जिम्नास्टिक खेलाडी इश्लाम भन्छन् – बाध्यताले अटो चलाउँछु « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

जिम्नास्टिक खेलाडी इश्लाम भन्छन् – बाध्यताले अटो चलाउँछु



बाँके – यतिबेला प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाहरुमा खेलकुदको महाकुम्भ चलिरहेको छ । नेपालगञ्जलाई केन्द्र मानेर गरिएको प्रतियोगिताका केही रोचक त केही घोचक यर्थाथ पनि भेटिइरहेका छन् ।

५ हजार २ सय ११ जना खेलाडी सहभागी यो प्रतियोगितामा सबैको एउटा मात्रै लक्ष्य हुन्छ,‘च्याम्पियन’ बन्ने । दुई-दुई वर्षमा हुने प्रतियोगिताबाट आफुलाई अब्बल सावित गर्दै आफ्नो खेल करियरलाई अगाडि बढाउने योजनामा सबै खेलाडीहरु हुन्छन् । केहिले आफ्नो खेल करियरबाट सुखद् बिदाईको योजना पनि बनाइरहेकै हुन्छन्।

यस्तै, कति खेलाडी विभिन्न वेदना बोकेर खेल मैदानमा आफ्ना प्रतिस्पर्धीसँग भिड्न मैदान उत्रिन्छन् । मैदान उत्रिदै गर्दा आफ्नो व्यक्तिगत जिवनका घटनाहरुले पनि मनोवैज्ञानिक रुपमा असर गरिरहेको हुन्छ । जसले गर्दा उनीहरु खुलेर खेल्न पाउँदैनन् ।

प्रतिस्पर्धी सामू कमजोर नतिजा पस्किएपछि पछि पर्छन् । तर, आइतबार बिहान नेपालगञ्जको जुडो हलमा ३० वर्षे इश्लाम अलि शाई दुई छुट्टा-छुट्टै पहिचानका साथ भेटिए । राष्ट्रिय खेलकुदका लागि जिम्नास्टिक खेलका लागि आयोजक प्रदेशबाट खेलिरहेका शाई रिक्सा चालक हुन्।

इश्लाम पनि अन्य खेलाडी जस्तै छन्, सधै खेलमा लागि रहे तर, खेलले केही पनि नदिएपछि रोजिरोटीको साधन बन्यो रिक्सा । जुन नेपालगञ्जमा उनका लागि घर पायक र सहज पनि थियो ।

इश्लाम त एक उदाहरण मात्रै हुन् उनी जस्ता कैयौं खेलाडीहरुले आफ्नो जीवनको सबैभन्दा उर्बर समय खेलकुदमा खर्च गरे । तर, खेलकुदमै लागेर जिवन गुजारा नभएपछि खेलकुदबाट सिफ्ट भए ।

कति सफल भएर विदेशतर्फ लागेका छन् भने कति नेपालमै साना-ठूलो व्यापार गरी बसेका छन् । इश्लामले नेपाली खेलकुदलाई १५-१६ वर्ष दिइसकेका न् । तर, पनि उनीले अहिलेसम्म नत, राम्रो अभ्यास स्थल पाए न खेल्ने वातावरण नै पाए ।

सधै पारिश्रमिक पाउने खेल नेपालमा औलामा गन्न सकिने मात्रै छन् । अन्य खेलाडीहरु प्रतियोगिताका क्रममा मात्रै देखिन्छन् । उनीहरुका लागि नत खेल संघहरुले कुनै अवसरको सिर्जना गरिदिन्छ । नत, प्रतियोगिता नै आयोजना गर्छन् ।

‘ममा सधैभरी खेल्ने हुटहुँटी चलिरह्यो । खेलकुदमा लाग्ने समयमा खेल बाहेक अन्यकुरामा ध्यान गएन । तर, अन्तिममा आएर खेलले मलाई बाच्ने आधर दिएन वा मैले सकिन । अहिले रिक्सा चलाएर घर परिवार चलाउनु परिरहेको छ,’ इश्लामले भने,‘ यो प्रतियोगिताका लागि राम्रो अभ्यास गर्न पनि पाइएन । बाँके जिल्लामा जिम्नास्टिकका लागि कुनै पनि खेल सामाग्री छैनन् । जमिनमा अभ्यास गरेर यसमा सहभागी भएको हुँ । तयारी अनुसार ठिकै भएको छ ।’

खेल संघ छ । तर, खेलाडीका लागि खेल्ने कुनै सामग्री छैनन् । यो जिम्नास्टिकको मात्रै समस्या होइन । तर, पनि राष्ट्रिय प्रतियोगितामा सहभागी खेलका खेलाडीले पाउनु पर्ने न्युनतम सुविधाहरु पनि नपाउँदा इश्लाम जस्ता लामो समयदेखि खेलकुदमा लागिरहेका खेलाडीले नराम्रो अनुभव भोगिरहेका छन् ।

विगत लामो समयदेखि जिम्नास्टिकमा लागेका उनी स्थानीय क्षेत्रमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन्छन् । त्यसले गर्दा नेपालगञ्जमा उनलाई देखेपछि जिम्नास्टिक खेलाडी हुन् भनेर पहिचान गर्नेको संख्या पनि धेरै छ ।

कतिपय मानिसहरु अटोमा चढिसकेपछि तपाईं त जिम्नास्टिक खेलाडी भन्छन् । त्यतिबेला इश्लाम अफ्ठ्यारोमा पर्छन् । केही लजाउँछन् पनि र कतिपय बेला उनलाई आफुलाई चिनेकोमा खुसी पनि लाग्छ । उनले भने,‘राष्ट्रिय खेलाडी भनेर कतिपयले चिन्छन् । कतिपयले खेलाडी अटो चलाउने भन्दै जिस्काउँछन्, पनि । आफुलाई त्यो सुन्दा लाज पनि लाग्छ । बाध्यताले रिक्सा चलाउनु परिरहेको छ । खेलमा केही व्यवस्था हुन्थ्यो भने म रिक्स चलाउने थिएन ।’

‘मलाई खेल भन्दा अन्य कुरा ठिक पनि लाग्दैन् । रिक्सा चलाउनु त मेरा लागि बाध्यता मात्रै हो । रिक्सा नचलाई खान पुग्दैन् । खेलबाटै जिन्दगी गुजार्न निकै समस्या छ,’ उनले भने ।

‘१५-१६ वर्ष खेल खेल्दा जिल्ला र प्रदेश प्रतियोगिताहरुमा गोल्ड मेडल प्राप्त गरेको छु । तर, राष्ट्रिय प्रतियोगिताका लागि तयारी नै पुग्दैन् । फ्लोरमा फास्ट हानेको थिए । तर, पनि पुग्दैन,’ उनले भने ।

प्रतियोगिता आफ्नो जिल्लामा भएकोमा पनि उनी खुसी व्यक्त गर्छन् । भन्छन्, ‘आफ्नो गाउँमा प्रतियोगिता हुँदा खुसी लागेको छ । बाहिर जादाँ भन्दा आफ्नो ठाउँमा हुँदा राम्रो हुँदो रहेछ ।’


भर्खर

0