आफ्नै खुट्टा र पखेटा काटेर मजा लिँदै कांग्रेस नेतृत्व ! | Khabarhub Khabarhub

आफ्नै खुट्टा र पखेटा काटेर मजा लिँदै कांग्रेस नेतृत्व !


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३औं महाधिवेशनबाट निर्वाचित भएपछि नेविसंघ, तरुण दल, महिला संघको महाधिवेशन गराएर भ्रातृ संगठन लोकतान्त्रिक विधिबाट चलाउने पहिचान बनाएका देउवाको तीन वर्षमा पहिचान फेरिएको छ। गतवर्षको जेठ अन्तिम साता भएको नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनको परिणामपछि देउवा झस्किएका छन् र भ्रातृ संगठनको महाधिवेशन गराउने मुडमा देखिएका छैनन्।

पार्टीलाई लेवी बुझाउने तथा सरकारी कार्यालयदेखि निजी प्रतिष्ठानसम्म अनि संस्थानदेखि वित्तीय क्षेत्रसम्म पार्टीको उपस्थिति पुर्‍याउने संगठनमा सभापति देउवा नराम्ररी पछारिए। आफ्नै प्यानलको नेतृत्वदेखि बर्चश्वसम्म रहेको ट्रेड युनियनमा केही केन्द्रीय सदस्य बाहेक कोही पनि निर्वाचित नभएपछि देउवा कुनैपनि भ्रातृ संगठनको महाधिवेशन गराउने मुडमा देखिएका छैनन्।

तीन वर्ष कार्यकाल भएको नेपाल दलित संघमा देउवा निकटकै मीन विश्वकर्मा अध्यक्ष छन्। देउवा आएसँगै कार्यकाल सकिएको दलित संघले तीन पटक महाधिवेशनको मिति तोकेपनि देउवाकै निर्देशनमा सर्दै अनिश्चित भएको छ। तीन वर्षको कार्यकाल लिएर बनेको कार्यसमितिले सात वर्ष पार गरेर कीर्तिमानी कायम गरेको छ। देउवा निकटका अध्यक्ष विश्वकर्मा अध्यक्ष निर्वाचित हुँदा पनि पार्टीको केन्द्रीय सदस्य थिए। त्यसपछिको १३औं महाधिवेशनमा फेरि केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। तर, महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन सकेको छैन।

‘पटक-पटक मिति तोक्दै सार्दै अनि महाधिवेशन टार्दै गर्ने क्रम चलिरहेको छ, लोकतान्त्रिक पार्टीमा नैतिकताको पनि ख्याल गर्नुपर्ने हो तर भएन,’ ०६९ सालमा भएको दलित संघ महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने, ‘अव त दलित संघको महाधिवेशन हुन्छ भनेर नेता कार्यकर्तालाई विश्वाससमेत लाग्छ छोडिसकेको छ।’

गतवर्ष भदौमै कार्यकाल सकिएको नेपाल विद्यार्थी संघले अहिलेसम्म नयाँ नेतृत्व पाएको छैन। कार्यकाल सकिएको कार्यसमितिलाई शुरुमा विधानको बैकल्पिक व्यवस्थाबाट तीन महिना अनि पछि विधान नै संशोधन गरेर दुई महिना म्याद थप गर्दै कार्यकाल सभापतिले नै सच्याइदिए। विधानको बैकल्पिक व्यवस्थाले नपुगेर विधान नै संशोधन गरेर म्याद थपेका देउवाले महाधिवेशनबाट आफू निकटको नेतृत्व नआउने पक्का भएपछि अध्यक्ष नैनसिंह महरलाई राजीनामा गराएर कार्यसमिति नै विघटन गराए। करिव साँढे चार महिना हुँदासम्म उनले आफ्नै तजबिजि अधिकारमा तोक्ने नेतृत्वसमेत ल्याउन सकेका छैनन्।

०७३ सालमै महाधिवेशनका नाममा पोखरामा भागवण्डामा ल्याएको चार सदस्यीय कार्यसमिति साँढे दुई वर्षसम्म वितिसक्दासमेत विस्तारित भएको छैन। आफू निकटका नेविसंघ नेता जीतजंग बस्नेतलाई सिधै तरुण दल अध्यक्ष बनाएका सभापति देउवाले भागवण्डामा पौडेललाई महासचिव, सिटौलालाई कोषाध्यक्ष र खुमबहादुरलाई उपाध्यक्ष दिएर सर्वसम्मतिमा चार सदस्यीय कार्यसमिति बनाएर फर्किएका थिए। त्यसयता तरुण दलको कार्यसमिति विस्तारित हुन सकेको छैन।

