शुक्रवार दुई ठूला आयोजनाको शिलान्याश गर्दै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

शुक्रवार दुई ठूला आयोजनाको शिलान्याश गर्दै प्रधानमन्त्री ओली


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै छन् । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान रुपन्देही आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिए ।

यस्तै, शुक्रबार नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

यी दुबै आयोजना जिल्लामा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलको विशेष योगदान रहेको स्थानीयहरु बताउँछन् ।

रुपन्देही क्षेत्र नं ३ का सांसद पौडेल यसअघि अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमार्फत रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सारेका थिए  । यस्तै, बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो ।

प्रधानमन्त्रीले शुक्रबार शिलान्यास गर्ने उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे ३ वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिए । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव ३ घण्टा लाग्छ ।  उक्त सडकको स्तरोन्नति भई ४ लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।

बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले  ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले  ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताए ।

सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।

उक्त सडकखण्डलाई २ लेनबाट विस्तार गरेर ४ लेनको बनाइने छ । सडकको दुई/दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । ३ मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने ३ लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।

हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो ।

तिलोत्तमा नगरपालिका वडा नं १ नयाँ मिलदेखि झण्डै ५०० मिटर पूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए ।

आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव रु १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शय्या रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ ।

– भरत केसी / रासस

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ३ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन