होली : खरानीको पर्व, रंगजडित उल्लास « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

होली : खरानीको पर्व, रंगजडित उल्लास



आसुरी प्रवृत्तिको अन्त्य, एकापसमा उल्लासको साटासाट अनि यसका लागि साथीसंगीबीच समन्वय गरी होली पर्व मनाइन्छ । होली हर्षजडित एकापसमा खुशी साटासाट गरिने पर्व पनि हो । आपसी उल्लासको साटासाट, एकापसमा भाइचारा अभिवृद्धिको महत्वकांक्षाकासाथ होली मनाइन्छ ।

होलीको सुरुवातबारे प्रा.डा. विष्णुराज आत्रेय भन्छन्– ‘होली शब्द होडाबाट शुरु भएको थियो । संस्कृतमा होडा भनिने यो शब्द, होली पर्वको उद्गमसँग पनि सम्बन्धित छ । होली पर्वको उद्गम पनि हिरण्यकश्यपुको बहिनीको दहनबाट शुरु भएको थियो । हिरण्यकश्यपुको बहिनीको नाम होडा थियो । संस्कृतमा माया गरेर क प्रत्यय लगाउँदा होडिका बन्यो । त्यही अपभ्रंश भएर होलिका बनेको हो । ’

शाब्दिक संयोजन र व्याकरणीय संयोजन जे जसरी अथ्र्याइए पनि आसुरी प्रवृत्तिको अन्त्यको कामनासाथ होली मनाइन्छ ।

यस्तो छ पौराणिक पृष्ठभूमि

होली चाडको प्रसंग विष्णुपुराणमा उल्लेख छ । महर्षि कश्यप र दीतिका पुत्र हिरण्यकश्यपु आसुरी स्वरूपका थिए । हिरण्यकश्यपुले कठोर तपस्या गरी ब्रह्मदेवबाट न दिन न रात, न घरभित्र न घरबाहिर, न पशुले न मानवले मानव, न शस्त्र न अस्त्र कुनै पनि अवस्थामा नमर्ने वरदान पाएका थिए ।

वरदानपछि तीनै लोकको सुखभोग गर्न थालेका हिरण्यकश्यपु भगवानहरुका कटु आलोचक बने । यसमा पनि संसारका पालनकर्ता भगवान विष्णुका कटु आलोचक बने । तर उनै हिरण्यकश्यपुका छोरा प्रह्लाद भने विष्णु भगवानका परम भक्त बने । बाल्यकालदेखि आफूले कटु आलोचना गरेका विष्णुको भक्तिमा लीन भैरहने प्रह्लादको स्वभावदेखि रुष्ट हिरण्यकश्यपुले प्रह्लाद मार्ने कैयन् योजना बनाएका थिए ।

वाल्मिकी विद्यापीठकी सह–प्राध्यापक प्रियंवदा काफ्ले् भन्छिन्– ‘प्रह्लाद मार्न हिरण्यकश्यपुले विष खुवाउने, अग्लो पहाडबाट खसाल्ने, सर्पले टोकाउने लगायतका कुकृत्य गरेपनि सफल भएनन् ।’

प्रह्लाद मार्न रचिएका विभिन्न उपाय काम नलागेपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकाको साथ काखमा राखेर मार्ने योजना मुताबिक आगो लगाइयो । बालक प्रह्लाद जो विष्णुका प्रिय भक्त थिए उनलाई केही नहोस् भनेर उनका साथीसंगी, शुभचिन्तक लगायतले कामना गरिरहे ।

भगवान विष्णुको अटल श्रद्धाभक्तिका कारण प्रह्लादलाई अग्निले दहन गरेनन् बरु वरदानको दुरुपयोग गरेको भन्दै हिरण्यकश्यपु बहिनी होलिका अग्निदहनमा नष्ट भइन् । उक्त दिन फाल्गुण शुक्ल पूूर्णिमाको दिन थियो । दुष्ट वा खराब चरित्रकी होलिका दहन अनि असल र सत्पात्र प्रह्लाद केही नभएको खुशीयालीमा त्यसबेला देखि नै होली पर्व खेल्न थालिएको विश्वास गरिन्छ ।

हिन्दु सनातन समाजमा फाल्गुण शुक्ल अष्टमीबाट फागु अर्थात् होली आरम्भ हुन्छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न ध्वजापताकासजित लिंगो ठड्याएपछि पर्व शुरु भएको जनाउ दिइन्छ । अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले कतिपयले फागुलाई ‘होलाष्टक’ पनि भनेका छन् ।

सत्य युगको अन्त्य र त्रेता युगको सुरुवात तिरको यो घटना द्धापर युगको अन्त्यमा भगवान श्रीकृष्णबाट मृत्युवरण गर्न पुगेकी पुतनासँग पनि कसरी जोडियो त ? संस्कृतिविद् एवं प्राध्यापक भवानीप्रसाद खतिवडा भन्छन्– ‘होलिका नै अर्को जन्ममा पुतना बनेकी हुन् । उनै पुतनालाई भगवान कृष्णले मारिदिएपछि पुतनाको दानवी प्रवृत्तिसँग आजित गोकुलबासीले एकापसमा हर्षोल्लास गर्दै फागु मनाएका थिए ।’

मनाउने आ–आफ्नै शैली र स्वरुप

होली एकदिन मात्र मनाइन्न । हिन्दु सनातन समाजमा फाल्गुण शुक्ल अष्टमीबाट फागु अर्थात् होली आरम्भ हुन्छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न ध्वजापताकासजित लिंगो ठड्याएपछि पर्व शुरु भएको जनाउ दिइन्छ ।

अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले कतिपयले फागुलाई ‘होलाष्टक’ पनि भनेका छन् । पर्व पनि ठाउँअनुसार विभिन्न नामले मनाइन्छ तर तराईमा पूर्णिमाको भोलिपल्ट विशेष रुपमा रंग दलेर मनाइन्छ भने पहाडी भूभागमा रंग त दलिन्छ नै लोला हान्ने, पानी छ्यापाछ्याप गर्ने चलन छ । भारतमा विशेषगरी होलिका दहनपछि आफन्तजनसहित मिष्ठान्न भोजन गर्ने व्यवस्था छ ।

नेपालको काठमाडौँको वसन्तपुरमा प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली प्रारम्भ भएको मानिन्छ । चीर ठड्याउने प्रसंगलाई कतिपयले भगवान श्रीकृष्णले गोपिनीहरुको कपडा चीरमा ठड्याइदिनुभएकोको रुपमा पनि लिएका छन् । अर्कोतर्फ पूर्णिमा देवताको दिन मानिन्छ ।

हनुमानढोकामा अष्टमीको दिन चिर गाडिन्छ । अष्टमी पितृहरुको दिन हो । अष्टमीमा चिर गाडेर पूर्णिमासम्म होली खेलिन्छ । अर्थात् देवता र पितृलाई साक्षी राखेर खुशी मनाइन्छ ।

खुशी मनाउन रंग किन त ? शास्त्रले भन्छ– रस र रंग चन्द्रदेवले भर्ने हो । चन्द्रमाको अर्को रुप नै शितलता प्राप्ति हो । शितलता अर्थात उल्लासीपन । फागुको सम्बन्ध उल्लास र उमंगसँग यसकारण पनि जोडिएको हो । त्यसैले पनि एकापसमा रंग दल्ने, शुभकामना दिने चलन छ । सबै एक रुपमा मिलेर उल्लास मनाउन होली शुरु भएको हो ।

तराई र पहाडमा किन भिन्न त भन्नेबारे संस्कृतिविद् खतिवडा भन्छन् –‘शास्त्रीय हिसाबमा पहाड र तराईमा भिन्नाभिन्नै मनाउनुको कुनै कारण भेटिएको छैन । होलिकाको दहनपछि उत्सव कि उत्सवपछि दहन यसैका आधारमा भिन्न परेको हो । ’

होलिका दहन भएर खरानी भएपछि त्यही खरानी एकापसमा दलेर प्रह्लाद समर्थकहरुले उल्लास मनाए । यसैसँग सम्बन्धित भएर पानी छ्यापाछ्यापको प्रसंग पनि जोडियो ।

रंगहरुको पर्व हो त ?

संस्कृतिविद् खतिवडाको भनाइमा होली रंगहरुको पर्व थिएन । यो त खरानीको पर्व हो । अझ संस्कृतिविद्हरु त यस पर्वलाई शुद्रहरुको पर्वका रुपमा लिन्छन् ।

इतिहासपुराणविद् तथा सह–प्राध्यापक काफ्ले होली पर्वलाई शुद्रको पर्वसँग जोड्छिन् । शुद्र अर्थात सोचाई, विचार व्यवहारमा शुद्रपन । दुष्टता, नराम्रो भावना अनि क्षणिकता । शुद्रपन सेवामा पनि जोडिन्छ ।

उनको भनाइमा पहाडका कतिपयले यो पर्व नै मनाउँदैनन् । जातीय आधारमा भन्दा पनि व्यवहारिक आधारमा शुद्रको पर्व भनिएको उनको भनाइ छ । जातीय आधारमा हेर्ने हो भनेपनि जनै पूर्णिमा ब्राह्मणको पर्व, विजया दशमी क्षत्रीयको पर्व, लक्ष्मी पूजा वैश्यको पर्व अनि होली शुद्रको पर्व ।

खतिवडाको भनाइमा होलिका दहन भएर खरानी भएपछि त्यही खरानी एकापसमा दलेर प्रह्लाद समर्थकहरुले उल्लास मनाए । यसैसँग सम्बन्धित भएर पानी छ्यापाछ्यापको प्रसंग पनि जोडियो ।

खरानी दलेर चाड मनाएपछि पखाल्नका लागि पानी छ्यापाछ्याप गरिएकाले पानी हान्ने चलन त्यही बेलादेखि नै शुरु भएको थियो । तर हाल सहजता नहुने तथा नमिल्ने भएकाले पनि रंगसँग सम्बन्ध जोडिएको हो ।

रंगसँग होली चाड जोडिँदा यो सामाजिक पक्षमा पनि जोडिन पुगेको छ । रंग दल्ने खेल्ने अर्थात् मिलेर रहौँ हामीभित्रका नराम्रा भावना अत्य होऊन्, अरुको कुभलो चिताउनेको अन्त्य निश्चित छ । होलीले दिने सन्देश पनि यही हो ।

होलीमा यौनको प्रसंग

आठ दिनसम्म मनाइने होलीमा यौनको प्रसंग पनि जोडिन्छ । भक्तपुरको दत्तात्रयमा भीमसेनको लिंगको प्रतिकलाई झुण्ड्याउने चलन छ । नेपाल भाषाको लज्ज अर्थात लिंग जुन भिमसेनको लिङ्ग प्रतिकको रुपमा काठको मुढालाई भक्तपुर नगरको विभिन्न क्षेत्र परिक्रमा गराएर पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन छ ।

लिङ्गलाई होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ । होली शुरु भएको दिन अर्थात फागुन शुक्ल अष्टमीमा बिहानपख कमलपोखरीमा काठको लिङ्गको प्रतिकलाई पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ ।

होलीमा काम भावनाको प्रतीक रातो रंग बढीमात्रामा दलिने कारण पनि यही हुनसक्ने रुपमा कतिपयले अथ्र्याएका छ्न् । अर्कोतर्फ विपरीत लिंगीप्रति अलि बढी आकर्षित भएर खेलिनुले पनि यौनजन्य सुषुप्त भावना होलीमा रंग खेल्ने क्रममा जोडिएको हुने कतिपयको विश्वास छ ।

होलीको सामाजिक पक्ष

होलीको अर्को महत्वपूर्ण पक्ष भनेको यो एक सामाजिक पर्व पनि हो । हुन त कतिपयले जातीय आधारमा विभाजन गरेपनि सामाजिक आधारमा हेर्ने हो भने होलीको समय वसन्त ऋतुको समय हो ।

रुखहरूमा पालुवा पलाउने रंगीचंगी फूलहरू फुल्ने बेला । कोइलीको मीठो गुञ्जनको बेला । प्रकृतिमा आँकुरा पलाउने बेला । तिनै आँकुराहरुले रंग भर्ने बेला पनि यही हो । यस्तोमा पे्रमी र प्रेमिकामा प्रेम भाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा प्रेम गरौँ एकापसमा रमाऔँ आफूभित्रको दानवी प्रवृत्ति अन्त्य गरौँ भन्ने भावना होलीको सामाजिक पक्षले दिन्छ ।

पौराणिक कथासँग जोडिँदा पनि आगोबाट नजल्ने वरदान पाएकी होलिकाले दानवी प्रवृत्ति देखाएकाले उसको अन्त्य भएको तर प्रह्लादले सात्विक प्रवृत्ति देखाएकाले भगवानले रक्षा गरको भन्ने विश्वास लिइन्छ ।

तसर्थ समाजमा मिलेर बसौँ । वर्षको एक दिन खुलेर हर्ष मनाऔँ । पीर चिन्ता तनाव भुलौँ अनि एकापसमा मिलेर रमाऔँ भन्ने पनि होलीको सन्देश हो ।


भर्खर

0