नाकाबन्दीकाबीच विलाशी गाडी कसरी पुगे उत्तर कोरिया ? | Khabarhub Khabarhub

नाकाबन्दीकाबीच विलाशी गाडी कसरी पुगे उत्तर कोरिया ?


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०१८ जुन १४ मा डच बन्दरगाह रोटर्डामबाट बाहिरी सुरक्षा कभर सहितका दुई मर्सिडिज मेब्याच एस ६०० गाडीलाई पठाइयो ।

अमेरिकी राजधानी वाशिंटन डीसीमा रहेको सेन्टर फर एड्भान्सड डिफेन्स स्टडिज (सीफोरएडएस) का अनुसार ती दुई आलिशान गाडीले हजारौं माइलको यात्रापश्चात ६ मुलुक पार गरे ।

चीन, जापान, दक्षिण कोरिया र रुसमा रोकिँदै उत्तर कोरिया पुगेका थिए । हरेकको ५ लाख अमेरिकी डलर पर्ने ती कार अन्तिम गन्तव्यका रुपमा उत्तर कोरियाली राजधानी प्योङ्याङ पु¥याएको विश्वास गरिन्छ । उत्तर कोरियामा यस्तो गाडी प्रयोग गर्ने उपभोक्ता एकजनामात्र हुनसक्छन् । ती हुन्– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन ।

सीफोरएडएसको अनुसन्धानमूलक प्रतिवेदनमा ती कारको उद्गम र यात्राको खुलासा गरिएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका आणविक कार्यक्रमविरुद्ध नाकाबन्दी लगाउने क्रममा त्यहाँ कुनै पनि कम्पनी वा व्यक्तिलाई आलिशान सामानको विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

तैपनि सीफोरएडएसले जनाएअनुसार सन् २०१५ देखि सन् २०१७ सम्म उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय नाकाबन्दीको उल्लङ्घन गर्दै बढीमा ९० मुलुकबाट १९ करोड अमेरिकी डलरभन्दा धेरैका यस्ता आलिशान सामानको आयात गरेको छ । तैपनि आलिशान सामानको अस्पष्ट परिभाषा र उत्तर कोरियाले गोप्य तथा फरक किसिमबाट यस्ता सामानको आयात गर्ने गरेकाले यसको यकिन तथ्याङ्क बताउन भने मुश्कील रहेको बताइन्छ ।

यद्यपि यी कार आलिशान सामानको सूचीमा पर्छन् भन्ने चाहीँ स्पष्ट छ । यी कारमा मसाज गर्नका लागि छालाको विशेष सिट बनाइएको छ भने नजिकैबाट गोली हान्दा वा विष्फोटक पदार्थ प्रहार गर्दा पनि भित्र बसेको मानिसलाई केही नहुने गरी सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ ।

उत्तरका शासक किम प्रायः १० लाख अमेरिकी डलर मूल्य पर्ने उच्च सुरक्षा कभरसहितको मर्सिडिज–मेबाच पुलमान गार्ड गाडी चढ्ने गरेको विश्वास गरिन्छ । गत वर्ष दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँगको शिखर वार्ताका क्रममा पनि उनले चढेको यही गाडीको आसपास उनका सुरक्षा गार्ड दौडिएको विषय चर्चामा आएको थियो ।

अघिल्लो वर्ष उनी रोल्स रोयस गाडीसँगै देखिएका थिए ।

मर्सिडिज गाडीको मालिक कम्पनी डायम्लरले भने आफ्ना सवारी उत्तर कोरिया पुगेकोबारे ‘ती गाडी कहाँबाट आए र त्यहाँ कसरी पु¥याइए’ भन्नेबारे केही थाहा नपाएको जनाएको छ ।

‘उत्तर कोरियासँग १५ वर्षदेखि हाम्रो कम्पनीको कुनै व्यापार छैन । हामीले अमेरिका र युरोपेली युनियनले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दीको पालना गरिरहेका छौं । उत्तर कोरिया वा विश्वभर रहेका उत्तर कोरियाली दूतावासमा गाढीको आपूर्ती नहोस् भन्नाका लागि डायम्लरले विस्तृत निर्यात नियन्त्रण प्रक्रिया अबलम्बन गरेको छ, यो प्रक्रिया यस्तै किसिमका आपूर्ती नियन्त्रण गर्न सक्षम छ भन्ने हामीलाई लाग्छ’ कम्पनीले जनाएको छ ।

‘खासगरी प्रयोग भइसकेको गाडी तेश्रो पक्षमार्फत् विक्री हुनु हाम्रो नियन्त्रण जिम्मेवारी बाहिरको कुरा हो । हामी मिडियामा देखाइएका हरेक गाडीका फोटोलाई हामी अनुसन्धान गर्छौं । यद्यपि सवारीको आइडेन्टीफिकेशन नम्बर नभएको अवस्थामा हामीले ठोस आधार थाहा पाउन असम्भव हुन्छ ।’

उत्तर कोरियाले किमका कारजस्ता आलिशान सामान पाउनका लागि जटिल र परिवर्तनशील योजना बनाउने गरेको सीफोरएडएसको प्रतिवेदनको निष्कर्ष छ । उक्त प्रतिवेदनमा उत्तर कोरियाले सन् २०१५ देखि २०१७ सम्म ८०३ आलिशान गाडी आयात गरेको थियो । अधिकांश यस्ता गाडीहरु भने रुसी कम्पनीका थिए ।

‘नाकाबन्दीको परम्परागत शैलीमा कार्यान्वयनलाई भंग गर्ने सफल तरिकालाई उनीहरुले निरन्तरता दिइमात्र रहेका छैनन्, हामीले उनीहरुको गतिविधि कसरी अनुगमन गरिरहेका छौं भन्ने पनि उनीहरु हेरिरहेका छन् र नाकाबन्दीबाट बच्न थप परिष्कृत तरिकाहरुलाई निरन्तरता दिइरहेका छन् ।’ सीफोरएडएसको प्रतिवेदनका सहलेखक ज्यासन अर्टेरबर्नले भने ।

प्रतिवेदनका अर्का सहलेखक लुकास कुओका अनुसार अनुसन्धान ‘अन्तार्राष्ट्रिय प्रणालीमा भएका कस्ता अपूर्णताका कारण यस्ता किसिमका गतिविधीले निरन्तरता पाइरहेका छन्’ भन्ने विषयमा केन्द्रित थियो ।

८ महिना लामो अनुसन्धान

कुओका अनुसार उनी र अरु सहलेखकका लागि किम जोङ उनले मर्सिडिज बेन्ज गाडी कसरी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान गर्न ८ महिना लागेको थियो । उनीहरुले भन्सार श्रोत, पानीजहाजको तथ्याङ्क, पानीजहाजमा सामान लादिएको बिलबिजक र अन्य सार्वजनिक दस्तावेजका आधारमा रोटर्डामबाट प्योङ्याङसम्म ती गाडीहरु कसरी पुगे भन्नेबारे अनुसन्धान गरेका थिए ।

‘हामीले राम्रैसँग मर्सिडिज गाडीहरु उत्तर कोरिया पुगेको विषय उठान गर्यौं भन्ने लाग्छ ।’ उनले भने ।

कुओ र उनका सहलेखकहरुले ती दुई मर्सिडिज गाडी रोटर्डामबाट चीनको डालियानतर्फ लागेको र त्यसपछि जापानको ओसाका र दक्षिण कोरियाको बुसान पुगेको निष्कर्ष निकालेका छन् । त्यसपछि दक्षिण कोरियाबाट डीएन ५५०५ नामक पानीजहाजमा ती गाडीहरु पठाइएको देखिएको थियो ।

त्यसपछि ती गाडीको यात्रले अर्को मोड लिन्छ । समुद्रमा पानीजहाजको स्थानको अनुगमन गर्ने एआईएस प्रणालीका अनुसार डीएन ५५०५ पानीजहाज अक्टोबर ५ मा रुसको नाखधोद्का बन्दरगाह पुग्नुपर्ने थियो ।

तर, पानीजहाजको एआईएस डाटा अक्टोबर १ देखि १९ सम्म बन्द रह्यो । समुद्रमा नाकाबन्दीबाट बच्नका लागि एआईएस डाटा बन्द गरिँदै आएको जानकारहरु बताउँछन् ।

जब डीएन ५५०५ पानीजहाजले एआईएस डेटा पुनः अन गर्‍यो, त्यसबेला त्यस पानीजहाज जहाँबाट हराएको थियो, त्यहाँ नजिकै थियो । तर, यात्रा भने ठिक विपरीत बुशान शहरतर्फको । नोभेम्बर २ मा पानीजहाजले नाखधोद्का बन्दरगाहमा कोइला पुर्‍याएको भनी बुशानको बन्दरगाहमा दर्ता गर्यो । तर, नाखधोद्का बन्दरगाहमा भने उक्त पानीजहाजबारे कुनै विवरण उपलब्ध थिएन ।

डीएन ५५०५ पानीजहाज अवतरण हुनेबेला अक्टोबर ७ मा रुसको भ्लादिभोस्तोक शहरमा उत्तर कोरियाली राजधानी प्योङयाङबाट उत्तर कोरियाली हवाई सेवा प्रदायकका दुई इल्यूशिन आईएल ७६ कार्गो विमान अवतरण गरिए । यी कार्गो विमानमा उत्तर कोरियाली अधिकारीले प्रयोग गर्ने सुरक्षा कभर सहितका गाडीहरु लैजाने गरिएको बताइने गरेको छ । यी विमानहरु भ्लादिभोस्तोक शहरमा दुर्लभ रुपमा मात्र देखिने गरेका छन् ।

बिना पूर्वयोजना अवतरण भएका यी विमानबारे जानकारी माग्दा भ्लादिभोस्तोकमा रहेको उत्तर कोरियाली वाणिज्य दूतावासले टिप्पणी गर्न अस्वीकार गरेको सीफोरएडएसको प्रतिवेदनमा उल्लेख छ ।

‘हामीले यी कार्गो विमान र डीएन ५५०५ पानीजहाजको आगमनको सम्बन्ध प्रमाण फेला पार्न नसकेपनि यी भारी मात्रामा कार्गो बोक्न सक्ने विमानले किम जोङ उनका गाडीहरु यताउती लैजान भूमिका खेल्दै आएका कारण यी विमानमा मर्सिडिज गाडीहरु लादिएको हुनसक्ने देखिन्छ ।’ प्रतिवेदनमा उल्लेख छ ।

दोहोरो प्रयोग

यस्ता आलिशान सामान नियन्त्रण गर्दा उत्तर कोरियालाई कोइला निर्यातमा जस्तो असर नपरेपनि यी कारहरु उत्तर कोरिया पु¥याउन सहयोग गर्नेको पहिचान हुँदा नाकाबन्दीका छिद्रहरु बन्द गर्न सजिलो हुने उत्तर कोरियाविरुद्ध लगाइएको नाकाबन्दीबारे अनुगमन गरिरहेका उत्तर कोरियासम्बन्धी संयुक्त राष्ट्रसंघको विशेषज्ञ प्यानलका पूर्व सदस्य जर्ज लोपेजले बताए ।

कसरी यस्ता आलिशान सामानहरुको तस्करी भइरहेको छ भन्ने थााह भएमा उत्तर कोरियाले सैनिक वा आणविक सम्बन्धी उपकरण कसरी प्राप्त गर्छ भन्नेबारे थप जानकारी प्राप्त गर्न सकिने सीफोरएडएसको दाबी छ ।

‘उत्तर कोरियाले यस्ता आलिशान सामान अन्य सामानको तस्करी गर्ने सञ्जालकै माध्यमबाट प्राप्त गर्ने गरेको छ । फलस्वरुप यसको पहिचान किमका अन्य गतिविधीविरुद्ध पनि प्रयोग गर्न सकिन्छ ।’ प्रतिवेदनमा जनाइएको छ ।

‘यस्ता सामान र उत्तर कोरियाको हतियार कार्यक्रमबीच समानता छ, ती सामानहरु सहजै उपलब्ध हुँदैनन्, विशिष्टकृत शैलीबाट उत्पादिन हुन्छन् र आर्थिक रुपमा पनि मूल्यवान् हुन्छन् । यी सामानहरु किम जोङ उनको सत्ताका लागि ठूलो साङ्केतिक महत्व राख्छन् ।’

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ९ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन