४ महिनादेखि नेविसंघ नेतृत्वविहीन : अध्यक्षका प्रत्यासी शक्तिकेन्द्र धाउँदै | Khabarhub Khabarhub

४ महिनादेखि नेविसंघ नेतृत्वविहीन : अध्यक्षका प्रत्यासी शक्तिकेन्द्र धाउँदै


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचित नेतृत्वलाई हटाएर कांग्रेस नेतृत्वले नयाँ नेतृत्वको कार्यसमिति दिन नसक्दा गत माघ २८ देखि नेविसंघ नेतृत्वबिहीन छ। कांग्रेस नेतृत्वले जब सरकारकाविरुद्धमा आन्दोलदनको तयारी गर्छ तब नेविसंघको भूमिका अपेक्षा गर्छ। तर, दुई/दुई कार्यकाल नेविसंघको नेतृत्व सम्हालेर आएका सभापति शेरबहादुर देउवाले नेविसंघको नेतृत्व दिनै सकेका छैनन्।

सभापति देउवाले सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको नेतृत्वमा पूर्वअध्यक्षहरु सम्मिलित ‘नेविसंघ निर्देशक समिति’ बनाएर पनि काम लगाए। निर्देशक समितिले विधान, नेतृत्वको उमेर हदसहितका मापदण्ड, कार्यकाल, अधिवेशन हुन नसक्दा पार्टीले खेल्नुपर्ने भूमिका सहितका सुझाव दिएर सभापति देउवालाई गत चैतको केन्द्रीय समिति बैठकमै प्रतिवेदन बुझाइसकेका छन्। तर, सुझावको सुनुवाइसमेत हुन सकेको छैन।

पार्टी नेतृत्वले नेविसंघको नयाँ नेतृत्व दिन तदारुकता नदेखाउँदा सभापति देउवा निकटकै पदाधिकारीसमेत सन्तुष्ट छैनन्। ‘जसरी नेविसंघ नेतृत्व विधान अनुसार नै बिदा भयो त्यसरी नै पार्टीले नयाँ नेतृत्व दिन सक्नुपर्थ्यो,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘तर सभापतिजीले सबैको सहमति खोज्दै हुनुहुन्छ त्यसैले नयाँ कार्यसमिति ल्याउन ढिला भइरहेको छ।’ उनले सभापतिले सहमति खोज्नु राम्रो भएपनि सहमति नहुँदा नेतृत्व तोक्न ढिला गर्न नहुने बताए।

अहिले नेविसंघ नेतृत्वबिहीन बनाएर सबै रमाइरहेका छन् तर यसको असर अबको १० वर्षमा देखिने छ। सगठन सकिदैछ

निवर्तमान अध्यक्ष नैनसिंह महर पार्टी नेतृत्व र अन्य नेताहरुले भागवण्डाकै लागि आफूलाई महाधिवेशन गर्न नदिदा नेविसंघ र पार्टी दुबैलाई घाटा भएको बताउँछन्। ‘आफ्ना मान्छे ल्याउने र भागवण्डा पाउने आसमा सभापितसँग अन्य नेताहरु पनि सहमत भएर मलाई महाधिवेशन गर्न दिइएन र राजीनामा दिन बाध्य पारियो,’ महरले भने, ‘अहिले मूल नेतृत्वले पनि नयाँ नेतृत्व दिन सकिरहेको छैन, भागवण्डा खोज्नेहरुले पनि अहिले नैतिकरुपमा नेविसंघ नेतृत्वका लागि दवाव दिन सकिरहेका छैनन्।

नेपाल विद्यार्थी संघ यसरी नेतृत्वबिहीन बनेको चार महिना ९ दिन पुरा भएको छ। अध्यक्ष नैनसिंह महरसहितको समूहले नेविसंघ नेतृत्वबिहीन हुँदा यसको फाइदा अरुलाई मात्र पुग्छ र संगठनको गतिशिलता समाप्त हुन्छ भन्दै वर्तमान कार्यसमितिको म्याद तीन महिना थपेर महाधिवेशनको मौका दिन नेतृत्वसँग याचना गरेको थियो।

कतिसम्म भने कार्यकालभर अध्यक्षसँग प्रमुख प्रतिस्पर्धीको रुपमा देखिएका महामन्त्री कुन्दनराज काफ्लेलेसमेत महिधवेशन यही नेतृत्वले गर्दा ‘टिके प्रथा’ लागू नहुने र लोकतान्त्रिक पद्धतिसमेत कायम हुने भन्दै थप तीन महिना माग गरेको थिए। तर, पार्टी नेतृत्वले आफू अनुकुलको नेविसंघ नेतृत्व खोरेज गरेपछि माघ २ मा कार्यकाल सकिएका अध्यक्ष महरले दवावमा माघ २८ मा राजीनामा दिएका थिए।

नेविसंघ नेताहरु मुल नेतृत्वको हुकुमी शैली र अलोकतान्त्रिक मनोवृतिको शिकार नेविसंघ बनेको बताउने गरेका छन्। निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले महाधिवेशनबाट आफू अनुकुलको नेतृत्व नआउने देखेपछि विघटनतर्फ लागेको पार्टी नेतृत्वले निर्लज्ज भएर संगठनलाई समाप्त पारिदएको आरोप लगाउँछन् ।

कांग्रेस जब आन्दोलनको आवश्यकता महसुस गर्छ तब नेविसंघलाई खोज्ने गर्छ। गत चैत अन्तिममा जागरण अभियान घोषणा गर्दा पनि कांग्रेस नेतृत्वले नेविसंघको आवश्यकता महसुस गरेको थियो

‘महाधिवेशनबाट आफ्नो पक्षले जित्दैन भन्ने देखेपछि सभापति देउवा र उनको समूहले श्रृंखलाबद्धरुपमा महाधिवेशनलाई असहयोग गर्ने र टिके नेतृत्व ल्याउने अभ्यास जारी राख्यो जसको परिणमस्वरुप महाधिवेशनका लागि हुनुपर्नेजति प्रगति हुनै सकेन,’ काफ्लेले भने, ‘अहिले नेविसंघ नेतृत्वबिहीन हुँदा मुल नेतृत्व नै असफल भइरहेको छ।’ उनले सरकारको मनोमानी र अलोकतान्त्रिक शैलीले देशमा आन्दोलनको आवश्यकता भएपनि नेविसंघ नहुँदा आन्दोलनको माहोल बन्न नसकेको बताए ।

‘सरकारले एकपछि अर्को गर्दै लोकतन्त्र समाप्त पार्ने अभ्यास गरिरहेको छ, आमनागरिक र देशले आन्दोलनको आवश्यकता महसुस गरिरहेको छ,’ काफ्लले भने, ‘तर आन्दोलको उद्‍घोष गरिरहेको कांग्रेस नेतृत्व नागरिकस्तरबाट आन्दोलनको उभार आउँदासमेत आन्दोलनको माहोल बनाउन सकिरहेको छैन।’ उनले केही व्यक्तिलाई रोक्नकै लागि पार्टी नेतृत्व हैसियत भूलेर लाग्दा आफै कमजोर बनिरहेको दावी गर्छन्।

पार्टीका पूर्वअध्यक्षहरु सम्मिलित निर्देशक समितिले दिएको सुझाव कार्यान्वन हुन नसक्दा सभापतिले नै बनाएको निर्देशक समितिका सदस्यहरुसमेत रुष्ट छन्। निर्देशक समितिमा बसेर काम गरेका पूर्वअध्यक्ष गुरुराज घिमिरे समितिले प्रतिवेदन बुझाएर केन्द्रीय सिमितमा छलफल सकेर सभापतिलाई नयाँ नेतृत्व ल्याउने अधिकार दिए पनि सभापितले नै नयाँ नेतृत्व ल्याउन ढिला गरेको बताउँछन् ।

‘निर्देशक समितले सबै काम सकेर केन्द्रीय समितिलाई बुझाएपछि केन्द्रीय समितिले नै नयाँ नेतृत्व तोक्ने जिम्मा सभापति देउवालाई दिएको छ,’ केन्द्रीय सदस्यसमेत रहेका नेता घिमिरेले भने, ‘तर मुल नेतृत्व केमा अल्झिरहेको छ मलाई थाहा छैन। नेविसंघ नेतृत्वबिहीन हुँदा पार्टी र देशलाई नै असर परिरहेको छ।’

उनले आन्दोलनको मोर्चामा कांग्रेस कमजोर भएको र राष्ट्रिय मुद्दामासमेत असर परिरहेको बताए । ‘सरकार एकपछि अर्को गर्दै अधिनायक शैली प्रस्तुत गरिरहेको छ,’ घिमिरेले भने, ‘तर, नेविसंघ दवावमुलक आन्दोलको त परको कुरा आफैं नेतृत्वबिहीन भएर अन्योलमा छ।’ उनले जिल्ला नेतृत्व भएका जिल्लामा कसको निर्देशनमा काम गर्ने भन्ने अन्योल देखिएको अनि कार्यसमिति नै नभएका जिल्लामा गतिविधि नै शून्य भएको बताए।

कांग्रेस जब आन्दोलनको आवश्यकता महसुस गर्छ तब नेविसंघलाई खोज्ने गर्छ। गत चैत अन्तिममा जागरण अभियान घोषणा गर्दा पनि कांग्रेस नेतृत्वले नेविसंघको आवश्यकता महसुस गर्दै केही दिनभित्रै नेविसंघ कार्यसमिति ल्याउने बताएको थियो। ‘अबको केहीदिनभित्र नेविसंघले नेतृत्व प्राप्त गर्छ,’ सहमामन्त्री डा. महतले चैतमा भनेका थिए, ‘नेविसंघ नेतृत्वले देशभर युवा विद्यार्थीको परिचालन गरी सरकारविरुद्धको जनमतलाई बलियोरुपमा प्रस्तुत गर्ने छ।’ तर आफू अनुकुलको नेतृत्व नभएकै कारण सभापति देउवा त्यसको दुईमहिनासम्म पनि नयाँ नेतृत्व घोषणा गर्न सकिरहेका छैनन्।

उमेरहद विवाद कायमै

पार्टी केन्द्रीय समितिबाट पारित गरि नेविसंघको कार्यसमितिमा ३२ वर्ष मुनीको नेतृत्व ल्याउने बैधानिक व्यवस्था गरिएको छ। तर अहिलेपिन नेविसंघमा उमेर हदको विषयको विवाद टुंगिएको छैन। उमेर हदको प्रवन्ध ल्याउँदा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, त्यस्तो व्यस्था ल्याउन बहुमतको प्रयोग गरेको सभापति देउवा पक्ष अहिले विधानको व्यवस्था विपरित नेतृत्व ल्याउने गृहकार्य गरिरहेको छ।

‘उमेर हद विधान अनुसार नै लागू गरेर जिल्ला अधिवेशन भइसकेको छ, जिल्लामा यही मापदण्ड लागू भइसकेको छ,’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘अव केन्द्रमा मापदण्ड विरुद्ध जान मिल्छ कि मिल्दैन भन्ने प्रश्न बाँकी छ।’ उनले मापदण्ड लागू हुने कुरा भन्दा पनि सभापतिले नयाँ नेतृत्व नै नदिएका कारण नेतृत्व आउनु महत्वपूर्ण भएको बताए।

विधान अनुसार महाधिवेशन गराउन दवाव आन्दोलनसमेत भएको हो। तर आन्दोलनकै क्रममा सानेपामा उमेर मान्ने र नमान्ने पक्षधरको झडपसमेत हुँदा सभापति निकट पदाधिकारीले उमेर नमान्ने पक्षलाई साथ दिएका थिए।

अध्यक्षका प्रत्यासीको दौडधुप

नेविसंघको नेतृत्वका दावेदारहरु पनि आफू निकटका नेताको घरघरमा धाएर आफ्नो नेतृत्व सुनिश्चिचता खोजिरहेका छन्। त्यसैले कांग्रेस नेतृत्वलाई नयाँ कार्यसमिति बनाउने दवाव पर्न सकेको छैन।

‘अहिले नेविसंघ नेतृत्वबिहीन बनाएर सबै रमाइरहेका छन् तर यसको असर अबको १० वर्षमा देखिने छ। सगठन सकिदैछ,’ निवर्तमान अध्यक्ष महरले भने, ‘माओवादीको सशस्त्र आन्दोलनमा गाउँ जान नसकेको परिणाम संगठनमा अहिले देखिदैछ। नेविसंघको बेहाल बनाएको परिणाम अब १० वर्षमा देखिने छ।’

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १० : ०४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म