मेरी हजूरआमा ! « Khabarhub
Logo
१८ चैत्र २०७६, मंगलबार

मेरी हजूरआमा !



अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिवार(आज) खुलामञ्चमा उपस्थित अभियन्ताहरु

सानोमा स्वभाविकै हो हरेक केट्केटी चञ्चल हुन्छन्, म पनि चकचके थिएँ ।

कूद्ने, कराउने, जिस्किने, जिस्काउने सबथोक गर्थें । बुवा सार्ह्रै कराउनुहुन्थ्यो, किन कराउनुहुन्थ्यो मैले कहिल्यै बुझ्न सकिन । केही कारणले कराउनुहुन्थ्यो अथवा त्यत्तिकै कराउनुहुन्थ्यो थाहा भएन तर, घरमा बुवाको बुटको आवाजले लाग्थ्यो कोही क्रुर शासकको सवारी हुँदैछ । वहाँ आउनासाथ सबै सतर्क रहन्थे तर हामीलाई अर्थात् मलाई र मेरी हजूरआमालाई भने केही फरक पर्थेन । अझ खुलेरै भन्ने हो भने बालै हुन्थेन ।

म जुन खेलमा हुन्थें त्यो जारी रहन्थयो ।

बुवाः आमाले यसलाई बिगारी सक्नुभएछ, दिनभरी चकचक चकचक ।

अनि हजूरआमाको सुरक्षित काखामा घर्लप्प बसिदिन्थे तर मेरो खेल रोकिन्थेन ।

हजूरआमाः ए तँ कति रिसाउने भएको हँ? केट्केटी पनि बुझ्दैनस् ।

हजूरआमाले मलाई यसरी काँखि च्याप्ने बानी मेरो लागि लोकतन्त्र भन्दा कम थिएन । हजूरआमाकै छत्रछायाँमा म असाध्यै पुल्पुलिएको थिएँ ।

हजूरआमाले मभित्र स्वतन्त्रताको भूत मज्जाले भरीदिनुभएको थियो । हुर्किदैं गए त्यही काखको वरीपरी । कसैलाई नटेर्ने निर्णय जब गर्थे हजूआमाको काखामा गएर “गर्दिन” भनिदिन्थें, जिब्रो देखाईदिन्थें ।

त्यो काखमा खै कस्तो ताकत थियो, त्यहाँ बसेर बोलेपछि, चिच्याएपछि, कराएपछि, जोर लगाएपछि सबथोक सकारात्मक बनिदिन्थ्यो । यता हजूरआमा कमजोर बन्दै हुनुहुन्थ्यो अनि म विस्तारै ताकतवर बन्दै थिएँ । तर जत्ति ताकतवर बनेपनि हजूरआमाको काखले दिएको न्यानोलाई अवमूल्यन गरिन, वहाँले दिनुभएको आश्रयको बलमा म अब बढ्न थालें, उमेर र प्रगति दुबैथोकले ।

कथा वाचन गर्दै देवकोटा । तस्वीर : सुरेन्द्र बजगाईं

मेरो भाग्य बलियो हो वा के हो म यसरी अघि बढ्न थालें कि मैले किहल्यै पछाडि फर्केर हेर्नु परेन । मेरा बा, आमा र मेरी रक्षक अर्थात मेरी हजूरआमा सबैदेखि अत्यन्तै टाढा ।

अचानक सफलताले यस्तो स्वाद चखायो कि मैले पछाडि फर्कनुपर्ने कुनै कारण नै बाँकी राखेन र सक्कियो ताकतविहिन मेरी हजूरआमासँगको साथ ।

म यसरी अघि बढें की भूल्नथालें हजूरआमाको अनुहार, भूल्न थाले उनको संरक्षण र मेरालागि उनको त्यो अंगालोभरीको माया ।

आज एउटा जूग भईसकेछ मैले गर्लम्म हजूरआमालाई नअंगालेको, आज जूग भईसकेछ उनको आगनमा मैले बिद्रोह न गरेको, आज जूग भइकेछ उनी कुप्रिएर उभीरहँदा मैले हात नदिएको । आजभोलि त सुन्छु उनलाई चारैतिरबाट थिचिएको छ रे ! म बलियो बनेर लम्किएको त्यो आगनमा त एक हूल काग पनि अँट्दैन रे !

आउनुस् म मेरी हजूरआमासँग तपाईंलाई परिचय गराउँछु । साङ्गुरीएको आगनमा कुप्रिएको शरीर लिएर उभिएकी यी यिनै खुलामञ्च हुन ति हजूरआमा जसले हाम्रो आवाजमा उर्जा भर्ने आश्रय दिनुभो । यी यिनै हुन ति हजूरआमा जोसँग नेतृत्वको इतिहासदेखि वर्तमानसम्म नाता जुटेको छ । यही उभिएर हैन, ननिस्किएको बकारले क्रान्ति थालेको ? यहीँ उभिएर हैन त्यहाँ आवाज पुगेको, चिच्याएको, बिद्रोह गरेको, गलतलाई गलत र सहीलाई सही भनेको ? आँखाले नभ्याउञ्जेल उभिएका कार्यकर्ता देखेको यही खुलामञ्च हैन र, के तपाईंलाई हजूरआमाको माया लाग्दैन र ?

(अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिवार(आज) खुलामञ्चमा “खोलो तर्यो लौरी बिर्स्यो” शीर्षकमा उपस्थितहरुले आ-आफ्नो कथा वाचन गरेका थिए । त्यस क्रममा ‘मेरी हजूरआमा !’ शीर्षकको कथा सन्तोष देवकोटाले प्रस्तुत गरेका थिए ।)


भर्खर

0