बुद्धभूमि चिनाउन छोकीको साहसिक सगरमाथा आरोहण

विश्वलाई आफूभन्दा तल देख्दाको क्षण

एकराज बास्तोला

शनिबार, साउन ४, २०७६

Reading Time: 7 minutes

बुद्धभूमि चिनाउन छोकीको साहसिक सगरमाथा आरोहण

काठमाडौं- विदेशी भूमिमा कोही विदेशीसँग भेट हुँदा नेपाललाई कसरी चिनाइन्छ ? अवश्यपनि, हरेक नेपालीले ‘गौतम बुद्ध’ र ‘सगरमाथा’को देशका रुपमा विदेशीलाई नेपाल चिनाउँछन् । ‘हामी शान्तिका दूत बुद्धको भूमिका निवासी हौं । हाम्रो भूमिमा गौतम बुद्धले जन्म लिएका थिए ।’ एक वाक्यमा हामी यसरी हाम्रो पहिचान दिन्छौं । यी सरल शब्दहरुले नेपाली जनता र राष्ट्रका रुपमा नेपालको पहिचान झल्काउँछ । अहिंसा, शान्ति र सामूहिक सहकार्य हाम्रो विशेषता हो ।

दक्षिण कोरियामा निग्मा च्योकी शेर्पा अर्थात् छोकी शेर्पा काममा व्यस्त रहँदै आएकी थिइन् । उनको हरेक दिन वा सातामा ताइवानी, भियतनामी, फिलिपिनो र अरु विदेशी साथीहरुसँग भेट भइरहन्थ्यो । ‘तिमी कहाँबाट आएकी हौ ?’ भनेर साथीहरुले सोध्थे । उनी प्रतिप्रश्न गर्थिन् ‘तिमीहरुलाई सगरमाथाबारे थाहा छ ? गौतम बुद्धबारे थाहा छ ?’ धेरैले आश्चर्यजनक रुपमा ‘छैन’ भनेर नकारात्मक जवाफ फर्काउँथे । केहीले भने ‘थाहा छ’ भन्थे ।

‘बुद्ध कहाँ जन्मेका थिए ?’ उनको प्रश्नमा धेरैले अनकनाएर भारत ‘इण्डो’ अर्थात् भारत भन्थे । यस्ता जवाफ सुन्दा दिक्क भएकी उनी अब यस्तो जवाफ सुन्नु नपरोस् भन्ने कामना गर्थिन् । यही क्रममा ५ वर्षको दक्षिण कोरिया बसाइपछि उनी सन् २०१७ को फेब्रुअरी महिनामा नेपाल आइन् । अब उनले सारा संसारलाई गौतम बुद्धको जन्म नेपालमा भएको थियो भन्ने सुनाउनका लागि सगरमाथा आरोहण गर्ने निर्णय गरिन् ।

उनीसँग पर्वतारोहणको कुनै अनुभव नभएका कारण सगरमाथा आरोहण गर्ने उनको सपना पूरा हुने निश्चित थिएन । यहीबीचमा उनका साथीहरुले उनलाई रोल्वालिङ र खुम्बु क्षेत्रमा रहेको रामडुङ हिमाल आरोहण गर्ने प्रस्ताव गरे । उनले स्वीकार गर्दै सहजै रामडुङ हिमाल आरोहण गरिन् । यसबाट उनमा सगरमाथा आरोहण गर्ने उत्साह अझ थपियो । साथीहरुले उनको यो उत्साहलाई अझ बढाए ।

त्यसपछि उनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देशका साथ सगरमाथा आरोहणको तयारी थालिन् । उनी सानो हुँदा चौरी गोठमा उनका काकाहरु सगरमाथाको प्रसंग सुनाउँथे । उनलाई त्यतिबेलै सगरमाथा आरोहण गर्ने चाहना उत्पन्न भइसकेको थियो । त्यसपछि उनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाबारे अध्ययन गरिन् । यसबाट उनको सगरमाथा आरोहण गर्ने सपना अझ मौलाउँदै गयो ।

रामडुङ हिमालबाट फर्केपछि उनले आफ्नो सारा ध्यान सगरमाथा आरोहण गर्ने अभियानतर्फ केन्द्रित गरिन् । उनले आफ्नो परिवारसँग कुरा राखिन् । परिवारले उनलाई साथ दिने भयो । त्यसपछि उनको सगरमाथा अभियानमा अर्को समस्या आइलाग्यो । यो पटक चाहीँ आर्थिक समस्या । सगरमाथा आरोहण गर्नका लागि उनलाई ३० लाख रुपैयाँ चाहिन्थ्यो । आर्थिक समस्याकै कारण उनले आफ्नो सगरमाथा आरोहणको अभियानलाई रोक्नुपर्यो ।

एकदिन आफ्ना भाइका साथी तथा पायोनियर एडभेन्चर प्रालीका प्रबन्ध निर्देशक मिङ्गमा दोर्ची शेर्पासँग एउटा रेष्टुरेन्टमा बसिरहेकी थिइन् । उनले सगरमाथा आरोहण गर्ने आफ्नो चाहना रहेको तर आर्थिक कारणबाट यो सम्भव हुन नसकेको कुरा सुनाइन् । त्यसपछि के थियो, मिङ्गमाले खुशी हुँदै उनको अभियानलाई साथ दिने बाचा गरे । मिङ्गमाको कम्पनीले उनलाई सगरमाथा आरोहण गर्ने सबै उपकरण र सामान दिने भयो । त्यसपछि उनले सगरमाथा आरोहणको तयारी थालिन् ।

उनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिनका लागि सगरमाथा आरोहण अभियानमा लागेकी थिइन् । सोही कारण उनले गत अप्रिल ८ मा गौतम बुद्धको जन्मस्थान लुम्बिनीबाट आफ्नो सगरमाथा आरोहण अभियान थालिन् । त्यसपछि मे १६ मा त उनी सगरमाथाको शिखरमा पुगिसकेकी थिइन् । बुद्धको जन्म नेपालमै भएको थियो भन्ने उनी सगरमाथा आरोहण गर्नुको मुख्य सन्देश थियो । उनले सगरमाथा आरोहणका क्रममा अर्को महत्वपूर्ण सन्देश पनि सगरमाथाको शिखरमा पुर्‍याइन् । अर्को महत्वपूर्ण सन्देश थियो, चेलिबेटी बेचविखन विरुद्धको ।

अनिश्चितताका बीच उनले सगरमाथा आरोहणको साहस गरिन् । सगरमाथा आरोहण गर्ने अभियान अन्तर्गत मे १२ का दिन उनले सगरमाथाको मौसम प्रतिकूल नहोस् र कुनै घटना नघटोस् भनेर प्रकृति र हिमालको आशिष लिइन् । तर, उनले सोचेजस्तो भएन । मे १३ का दिन दिउँसो ३ बजे सगरमाथा आरोहण शुरु हुने तय थियो । त्यसको एक घण्टा अघि २ बजे उनलाई एक्कासी महिनावारी भयो । अब के गर्ने ? उनले पछाडी फर्केर नहेर्ने र चुनौतिको सामना गर्ने दृढता व्यक्त गरिन् ।

उनले तातोपानीको बोतल बोकिन् र आफ्नो अभूतपूर्व अभियान शुरु गरिन् । महिनावारीको पीडा भएपनि आरोहण दलका सदस्यहरुको साथ र सहयोग उनको अभियानमा महत्वपूर्ण भूमिका खेले । उनको खुट्टा र नाडीमा ठूलो पीडा भइरहेको हुन्थ्यो । तैपनि उनी क्याम्प २ सम्म बल्लबल्ल पुगिन् । यो बेलासम्म उनले पीडाबाट मुक्ति पाउन इनर्जी ड्रिंकको एक बोतल सकिसकेकी थिइन् । भारी हिमपात र खराब मौसमले सगरमाथामा आरोहण गतिविधी प्रभावित बनायो । उनले क्याम्प ३ मा दुई दिन सम्म बस्नुपर्यो । मे १४ का दिन उनले क्याम्प ४ पुग्ने प्रयार गरिन् । तैपनि मौसमले साथ दिएन ।

उनको आरोहण दल पुनः क्याम्प ३ तर्फ नै फर्किने भयो । फर्किने क्रममा बाटोमा उनी चिप्लिन पुगिन् । उसैपनि पीडा भइरहेको शरीरमा यसले अझ पीडा थप्यो । मे १५ का दिन सूर्यको उज्यालो किरण देखा पर्‍यो। अब आरोहण दलले तीन घण्टाको आरामपछि बेलुकी १० बजे क्याम्प ४ तर्फको यात्रा शुरु गर्‍यो । उनी ल्होत्से हिमालमा देखिएको सूर्यको किरण सम्झिन्छिन् । उनका अनुसार उनले जीवनमा देखेको सबैभन्दा सुन्दर दृश्य नै त्यही हो । जब उनी दक्षिणी किनारमा पुगिन्, उनका सहयोगी शिखरबाट अक्सिजनका थप बोतल लिनका लागि शिखरबाट तल ओर्ले । उनले त्यहाँ करिब ३५ मिनेट कुर्नुपर्यो । उनको क्यामेरा र अन्य आवश्यक उपकरण सहयोगी शेर्पाले नै लगेका कारण उनका लागि कुर्नुबाहेक कुनै विकल्प थिएन ।

जब उनी सगरमाथाको शिखरमा पुगिन् । सबैकुरा उनीभन्दा तल थिए । आकाशको नजिक पुगेको उनलाई भान भयो त्यति बेला बादल पनि उनीभन्दा तलै थिए । उनको खुशीको सीमा शब्दमा बयान गरिसाध्य थिएन । उनको आँखाबाट आँशु खस्यो । सगरमाथाको शिखरमा उनले सयौं फोटो खिचिन् ।

तर, जब क्याम्प ४ मा पुगेर आफूले खिचेका फोटो हेर्दा त क्यामेरा रित्तै थियो । प्राविधिक समस्याका कारण उनले खिचेका फोटो क्यामेरामा रहेनछ । उनलाई नरमाइलो लाग्यो । उनले फेरि सगरमाथाको शिखरमा गएर फोटो खिच्ने इच्छा लाग्यो । तर, उनको आरोहण दलका अरु सदस्यले उनलाई त्यसो नगर्न भनेपछि अरुकै क्यामेरामा खिचिएको फोटोबाट चित्त बुझाउनुपर्यो । आफ्नो अभियान सफल भएकोमा उनी सन्तुष्ट थिइन् । अझै पनि सगरमाथाको शिखरमा अरुले नै खिचिदिएका उनका तस्बीर देख्दा उनको अनुहार उज्यालो हुन्छ ।

भर्खर

0