बिरामीको भाषा नबुझ्दा रोग पत्ता लगाउन नसकेको त्यो दिन « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

बिरामीको भाषा नबुझ्दा रोग पत्ता लगाउन नसकेको त्यो दिन



काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमूख कन्सलटेन्ट डा अनुप बास्तोला युवा पुस्ताका क्रियाशील सरकारी डाक्टर हुन् । उनी शुक्रराज अस्पतालमा ८ वर्षदेखि कार्यरत छन् । डाक्टर बास्तोलाले क्लिनिकल ट्रपिकल मेडिसिन र ड्रमाटोलोजी गरी दुईओटा विषयमा एमडी गरीसकेका छन् । शुक्रराज अस्पतालमा आउने सरुवा रोगका बिरामीलाई सरुवा रोगको विषयमा परामर्श र उपचार गर्नमा उनी व्यस्त हुन्छन् । बाबुको इन्जिनिर बनाउने सपना भएपनि डाक्टर बनेका बास्तोला आफ्नो पेशामा खुशी र सन्तुष्ट छन् ।

बास्तोलाको बाल्यकाल

बास्तोलाकी आमा सरकारी विद्यालयमा शिक्षक थिइन् भने बाबु न्यायलयमा कार्यरत थिए । कास्कीको लेखनाथ नगरपालिका-३० मा जन्मिएका बास्तोलाको बाल्यकाल रमाइलोसँग बित्यो । बास्तोला सानै उमेरमा आमासँगै विद्यालय जान्थे । उनले कक्षा ४ सम्म शान्ति प्राथमिक विद्यालयमा पढे । ५ कक्षादेखि १० सम्म बास्तोलाले लक्ष्मी आर्दश माध्यमिक विद्यालयमा अध्ययन गरे । २०५३ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेका हुन् ।

प्रथम कहिल्यै भइन, अरुभन्दा जान्न मन लाग्थ्यो

बास्तोलालाई स्कुल जान कहिल्यै बाबुआमाले कर गरिराख्नु पर्दैन थियो । सानैदेखि उनमा आफूले नै जित्नुपर्छ भन्ने सोच भने आउँथ्यो । आफू सबैभन्दा राम्रो र जान्ने विद्यार्थी हुने मन भएपनि स्कुले जीवनमा प्रथम भने हुन सकेनन् ।

‘मलाई स्कुल पढ्दा अरुभन्दा जान्ने हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, अरुसँग प्रतिस्पर्धाको भावना आउथ्यो,’ बास्तोलाले बाल्यकाल सम्झिए, ‘अरुलाई जित्न पाए हुन्थ्यो भन्ने लाथ्यो तर फस्ट, सेकेन्ड, थर्ड भने कहिल्यै भइन् । चौथो, पाँचो मात्रै हुन्थेँ ।’

बास्तोलाको पढाइमा रुची भने सानैदेखि थियो । पढाइपछिको उनको दोस्रो रुची हो फुटबल । मोजाको बल बनाएर खुट्टामा घाउँ नै पार्ने गरी बाल्यकालमा फुटबल खेलेको उनलाई अझै याद छ ।

‘सानोमा फुटबल खेल्न निकै रमाइलो लाग्थ्यो, मोजाको बल बनाएर धेरै खेलियो, साथीहरु मिलेर किनेको फुटबल च्यात्तिदा समेत सिलाइसिलाइ खेलिन्थ्यो , फुटबल खेलेर खुट्टामा घाउँ नै घाउँ हुन्थ्यो ।’ उनले बाल्यकाल यसरी सम्झिए ।

२०५३ सालमा एसएलसी दिएपछि बास्तोलालाई पढाउनका लागि परिवारले काठमाडौंको पठाए । बास्तोलाले काठमाडौं विश्व विद्यालयबाट सन् १९९७ मा आइएसी गरे ।

इन्जियर बनाउने बाबुको सपना

बास्तोलालाई उनका बाबुले इन्जिनियर बनाउने सपना देखेका थिए । तर बास्तोलाको सपना भने बेलाबेला परिवर्तन भइरहन्थ्यो । उनलाई कहिले आर्मी बन्न मन लाग्थ्यो, कहिले डाक्टर, कहिले वकिल । तर यही पढ्छु भन्ने एउटा मात्रै अठोट गर्न सकिरहेका थिएनन् । उनलाई बाबुआमाले नै चिकित्सा शिक्षा अध्ययनको लागि प्रेरित गरे । त्यसपछि बास्तोला एमबीबीएस पढ्न नेपालगञ्ज गए ।

‘बुबा न्यायालयमा कार्यरत भएकाले मलाई पनि न्यायक्षेत्रका विषय पढेर त्यही काम गर्ने रहन पनि थियो तर बुबाले चिकित्सा पेसा भयो भने बुढो हुँदासम्म पनि बिरामी जाँच्न पाइन्छ काम गरिरहन पाइन्छ भन्नुभयो,’ बास्तोलाले भने, ‘बुबा ममीको सल्लाहमा मैले एमबीबीएस नै पढ्ने र डाक्टर बन्ने निर्णय लिएँ ।

दुर्गम क्षेत्रमा डाक्टर भएर जाँदा

बास्तोलाले नेपालगञ्ज मेडिकल कलेजबाट सन् २००४ मा एमबीबीएस सके । पढाइ सकेर उनी काठमाडौं फर्किएर काठमाडौंकै अस्पतालहरुमा एक वर्ष इन्टर्नसीप गरे । इन्टर्नसीप सक्किएपछि उनी टिचिङ अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत भए । सोही समयमा एमबीबीएस सकेका चिकित्सकको लागि लोकसेवामा जागिर खुल्यो । उनले लोकसेवामा आवेदन दिए र नाम पनि निक्लियो ।

लोकसेवामा जागिर पाएपछि डाक्टर बास्तोला सन् २००७ को मार्चमा दार्चुलाको जिल्ला अस्पतालमा काम गर्न गए । उनी ७ औं तहका मेडिकल अधिकृतको एमबीबीएस डाक्टर दार्चुलामा एक्ला डाक्टर थिए । त्यतिबेला जिल्ला अस्पतालहरुमा एमबीबीएस सकेका एक जना चिकित्सक मात्रै जिल्ला अस्पतालमा हुन्थ्ये । जिल्ला अस्पताल दार्चुलामा हुँदा बास्तोलाले नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको अवस्था र बिरामीको समस्यालाई नजिकबाट नियाल्न पाए ।

ढेड वर्ष दार्चुलामा बिताएका बास्तोलाले धेरै जटिल बिरामीहरुको पनि जोखिम मोलेरै उपचार गरे । दार्चुलाको जिल्ला अस्पतालमा काम गर्दाका केही घटनाहरु उनको मानसपटलमा अझै ताजा छन् । ती घटनाहरु बास्तोलाले यसरी सुनाए ।

जिल्ला अस्पताल दार्चुला पुग्न निकै कठिन थियो । दार्चुला पुग्न महेन्द्रनगरबाट भारतको बाटोभएर दार्चुला पुग्नुपर्थ्यो । दार्चुला म एक्लो डाक्टर थिए । जिल्ला अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पनि मेरै थियो । मलाई २४ सै घण्टा ड्युटीमा छु जस्तो लाग्थ्यो ।

बिरामीको भाषा नबुझ्दा रोग चिन्नै गाह्रो

दार्चुलाका स्थानीयले नेपाली भाषा बोल्ने भएपनि काठमाडौं, पोखराका स्थानीयले जस्तो ठेट नेपाली भाषा बोल्दैन थिए । जिल्ला अस्पताल दार्चुलामा काम गर्दा बास्तोलालाई बिरामीको भाषाले रोग पत्ता लगाउनै मुस्किल पर्थ्यो ।

‘लादोमा दुख्यो भन्दै लादो दुखेर मर्न लागेँ भन्दै एउटा बिरामी अस्पतालमा आइपुग्यो, त्यो ‘लादो दुख्यो’ भनेको के रैछ मैले बुझ्दैबुझिनँ, बास्तोला त्यो दिन सम्झन्छन्, ‘त्यहीँका अन्य स्वास्थ्यकर्मीले बताइदिएपछि थाहा भयो, लादो भनेको पेट भनेका रैछन् ।’

उनले भने, ‘भाषाकै कारणले केही समय रोग पत्ता लगाउन नै गाह्रो हुन्थ्यो, त्यहाँका अन्य स्वास्थ्यकर्मीहरुले भाषा बुझाइदिएपछि रोग अनुसारको उपचार समेत गरिन्थ्यो ।’

जिल्ला अस्पतालमा काम गर्दा उनले नेपालको ग्रामीण क्षेत्रको जीवनशैलीलाई नजिकबाट नियाल्न पाएँ । निकै विकट क्षेत्र भएकाले दार्चुलाको जनजीवन उनलाई निकै कष्टकर लाग्थ्यो । जिल्ला अस्पतालमा हुने सुविधाले त्यहाँका बिरामीको रोग निको पार्न निकै मुस्किल पर्थ्यो ।

सीमित स्रोतसाधनमा जिल्ला अस्पतालमा बिरामीको उपचार गर्न सहज नभएको बास्तोला बताउँछन् ।

त्यो समयको असहजता उनले यसरी सुनाए- ‘त्यहाँ सुत्केरी हुन आउँने महिलाहरुको अवस्था निकै दायनीय थियो । कतिपय अवस्थमा जोखिम मोलेरै सुत्केरी गराएका छौं । जिल्ला अस्प्तालमा सामान्य सुत्केरी हुन नसक्ने बिरामी प्रायः भारतमा रेफर गरिन्थ्यो तर भारतको बोडर राति ७ बजे बन्द हुने । जसले गर्दा त्यहाँका बिरामीले निकै कष्ट भोग्नुपर्थ्यो ।

बिरामीलाई आफैले रगत दिएर बचाएको दिन

बास्तोला जिल्ला अस्पताल दार्चुलामा रहँदा एक दिन साझँ पख एकजना बिरामी आइन् । असुरक्षित गर्व पतन गराएर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आएकी ती महिलालाई ‘बी’ पोजेटिभ ब्लड तत्काल आवश्यक पर्‍यो । ब्लड बैंक समेत नभएको जिल्ला अस्पतालमा बिरामीका आफन्तले बिरामीको रक्त समूहको रगत ल्याउन सकेनन् । बिरामीको ब्लड ग्रुप र डाक्टर बास्तोलाको ब्लड ग्रुप एउटै थियो ।

अन्ततः बास्तोलाले आफ्नै रगत दिएर ती महिलाको ज्यान बचाए । बिरामीलाई रगत दिएर बचाएपछि बिरामीका पतिले भोलिपल्ट खुट ढोगेर एक सयको भारतीय नोट दिएको उनी सम्झन्छ ।

‘रात परेपछि आएका ती बिरामीलाई रगत चाहिएको थियो, कोही नभएपछि मैले आफै रगत दिएँ,’ डाक्टर अनुप सम्झन्छन्, ‘भोलिपल्ट बिरामीको अवस्था हेर्दा हाँस्दै बसिरहेकी थिइन् । बिरामीका पति आएर मलाई ढोग्न खोजे र खुट्टामा एक सयको नोट राख्दिए । मलाई खुसी पनि लाग्यो बिरामीको त्यो सम्मान देखेर । मैले उनलाई सम्झाएर पैसा उनकै खल्तीमा राखिदिएँ ।’

ढेड वर्ष दार्चुलामा काम गरेपछि बास्तोला काठमाडौं फर्किए । उनले सन् २०१२ मा छाला तथा यौन रोगमा एमडी गरे । उनले सन् २०१४ मा ट्रपिकल मेडिसिन एण्ड हाइजिनमा पनि स्नातक पनि गरेका छन् ।

सरुवा रोगको क्षेत्रमा लामो सयमदेखि कार्यरत डाक्टर अनुपले नेपालमा कतिपय सरुवा रोगको विषयमा सरकारी तथ्यांकहरु तथा प्रभावकारी अनुसन्धान हुन नसकेको बताउँछन् । केन्द्रको एकमात्रै सरुवा रोग अस्पताल भएपनि चिकित्सकहरुले जोखिमपूर्ण तरिकाले बिरामीको उपचार गर्नुपरेको बताउँछन् ।

‘केन्द्रीय अस्पताल भएपनि खरिद भएको प्रविधि सञ्चालन हुन सकेको छैन । यहाँका चिकित्सकलाई बिरामीको रोग सर्न सक्ने जोखिम तर हामीले जोखिममै काम गर्न बाध्य छौं ।


भर्खर

0