मोहनविक्रम सिंहको अन्तर्वार्ता– विदेशी शक्तिका दबावलाई ओलीले कति समय थेग्न सक्लान् र ! | Khabarhub Khabarhub

मोहनविक्रम सिंहको अन्तर्वार्ता– विदेशी शक्तिका दबावलाई ओलीले कति समय थेग्न सक्लान् र !


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

८५ वर्षीय मोहनविक्रम सिंह नेपाली वाम आन्दोलनका धरोहर हुन् । नेकपा मसालका महामन्त्रीसमेत रहेका सिंह अर्धभूमिगत राजनीति जीवन बिताइरहेका छन् । आफूलाई अति क्रान्तिकारी ठान्नेहरुले सिंहलाई  ढुलमुले र सम्झौता परस्त कम्युनिस्ट नेताको रुपमा चित्रित गर्ने गरेका छन् भने केही कम्युनिस्ट नेताले सिंहलाई जडसूत्रवादीको रुपमा लिन्छन् ।

यतिवेला नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको दुई तिहाईको सरकार छ । यसको सफलता र असफलताले नेपालको वाम राजनीतिको भविष्य कस्तो रहने भन्ने प्रश्न उठिरहेको बेला सिंह भने वर्तमान सरकारलाई कम्युनिस्ट सरकार मान्न तयार देखिएनन् । खबरहबले देशको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कदम, विप्लवमाथिको प्रतिवन्ध लगायतका विभिन्न पक्षबारे गरेको कुराकानीमा नेता सिंहले यस्तो धारणा राखेका हुन् ।

प्रस्तुत छ नेता सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :–

लामो सयमदेखि वामपन्थी आन्दोलनमा हुनुहुन्छ । अहिले दुईतिहाइ मतसहितको कम्युनिस्ट नेतृत्वको सरकार छ । यसको कामलाई कसरी हेर्नुभएको छ?

पहिलो कुरा त यो वर्तमान सरकारलाई कम्युनिस्ट ठान्ने जुन एउटा जनमत छ त्यो गलत र भ्रामक हो । यसलाई हामी कम्युनिस्ट सरकार ठान्दैनौं । किनभने यो अहिले जुन सरकारले सत्ता चलाईरहेको छ यो मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट बिचलित छ । त्यसकारण यसको सफलता वा असफलता कम्युनिस्ट पार्टीको सफलता वा असफलतासँग दाज्नु हुँदैन भन्ने हाम्रो स्पस्ट, निश्चित र दृण विश्वास छ ।

सरकारलाई तपाईंको समर्थन कम्युनिस्ट भएर होइन त्यसो भए ?

कम्युनिस्ष्ट सरकार नभएपनि हामीले देशको राजनीतिका विभिन्न प्रसंगमा गैर कम्युनिस्ट सरकारलाई उनीहरुको भूमिकामा समर्थन गर्ने गरेका छौं । जस्तो नेपाली कांग्रेसलाई भन्नुहोस्, हामीले २०४६ सालमा नेपाली कांग्रेसलाई समर्थन गर्‍यौं । ०६२/६३ मा हामीले कयौं पार्टीहरुलाई समर्थन गर्‍यौं । उनीहरुसँग कार्यगत एकता पनि गर्‍यौं । र अहिले पनि हाम्रो सोचाइ के छ भने नेपाल नयाँ जनवादी क्रान्ति वा सुशासनको स्थितिमा पुगेको छैन । त्यसैले यहाँ रहेका कतिपय बुर्जुवा पार्टीहरु राष्ट्रियता, सार्वभौमिकता, देशको विकासमा सकारात्मक भूमिका खेल्छन् उनीहरु मिलेर देशको विकासको पक्षमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।

चक्रव्यूहलाई तोडेर अघि बढ्नको लागि फेरि एउटा असल, इमान्दार इच्छाशक्ति हुनुपर्छ । त्यसकारण नियत राम्रो भएपनि यो परिस्थितिमा माथिल्लो तहको दृढ इच्छाशक्ति र इमान्दार नभइकन काम गर्न सम्भव हुँदैन । यो खतरा हामीले देशमा देखिरहेका छौँ 

त्यस दृष्टिकोणले नेपाली कांग्रेसको नेतृत्वमा जुन सरकार गठन भएको थियो त्यो पूरै राजावादी संगठनहरु, पृथकतावादीहरु, मधेसवादीहरु मिलेर बनेको थियो त्यसबाट देशको विकास हुँदैन भनेर हामीले साथ दिन सकेनौं । त्यसको जित भएको अवस्थामा नेपालको राष्ट्रियता, गणतन्त्रमासमेत वाधा पुग्ने अवस्था थियो । त्यसको तुलनामा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई हामीले समर्थन गरेका हौं । तुलनात्मक रुपमा हामीले त्यसलाई राम्रो भनेका हौं र त्यसको जित पनि भएको छ । त्यसलाई हामीले कम्युनिस्टको रुपमा भन्दा पनि सकारात्मक रुपमा लिएका हौं ।

तपाईंहरुले समर्थन गर्नुभयो र नेपाली जनताले पनि एमाले-माओवादीको गठवन्धनलाई जिताए । उसले चुनावका बेला गरेका प्रतिवद्धता अनुसार काम गरेको छ त ?

अहिले नेकपाले जुन रुपमा भूमिका खेलेको छ, जुन प्रकारको कार्यशैली अपनाएको छ, जुन प्रकारको नीतिहरु अपनाएको छ, ति चाहिँ एउटा देशको समृद्धि, विकास, देशको राष्ट्रियता, स्वयं उसले घोषणा गरेको समाजवादको पक्षमा देखिएका छैनन् । त्यसकारण यो सरकारले लिएको कार्यशैली गलत छ भन्नुपर्ने हुन्छ । यस्तो कामले प्रतिगामीलाई मद्दत पुग्ने छ । तर, यदी यो सरकार असफल हुन्छ वा अपदस्थ हुन्छ भने देश कता जान्छ ? भन्न सकिने अवस्था छैन । कम्युनिस्ट सरकार नभएपनि यो कता जान्छ भने, बढी प्रतिगमन तिर जाने सम्भावना छ । गणतन्त्रमा र देशको राष्ट्रियतामा आँच पुग्ने सम्भावना छ ।

असफल हुँदा प्रतिगमन तिर जाने सम्भावना छ भन्नु भयो, सरकार सफल हुने सम्भावना देख्नु भएको छ ?

सफल हुने सम्भावना के भने उसले लिएको कार्यशैली भन्दा पनि नीति सन्तोसजनक रुपमा गइरहेका छन् भन्ने हाम्रो सोचाइ छ । त्यसकारण यसलाई असर गर्‍यो भने यो दूरगामी रुपमा प्रतिगमन तिर जाने नै हुन्छ । राष्ट्रियता गणतन्त्र, लोकतन्त्रकाविरुद्धमा, धर्मनिरपेक्षताकाविरुद्धमा जाने सम्भावना छ । त्यसकारण यो सरकारलाई दवाव दिएर जनदवावद्वारा केही पक्षले असफल पार्ने प्रयत्न गरिरहेका छन् ।

चुनावका बेलामा जारी गरेको घोषित नीति, समाजवाद उन्मुख, धर्मनिरपेक्षता , गणतन्त्रसहितका नीतिमा सफल पार्न यो सरकारलाई सहयोग गर्नेतर्फ सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने कुरामा हाम्रो जोड छ ।

हामी सचेत हुने बेला आएको छ । देशमा गणतन्त्रको खतरा, धर्मनिरपेक्षताको खतराकासाथै राष्ट्रियतामाथि पनि अहिले खतरा छ, विखण्डनको खतरा पनि हटिसकेको छैन

सरकार असफल भयो भने प्रतिगमन तर्फ जान्छ भन्नुको अर्थ पुरानै अवस्था हो ?

प्रतिगमनमा जानु भनेको एउटा पक्ष राजतन्त्रमा जानु पनि हो । जस्तो आज राप्रपाले राजतन्त्रको पुनर्स्थापना, धर्म निरपेक्षताकाविरुद्ध अभियान चलाइरहेका छन् । नेपाली कांग्रेस भित्र हेर्नुहुन्छ भने आज उनीहरुको सबैभन्दा पूर्वाग्रह गिरिजामा नै छ । किनकी गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन उनले नै महत्वपूर्ण भूमिका खेले । कांग्रेसका माथिल्लो तहका नेताले नै हिन्दुराष्ट्रको कुराहरु गरिरहेका छन् । प्रतिपक्षीको वा देशको दोस्रो ठूलो दलको त्यो पारा छ । र अर्को, हाम्रो नजिकको छिमेकी भारत र त्यहाँको भाजपा पार्टीको प्रभाव ।

उसले नेपालमा हिन्दू राष्ट्र बनाउने कुरामा लगातार दवाव दिइरहेको छ । यति ठूलो शक्तिले यहाँ काम गरिरहेको छ । यसको अर्थ हो त्यसका पछाडि राजतन्त्रलाई पुनर्स्थापना गराउने खेल हुनसक्छ । यो मतलाई हामीले विल्कुल उपेक्षा गर्न सकदैनौं । तर त्यस्तो हुन्छ नै भन्नेमा हामी छैनौं । कमसेकम यी गम्भीर प्रश्नहरु जो छन् त्यसलाई ध्यान दिएर अघिबढ्नुपर्छ । गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताका पक्षधर शक्तिहरु त्यसमा बढी सतर्क हुनुपर्छ । यदी भएनन् भने यसको परिणाम नकारात्मक हुन्छ ।

२०४६ सालपछि हामीले यो कुरामा जोड दिएका थियौं । राजतन्त्र पुनर्स्थापनाको खतरा छ है भनेर हामीले भनेका थियौं । त्यसका लागि गणतन्त्र पक्षधर, लोकतन्त्र पक्षधर शक्तिहरु एकजुट हुनपर्छ भन्ने कुरामा हाम्रो जोड थियो तर त्यसबेला अरु राजनीतिक शक्तिहरुको ध्यान गएन र ज्ञानेन्द्र अगाडि आए । त्यस्तो सम्भावना अहिलेपनि हामीले देखिरहेका छौं । त्यो बाहेक गणतन्त्रको खतरा, धर्मनिरपेक्षताको खतराकासाथै राष्ट्रियतामाथि पनि अहिले खतरा छ, विखण्डनको खतरा पनि हटिसकेको छैन ।

देश विखण्डनको पक्षमा रहेका शक्तिलाई मूलधारमा ल्याएको भन्दै सरकारले आफ्नो सफलताका रुपमा व्याख्या गरिरहेको छ…

तराईमा अहिलेपनि विखण्डनलगायतका प्रयत्नहरु भइरहेका छन् । यसबीचमा सीके राउत आए । उनले देशको संविधानलाई हामी स्वीकार गर्छौं भन्ने कुरा गरे तर, जनमतसंग्रहमा उनले अहिले पनि जोड दिइरहेका छन् । उनले आफ्नो पार्टीको नाम नै जनमत पार्टी भनेर राखेका छन् । त्यसको अर्थ हो जनमत संग्रहद्वारा नै देशमा पृथकतावाद तर्फ जाने ।

उनले पृथकतावादको आफ्नो मूल सिद्धान्त उदेश्य छाडे भनेर भनेका छैनन् । राउतले यसअघिको जुन पद्दती छ त्यसको सट्टा वैज्ञानिक पद्दती द्वारा जनमत संग्रह मार्फत त्यसमा जाने भन्ने कुरा गरेका हुन् । तर, सरकारले त्यसमा अडान अहिले पनि लिएको छ । होइन हामीले जनमत भनेको चुनाव वा अन्य माध्यम हो, जनमत संग्रह होइन भनेर सरकारले अडान लिएको छ । त्यस्तै कतिपय अन्य पक्षमा पनि सरकारले अडान लिएको छ जो सकारात्मक छ । सकारात्मक कुरालाई हामीले समर्थन गर्ने गरेका छौं । तर यो सबै चिजमा हेर्दा के छ भने प्रतिगमन तिर जाने देशको अहिले एउटा नराम्रो दुष्परिणामहरु हुने र सरकार असफल हुने खतराहरु देखिएको छ ।

ओलीले विदेशी शक्तिको दबाबलाई कति समय थेग्न सक्छन् भन्ने कुरा महत्त्पूर्ण छ । किनकी धेरै राजनीतिक पार्टीहरुले धोका दिने गरेको पृष्ठभूमी हामी माझ छ

सरकारका काममा तपाईं सन्तुष्ट हुनुहुन्छ । आन्तरिक शक्ति वा बाह्य शक्तिले हो सरकारलाई प्रभावकारी काम गर्न नदिएको ?

हामीले सरकारको नियतमा शंका गरेका छैनौं । अहिले सरकार चौतर्फी चक्रव्यूहमा छ । यहाँ सहायता दिनका लागि पनि उसले कयौं सर्तहरु राखेको छ । भेनेजुएलाको विषयमा अमेरिकाले पुरै दवाव दिइराखेको छ । काठमाडौं स्थित विदेशी निकायहरुको कार्यक्रममा अमेरिकन राजदूत आएनन् । र अन्य दवावहरु आइरहेका छन् । त्यसकारण यो सरकारको नीतिबाट विदेशी शक्तिहरु सन्तुष्ट छैनन् । भारतले पनि दवाव दिइरहेको छ । उनीहरुको मुख्य जोड हो नेपालमा हिन्दराष्ट्र गराउने । यो सरकारद्वारा उसले यो पूरा हुने देख्दैन, उसलाई त्यो चाहिँएको छ ।

उसले कांग्रेस, राप्रपा वा मधेशवादी शक्तिहरु सत्तामा आएको देख्न चाहन्छ । जसले नेपालमा तराईलाई बेग्लै प्रदेश बनाउने र आखिरमा त्यसलाई पृथक बनाउने कुरालाई जोड दिइरहेका छन् । त्यसकारण यहाँको नोकरशाही शासन यन्त्र यहाँको भ्रष्ट प्रशासन यन्त्र अनि यहाँका माफिया ग्रुपहरु, अन्तराष्ट्रिय कम्पनीहरु यी सबैको चक्रव्यूह छ । त्यो चक्रव्यूहलाई तोडेर अघि बढ्नको लागि फेरि एउटा असल, इमान्दार इच्छाशक्ति हुनुपर्छ । त्यसकारण नियत राम्रो भएपनि यो परिस्थितिमा माथिल्लो तहको दृढ इच्छाशक्ति र इमान्दार नभइकन काम गर्न सम्भव हुँदैन । यो खतरा हामीले देशमा देखिरहेका छौँ ।

बाह्यशक्तिलाई हावी गराउने काम त राजनीतिक दलहरुकै त होनि हैन?

नेपालमा अथवा अन्य देशमा आन्दोलनलाई सफल पार्नका लागि बाह्य शक्तिबाट आन्दोलनकारीको पनि कयौँ पटक समर्थन प्राप्त गरेका छन् । अमेरिकाको, भियतनामको आन्दोलन होउन् वा साउथ अफ्रिकाका आन्दोलनमा बाह्य शक्तिको समर्थन आन्दोलनकारीले प्राप्त गरेका छन् । त्यसलैले सधै यस्ता आन्दोलनमा हुने समर्थनलाई गलत मान्न सकिँदैन । यो स्वभाविक हो ।

नेपालमा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा या निरंकुश शासन व्यवस्थाको आन्दोलनमा जुन बाह्य शक्ति र समर्थन गर्‍यो त्यो सरकारको पक्षबाट हामी अस्वीकार गर्दैनौ । त्यो स्वभाविक हो । तर त्यसको दौरानमा आउने जो एउटा हस्तक्षपकारी नीतिहरु हुन्छन् त्यसलाई हामीले विरोध गर्दछौ ।

विप्लवहरुले जनताबाट अलगिएर चालउने कुनै पनि हिंसात्मक तथा आतंकवादी काम सही होइन । एमाले र पूर्वमाओवादीले पनि त्यो नीति अपनाए। तर सफल भएन

सबैले भन्ने एउटै कुरा नेपालमा विदेशीको दवाव रहन्छ । यसबाट मुक्त हुन सकिन्न ? केहि योजना छन् ?

विदेशी शक्तिले नेपालमा दवावमा राख्न खोज्छन् । प्यासिफिक सम्मेलन छ, भेनेजुएला प्रकरणले पनि अन्य देशले नेपाललाई पृष्ठभूमि बनाउन चाहन्छ । हाम्रो देश खतरामा छ । तर हामीलले हाम्रो लोकतन्त्र हाम्रो स्वतन्त्रतालाई कायम राख्नुपर्छ । सबै देशसँग स्वच्छ परराष्ट्र नीति कायम गर्नुपर्छ । भारत र चीन दुवैसँग राम्रो स्वतन्त्र पराराष्ट्र नीति कायम राख्नुपर्छ ।

नेपालमा विदेशी शक्तिहरुको चलखेल बढ्दै गएको हो । भारतमा पहिलादेखी नै थियो । नेपाललाई अखडा बनाउन चाहन्छन् उनीहरु । यसअघि पनि नेपाललाई भारतमा गाभ्ने कुरा भएको थियो । नेपाललाई भारतमा गाभ्ने विदेशी शक्तिको प्रयास सफल हुन सकेन नेपाल अझैपनि महत्पूर्ण राष्ट्र नै हो । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेस जस्तो प्रतिक्रियाबादी छैनन् तर यो ओली सरकारलाई अमेरिका, भारत लगायतले दबाब दिइरहेका छन् ।

त्यसमा ओलीले केही न केही रुपमा अडान लिइरहेका छन् । ओलीले त्यो दबाबलाई कति समय थेग्न सक्छन् भन्ने कुरा महत्त्पूर्ण छ । किनकी धेरै राजनीतिक पार्टीहरुले धोका दिने गरेको पृष्ठभूमी हामी माझ छ । परिस्थीति जस्तो भएपनि ओली सरकार अग्रगामी दिशामा अघि बढेको छ भन्नेमा हामी आसावादी छौं ।

विप्लवको गतिविधिमाथि सरकारले लगाएको छ । यसलाई कसरी लिनु भएको छ ?

सरकारले विप्लबलाई प्रतिवन्द लगाउनु गलत हो । हामीले सरकारको प्रतिबन्ध गलत हो भनेर वक्तव्य पनि दिइसकेका छौं । किनकी हाम्रो संविधानले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लागाउने कुरा स्वीकार गर्दैन । त्यसैले गलत प्रकारका गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्छ शान्ती सुरक्षा कायम गर्नुपर्छ । शान्ति वार्ता गर्न सकिन्छ । अन्य कुनै तरिका अपनाउन पर्छ तर राज्यले प्रतिबन्ध नै लगाउनु भनेको सरकार अधिनायकवादतर्फ उन्मुख भएको मानिन्छ । जसलाई हामी गणतन्त्र मान्दैनौं ।

यो संविधान र संघीयता यस्ता कयौ पक्षहरु छन् । जसमा हाम्रो मतभेद छ । संघीयतालाई समर्थन गर्नुको अर्थ यहाँ राजतन्त्र बलियो हुन्छ 

विप्लवका पछिल्ला गतिविधिलाई तपाइँले चाहिँ कसरी लिनु भएको छ ?

माओवादीको जुन उग्रवादी एउटा भड्काव थियो जसको हामीले विरोध गरेका थियौं त्यसको अवशेष विप्लवहरु हुन् । उनीहरु उग्रवामपन्थीको रुपमा गइसकेका त छैनन् । जुन नीति उनीहरुले अपनाउन खोजिरहेका छन् त्यसलाई हामी सही मान्दैनौ । गतल मान्छौ । जनताबाट अलगाएर कुनै पनि प्रकारका हिंसात्मक तथा आतंकवादी तरिकाबाट काम गर्ने त्यो पद्धती सही छैन । एमालेले पूर्वमाओवादीले पनि त्यो नीति अपनाए । जुन असफल भयो । विप्लवहररु त्यही असफलताको पुनरावृत गर्दैछन् । त्यसकारण उनीहरुको त्यो नीतिलाई हामी सही मान्दैनौ ।

मोहन वैद्यलगायतका अन्य कम्युनिस्ट घटकमाथि तपाइँको दृष्टिकोण के हो ?

जहाँ मोहन वैद्यको सवाल छ । उनीहरु त्यस रुपमा गएका छैनन् अहिले । उनीहरु पनि माओवादीकै अवशेस हुन् । त्यै पनि हामीले देखिरहेका छौँ भने कार्यदिशासम्बन्धी जुन नीति अपनाएका छन् तर हामीले सही मान्दैनौ । आजको गणतन्त्रण लोकतन्त्रीक गणतन्त्र हो । हामीलाई थाहा छ यो बुर्जवा गणतन्त्र हो । अहिलेको समयमा लाकतान्त्रिक गणतन्त्रको महत्व छ ।

त्यसलाई एकदम बिरोध गर्ने नीति वैद्यहरुले अपनाइ राखेका छन् । अहिलेको संविधानलाई पूरै प्रतिक्रियावादी घोषित गरिरहेका छन् । त्यसलाई हामी सही मान्दैनौ । यसलाई हामी पूरै समर्थन गर्दैनौ तर अहिलेको नेपालको सन्दर्भमा यसको महत्व छ । त्यसैले यसलाई रक्षा गर्नुपर्दछ भन्ने हाम्रो सोचाइ हो ।

यो संविधान र संघीयता यस्ता कयौ पक्षहरु छन् । जसमा हाम्रो मतभेद छ । संघीयतालाई समर्थन गर्नुको अर्थ यहाँ राजतन्त्र बलियो हुन्छ । प्रतिगामी शक्ति बलियो हुन्छ, त्यसैले लोकतन्त्रलाई संरक्षण गर्नुपर्छ त्यसैले वैद्यको जस्तो मतलाई हामी सही मान्दैनौं । यो लोकातन्त्र गणतन्त्रको रक्षा गर्नुपर्छ । यो सरकार पुरै क्रान्तिकारी हो भन्दैनौं । तर जुन किसिमले नेपाली काँग्रेस, राप्रपा गठन भयो । त्यसलाई हामी प्रतिगामी भन्दैनौं ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका