मानिस किन सर्वश्रेष्ठ प्राणी ? « Khabarhub
Logo
१८ मंसिर २०७८, शनिबार

मानिस किन सर्वश्रेष्ठ प्राणी ?



प्राणी जगतमा मानिसलाई सर्वश्रेष्ठ मानिन्छ । त्यसो त सर्वश्रेष्ठताको दावा र निर्णय गर्ने नै मानिस आफैं हो । साथै अन्य प्राणीहरुबाट प्रश्न र त्यस्तै दावी नभएसम्म अहिलेलाई मानिस सर्वश्रेष्ठ प्राणी नै मानौँ । त्यहीं मानिस जो अर्कालाई भारी वोकाउँछ, आफू खालि हिड्छ । अरुको कमाइको शोषण गरेर आफू आरामदायी जीवन वाँच्छ । मानिस कहिलेकाहिँ मानिसलाई नै यस्तरी ढाँट्छ कि मानौँ ढाट्नु, छल्नु नै मानिसको मूल चरित्र हो । तर उल्लेखित नकारात्मक चारित्रिक विशेषताहरुका कारणले मानिस किन्चित पनि सर्वश्रेष्ठ प्राणी भएको होइन ।

विभिन्न धार्मिक मतहरुमा उल्लेख भए झैँ भगवानको इच्छाले नारी र पुरष जोडी मनुवा सिर्जना गरेर यस दैहिक संसार र समाजको निर्माण भएको कुरालाई पनि बैज्ञानिकहरु प्रामाणिक मान्दैनन् । तर संसार र मानव समाज कसरी बनेको हो, कसले बनाएको हो भन्ने सम्बन्धमा मानवशास्त्रीहरु आफूले अध्ययन गरेको समाज र समुदायले जस्तो विस्वास गर्दछन्, उनीहरुको त्यस्तोण् विस्वास र जीवन दर्शनको कदर र सह्राना गर्दछन् र त्यस्तो मान्यतालाई एउटा विशिष्ट, भिन्न र आफैंमा आधिकारिक संस्कृति र समाजको रुपमा व्याख्या र अभिलेखिकरण गर्दछन् ।

हालसम्म प्राप्त प्रमाणहरुले के देखाउँछन् भने लगभग २५ लाख वर्षदेखि ३५ लाख वर्ष अगाडि कम्तिमा पनि १० लाखवर्ष जति वर्तमान अफ्रिका महादेशका विभिन्न जंगलहरुमा संघर्ष र मेहेनत गरेपछि मात्र दुई खुट्टामा ठाडै ठमठम हिड्न सक्ने गरी मानिसमा शारीरिक क्षमताको विकास भयो

वास्तवमा दुई कारणहरुले मानिस अन्य प्राणीभन्दा श्रेष्ठ मानिन्छ । प्रथमतः मानिस सँस्कृति निर्माणको क्षमताले सम्पन्न हुनुले अन्य प्राणीहरुभन्दा श्रेष्ठ मानिएको हो । दोस्रो, दुई हातलाई अन्य प्रयोजनको लागि स्वतन्त्र छोडेर दुई खुट्टामा ठाडै उभिन, ठमठम हिड्न, वेगले दौडन सक्ने क्षमताले पनि मानिसलाई अन्य प्राणीहरुभन्दा शारीरिक अंगहरुको उपयोगको क्षमतामा श्रेष्ठ मानिएको हो ।

शारीरिक क्षमताको विकास

मानिसमा यो तहको शारीरिक र साँस्कृतिक क्षमताको विकास रातारात वा दुई चारसय वा दुइचार हजार वर्षकै अन्तरालमा भएको होइन । मानिस आज जुन शारीरिक र मानसिक क्षमताले सम्पन्न छ, त्यो क्षमताको विकास गर्न मानिसका पूर्खाले कम्तिमा पनि गएको तीस–पैँतीस लाख वर्षदेखि अनवरत मेहनत र संघर्ष गरेका छन् ।

हालसम्म प्राप्त प्रमाणहरुले के देखाउँछन् भने लगभग २५ लाख वर्षदेखि ३५ लाख वर्ष अगाडि कम्तिमा पनि १० लाखवर्ष जति वर्तमान अफ्रिका महादेशका विभिन्न जंगलहरुमा संघर्ष र मेहेनत गरेपछि मात्र दुई खुट्टामा ठाडै ठमठम हिड्न सक्ने गरी मानिसमा शारीरिक क्षमताको विकास भयो । दुई खुट्टामा हिड्न सक्ने भएपछि हात स्वतन्त्र छोडेर, घाँसे मैदानमा उभिएर दूर क्षितिजसम्म दृष्टिपात गर्न सक्ने भयो र शत्रु, वा शिकारको नजर गर्न सक्ने भयो । यसरि दुई खुट्टा हिड्न सक्ने क्षमताले मानिसमा अन्य यावत थप क्षमताहरुको विकास भयो । स्वतन्त्र हातहरुका काँध, कुम यसरी विकसित हुदै गयो कि मानिस घुयत्रो हान्न सक्ने भए । निरन्तर उपयोगले हातका औँलाहरुले वलियोसंग ढुँगा पक्रेर जनावर वा शत्रुमाथि टाढैवाट मिसाइल छोडेजसरी मार हान्न सक्ने क्षमता क्रमशः विकास हुँदै गयो ।

उल्लेखित शारीरिक क्षमतामा क्रमशः भएको विकाससंगै मानिसको दिमागी क्षमता पनि क्रमशः झन झन विकसित हुँदै आएको प्रमाणहरु पाइन्छ । भौगर्भिक काल मापन शारिणी (जिओलोजिकल टाइम स्केल) ले पृथ्वीमा प्राणीहरुको उत्पति र विकासलाई विभिन्न काल र युग खण्डहरुमा विभाजन गरेको छ । त्यस्ता काल र युगहरु मध्ये क्वार्टनरी पिरियडको प्लिस्टोसीन एपोक – जो वितेको २० लाख वर्षको समय काललाई मानिन्छ – मा नै मानिसमा आजको शारीरिक र मानसिक क्षमताको पूर्ण बिकास भएको मानिन्छ । बिगत २० लाख वर्षको प्लिस्टोसीन पिरियडभरिमा आजको युरोप, उत्तर अमेरिका, र एशिया प्रत्येकले चार चारवटा ठूला ठूला (करिव ४० हजार देखि ६० हजार वर्ष अवधिका) हिमयुगका कालखण्डहरु भोगे ।

हजारौँ हजार वर्षसम्मको हिमयुगका बेला समुद्रसमेत भुभाग जस्तै बने, हिउँले ढाकेर । हालको एशिया र हालको उत्तर अमेरिकाको अलास्काहरु, एशिया र हालको अष्ट्रेलिया, हालका अफ्रिका, हालका युरोपसमेत एउटै ल्याण्ड मास जस्तो बन्यो । दुईखुट्टे प्राणी मान्छेले जीवनको लागि गर्नुसम्म संघर्ष ग्यो र खप्नुसम्म कहर यी सबै हिमयुगहरुमा खप्यो । सहजै अनुमान गर्न सकिन्छ, हिमयुगको ठिहीले साना साना बोटबिरुवा, जनावर सबै समाप्त पारेपछि अजंगको जनावरहरु मात्र बाँकी रहँदा मानिसले वाध्यतावश बाँच्नकै लागि सामूहिक शिकार गर्न सिक्यो । लात मारेर, मुड्कीले हानेर मार्न सकिने भन्दा ठूला जनावर भएपछि ढुंगाको हतियार प्रयोग गर्न सिक्यो ।

ठूला जनावर मारेपछि जनावर जस्तो मुखैले चिथोर्ने कुराबाट मुक्त हुने उपाय मान्छेले रच्यो र ढुंगैको हतियार बनाएर जनावरको छाला काढ्ने, जनावरको खुट्टाको हाड ढुंगैले फुटाएर हाडभित्रको मासी निकालेर प्रोटिन–रिच मासु खान समेत मान्छेले क्रमशः सिक्यो । हिमयुगले मानिसलाई यस्तो संघर्षमा होम्यो कि, कि चैँ मानिस समाप्त हुनुपर्थ्यो, कि बदलिँदो जलवायू र धर्तीमा मानव जीवनलाई निरन्तरता दिन संघर्षरत रहन अनिवार्य थियो ।

आजका सुकिलामुकिला मान्छेका आदिम पूर्खाले संघर्ष रोजे, वातावरण परिवर्तनसंगै आफूलाई अनुकुल हुनेगरी संघर्ष गर्दै गए र सुदूर भविश्यका सुकिलामुकिला मान्छेहरुका पूर्खाले आफैलाई लोप हुन दिएनन् । हिमयुग भरी न्यानो धर्तीको खोजीमा मान्छे निरन्तर डुलिरह्यो । त्यस्तैगरी जब हिमयुग सकिएर न्यानो न्यानो गर्मीगर्मी हुँदै आयो, मान्छे अनुकुल वातावरणको खोजीमा अझै निरन्तर दौडिरह्यो । यसरी आजका मान्छेलाई हिमयुगले निर्माण गरेको हो पनि भनिन्छ । चारवटा कठोर हिमयुगहरुमा बाँच्ने संघर्ष गर्ने क्रममा मानिसका पुस्ता–पुस्तान्तरमा शारीरिक र मानसिक क्षमतामा क्रमशः आमूल रुपान्तरण र विकास हुँदै आएको हो ।

मानिस साँस्कृतिक प्राणी

मानिस सफलतापूर्वक जीवन निर्वाह गर्न सक्ने प्राणी भएकाले मात्र सांस्कृतिक प्राणी भएको होइन । जीवन निर्वाह त जनावर, किटपतंग सवैले गर्दछन् । सन्तान उत्पादन, अनिकाल सम्झेर समयमै खानेकुराको जोहो गर्ने काम पनि जनावरहरुले समेत गर्दछन्, कमिलाकै कर्म हेरे पुग्छ । मानवशास्त्रीहरुले सँस्कृतिका सैयौँ परिभाषा दिएका छन् तर मानिस आफै आफ्नो सँस्कृतिको निर्माणकर्ता हो भन्ने वारे चाहीँ थोरैले मात्र व्याख्या गर्दछन् ।

मूलतः मानिसमा अन्तरनिहित दुई कुराको योगफलवाट सँस्कृति अर्थात मानवहरुको जीवन दर्शन र जीवन पध्दति निर्माण हुन्छः १) मानिसको मानसिकतामा अन्तरनिहित असीमित कल्पनाशीलता, वा कल्पनामा महलको नक्सा वनाउने क्षमता, र २) आफूले मनमा कल्पेको, रचेको महललाई आफ्नै श्रम खर्चेर वास्तविकतामै वस्तुगत महल ठड्याउने क्षमता । प्रस्तुत दुई क्षमताका कारणले मानिसलाई साँस्कृतिक प्राणी भनिएको हो ।

कुनै मानव आर्किटेक्टले माउरीकै चाका जस्तो देखिने अर्को चाका निर्माण गर्न अघि उसले आफ्नो कल्पनामा चाकाको रचना गर्छ, उसले आफूले सिकेको विद्या प्रयोग गर्छ, सिकाई र अनुभव दुबै प्रयोग गर्छ र मस्तिष्कमा यौटा काल्पनिक चाकाको निर्माण गर्छ

माथिका दुई क्षमतामध्ये पनि मानिसमा अन्तरनिहित कल्पनाशीलता वा काल्पनिकीको क्षमताका कारणले मानिस साँस्कृतिक प्राणी भएको हो । यही विशिष्ट गुणका कारणले मानिस अन्य प्राणीहरुभन्दा भिन्न र श्रेष्ठ बनेको हो । उदाहरणतः मान्छेले बास्तविक घर बनाउन अघि आफ्नो कल्पनामा घरको रचना, नक्सा बनाउँछ र त्यसपछि त्यसलाई वास्तविकतामा श्रम खर्चेर आफ्नो वास–घर बनाउँछ । कहीँको यात्रा गर्नुछ, यात्रा शुरु हुनुअघि नै उसका मन–मश्तिष्कमा त्यसको योजना, कति हिड्नुपर्छ, कति सातु–सामल बोक्ने, कहाँ वास पर्छ, यात्राको सम्पूर्ण खाका बनाउँदछ, आफ्नो काल्पनिकीमा । हो यही कल्पनामा संसारको रचना गर्ने क्षमता चाँही अन्य जनावरहरुमा हुँदैन वा नगण्य मात्रामा मात्र हुन सक्छ कि भन्ने कारणले मानिसलाई श्रेष्ठ प्राणी भनिएको हो ।

त्यसो त माउरीका सामूहिक श्रमले निर्माण गरेको चाका हेर्नुस् त, कति सुन्दर र चटक्क मिलेको छ । दुनियाँको सर्वश्रेष्ठ आर्किटेक्टले पनि माउरीको चाका जस्तै सुन्दर चाका निर्माण गर्न सक्छ जस्तो लाग्दैन । तर फरक के हो भने कुनै मानव आर्किटेक्टले माउरीकै चाका जस्तो देखिने अर्को चाका निर्माण गर्न अघि उसले आफ्नो कल्पनामा चाकाको रचना गर्छ, उसले आफूले सिकेको विद्या प्रयोग गर्छ, सिकाई र अनुभव दुबै प्रयोग गर्छ र मस्तिष्कमा यौटा काल्पनिक चाकाको निर्माण गर्छ । त्यसपछि त्यस्लाई कागजमा उतार्छ, अनि मात्र वस्तुपरक चाका बनाउँछ । मानिसले राडी पाखी वा डोको डालो बुनोस कि महल दरवार बनावोस, पहिले निर्माण गर्ने कल्पनामै हो । हो त्यही क्षमताचाहीँ मानिस–इतर प्राणीहरुमा हुन्न वा नगण्य मात्र हुन्छ भनिन्छ, मानवशास्त्रमा । माउरीले जो सुन्दर चाका बुन्दछन्, सिकेर, आफ्नो मनमस्तिष्कमा पहिल्यै चाकाको खाका कल्पना गरेर बुन्ने होइनन् ।

निस्कर्ष

माउरीले चाका बुन्न जे जति कृयाकलाप गर्दछन् ती सवै माउरीको जीनबाट प्रेरित हुन्छन् । माउरीको सारा कृयाकलाप जेनेटिकल्ली निर्धारित हुन्छन् । कुखुराको चल्ला हेर्नुस त, आमाको ओथारोवाट निस्कने वित्तिकै कुद्न थाल्छ, मल्खु, कनिका जे भेटे नि आफ्ना कलिला ठुँडाले टुक्कटुक्क टिपेर खान थाल्छ । कुन कनिका हो, कुन बालुवा हो, चिनेरै जन्मेको हुन्छ ।

मान्छेका वच्चाले यसरी सक्दैन, न त वालुवा र कनिका नै छुट्याउन सक्छन् । अर्थात मान्छेले सिक्न पर्छ लामो प्रकृयामा, र उसले आफ्नो मस्तिष्कमा सिक्दै गएको कुरालाई क्रमशः सेटिङ गर्दै जान्छ । यसका लागि उसले ठूलो मेहेनत र संघर्ष गर्नुपर्छ । उसका हात–पाऊ नै चल्दैनन् शुरुमा, सबै सिकाईका परिणाम हुन् ।

विचार गर्नुहोस् त, मुख आँ गरेर भुटेका मकै भटमास वा वदाम छोडाएर हातले टाढैवाट तारो हाने झैँ प्वाक्क प्वाक्क मुखभित्र छिराउँदै चपाउन कति आनन्द हुन्छ, तर त्यसो गर्न मान्छेले एकदिन, एक महिनामा वा एक वर्षमा सिकेको होइन । बरू वर्षौँ वर्ष लाएर, सिक्दैछु भन्ने हेक्कै नभई सिकेको कला हो त्यो । यस्तो सिकाईको प्रकृयालाई मानवशास्त्रमा सामाजिकीकरण (सोसिअलाईजेशन) भनिन्छ । एकै वाक्यमा भनौँः अन्य प्राणीहरुको कृयाकलाप र व्यवहार मूलतः जेनेटिकल्ली निर्धारित हुन्छ भने मानिसले गर्ने कृयाकलाप, व्यबहार र निर्माण उसको कल्पनाशीलता, मेहेनत र संघर्षपूर्ण सिकाइ र सामाजिकीकरणको परिणाम हो । उल्लेखित यावत कारणहरुले मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको हो ।

(डा. चेम्जोङ त्रि वि मानवशास्त्र केन्द्रीय विभागका प्रमुख हुन् )


भर्खर

0