‘हाम्रो कार्यकाल आगामी मंसिर एक गते तीन वर्ष पुरा भएर सकिदैछ,’ तरुण दल महासचिव भूपेन्द्रजंग शाहीले भने, ‘महाधिवेशनको तयारी गर्नुपर्ने तर, तरुण दल कार्यसमिति नै नभएर समस्यामा छ।’ उनले विधान अनुसार छ महिना म्याद थप गर्ने व्यवस्था भएपनि कार्यकाल सकिदाँसम्म कार्यसमिति नबन्नु लज्जास्पद भएको बताए। ‘कि कार्यसमिति बनाइदिनुपर्‍यो कि हामीलाई अधिकार दिनुपर्‍यो,’ शाहीले आक्रोस पोख्दै भने।

०७३ सालकै भदौमै नेपाल महिला संघको पनि काठमाडौं महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको थियो। देउवाले सिटौलासँगको सहकार्यमा पौडेल समुहलाई एक सीटमा सीमित गर्दै महिला संघको नेतृत्व आफ्नै कब्जामा पारेका थिए। तर, सुरुवाति केही दिनबाहेक महिला संघ क्रियाशील बन्न सकेको छैन।

संगठन क्रियाशील नहुनुमा पदाधिकारी जत्तिकै पार्टी नेतृत्व जिम्मेवार रहेको महिला संघका केन्द्रीय सदस्यहरुको बुझाई छ। ‘पार्टीमा पद दिने तर जिम्मेवारी नदिने काम भएको छ, नयाँ नेतृत्व आइसकेपछि त्यसलाई कसरी परिचालन गर्ने भनेर पार्टी नेतृत्वले सोचेकै पाइएन,’ महिला संघ केन्द्रीय सदस्य लता घिमिरे भन्छिन्, ‘तर, नेतृत्वसँग त्यस्तो योजना नै देखिएन। त्यसैले महिला संघले पूर्ण कार्यसमितिसहितको भएर पनि प्रभाव देखाउन सकेको छैन।’ उनले आफ्नै प्रयासमा केही क्रियाशीलता भने महिला संघले देखाइरहेको बताइन्।

महिलासंघकी अध्यक्ष उमा रेग्मी भने महिला संघले पर्याप्त क्रियाशीलता देखाइरहेको भन्दै त्यसको मिडिया कभरेज मात्र नभएको बताउँछिन्। ‘हामीले सबै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सकेका छौ, सामाजिक विषयका प्रत्येक घटनामा आन्दोलन गरेका छौ, पार्टी भित्र ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन सफल भएका छौ,’ अध्यक्ष रेग्मीले भनिन्,’अहिले पनि कर्णालीको प्रशिक्षण सकेर फर्कियौ तर, मिडियाबाट कभरेज नभएकाले केही नगरेजस्तो भएको हो।’

विगतमा सिटौलासँगको सहकार्यमा भ्रातृ संगठनमा आफ्नो नेतृत्व हत्याउन सफल भएका देउवा सिटौलाको समर्थन आफूलाई नभएपछि महाधिवेशन नगरेरै संगठन कब्जा गर्ने रणनीतिमा देखिएका छन् ।

विश्लेषकहरु कांग्रेसका भातृ संगठनहरु पार्टीका भ्रातृ संगठनका रुपमा नै नरहेर नेताका भ्रातृ संगठनमा रुपान्तरित भएको बताउँछन् । विश्लेषक पुरञ्जन आचार्य कांग्रेसका भ्रातृ संगठन पार्टीका नरहेको र नेताका पनि हुन नसक्रे अवस्थामा पुगेको बताउँछन्।

‘नेविसंघ तरुण दल महिलासंघ पार्टी भ्रातृ संगठन रहेनन् धेरै अघि नेताका भइसकेका हुन्। तर, नेताहरुले पनि आफ्ना भ्रातृ संगठन बनाउन सकिरहेका छैनन्,’ आचार्यले भने, ‘नेताहरुले आफ्ना भ्रातृ संगठन बनाउँन खोज्दा न देउवाले आफ्नो बनाउन सकेका छन् न पौडेलले सकेका छन् न त सिटौलाले नै सकेका छन्।’ उनले धेरै अघि गिरिजाप्रसादले आफ्नै भ्रातृ संगठन बनाउन सकेपनि त्यसयता संगठनका रुपमै रहन नसकेको बताए। ‘फेरि भ्रातृ संगठनको भूमिका नै के हुने भनेर पुन:परिभाषित गर्नुपर्ने अवस्था छ,’ आचार्यले भने।

निर्वाचनबाट प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसका सभापति देउवाले सकारका कदमविरुद्ध आन्दोलका लागि तयार हुनुस, आन्दोलन गर्नुस, सरकार अधिनायकवादी भयो भनेको धेरैपटक र धेरै समय भइसकेको छ। तर, आफ्नो पार्टीलाई चलायमान बनाउने खुट्टा, पखेटा जस्ता भ्रातृ तथा शुभेच्छुक संगठन सभापतिकै कारण आफै विलखबन्धमा छन्। त्यसरी संगठन विलखबन्ध हुँदासमेत देउवा भने भ्रातृ संगठनमा ‘भए आफू निकटको नेतृत्व हुन्छ हुदैन भने कोही हुँदैन’को रणनीतिमा देखिएका छन्।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ५७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई