त्यसपछि मैले बुझें, यहाँ नबोल्नेलाई सबैले हेप्दो रै’छ

बालीका फोटोहरु देखेपछि मामूले सोध्नु'भो– यो सब के हो ?

अर्घेलो थापा

मङ्लबार, भदौ ३, २०७६

Reading Time: 17 minutes

त्यसपछि मैले बुझें, यहाँ नबोल्नेलाई सबैले हेप्दो रै’छ

निरन्तर गरिरहेको कामको चापले चेपिएका बेला ‘फ्रेस’ हुन इन्डोनेसियाको ‘बाली’ पुगेकी थिइन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी चाहन्थिन्, जीवनका केही दिन भए पनि आरामले बिताउन पाइयोस् । तर, आराम त परको कुरा, झण्डै डिप्रेसनको शिकार नै हुनुपर्ने ‘अवस्था आइलाग्यो’ ।

बाली काण्डले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई झण्डै डिप्रेशनको बाटोमा डोर्‍याएन । यो घटनाबाट उनले ठूलो पाठ सिकेकी छिन् ।

कहिलेकाहीँ त साम्राज्ञीलाई लाग्न थालेको छ – साँच्ची म त ‘ट्रबल मेकर’ नै हो । उनी साेच्छिन्–  ‘खासमा दोष मेरो हुँदैन तर मैले नै त्यो समस्या सिर्जना गरेजस्तो हुन्छ !’

बालीमा पनि त्यस्तै भएको थियो । ‘कसैले’ साम्राज्ञीका व्यक्तिगत तस्वीर शेयर गरिदिएको थियो । तर, उनैले ती तस्वीर शेयर गरेजस्तो भयो ।
‘अहिले मात्र होइन, स्कूले जीवनमा पनि यस्तै हुन्थ्यो,’ साम्राज्ञी सुनाउँछिन् ।

साम्राज्ञीले जन्मजातै लिएर आएको अस्थमाले अहिले पनि पछ्याइरहेको हुन्छ । एन्जाइटी हुनुहुन्न । भयो भने सास नै रोकिन्छ कि भन्ने भय हुन्छ उनलाई । साम्राज्ञीलाई एक्कासी एन्जाइटी भयो, उनी आफूले सम्झन नचाहने त्यही स्कूले जीवनमा पुगिन् । जहाँ उनको आफ्नै अतीत छ ।

***

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जन्मिँदा नै दमको रोगी भएर जन्मिएकी थिइन् । उनमा जन्मजातै स्वासप्रस्वासमा समस्या आउने रोग ‘अस्थमा’ अर्थात दम देखिएको थियो ।

यही समस्याका कारण उनले बाल्यकालमा साथीहरुसँग धित मरुञ्जेल खेल्न पाइनन् । दौडिन पाइनन् । उफ्रिन पाइनन् । उनको दिमागलाई बढी भार पुग्यो कि, सास फेर्न मुस्किल हुन्थ्यो ।

त्यसैले पनि पूरा परिवार साम्राज्ञीको भविष्यलाई लिएर धेरथोर चिन्तित थियो । यो चिन्ता अहिले परिवारमा छैन । साम्राज्ञीले आफ्नो भविष्य कोरिसकेकी छिन् ।

जन्मजात देखिएको दमको समस्या साम्राज्ञी आठ वर्षको हुँदा एकाएक हरायो । भलै, अहिले पनि उनलाई यो समस्याले बेलाबेलामा गाँज्छ ।

जब उनीमा कुनै कामको लोड पर्छ, त्यही समस्या बल्झिन सक्छ, कहिलेकाहीँ बढी तनाव हुँदा पनि साम्राज्ञीमा दमले च्यापिहाल्छ पर्छ । एन्जाइटी हुँदा साम्राज्ञीले आफूलाई थप कन्ट्रोल गर्नुपर्ने हुन्छ । किनकि, उनमा फेरि यही समस्या देखिने भय हुन्छ ।

***

बाली हुँदा केही त्यस्ता तस्वीर सार्वजनिक भए, जुन तस्वीरले साम्राज्ञीलाई एकाएक विवादमा ल्यायो । साम्राज्ञीका अनुसार कसैले उनको प्रेमीको फेसबूक ह्याक गरेर ती तस्वीर सार्वजनिक गरिदियो ।

तस्वीरमा साम्राज्ञीलाई उनका प्रेमी देवांशले शरीरका विभिन्न भागमा चुम्बन गरेका थिए ।

मिडिया र सामाजिक सञ्जालमा ती तस्वीर एकाएक चर्चाको विषय बनेपछि साम्राज्ञीलाई फ्यानले गाली गर्न थाले । समुद्री किनारमा त्यसरी चुम्बन गरेका तस्वीर सार्वजनिक भएको फ्यानलाई मन परेन ।

धेरैलाई लाग्यो, ती तस्वीर साम्राज्ञीले नै सार्वजनिक गरेकी हुन् ।

‘यो घटना घटेपछि मैले त चार दिनपछि थाहा पाएकी थिएँ, त्यतिबेला छाँगाबाट खसेझैँ भएँ,’ साम्राज्ञीले सुनाइन् ।

साम्राज्ञी बालीको समुद्री तटमा विदा मनाउन गएकी थिइन् ।

समाज यस्तै छ । सानो कुरामा पछि निकै तातो टिप्पणी गर्छ । वास्तविकता के हो भन्ने बुझ्नतिर लाग्दैन । तर साम्राज्ञीलाई एक हिसाबले आफ्नै गल्ती हो कि भन्ने पनि लाग्छ, ‘गल्ती मेरो नै हो, फ्यानको पनि त मप्रति आफ्नै विश्वास छ ।’

उनले आफू तस्वीरकै कारण विवादमा तानिएको शुरुमा आमाबाट थाहा पाएकी थिइन् । आमा (नेहा राज्यलक्ष्मी शाह) को म्यासेजले उनको होश उडाइदिएको थियो । आफ्ना व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा चर्चा र विवादका विषय बनेका थिए ।

आमाले सोधिन्, ‘यो सब के हो?’

साम्राज्ञीले डराउँदै उत्तर दिइन्, ‘मामु, यो मैले गरेको हैन, खै मलाई पनि थाहा छैन ।’

आमाको रिस मरेको थिएन । मरोस् पनि कसरी ? साम्राज्ञीका तस्वीरहरुलाई फ्यानले ‘बाली काण्ड’ बनाइदिइसकेका थिए । जता हेर्‍यो, गाली बर्सिरहेको थियो ।

‘एन्जाइटी’ ले एकसाथ पछिल्लो स्टेपमा पुर्‍याउँछ कि भन्ने डर थियो साम्राज्ञीलाई ।

बालीमै रहेकी साम्राज्ञी तत्कालै आफ्ना प्रेमी देवांश भएको ठाउँ पुगिन् र सोधिन्, ‘यो के हो?’

देवांशले ब्रेकफास्ट गरिरहेका थिए । उनले ती तस्वीर र समाचार देखेपछि आत्तिँदै भने, ‘मलाई केही थाहा छैन, मैले गरेको हैन ।’

साम्राज्ञीले खबरहबसँगको कुराकानीमा सुनाइन्, ‘मैले उसलाई बारम्बार भन्थेँ कि, तिमीले छिमेकीको छोरीलाई गर्लफ्रेण्ड बनाएका होइनौ, म तिम्रो गर्लफ्रेण्ड मात्र होइन, ख्याल गर । ठीक छ, व्यक्तिगत जीवन हो, तस्वीर तिमी क्लिक गर, तर सार्वजनिक नगर ।’

देवांशले पनि व्यक्तिगत विषयलाई लिएर खुबै ख्याल गर्ने साम्राज्ञी सुनाउँछिन् । उनका अनुसार कसैले देवांशको फेसबूकको दुरुपयोग गरिदियो ।

फ्यानका लागि साम्राज्ञीलाई गाली गर्ने कारण बनेको थियो यो घटना । केही फ्यानले त उनलाई अश्लील गालीसमेत गरेका थिए । त्यसो त नेपाली समाजमा सहजै पच्ने खालका तस्वीर पनि थिएनन् ती । त्यसैले त फ्यान साम्राज्ञीमाथि खनिए ।

‘बाहिरतिर त यो सामान्य लाग्छ तर नेपाली समाजमा सहजै पच्दैन,’ साम्राज्ञीले भनिन् ।

बेला यस्तो थियो कि, अब लगत्तै नेपाल फर्केर दुईवटा चलचित्रको प्रमोसनमा पनि हिँड्नु छ उनलाई ।

‘केही दिन त आरामले बिताऔँ न भन्यो, सोचेजस्तो नहुने रहेछ,’ साम्राज्ञीले दुःख पोखिन् ।

मिडियामा कैयन् गसिप बनिरहेका थिए । सामाजिक सञ्जालमार्फत दर्शकले गाली गरिरहेका थिए । अरु त अरु आफ्नै आमाले पनि गुनासो गरिरहेकी थिइन् । सबै साम्राज्ञीमाथि खनिए । यता साम्राज्ञीको तनाव बढ्दै गयो ।

‘सबैले आफ्नो तर्फबाट सोच्नुभयो, तर ममा के बितिरहेको छ भन्ने कसैले बुझ्नुभएन, निकै दुःख लाग्यो,’ उनले भनिन् ।
आखिर कोही किन साम्राज्ञीप्रति यति धेरै खनियो होला ?

साम्राज्ञी भन्छिन् – हामीले नभेटिकन अरुको बारेमा यसै धारणा बनाइदिन्छौँ । दर्शकले मप्रति पनि एक खाले धारणा बनाउनुभएको छ । म वास्तवमा कस्तो छु भन्ने धेरैलाई थाहै छैन ।

आफ्नो डेब्यु चलचित्र ‘ड्रिम्स’ मा साम्राज्ञीले एक शहरीया युवतीको भूमिका निभाएकी थिइन् । उक्त भूमिकामा साम्राज्ञी बोल्ड पनि थिइन् । कतिले त साम्राज्ञीलाई त्यही चलचित्रमा देखेजस्तै बोल्ड र मुडी छिन् भन्ने किसिमले तुलना गरिरहेका हुन्छन् ।

‘म मुडी हैन, छुच्ची चाहिँ छु,’ साम्राज्ञीले स्वभावबारे बताइन् ।

‘पर्दामा जे देख्यो, त्यही अनुसार धारणा बनाउने धेरै हुनुहुन्छ, त्यही भएर कति दर्शकले त मलाई ‘ड्रिम्स’ कै काव्याजस्तो मान्नुहुन्छ,’ साम्राज्ञीले भनिन्, ‘आखिर मान्छेले जे देख्यो, त्यहीअनुसार धारणा बनाउने त हो नि ।’

बाल्यकालमा खुबै सोझी र ज्ञानी स्वभावकी साम्राज्ञी अहिले यस्ती छु भन्दा उनलाई विश्वास लाग्दैन । त्यही सोझोपनले उनलाई अहिले बोल्ड बनाएको छ । कहिलेकाहीँ त उनलाई अचम्मै लाग्छ, ‘पहिले कस्ती थिएँ, अहिले कस्ती भएँ ।’

उनले बुझेकी छिन्, ‘यहाँ सोझो भयो भने झन् हेप्दा रहेछन्, बोल्नुपर्दो रहेछ ।’

समयले उनलाई तर्क गर्न सिकाएको छ । कहिलेकाहीँ उनलाई हजुरआमाले भन्छिन् – सानोमा त्यस्ती सोझी थिइस्, अरुसँग कसरी बोल्लिस् भन्ने चिन्ता लाग्थ्यो, अहिले मिडियामा बोलेको देखेर अचम्म लाग्छ ।

आमा नेहा पनि चकित हुन्छिन् । तर साम्राज्ञीलाई सधै हौसला दिने उनै आमा हुन् । ‘चलचित्र क्षेत्रमा काम गर्छु भन्दा ड्याडीले मान्नुभएको थिएन,’ साम्राज्ञीले सुनाइन् ।

तर उनलाई सानोमा नायिका हुन्छु भन्ने नै थिएन । त्यसो त उनीसँग कुनै सपना नै थिएन ।

स्कुले जीवनमा साम्राज्ञी

‘सानोमा मलाई एउटा प्रश्न कसैले नसोधे हुन्थ्यो भन्ने थियो, के थाहा छ? भविष्यमा के बन्छौ भनेर कसैले नसोधोस् भन्ने लाग्थ्यो,’ उनले खिस्स हाँस्दै सुनाइन्, ‘त्यतिबेला म के बन्ने भन्ने नै थाहा थिएन, अरु साथीहरुले त भोलि यस्तो बन्छु भनेर सुनाउँथे नि बरु ।’

उनलाई मात्र होइन, परिवारलाई पनि साम्राज्ञी भोलि के गरेर ज्यान पाल्ली भन्ने भय थियो । कतिपटक त उनको बिहे गरिदिने कुरा पनि चलेको हो ।

जब बिहेको कुरा चल्थ्यो उनको सातो उड्थ्यो ।

‘म सानी थिएँ नि त । अहिले पनि त बल्ल २३ वर्ष त पुगेँ,’ साम्राज्ञीले सुनाइन् ।

उनी अहिले नेपालकी चर्चित अभिनेत्री बनेकी छिन् । लाखौँ फ्यान कमाएकी छिन् । अहिले उनलाई मन पराउनेको कमी छैन । उनका ‘डाइ हार्ट फ्यान’ पनि उत्तिकै छन् ।

‘मलाई सानैदेखि केटाहरुले मन पराउँथे नि त,’ साम्राज्ञी हाँसिन् ।

उनलाई केटाहरुले मन पराउनु भनेको उनका लागि ‘टर्चर’ को पर्याय थियो । जस्तो टर्चर साम्राज्ञीलाई बाली घटनाले दियो । बाली काण्डले ‘एन्जाइटी’ हुँदा उनले त्यही स्कूलका कुराहरु झल्झली सम्झिन् ।

***

नेपालमा नाम चलेको स्कूल थियो, राई स्कूल अफ इन्डिया । त्यही स्कूलमा साम्राज्ञीलाई होस्टेल भर्ना गरिदिए परिवारले । ६ कक्षासम्म भारतको साइ स्कूलमा पढेपछि उनी नेपाल आएकी थिइन् । वीरगञ्ज पढ्दा नेपाली बोल्न समस्या भएपछि उनी काठमाडौं आउनुपरेको थियो ।

‘सानैदेखि भारतीय साथीहरु घुलमिल भयो, मैले त नेपाली बोल्नै भुलेछु,’ उनले थपिन् ।

भारतमा हुँदा पनि होस्टेल बस्नुपरेपछि साम्राज्ञीलाई होस्टेल बसेर पुगेको थियो । उनले आमालाई पनि अनुरोध गरेकी थिइन्, ‘मामू मलाई होस्टेल नराखिदिनुस्, म वाक्क भइसकेँ ।’

तर परिवारले साम्राज्ञीको भविष्य खोजी गर्दै होस्टेल भर्ना गरिदिए । उनले अब काठमाडौंमा स्कूलकै होस्टेलमा बसेर पढ्नुपर्ने भयो ।

‘एउटा कुरा भनम् ? अरुले मेरो स्कूल लाइफ क्या रमाइलो थ्यो भन्छन् नि, तर मेरो सबैभन्दा झुर थियो,’ उनले स्कूले किस्सा सुनाउन थालिन् ।
त्यस्तो के भएको थियो त अहिले पनि समस्यामा पर्दा त्यही घटनामा पुगेर झन् तनाव थपिने गरी ?

आफ्नी भाइ र आमासँग साम्राज्ञी । तस्वीर सौजन्य: साम्राज्ञी

‘पहिलो कुरा त म पहिले गल्र्स होस्टेलमा बसेर पढिरहेकी थिएँ, पहिलोपटक स्कूलमा केटाहरु पनि भएको देख्दा पचेन, कसैले आइ लभ यु भन्दा पनि मलाई गाली गरेजस्तो बिझाउँथ्यो,’ साम्राज्ञी आफ्नै स्टाइलमा बाल्यकाल सुनाउँछिन्, ‘त्यतिबेला म भाग्थेँ के, कस्तो असहज लाग्थ्यो मलाई ।’

स्कूल भर्ना भएको दिनदेखि नै केटाहरुले उनलाई जिस्काउन थाले । उनको उमेर नै कति भएको थियो र, बच्चा त थिइन् । स्कूल पढ्ने सोझी फुच्ची ।

तर, निकै राम्री ।

‘हाम्रो स्कूलमा के थियो भने सिनियर केटाहरुले जुनियर केटाहरुलाई कन्ट्रोलमा राखेको थियो, सिनियर केटाहरुका सामुन्ने जुनियर केटाहरुले केही गर्न सक्दैनथे,’ साम्राज्ञीले सुनाइन्, ‘म उनीहरुले भनेको नमान्ने, निकै सोझी थिएँ, अनि मलाई केटाहरुले मन पनि पराउन थाल्यो, रिजेक्ट गरेपछि मलाई बुलिङ गर्न थाल्यो ।’

साम्राज्ञीलाई केटाहरुले थर्काउने, हेप्ने, तारो बनाउन थाले । उनी एक्ली थिइन् । होस्टेलमा सानो कक्षादेखि ठूलो कक्षासम्मको एउटै समूहजस्तै थियो । सिनियरले जुनियरलाई आफ्नो नेतृत्वमा राखेका थिए ।

साम्राज्ञीलाई सबैले मन पराउँथे । इग्नोर गरेपछि उनलाई ‘बुलिङ’ गर्थे ।

‘स्कूलमा हुँदो रहेछ नि, ठूलोहरु मिलेर सानोलाई पनि कन्ट्रोलमा राख्नेहरु, हो त्यहाँ त्यस्तै थियो, मलाई एउटा सिनियरले मन पराउँथ्यो, त्यही भएर टर्चर दियो,’ साम्राज्ञीको अनुहारको भाव बदलियो यतिबेला ।

साम्राज्ञीलाई मन पराउने केटाहरुको कमी थिएन । फेरि साम्राज्ञी अहिलेजस्तो जवाफ दिन सक्ने केटी पनि थिइनन् त्यतिबेला । साह्रै सोझी ।

कसैले केही भन्यो भने पनि प्रतिक्रिया दिनै नसक्ने ।

केटा साथीहरु त हुने कुरै थिएन, केटी साथीहरु पनि थिएनन् उनका । उनलाई साह्रै नरमाइलो लाग्थ्यो । सधै टर्चर हुन्थ्यो ‘अहिले समस्यामा अल्झिँदा त्यतिकै म त्यहाँ पुग्दिन नि, कति कष्टकर थियो होला त्यो बेला, सोच्नुस् त,’ आफ्नो अगाडि भएको कोकाकोला घुटुक्क पारिन् ।

‘एकपटक त के सम्म भयो भने मलाई त्यो केटाहरुले इट्टाले हान्यो, त्यो बेलामा मैले कोसँग कम्प्लेन गर्ने? मसँग अप्सन नै थिएन नि,’ उनले भनिन् ।

साम्राज्ञीको ‘इग्नोर’ पछि उनलाई बुलिङ गर्ने ‘बुली’ केटाहरुले खाजा खाने बेला बल खेलेजस्तो गर्दै साम्राज्ञीलाई हान्दै गर्न थाले । उनलाई हान्न खोज्दा साना बच्चाहरुलाई बल लागेपछि शिक्षकले बल खेल्न नपाइने नियम ल्याइदिए ।

तर, समस्या सल्टिनुको साटो झन् बढ्यो । केटाहरुले अब बलको साटो इट्टा हान्न थाले ।

‘हैन होला, यो त अत्ति भयो, मलाई इट्टाले पनि हान्लान् र? डरले गर्दा मेरो दिमागमा यस्तो सोच आएको होला भन्ने लागिरहेको थियो,’ साम्राज्ञीले भनिन् ।

तर, त्यो डरले निम्तिएको कल्पना नभएर वास्तविक थियो । अर्को दिन खाजा खाने समयमा साम्राज्ञीलाई इट्टाले खुट्टामा लाग्यो । उनी त्यहीँ ग्वाँ ग्वाँ रोइन् । र दगुर्दै होस्टेलको आफ्नो कोठातिर गइन् । खाजा खाने घण्टी बज्यो । सबै कक्षातिर दगुरे ।

इट्टाले त्यसरी लाग्दा उनले खाजा खाइरहेकी थिइन् । अब उनलाई खाजा खान जाँदा पनि डर भयो । त्यहाँ समस्या सुनाउनलाई उनका कोही साथी थिएनन् ।

तर, समस्या सल्टिनुको साटो झन् बढ्यो । केटाहरुले अब बलको साटो इट्टा हान्न थाले ।

‘मैले यो कुरा मामूलाई पनि सुनाउन सक्दिनथेँ, किनकि होस्टेल नराख्दिनू भन्दाभन्दै जबरजस्ती होस्टेल राखिदिनुभएको थियो,’ साम्राज्ञीले सुनाइन्, ‘त्यतिबेला केही स्वार्थी केटीहरुले मलाई साथी बनाएका थिए, उनीहरु पनि आफ्नो स्वार्थ पूरा भएपछि छोड्थे, मलाई केटाहरुले मन पराउँथ्यो नि त, म साम्राज्ञी मिलाइदिन्छु भन्दै आफू नजिक हुने गर्दोरहेछ केटीहरु, कतिले त म मिलाइदिन्छु भनेर पैसा पनि माग्दो रहेछ ।’

कति साथीहरुले त आफ्ना नाममा आफूले माग्ने गरेको पनि उनले सम्झिन् ।

बच्चैदेखि उनको स्वभाव थियो कि, धेरै साथी नबनाउने । बरु साथी नहोस् तर भएपछि विश्वास गर्न सकिने साथी होस् भन्ने उनलाई लाग्थ्यो ।
‘पछिपछि त यस्तो अवस्था आयो, जब सबैजना खाजा खाएर निस्किन्थ्यो, त्यसपछि म खाजा खान जान्थेँ, कहिले खाजा सकिन्थ्यो, कहिले कक्षामा जाने घण्टी बजिसक्थ्यो,’ उनले स्कूले जीवन सम्झिन् ।

उनलाई पछि त साथी बनाउन पनि डर लाग्न थाल्यो । धेरैपछि उनले एउटा मिल्ने साथी बनाइन् । उनी अहिले पनि साम्राज्ञीकी बेस्ट फ्रेण्ड छिन्, प्रनिका ।

आफ्नो भाइसँग साम्राज्ञी । तस्वीर सौजन्य: साम्राज्ञी राज्यलक्ष्मी शाह ।

तर, स्कूलमा प्रनिका पनि आफ्नै स्वभावकी थिइन् । साम्राज्ञीको कोही साथी समूह थिएन । बेस्ट फ्रेण्ड भने पनि तिनै प्रनिका थिइन्, आफ्नो लाग्ने कोही थिइन् भने तिनै प्रनिका थिइन् ।

साम्राज्ञी आफ्नो कोठामा एक्लै हुन्थिन् । रिस उठ्यो कि, चित्र बनाएर आफ्नो रिस पोख्थिन् । उनी सोझोपनको हद थिइन् । नमूना थिइन् ।

उनलाई पढ्न पनि मन लाग्दैनथ्यो । प्रनिका आफ्ना साथीहरुबाट एकछिन छुटेर साम्राज्ञीको कोठामा आउँथिन् । सोध्थिन्, ‘ओइ, के गर्दैछन्, इक्जाम आउन लाग्यो पढिस्?’

‘अँ पढ्छु,’ साम्राज्ञी भन्थिन् ।

साम्राज्ञीलाई हौसला दिने, पढाइमा साथ दिने उनी प्रनिका थिइन् । साम्राज्ञी पढ्न थाल्थिन् । प्रनिका फेरि आफ्नो साथी समूहमा जान्थिन् ।
‘उसले मलाई सम्झाउँथी, के के भन्थी, त्यसपछि फेरि ऊ आफ्नो ग्रुपमा जान्थी, म फेरि एक्ली हुन्थेँ,’ साम्राज्ञीले सुनाइन् ।

एकछिन रोकिएर साम्राज्ञीले फेरि भनिन्, ‘स्कूल लाइफ पूरै खत्तम थियो के, खत्तमै थियो ।’

एउटा केटा थियो उनलाई धेरै टर्चर गर्ने । स्कूलको सानोतिनो नाइके । जसका कारण साम्राज्ञीले आत्महत्या प्रयास समेत गरेको सुनाइन् ।
यो समय साम्राज्ञीले ९ र १० कक्षामा पढ्दाको हो ।

साम्राज्ञीले हरेक दिन कापी किन्नुपर्ने अवस्था थियो । जबकि, त्यहाँ कापीका लागि पनि पहिले नै सीमित बजेट छुट्याइएको थियो ।

कक्षा छोडेर खाजा खान जाँदा सबैले आफ्नो किताब कापी डेस्कमै छोडेर जाने नियम थियो । खाजा खाएर आउँदासम्म साम्राज्ञीको कापीमा फरक–फरक पोजिसनमा सेक्स गरेका चित्रहरु बनाइदिएको हुन्थ्यो कसैले ।

तेस्रो दिनसम्म आइपुग्दा कापीमा मात्र होइन, किताबमै यस्ता अश्लील तस्वीर बनाइन थाल्यो ।

‘पहिले दिन त मैले यसै इग्नोर गरेँ, तर किताबमै पुगेपछि क्लास टिजरलाई सुनाएँ, तर केही फाइदा भएन,’ साम्राज्ञीले खबरहबसँग भनिन् ।
त्यतिबेला कक्षा शिक्षकले यत्ति चाहिँ भनेका थिए, ‘यो सिरियस विषय हो, म कुरा गर्छु ।’

हुन चाहिँ केही भएन ।

सानी साम्राज्ञी । तस्वीर सौजन्य: साम्राज्ञी ।

‘मेरो कोही साथी छैन, कसलाई भनम्, भनम् भने पनि कसले बुझ्दैन,’ साम्राज्ञीलाई अतीत बिझायो ।

शायद साम्राज्ञी अहिलेजस्तो भएको भए पक्कै उनले यी कुराहरु भन्थिन् । आफ्ना लागि बोल्थिन् । किनकि, अहिले उनले बुझेकी छिन्, ‘यहाँ बोलेन भने सबैले हेप्दो रहेछ ।’

स्कूलमा अचाक्ली टर्चर भएपछि उनको दिमागमा दोस्रो सोच पनि नआएको होइन । आत्महत्या गर्ने सोच ।

उनलाई स्कूलको घटनाले निकै अत्ताएको थियो । सिनियरहरुको व्यवहारले उत्तिकै टर्चर गरेको थियो । जति पनि साथीहरु बन्न आएका थिए, उनीहरु ‘स्वार्थ’ पूरा भएपछि अर्कैतिर लाग्थे ।

‘त्यो बेला मैले ब्लेडले हात काट्न ब्लेड खोजेँ तर पाइनँ, मसँग त्यतिबेला किन ब्लेड होस्, सिजर पनि थिएन,’ साम्राज्ञीले त्यो पीडादायी समय सम्झँदै सुनाइन्, ‘सिनियर दिदीकोमा गएर ब्लेड मागेँ, उहाँले किन चाहियो भन्दै हप्काउनुभयो, छैन भन्नुभयो ।’

त्यसपछि उनको दिमागमा एउटा आइडिया फुर्‍यो, कम्पासले हात काट्ने । तर, त्यो प्रयास पनि पूरा हुन सकेन । साम्राज्ञीलाई रिस उठ्दा आफ्नो कम्पासले डेस्कमा चित्र बनाउँथिन् । चित्र बनाउँदा बनाउँदै कम्पासको तिखो भाग खिइसकेको थियो ।
त्यो उपायले पनि काम गरेन ।

‘अरे यार बाँच्दा पनि सुख छैन, मर्न पनि सुखले पाउँदिन,’ यतिबेला उनी भारी हाँसो हाँसिन् ।

र, त्यही दिन उनले अठोट गरिन्, ‘अब म कमजोर बन्दिन, बलियो बन्छु ।’

त्यही थियो साम्राज्ञीको जीवनको एउटा टर्निङ प्वाइन्ट ।

‘एउटा कुरा त मैले सुनाउनै छुटाएँ,’ साम्राज्ञीले अर्को किस्सा कुराका सिलसिलामा जोडिन्, ‘त्यसपछि म रिकभर हुँदै थिएँ ।’
उनी रिकभर हुँदै थिइन् । तर, फेरि एउटा डरले उनको पिछा छोडेन ।

स्कूलको नियम के थियो भने परीक्षाको बेला सिनियर र जुनियरलाई एकै ठाउँ राख्ने गरिन्थ्यो । संयोगवश टर्चर गरिरहने केटा साम्राज्ञीकै छेउमा पर्‍यो ।

साम्राज्ञीको फेरि तनावको सुई उकालो लाग्यो । उनलाई लाग्यो, अब यो केटाले के गर्ने होला? परीक्षाभन्दा पनि डर त त्यही केटाको पो लाग्न थाल्यो उनलाई ।

आश्चर्यको स्वरमा उनले भनिन्, ‘भोलिपल्ट जान्छु त मलाई लभ लेटर पो दिइरहेको छ, अरे यार, आफूलाई माया गर्ने मान्छेलाई कसैले मर्नेसम्मको अवस्थामा पुर्‍याउँछ? त्यसरी बुली गर्छ?’

हामीले थपिदियौँ, ‘मन पराएर होला कि ?’

स्कूलका साथीहरूसँग साम्राज्ञी । तस्वीर सौजन्य: साम्राज्ञी ।

‘अरुलाई हेप्न लगाएर कसैले माया पाउन खोज्छ भने त्यो माया हैन, पागलपन हो,’ उनले भनिन् ।

***

अहिले बाली घटनाले त्यही अतीतमा पुर्‍याएको छ, जुन समय साम्राज्ञीले भुल्न चाहेर पनि भुल्न सकिरहेकी छैनिन् ।

‘ती तस्वीरहरु पनि मैले शेयर गरेकी थिइन् तर बाहिर यसरी हल्ला फैलाइयो कि, दुनियाँलाई ला हेर् भनेर मैले नै तस्वीर शेयर गरेजस्तो भयो,’ साम्राज्ञीले गुनासो पोखिन् ।

उनका अनुसार त्यो एउटा दुर्घटना नै थियो । साम्राज्ञीका लागि त झन् यो एउटा अकल्पनीय घटना थियो ।

‘मेरो त सातोपुत्लो नै उड्यो, त्यो एउटा प्राइभेट एकाउन्ट थियो, कसरी बाहिर आयो भन्ने नै थाहा भएन,’ उनले सुनाइन् ।

उनको यो तनाव मत्थर भएको थिएन । शुरुमा गाली गरे पनि आमाले बुझेकी थिइन् । तर अरुलाई उनले बुझाउनै सकिरहेकी थिइनन् ।

‘म डिप्रेसनमा जानै लागेकी थिएँ, त्यो बेला प्रनिकाले सम्झाई’ साम्राज्ञीले प्रनिकाको बोली बोल्दै भनिन् ‘तँलाई नै किन जहिले पनि टार्गेट बनाइरहेको हुन्छ? यसलाई सकारात्मक रुपमा ले न ।’

त्यसपछि साम्राज्ञीले राहत महसुस गरिन् ।

‘मलाई कसैले पोजेटिभ बनाउन सकेको थिएन, उसले बनाई, स्कूलमा पनि उही त थिई साथी,’ साम्राज्ञीले प्रनिकाको तारिफ गर्न छुटाइनन् ।

प्रनिकाले जस्तै उनलाई प्रेमी देवांशले पनि साथ दिएका छन् । कहिलेकाहीँ साम्राज्ञीलाई कामको थकान र तनावका बेला स्वासप‍्रस्वासमा समस्या आउँछ । त्यो बेला उनलाई कसैको साथ चाहिन्छ ।

परिवार र प्रनिका मात्र होइनन् । देवांशले पनि उनलाई उत्तिकै साथ दिइरहेका छन् ।

‘एकपटक त चितवनबाट फर्किँदा यही समस्या देखिएर झण्डै मरेको नि म, त्यतिबेला आधा रातमा हस्पिटल पुर्‍याएर देवांशले त बचाएको थियो,’ उनले सुनाइन् ।

बाँकी तस्वीरहरू: गणेश बस्याल

भर्खर

0