श्रीलंकामा श्रृंखलाबद्ध विष्फोट– शव चिन्न सक्ने अवस्थामा थिएनन् | Khabarhub Khabarhub

श्रीलंकामा श्रृंखलाबद्ध विष्फोट– शव चिन्न सक्ने अवस्थामा थिएनन्


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार, इस्टर सन्डेका दिन सबेरै इसाई धर्मावलम्बीहरु श्रीलंकाको राजधानी कोलम्बोमा रहेको सेन्ट एन्थोनी गिर्जाघरमा प्रार्थानाका लागि भेला भएका थिए ।

स्थानीय समयअनुसार बिहान ९ बजे एक्कासी बम विष्फोटको आवाज सुनियो । कोलम्बोको कोचिकादे क्षेत्रमा रहेको सेन्ट एन्थोनी गिर्जाघरमा भएको विष्फोटबाट त्यहाँ रहेका इसाईमात्र होइन बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी पनि आतंकित भए । सो क्षेत्रमा एक्कासी आतंक मच्चियो । मानिसहरुको भागदौड शुरु भयो ।

एफपीका अनुसार एकजना प्रत्यक्षदर्शीका अनुसार सेन्ट एन्थोनी गिर्जाघरमा भएको शक्तिशाली विष्फोटपछि मानिसहरुको शव यताउति छरिएर रहेको थियो । शवहरु खात लागेको अवस्थामा रहेको बीबीसीले उल्लखे गरेको थियो । शवहरुको पहिचान गर्न समेत मुस्किल थियो । ईश्वरको प्रार्थाना गर्ने स्थानमा एक्कासी रगतको खोलो बग्यो । इष्टर सन्डे मनाउन भेला भएका मानिसहरु ईश्वरसँग प्रार्थाना गर्न नपाई मृत्युवरण गर्न पुगे ।

श्रीलंकाको सेन्ट एन्थोनी गिर्जाघरमा भएको यो एकमात्र विष्फोट भने थिएन । कोलम्बोसहित बाटिकाओला र नेगोम्बो शहरमा पनि यस्तै विष्फोट भएका थिए । बाटिकाओलामा रहेको जायोनको गिर्जाघरलाई लक्षित गरी लगत्तै अर्को बम विष्फोट भएको थियो । नोगोम्बो शहरमा भने सेन्ट सेबास्टियनको गिर्जाघरलाई लक्षित गरी विष्फोट भएको थियो ।

आक्रमणकारीको निशाना गिर्जाघरमात्र थिएनन् । उनीहरुले कोलम्बोमा रहेका साङ्ग्री ला होटेल, द सिनामोन ग्राण्ड होटेल तथा किन्सबरी होटेलमा पनि विष्फोट गराएका थिए । त्यसबाहेक कोलम्बोको चिडियाखाना तथा व्यावसायिक केन्द्रका रुपमा रहेको डेमाटागोडा जिल्लामा समेत विष्फोट भएको थियो ।

आइतबार विभिन्न समयमा श्रीलंकामा विभिन्न ८ वटा श्रृङ्खलाबद्ध विष्फोटका घटना भए ।

श्रीलंकाको अनलाई पोर्टल डेलिमिररका अनुसार श्रृखलाबद्ध ८ विस्फोटमा २ सय ७ जनाले ज्यान गुमाएका छन् भने ४५० जना घाइते भएका छन् ।

दश वर्षअघि गृहयुद्धबाट मुक्त भएर केही शान्तिको श्वास फेर्दै आएको श्रीलंकामा पुनः घातक आक्रमण भयो । साँच्चै भन्दा गृहयुद्धपछि श्रीलंकामा भएको यो सबैभन्दा भयानक आक्रमण हो ।

आक्रमण गराउने को थिए, उनीहरुको मनशाय के थियो भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि प्रहरीले भने विष्फोट आत्मघाती शैलीको बताएको छ भने विष्फोटनमा सी फोर नामक विष्फोटक पदार्थको प्रयोग भएको जनाइएको छ । श्रीलंकाका रक्षामन्त्रीका अनुसार विष्फोटनमा संलग्न रहेको आशंकामा ७ जनालाई पक्राउ गरिएको छ ।

विष्फोटनपछि श्रीलंकाभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कोलम्बोमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, सरकारले कफ्र्यु समेत जारी गरेको छ । सरकारले सेनालाई भइपरी आउने कुनै घटनालाई मध्यनजर गर्दै उच्च सतर्क रहन निर्देशन दिएको छ । विष्फोटन लगत्तै श्रीलंकाली शिक्षा मन्त्रालयले सोमबार र मंगलबारका लागि श्रीलंकाका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

आक्रमणपछि सामाजिक सञ्जालमार्फत् झुटा समाचार प्रवाह भइरहेको भन्दै सरकारले केही समयका लागि सामाजिक सञ्जालमा बन्देज लगाएको समेत घोषणा गरेको छ । सरकारले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपसहितका सामाजिक सञ्जालमा केही समयका लागि बन्देज लगाउने घोषणा गरेको हो ।

विष्फोटनको प्रधानमन्त्री केपी शर्मा ओलीले भत्र्सना गरेका छन् । उनले श्रीलंकाली समकक्षीलाई सन्देश पठाउँदै श्रीलंकामा भएको आक्रमणको खबरले आफू स्तब्ध भएको जनाउँदै नेपाल सरकारले यस्तो घटनाको निन्दा गरेको तथा आक्रमण गराउनेलाई सक्दो चाँडो कानूनी दायरमा ल्याउनु पर्नेमा समेत जोड दिएका छन् ।

त्यस्तै, विष्फोटनको अन्तर्राष्ट्रिय समुदायबाट समेत निन्दा तथा भत्र्सना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विष्फोटनको निन्दा गर्दै दक्षिणी एशियामा यस्ता मानवताविरोधी कुनै पनि घटनाका लागि ठाउँ नरहेको जनाएका छन् । उनले भारत सरकार तथा भारतीय जनता यस्तो अवस्थामा श्रीलंकाको साथमा रहेको समेत जनाएका छन् ।

प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री मोदीबाहेक क्याथोलिक इसाई धर्मका धर्मगुरु पोप फ्रान्सिस, बेलायती प्रधानमन्त्री टेरिजा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एङ्गेला मर्केल, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले समेत आक्रमणको निन्दा गरेका छन् ।

पछिल्लो आक्रमणले गृहयुद्ध सकिएपछि श्रीलंकामा पर्यटन क्षेत्र मोलाउँदै गएको अवस्थामा भएको घातक पर्यटन क्षेत्रलाई निरुत्साहित गर्ने तथा यसले पर्यटनका माध्यमबाट श्रीलंकाको अर्थतन्त्र पुग्दै आएको टेवा घट्दै जाने आशंका गरिएको छ । यसबाट श्रीलंकाको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्चचिह्न खडा भएको छ ।

तस्वीर– एफपी

श्रीलंकामा पछिल्ला केही वर्षमा धार्मिक हिंसा बढ्दै गएको समाचार आएका थिए । पछिल्ला केही वर्षयता त्यहाँ बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी तथा अल्पसङ्ख्यक मुसलमान धर्मावलम्बीबीच आक्रमण तथा अन्य हिंसात्मक घटना बढ्दै गएको थियो । त्यहाँका अल्पसङ्ख्यक इसाई धर्मावलम्बीहरुले पनि उग्रवादी बौद्ध भिक्षुहरुले आफूहरुमाथि आक्रमण गर्ने धम्की दिने गरेको समाचार आएका थिए ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकाका ७० प्रतिशत मानिसहरु बौद्ध धर्मावलम्बी छने भने १३ प्रतिशत हिन्दु, १० प्रतिशत मुसलमान तथा करिब ८ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् ।

पछिल्लो आक्रमणले त्यहाँ धार्मिक हिंसालाई अझ चर्काउन सक्ने र यसले त्यहाँ पुनः धार्मिक समुदायबीच फाटो ल्याउसक्ने भन्दै चिन्ता व्यक्त हुन थालेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०