर्नु जरुरी पनि छ।’

माछापोखरीमा गार्मेन्ट सञ्चालन गरिरहेका प्रेम वि.स. २०४९ सालमा धादिङको गंगाजमुना गाँउपालिका ३ मा जन्मिए । सानै देखि पढ्नमा रुचि राख्ने प्रेमको स्कुले जीवन कष्ठटर नै थियो ।

दैनिक ३ घण्टासम्म हिडेर स्कुल जान्थे उनी । विकट ठाउँ भएकाले पर्याप्त मात्रामा स्कुलहरु थिएनन् उनको गाउँमा ।

उखान नै छ नि ‘खाने मुखलाई जुंगाले छेक्दैन।’ लामो दुरीमा विद्यालय भएपनि प्रेमलाई दूरीले छेकेन । हातमा कपी र किताब बोकेर दैनिक विद्यालय पुग्थे उनी । ‘बिहान बेलुका खेतबारीको काम सघाउँथें बाआमालाई’ बालकपनलाई सम्झिँदै उनले भने ‘सधै विद्यालय पनि जान्थें।’

विद्यालय जाने र पढ्ने क्रम निरन्तर चलिरहेको थियो तर अचानक ८ कक्षामा पुगेपछि उनका बाआमाले उनको बिहे गर्ने कुरा चलाए । ‘त्यो समयमा म १५ वर्ष मात्र पुगेको थिएँ’ लजाउँदै उनले भने ‘पढ्न पाउने भए बिहे गर्छु भन्ने सर्त राखेको थिए, बाआमाले त्यो हुन्छ भनेपछि मैले बिहे गरे।’

प्रेमका अनुसार उनको गाउँमा विवाहका लागि आफ्नो गाउँभन्दा फरक ठाउँका केटी बिहे गर्न नपाउने नियम छ । जसकारण उनले आफ्नै गाउँकी युवतीसँग वैवाहिक सम्बन्धमा बाधिए ।

विवाहले पनि उनको पढाइलाई बाध्न भने सकेन । उनले वि.स. ०६७ सालमा एसएलसी दिए ।

अध्ययनका क्रममा काठमाडौं

त्यससमय प्रेम छोराको बुबा बनिसकेका थिए । श्रीमती र डेढ वर्षको छोरालाई परिवारकै साथमा छोडेर उनी राजधानी प्रवेश गरे । काठमाडौं आएसँगै फुपुको साथमा नेपालटारमा बस्न थाले उनी ।

नेपालटारस्थित एक क्याम्पसमा भर्ना भए । सुरुवाती दिनमा त घरबाटै आर्थिक सहयोग हुन्थ्यो । पढ्नका लागि कुनै समस्या थिएन । विस्तारै दिनहरु बित्दै जादा उनलाई आफै काम गर्ने इच्छा जाग्यो ।

‘फेरि काठमाडौंको ठाउँमा फुर्सदिलो भएर बस्न रहर कसलाई पो हुन्छ र जता निस्के पनि पैसा मात्र खर्च हुन्छ’ कुराकानीको क्रममा उनले भने ‘पढ्दै जागिर खानुपर्‍यो भन्ने सोचले म पनि जागिर खोज्दै हिडे।’

कामको खोजीमा हिड्दा उनले चक्रपथस्थित चप्पल कारखाना पुगे । ‘मासिक ७ हजार तलव दिन्थ्यो’ उनले भने ‘१२ घण्टा काम गर्थे।’

लामो समयसम्म खट्नुपर्ने तर तलब थोरै हुँदा उनलाई त्यहाँ काम गर्न मन लागेन । ‘फुपुबाट अलगिएर डेरा लिइसकेको थिएँ काम नगरी डेरा भाडा तिर्न समस्या हुन्थ्यो’ उनले थपे ‘कामकै खोजीमा भौतारिदा न्युरोडस्थित एक होटलमा पुगे।’

त्यहाँ पनि प्रेमले १ वर्ष काम गरे । त्यस समयसम्म उनी स्नात्तक तह अध्ययन गरिरहेका थिए ।

परदेशको मोह

पढाइ निरन्तर चलिरहेकै थियो । घरखर्च पनि जेनतेन चलाएकै थिए प्रेमले । तर उनलाई परदेश जान मन लाग्यो कारण ‘उनी साथी परदेश जानका लागि म्यानपावरसम्म पुगेका थिएँ।’

उनको मानसपटलमा पनि म्यानपावरमा भएका कुराहरु खेल्न थाले । ‘मनैमनै सोच्थेँ एउटा छोरा र एउटी छोरी भइसकेको थियो’ उनी भन्छन्, ‘यहाँ हल्लिएर बस्नुभन्दा विदेश जानुपर्छ।’

कुरा हो ०६९ सालतिरको । परिवारलाई बिना जानकारी नै उनले विदेश जानका लागि राहदानी बनाए । ३० हजार खर्चेर उनी साउदीतिर लागे ।

‘स्वदेशमा बस्नेहरुले सोच्छन् परदेशमा त आरामको जागिर पाइन्छ’ खबरहबसँग कुरा गर्दै प्रेमले भने ‘त्यहाँ गएपछि जस्तोसुकै काम पनि गर्नुपर्छ, हामीले सोचेजस्तो छैन परदेश।’

कामको शिलशिलामा शाउदी पुगेका प्रेमका सुरुका दिनहरु कष्ठकर नै थिए । विस्तारै काममा बानी पर्न थाले उनी । ‘परदेशमा हुँदा तोकेको समयवधि भन्दा बढि काम गरिन्थ्यो’ भन्छन् ‘बाँकी समय अन्त गरेर पनि पैसा बचत गरिन्थ्यो।’

कामको खोजीमा परदेश पुगेका प्रेम फुर्सदका समयमा इन्टरनेट चलाउने गर्थे । उनलाई स्वदेश फर्किएर केही काम गर्नु पनि थियो । ‘आफैं केही व्यवसाय थाल्न पाए अरुलाई राम्रो सन्देश दिन सकिन्थो।’

परदेशमा काम गर्दाका दिनहरु उनको दिमागमा ताजै छन् । परदेशमा कमाएको पैसाले उनले धादिङ शहरमा एउटा किनारा पसल खोल्न सफल भए ।

व्यवसाय गर्ने सोचले स्वदेश फर्के

२५ महिना साउदी बसेपछि स्वदेशमै केही गर्ने सोच राखेर फर्किए उनी । ‘लगानी बढाएर किनारा पसललाई स्टोर बनाएको’ निराश हुँदै उनले सुनाए ‘त्यहीबेला नाकाबन्दी भयो लगानी नि डुब्यो।’

त्यससँगै उनी सन्तानलाई लिएर काठमाडौं आइपुगे । छोराछोरीलाई राम्रो शिक्षा दिने र आफु केही व्यवसाय गर्ने सोचले ।

गार्मेन्टमा यसरी आइपुगे ?

त्यसो त स्वदेशमै व्यवसाय गर्नेहरु पनि होटल रेस्टुरा लगायतका क्षेत्रतिर अग्रसर देखिन्छन् । तर प्रेमले भने त्यी सबै छोडेर गार्मेन्ट तिर किन प्रवेश गरे ? उनी भन्छन्, ‘गार्मेन्ट भनेको नेपालीहरुको पुरानो पेशा पनि हो, फेरि क्वालिटीमा खेल्न सकेमा लगानी थोरै र आम्दानी धेरै गन सकिन्छ।’

उनी प्रविधिसँग जोडिन पुगे । ‘नयाँ व्यवसाय शुरु गर्नेबेला आफन्तलाई सोध्दा सल्लाह दिनुको साटो डुब्छ नगर भन्ने गर्थे’ उनले भने ‘इन्टरनेट मार्फत व्यापार गर्ने तरिका सर्च गरेर हेर्न थालेँ।’

त्यससँगै उनले एन्जिता रेडिमेट गार्मेन्ट नामक कम्पनी दर्ता गरे । र मेटलबाट नेपालमा चलेका टिसर्ट प्रिन्ट गन थाले उनी । उनको सोच टिसर्ट मात्र होइन जुत्ता, ब्याग, र ज्याकेटहरु तयार पार्नु पनि रहेको थियो ।

२८ लाखमा व्यवसाय

सुरुवातमा ३ लाखबाट शुरु गरेको गार्मेन्टमा उनले हालसम्म आइपुग्दा २८ लाखभन्दा बढि लगानी गरिसेकेका छन् । तर, उनी निकै सन्तुष्ट छन् किनकी उनले व्यवसायबाट राम्रो आम्दानी लिइसकेका छन् ।

उनको पसल माछापोखरी चोकमा छ भने गोदाम सेसमतीमा । उनका कारखानामा ३ जना कामदार राखेका छन् साथै प्रेम आफैं पनि प्रिन्ट गर्ने र सिलाउने काम समेत गर्छन् ।

टिसर्ट तयार पार्नका लागि उनले कुलेश्वरबाट सामग्री ल्याउँछन् । त्यसको प्रयोग गरी आफ्नै कारखानामा कपडा तयार पार्छन् । उनीकहा अहिले ४५ हजारदेखि डेढलाखसम्मका ६ वटा मेसिन छन् ।

उनले ‘बहादुर’ नामको लोगो राखेर टिसर्टहरु तयार पारेका पनि छन् । उनका अनुसार बहादुर ब्रान्ड राम्रोसँग चलाउन सके विश्वबजारमा पुग्न सक्छ । ‘बहादुर भनेकै नेपाली हो’ हाँस्दै उनले भने ‘त्यसकारण यो ब्रान्ड ल्याएको हुँ।’

गुणस्तरीय कपडा तयार पार्नु र त्यसलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउने उनको लक्ष्य रहेको छ । त्यसो त उनले व्यवसाय सञ्चालन गरेको १ वर्षभित्रमै पनि टिसर्ट र ज्याकेट चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, कतार, मलेसिया, भारत लगायतका देशहरुमा पुगिसेकेका छन् । साथै स्वदेशमा पनि विभिन्न जिल्लाहरुमा पुगिसेकेको उनी बताउँछन् ।

युवालाई सन्देश

‘आजको दिनमा हामीजस्ता युवाहरुले परदेशको बाटो रोज्यौं भने पछि आउने सन्ततीले हामीबाट के सिक्छन्’उनले भने ‘जे काम गरे पनि आफैं गर्नुपर्छ।’

‘परदेश जानकालागि भाषा सिक्ने, भिसा पर्खने यो सबै समयको बर्बाद् हो’अन्तमा प्रेमले भन्छन् ‘त्यसकारण केही समय लगाउनुस् अनुगमन गर्नुस् तर नेपालमै गर्नुस्।’


भर्खर

0