पुस्तक अंश : रोगले गर्दा भाग्य बन्यो « Khabarhub
Logo
३१ असार २०७७, बुधबार

पुस्तक अंश : रोगले गर्दा भाग्य बन्यो



सांकेतिक तस्वीर

एकपटक डिप्रेसनबाट पीडित, कुनै औषधिले पनि प्रायः नछुने अवस्थाकी एक महिला उपचारमा आइन । मैले विभिन्न औषधिहरु परिवर्तन गरेर हेरेँ, कुनैले पनि प्रभावकारी रुपमा काम गरिरहेको थिएन ।

‘गाह्रो भयो, सास्ती भयो’ भनेर मकहाँ आएर रुने कराउने गर्थिन । पछि पछि निकै कडा औषधि चलाउन थालेँ, छुन थाल्यो । ती औषधि निकै महंगा थिए, मासिक ६ हजार जति औषधिमा खर्च हुन थाल्यो । निम्न वर्गकी मानिस उनलाई खर्च धान्न नै निकै अप्ठेरो थियो ।

उनको काम गर्ने क्षमता कम भइसकेको थियो तर खर्च बढ्दै गयो । यसले गर्दा उनलाई परिवारमा हेप्ने, उडाउने गर्न थाले । पागल भई भनेर सवैले हेप्ने छि छि दुरदुर गर्न थाले ।

मलाई भन्थिन ‘अव त म आत्महत्या नै गरौँ जस्तो भइसक्यो । बाँच्न मन लागेन, केही गर्न सकिन, खर्च मात्र बढी भएकाले सवैले हेपे, घरमा अर्घेलो भइसकेँ’।

म फेरि हेल्पलेस छु, यो केसमा पनि थप केही गर्नै सकिन । डिप्रेसन औषधि खाँदाखाँदै उनलाई विस्तारै हाइपोमेनिया (डिप्रेसनको ठीक विपरित अवस्था) शुरु भएछ । यसरी हाइपोमेनिया भएको वेला उनी एकपटक ‘देउता आयो’ भनेर बकिछन् । कालीको नाम लिएर ‘शक्ति आयो’ भन्दै काम्ने बक्ने गर्न थालिछन् ।

यसरी काम्ने बक्ने क्रम शुरु भएपछि अरुले ‘तिमीलाई त लौ दक्षिणकाली माता चढिन् चोखोनितो गर, नित्य पूजा गर’ भनेछन् । उनी त्यही गर्न थालिछन् ।

उनले आफू वस्ने खाने पूजा गर्ने छुट्छै ठाउँ बनाइछन् । सुत्ने, उठ्ने, नुवाइ धुवाई गर्ने, के खाने के नखाने आफैँ नियम वस्यो । दक्षिणकाली माताको उपासना गर्न थालिन् । यसो गर्न थालेपछि सवैले उनलाई माता भनेर मान्न थाले । अचानक उनले अरुको हात हेर्ने, भविष्यवाणी गर्ने, ग्रह दसा हेर्न थालिन् ।

अनुहार हेरेर, चामल हेरेर ग्रह दशा, सफलता, असफलता भन्न थालिन् । देखाउन आउनेहरुले उनको भनाई जीवनसँग मेल खाएको अनुभव गर्न थाले । यसपछि मानिसहरु उनलाई भेट्न, दर्शन गर्न, भेटी चढाउन र आफ्ना वारेमा कुराहरु सुन्नका लागि लाइन लागेर बस्न थाले ।

त्यसपछि उनी मकहाँ इलाजका लागि आउँदा त अनुहार, मूड, लवाई व्यवहार नै अर्कै थियो । डिप्रेसनले ‘आत्महत्या गर्छु’ भनेर झोक्राएर वस्ने मानिस यसरी एक्कासी बदलिएको देखेर म नै छक्क परेँ ।

उनी फुरुफुरु गर्दै ‘ल डा साव मलाई हतार छ, उहाँ मानिसहरु कुरिरहेका छन्’ भन्थिन । मैले छक्क परेर ‘के भयो ?’ साधेँ । उनले ‘ल, डा साव मलाई खर्च मात्र गर्ने, कमाउन नसक्ने भनेर सवैले हेला गर्थे । अहिले त घरको, केटाकेटीको पढाई खर्च सवै धान्ने नै म हुँ’ भनिन् । ‘अव मेरै कमाइले घरको तला थप्न लागेका छौँ’ भनिन् ।

मैले ‘ल ठीकै छ, औषधि चाहिँ नछोड्न’ भनेँ । ‘अहिले औषधि ठीक्क मिलेको छ, प्रसन्नता आएको छ, औषधि हटाएपछि पहिले जस्तै अवस्थामा पुग्ने भएकाले यही औषधि खाइराखनु’ भनेँ ।

उनी वेलावेलामा फलोअपका लागि आउँथिन । एकपटक त ‘तपाईँकै हात हेर्छु’ भनिन् । मैले हात दिएँ । के के के के भनेर गइन् । यसरी भन्दा मोटामोटी कुराहरु मिल्छन् । ‘तपाईँ मेहनती हुनुहुन्छ, सहयोगी भावनाको हुनुहुन्छ । अरुलाई मायाँ गर्नुहुन्छ । अरुको त्यसै खाउँ भन्ने लाग्दैन, मानिसहरुलाई आदर गर्नुहुन्छ’ यस्तै यस्तै कुराहरु भनिन् । अरु के के भन्न लागेकि थिइन, मैले ‘ल अरु पछि’ भनेर विदा गरेँ ।

अहिले घरमा उनको स्थिति पुरै फरक भएको छ । पहिला सवैले हेला गर्थे भने अहिले सवैले सम्मान गर्छन् । अहिले घरमा सवैभन्दा बढी कमाउने नै उनी भइन् । ‘कति कमाउनु हुन्छ ?’ भनेको ‘महिनामा एक देखि डेढ लाखसम्म हुन्छ’ भनिन् । कहिलेकाहिँ जचाउन आउँछिन, ठीक भइरहेको छ ।

मैले हेर्दा उनलाई हाइपोमेनिया भएको हो । मैले ‘के के गर्नुहुन्छ ?’ भनेर सोधेँ, उनले आफूले घरमा गर्ने नियम बताइन । ‘अहिले त मलाई नै देवी चढेको भनेर पूजा पनि गर्छन् । फलफुल, पैसा चढाउँछन्, भक्तहरु बढ्दैछन ।’

अर्की यस्तै एक माता डिल्लीबजारतिर वस्छिन् । ती माताले शुरुमा २०४२ सालतिर श्रीमानलाई नै लिएर आएकि थिइन । श्रीमान् अलि बढी रक्सी पिउने, मुटुको रोगी, निन्द्रा नपर्ने यस्तै के के समस्या थियो । साधारण मानिस थिए, समस्या सामान्य नै थियो ।

धेरै पछि श्रीमती मकहाँ आएर भनिन् ‘मलाई चिन्नु भयो डा साव ? ठम्याउनुस् त’ भनिन् । रातोपिरो, उज्यालो अनुहार छ । लगाई पनि महंगो छ, सुन गहना त्यस्तै छ । मैले ‘ठम्याउन सकिन’ भनेँ । उनले भनिन् ‘तपाईँ र वि पी डा सावले मलाई वीर अस्पतालमा भर्ना गर्नु भएको थियो, वेलावेला ओपीडिमा देखाउन आउँथेँ’ ।

‘अहिले के गर्नुहुन्छ त ?’ सोधेँ । उनले ‘म त समाजसेवा, धर्ममा लागेकि छु’ भनिन् । ‘मैले कति विरामीहरु डा.सावकहाँ पठाउने गर्छु’ भनिन् । उनले पहिले औषधि खाएको भए पनि अहिले खान छोडेकी रहिछन् । ‘टोलको माता भनेको तपाईँ नै हो ?’ भन्दा ‘हो’ भनिन् ।

पहिला पहिला माता, गुरुहरुकहाँ विरामीहरु गए भने ‘डाक्टरकहाँ नजाऊ, औषधि नखाऊ’ भन्थे । अहिले चाहिँ ‘ल, मैले झारफुक पनि गरिदिएँ डाक्टरकहाँ पनि गयौ भने दवाईले राम्ररी छुन्छ’ भनेर पठाउँछन् ।

कलङ्कीतिरका एक गुरुले धेरै विरामी पठाउँछन् तर म चिन्दिन । त्यहाँ विभिन्न कारणले पीडा भएका मानिसहरु आउँछन् । यस्ता पीडालाई उनले बुझ्छन् र उपचारको आवश्यकता छ भनेर पठाउँछन्, यो सकारात्मक परिवर्तन हो । यसरी उनले जीवनशैली परिवर्तनको कुरा गर्छन र डाक्टरकहाँ पनि पठाउँछन् ।

धेरै अगाडिको कुरा हो । बोडेतिरका एक किसानकी छोरीलाई गम्भिर डिप्रेसन भएको रहेछ । पाटनमा गुभाजुकहाँ लगेछन् । गुभाजुलाई उनी गम्भिर मानसिक रोगको शिकार भएकी छन् भन्ने आभास भएछ । साधारण फुकफाक, परामर्शले ठीक हुँदैन भन्ने पर्‍यो होला । आत्महत्याको खतरा पनि थियो ।

रोगको अवस्था बुझेर गुभाजुले ‘तिम्रो छोरीलाई एकदम नराम्रोसँग विगारेको थियो मैले फुकेर सवै झारिदिएँ, अव एकपटक डाक्टरकहाँ लिएर जाऊ, विगारले कहिलेकाहिँ औषधिले नै काम नगर्ने गराउँछ । विगार नझारी दवाईले काम गर्दैन । अव डाक्टरकहाँ जाऊ औषधिले छुन्छ । डा. विश्वकहाँ जाऊ’ भनेर नामै लेखेर पठाएछन् ।

उनले आफूप्रतिको आस्थालाई पनि मर्न दिएनन् र डाक्टरको आवश्यकता छ भनेपछि उपचार पनि भयो । गुभाजुले नै डाक्टरकहाँ जाऊ भनेकोले औषधि पनि खाने स्थिति भयो । गम्भिर डिप्रेसन थियो, परिवारलाई ‘सकेसम्म उसलाई एक्लै नछोड’ भनेर औषधि लेखिदिएँ । औषधि नियमित खाएपछि उनलाई निको पनि भयो । पछि मैले ‘गुभाजुलाई पनि भेट्न जाऊ, धन्यवाद भन’ भनेँ ।

उपचारको आवश्यकता भएकालाई डाक्टरकहाँ पठाउनु निकै राम्रो भावना हो । प्राकृतिक चिकित्सकहरुले पनि डाक्टरकहाँ पठाउने गर्छन् । म पनि आवश्यकता अनुसार उनीहरुकहाँ विरामी पठाउने गर्छु । उनीहरुले अरु विभिन्न विधिहरु अपनाएर स्वस्थ रहन मद्दत्त गर्छन । खानपिन नियन्त्रण हुन्छ, रहनसहन राम्रो हुन्छ । समग्र शरीरलाई उपचार गर्छन् । यसले फाइदा पनि गर्छ ।

डा.शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट


भर्खर

0