तरकारी खेतीमा रमेका राउत र सिङताङ | Khabarhub Khabarhub

तरकारी खेतीमा रमेका राउत र सिङताङ



काठमाडौं- हातमा पञ्जा र शिरमा फेटा गुथेका महिलाहरु रामकोटस्थित टनेलभित्र कोदालो र हसियाँ बाकेर बारी सफा गर्दै थिए।

टनेलमा गोलभेँडा लगाउने बेला भएकाले घाँस काटेर जमिन खनेको उनीहरुले बताए। कोही भने टनेलभित्रै गोलभेँडा टिप्न र झारहरु उखेल्न व्यस्त थिए।

कुरा हो बिहीवार दिउँसोको। सितापाइला चोकबाट बसमा चढेर जाँदा झण्डै २० मिनेटको यात्रामा नार्गजुन नगरपालिकाको रामकोटमा पुगिन्छ।

बाटामै ‘मैत्री मंगलम अर्ग्यानिक कृषि फर्म’नामक बोर्ड देखिन्छ। वरीपरि हेर्दा मनै आन्नदित तुल्याउने हरियाली त्यस्तै। त्यतिमात्रै होइन, लोभ लाग्दो गरी फलेका तरकारीहरु देख्दा बाटोमा हिड्नेहरु उभिएर आश्चर्य मान्दै हेर्दै थिए।

वारपार देखिने जग्गामा टनेल बनाइएको र त्यहाँभित्र ठूला र राता दाना गोलभेँडा छपक्कै फलेका थिए। जुन विगत ४ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ।

नेपालमा खेतीयोग्य जमिन बाँझो बन्दै जाँदा युवाहरुको मोह खाडी मुलुकतिर बढ्दै गएको छ। औपचारिक शिक्षा लिने र जागिरको खोजीमा विदेशतिर भौतारिने नेपालीहरुको संख्या बढ्दो छ।

तर कतिपय उदाहरणीय व्यक्तिहरु पनि छन्, जसले विदेशबाट फर्केर स्वदेशमै व्यवसाय गरिरहेका छन्। जसमध्ये भोजपुरका निरबहादुर राउत पनि एक हुन्।

राउतको जन्म वि.स. २०३७ सालमा भोजपुरको आमचोकमा भयो। गाउँमै ७ कक्षासम्मको शिक्षा हासिल गरेका राउत पढाइमा निकै जागरुक थिए। पढाइकै शिलशिलामा उनले १३ वर्षको उमेरमा काठमाडौं टेके।

काठमाडौं स्रोहखुट्टेमा डेरा लिएर दाजुको साथमा बस्थे उनी। अध्ययनकै क्रममा एसएलसी पास पनि गरे। धेरै व्यक्तिको सोच हुन्छ भविष्यमा के गर्ने र के बन्ने। तर राउतमा त्यो सोच कहिल्यै आएन। उनी भने केही सीप सिकेर विदेश जान्छु भन्ने सोच राख्दथे।

जागिरको शिलशिलामा यूएइ

कुरा हो आजभन्दा १९ वर्षअघिको। उनका मामाका छोरा यूएइबाट छुट्टीमा नेपाल आएका थिए। त्यससमय राउतले दाजुसँग सल्लाह गरेर विदेश जाने निर्णय पनि लिए। दाजुकै सल्लाह बमोजिम उनले होटल द्धारिकामा होटलसम्बन्धी तालिम सिके। तालिम सकिएसँगै वि.स. २०५७ सालमा यूएइ प्रस्थान गरे।

शुरुमा उनले युएईमा वेटरको काम गरे। पैँसा कमाउन विदेश गएका उनले निकै दुःख गरेको पनि सुनाए। त्यो समय तलब पनि राम्रै थियो। ‘जहाँ गरेपनि काम गर्ने त हो’ राउतले भने ‘तर पैसा कमाएपछि स्वदेश फर्केर व्यवसाय शुरु गर्ने सोच थियो’।

वर्षमा एकपटक नेपाल आउँथे उनी। त्यसैक्रममा १ वर्षपछि उनी वैवाहिक सम्बन्धमा बाधिए। उनलाइ विदशे यात्राले छेकेन। बरु यूएइ र नेपाल वारीपारी झैँ लाग्न थाल्यो, त्यति भएर उनी निरन्तर आवतजावत गर्न थाले।

‘काम गर्ने शिलशिलामा मैले यूएइमा १५ वर्ष बिताएछु’ मुसुक्क हाँस्दै राउतले खबरहबलाई भने। अब विदेशमा मात्र बसेर हुन्न स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच उनमा आउन थाल्यो। त्यसो त तत्कालीन समयमा उनकै साथमा श्रीमती पनि विदेशमै थिइन्।

तर दुवैजनाको सल्लाह बमोजिम नै राउत स्वदेश फर्किए। केही न केही व्यवसाय शुरु गर्ने राउत दम्पत्तीलाइ शुरुमा के व्यवसाय शुरु गर्ने भन्ने सोच पलाएको थियो।

भनाइ नै छ नि ‘आँट गर्नुपर्छ, साथ दिनेहरु भगवानले जुटाइदिन्छन्’। उनीहरुको जीवनमा ठ्याकै यही भनाइ मेल खाना पुग्यो।

नेपालमा उब्जाउ हुने जमिन बाँझो हुने क्रम बढिरहेको छ युवाहरु अब विदेश नजानुस् र गएकाहरु पनि फर्केर व्यवसाय थाल्नुस् । मेहनत गर्न सकेमा आम्दानी प्रशस्त हुन्छ, ताजा तरकारी उपभोग गराउन सकिन्छ।

तरकारी खेतीमा प्रेरित हुँदै

सिन्धुलीका यकबहादुर सिङताङसँग नार्जुन नगरपालिकाको रामकोटमा भेट भयो। साइनोले मामा पर्ने सिङतान २ दशकदेखि रामकोटमै तरकारी व्यवसाय गरिरहेका थिए।

सिङताङले वि.स.२०५६ सालबाट औपचारिक रुपमा तरकारी खेती थालेका थिए। शुरुमा ४ रोपनी जग्गा भाडामा १ लाख ७२ हजार रुपैयाँमा व्यवसाय थालेका सिङतानले आफुलाइ दिनरात खेतीमा व्यस्त बनाउँदै गए।

एकल व्यवसाय भएकाले सिङताङलाइ भ्याइनभ्याइ काम हुन्थ्यो। ‘दिनरात खट्थे’ सिङताङले खबरहबसँगको कुराकानीमा भने ‘आम्दानी पनि राम्रै थियो’।

२ वर्षपछि भान्जासँग मिलेर व्यवसाय थप्ने योजना बनाएको सुनाउँदै भन्छन्, ‘२२ रोपनी जग्गामा व्यवसाय थप्यौँ, त्यसपछि २६ रोपनीमा तरकारी खेती गर्न थाल्यौँ’।

जग्गा बढ्दै जाँदा कामदारको आवश्यकता परेपछि उनले ४ जना कामदार राखे। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले सिन्धुलीमा रहेका आफ्ना परिवार सबैलाइ नार्गजुनमै ल्याए र खेतीमा संलग्न बनाए।

२६ रोपनी जग्गामा तरकारी खेती गरिरहेका सिङताङसँग राउतको भेट भयो। सिङताङसँगको सल्लाहले राउतलाइ तरकारी व्यवसाय थाल्ने आँट आयो। अन्ततः उनीहरु सहकार्य गरेर व्यवसाय गर्ने शुरु गरे।

१ सय २८ रोपनी जग्गामा तरकारी खेती गर्दै

१५ वर्षसम्म यूएइ बसेका राउत र २ दशकदेखि तरकारी खेती गरिरहेका सिङताङले वि.स. २०७३ सालदेखि अर्ग्यानिक तरकारी फर्मको सुरुवात गरे।

१ सय २८ रोपनी जग्गा भाडामा लिएर व्यवसासय शुरु गर्दा १ करोड ५० लाख लगानी गरेका छन् उनीहरुले। त्यति मात्र होइन फर्ममा ४० जना कामदार समेत छन्। ठूलो क्षेत्रमा तरकारी खेती गरेकाले कामदारहरु पनि निकै व्यस्त देखिन्थे।

तरकारीमा खेतीमा लाग्ने रोग

वर्षमा २ पटकसम्म फरकफरक तरकारी लगाउने उनीहरु खेतीबाट सन्तुष्ट छन्। तर, खेतीमा पटकपटक आउने समस्याका कारण हैरान भएको पनि सुनाउँछन्। भन्छन्, ‘जेठ/असारमा सेतो पुतली अत्याधिक मात्रामा आउँछ, त्यसबाट बचाउन निकै मुस्किल पर्छ’।

‘तरकारी फलाउनका लागि त्यति सजिलो छैन’ सिङताङले भने ‘सिजनअनुसार किरा लाग्ने, रोग लाग्ने भइरहन्छ’। विरुवालाइ बचाउन र फल फलाउनका लागि थाइल्याण्डबाट औषधी तथा भिटामीन ल्याउने गरेको सुनाउँदै उनले भने ‘विरुवालाइ किराबाट बचाउन थाइल्याण्डबाट मल्टिमिक्स माइक्रोवान भिटामिन मगाउने गरेको छु’। उनका अनुसार त्यसले विरुवामा फुलेको फुल झर्न नदिने र अर्ग्यानिक बनाउन मद्धत गर्छ।

जुनसुकै खेतीमा पनि रोग लाग्ने विरुवा मर्ने समस्या देखिन्छन् खबरहबसँगको कुराकानीका क्रममा उनले भने ‘त्यस्तै तरकारी खेतीमा पनि बेर्ना कुहिने रोग, पाउडरी मिल्ड्यु, अगौटे डढुवा, पछौटे डढुवा, ब्याक्टेरियल लिक स्पोट, व्याक्टेरियल विल्ट, नेमाटोड, मोज्याइक भाइरस, टोमाटो एल्लो लिफ कर्ल भाइसर, टोस्पो भाइरस लगायत रोग लाग्छन्।

त्यसका लागि धेरैजसो औषधी थाइल्याण्डबाटै मगाए पनि कुनैकुनै औषधी भने उनीहरु अर्ग्यानिक तरिकाले पनि बनाउने गर्छन्।

तरकारीका लागि अर्ग्यानिक मलको मात्र प्रयोग गर्ने उनले बताए। ‘बल्खुबाट किनेर गाइवस्तुको मल ल्याउने गरेका छौँ, उनले भने, ‘जसकारण तरकारी स्वच्छ देखिन्छ र स्वास्थ्यका लागि राम्रो पनि गर्छ’।

कुराकानीका क्रममा उनीहरु निकै फुरुङ्ग पनि देखिन्थे। मेहनत र हौसलाले उनीहरुको अनुहारले छर्लङ्ग बनाइरहेको थियो।

रामकोटको सब्जी धेरै जिल्लामा

‘मैत्री मंगलम अर्ग्यानिक कृषि फर्म’ मा उत्पादन भएका तरकारी राजधानी काठमाडौं, ललितपुर, दोलखा, बर्दिवास, पोखरालगायत अन्य जिल्लाहरुमा पनि पुग्ने गर्छन् । काठमाडौं तथा नार्गजुन नगरपालिका आसपासका स्थानीयहरु लोकल तरकारी किन्नका लागि फर्ममै पनि जान्छन्।

फर्ममा उत्पादन भएका तरकारी ओसारपोसारका लागि मैत्री मंगलम लेखेको गाडी समेत छ। फर्ममा उपभोक्ताले उपभोग गर्ने सम्पुर्ण तरकारी लगाउने गरेको उनीहरु बताउँछन्। तर अहिले सिजन अफ हुना लागेकाले टनेलमा धेरैजसो क्षेत्रमा गालभेँडा लगाइएको छ।

तरकारी खेतीमा आउन अनुरोध

व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका राउत र सिङतानले तरकारी खेतीमा आउन युवावर्गलाइ आग्रह समेत गरेका छन्। ‘नेपालमा उब्जाउ हुने जमिन बाँझो हुने क्रम बढिरहेको छ युवाहरु अब विदेश नजानुस् र गएकाहरु पनि फर्केर व्यवसाय थाल्नुस्’ राउतले भने ‘मेहनत गर्न सकेमा आम्दानी प्रशस्त हुन्छ, ताजा तरकारी उपभोग गराउन सकिन्छ’।

नेपालमा तरकारी खेतीको सम्भावना प्रचुर मात्रामा रहेको र यस क्षेत्रमा लागि परेमा नेपाललाइ तरकारीमा आत्मनिर्भर बनाउन सकिने उनीहरुको धारणा छ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १० : ०२ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार