लोकपर्व जितियाको व्रत आजदेखि शुरू | Khabarhub Khabarhub

लोकपर्व जितियाको व्रत आजदेखि शुरू


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ ।

यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ । जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो ।

यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ। सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास छ ।

विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ। यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ ।

भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए ।

आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछिन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नुपर्ने हुन्छ ।

कथा समाप्त भएपछि पाइतालामुनिको खरलाई छ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई जिमुतवाहन, चिल, स्याल र दिवङ्गता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अङ्कुरी (भिजाइएको केराउ) सहित पकाएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करीब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रीका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरी, पितराइन र ओठङ्नको विधि गर्ने चलन छ ।

जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ ।

यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ५२ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच