अमेरिकाले साउदीमा सेना पठाउने « Khabarhub
Logo
१४ माघ २०७७, बुधबार

अमेरिकाले साउदीमा सेना पठाउने



पत्रकार सम्मेलन मार्फत अमेरिकी सेना साउदी अरेबियामा तैनाथ गर्न लागिएको जानकारी गराउँदै रक्षामन्त्री डा. मार्क टी स्पेर (दाँया) र अमेरिकी सेनापति जोइ डनफोर्ड। तस्विर स्रोतः पेन्टागन

काठमाडौं- साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री डा। मार्क टी स्पेर र अमेरिकी सेनापति जोइ डनफोर्डले राष्ट्रपति ट्रम्पको आदेशपछि इरानको घातक गतिबिधि रोक्न साउदी अरेबियामा सेना तैनाथ गर्न लागिएको जानकारी गराएका हुन।

अमेरिकी सेनालाई कहिले देखि र कतिको संख्यामा पठाउने भन्ने बारे खुलाइएको छैन ।

इरानको समर्थन पाएको यमनको हुथी बिद्रोहीले साउदीको तेल प्रशोधन केन्द्रमा गरेको हमलाको जिम्मा लिएपछि अमेरिकाले साउदीको सुरक्षाका लागि योजना बनाएको हो ।

साउदी अरेबिया र अमेरिकाले तेल प्रशोधन केन्द्रको आक्रमण हुथी बिद्रोहीको नभइ इरानको भएको दाबी गरेपनि इरानले दुई देशको दावी अस्वीकार गर्दै आएको छ ।

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ। अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।


भर्खर

0