फूलकै संसारमा रमाउने विष्णु, सोख पूरा गर्दा राम्रो कमाई | Khabarhub Khabarhub

फूलकै संसारमा रमाउने विष्णु, सोख पूरा गर्दा राम्रो कमाई



काठमाडौं–चारैतिर ढकमक्क फुलेको सयपत्री फूल । झलक्क देखिएको दृश्यले मन नै आनन्दित बनाउने ।

त्यही फूलको बीचमा डालो बोकेर फूल टिपिरहेकी थिइन् एक महिला । फूलको झिलीमिलीले होला अनुहार पनि उत्तिकै हसिलो थियो ।

यतिबेला बगैंचामा फुलेका सयपत्री फूलका थुंगा टिप्न भ्याइनभ्याई छ कोहलपुरकी ३२ वर्षीया विष्णु कुमारी चौधरीलाई ।

उनी बिहानको झुल्के घामसँगै बगैंचामा पुग्छिन् र दिनभरी काम गरेर साँझसम्म बगैंचामै व्यस्त हुन्छिन् ।

तिहार आउन एक साता मात्रै बाँकी छ । ग्रामीण क्षेत्रका धेरै किसानका बारी फूलले भरिएका छन् । त्यसकारण पनि फुलेका फूल टिप्न सबै व्यवसायीहरुलाई हतारो भइरहेको छ ।

बिहीवार पनि उनी बारीमै फूल टिप्न व्यस्त थिइन् भने शुक्रवार फूलको माला गास्न । बगैंचाभरी फूल फुलेकाले एक्लै टिप्न नभ्याएर उनले अन्य कामदारलाई समेत ल्याएकी थिइन् ।

ठूलो क्षेत्रमा सयपत्री फूलको व्यवसाय गरिरहेकी विष्णु यही क्षेत्रमा पोख्त व्यवसायी भने होइनन् । एक वर्ष मात्र भयो उनले पुष्प व्यवसायको थालनी गरेको ।

विष्णुको स्थायी घर बर्दिया हो । विगत १२ वर्षदेखि उनी कोहलपुरमै बसोबास गर्दै आइरहेकी छिन् । श्रीमानको पेशा शिक्षक भएकाले उनी पनि शिक्षिका बन्ने सोचले अघि बढिन् । तर स्थायीमा नाम निकाल्न नसकेपछि जागिर खानुभन्दा पनि व्यवसाय गर्नतिर उनको रुचि बढ्न थाल्यो ।

व्यवसाय गर्ने भनेपनि तत्कालका लागि के गर्ने भन्ने कुराको निधो पाएकी थिइनन् उनले ।

पुष्प व्यवसायमा यसरी आइन् विष्णु

गत वर्ष दशैंमा उनी टिकापुर पार्क घुम्न गएकी थिइन् । ‘म टिकापुर पार्क घुम्न गएको थिएँ’ हाँस्दै उनले भनिन, ‘त्यहाँ चौधरी सरले १० कठ्ठामा फूल खेती गर्नुभएको रहेछ म त्यहीबाट फूल खेतीमा आउन प्रेरित भएँ।’

टिकापुरबाट फर्किएसँगै विष्णुले कोहलपुरमा जग्गा लिजमा लिएर पुष्प खेती गर्ने सोच बनाइन् ।

साढे ३ लाख लगानीमा फूल खेती

अरुबाट पाएको ज्ञानका आधारमा उनले पहिलो पटक पुष्पखेतीको सुरुवात गरिन् कोहलपुरबाटै । बाँके, नेपालगञ्ज, सुर्खेत र दाङ लगायतका जिल्लामा मार्केट पुर्‍याउने सोचले यो खेतीमा आएँ’ उनले भनिन्, १० कठ्ठा जग्गा भाडामा लिएँ ।

१ कठ्ठा जग्गामा हजार वटा विरुवाका दरले उनले १० हजार विरुवा रोपिन् गत वर्षको फागुन महिनामा । यो नै उनको पहिलो व्यवसाय थियो ।

फागुन महिनामा रोपेको सयपत्री राम्रोसँग मौलाउन सकेन । ‘पर्याप्त मात्रामा पानी दिन नसक्दा ५ हजार विरुवा त मरे’ उनले भनिन्, ‘चैत्र महिनामा यतातिर खडेरी पर्छ, खडेरीमा पानी हाल्न नसक्दा नोक्सान भयो।’

सुरुवातमै खेती बिग्रदा निराश भइन उनी । तरपनि हार मानिन् । मेहनत गर्न छोडिनन् उनले । त्यससँगै उनले साउनको अन्तिमतिर फेरि दश हजार सयपत्रीका विरुवा रोपिन् ।

२ महिनामै ढकमक्क सयपत्री

अन्य खेतीमा जस्तै पुष्प खेती अन्तर्गत सयपत्री फूलमा पनि गोडमेल गर्ने र मलजल हाल्ने काम गर्नुपर्ने सुनाउछिन् उनी । ‘रोपेको १५ दिनमा गोड्नुपर्छ त्यससँगै फेरि १५/१५ दिनमा गोडमेल गरिरहनुपर्छ’ अनुभव सुनाउँदै विष्णु भन्छिन्, ‘गोडमेल राम्रो भएसँगै २ महिनामा फूल फुल्न शुरु गर्छ।’

फूलमा युरिया, पोटास र डिएपी मल हाल्छिन् उनी । जसले विरुवा मौलाउने र हाँगामा मोटोपना आउने गर्छ ।

फूल टिप्न र माला गास्न चटारो

तिहार लागेसँगै बगैंचाको फूल टिप्न र माला गास्न भ्याइनभ्याइ भएको विष्णु बताउछिन् । ‘अहिले फूल टिप्न ६ जना कामदार पनि राखेको छु’ उनले भनिन्, ‘माला गास्न पनि राखेको छु, प्रतिमाला ५ रुपैयाँका दरले।’

तिहारको माहोल नजिकिएसँगै अर्डर प्रशस्त आएको र फूल टिप्दै कोल्ड स्टोरमा राख्दै समेत गरिरहेकी छिन् उनी । एक साताअघि नै पहिलो चरणको फूल टिपिसकेकी छिन् भने अर्को पटक टिप्ने बेला समेत भइसकेको छ ।

यो वर्षको तिहारमा मात्र उनको बारीमा डेढ क्विनटल फूल फुलेको अनुमान उनले गरेकी छिन् । किलोमा बेच्दा प्रतिकिलोको ५ सय र मालामा बेच्दा एक सय रुपैयाँ प्रतिवटा बेचिरहेको छु’ खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘यसपाली तिहारमा करिब साढे दुई लाखसम्म आम्दानी हुन्छ।’

फूल फुल्दाको खुसी

विष्णुले सोचेकी थिइनन् आज यसरी बगैंचाको बिचमा बसेर फूलका थुंगा टिपिरहेकी हुन्छु भनेर दंग पर्दै उनले सुनाउइन्, ‘मेहनत गरेमा सफल बन्न सकिने रहेछ।’

व्यवसायिक रुपमै फूल खेती गरिरहेकी उनी तिहारका समय सयपत्री फूल फुलाउन पाउँदा गर्व महशुस भएको बताउछिन् । काम गर्न सकेमा स्वदेशमै आनन्दले पैसा कमाउन सकिने बताउछिन् उनी ।

भेराइटी लगाउने सोच

अहिले विष्णुले सबै जग्गामा सयपत्री फूल लगाएकी छिन् । सयपत्री फूल तिहारको समयमा सबै व्यापार गर्न सकेपनि अन्य समयमा खेर जाने उनी बताउछिन् ।

भन्छिन्, ‘कार्यक्रमहरु हुँदा थोरै लैजाने हुन्, यति ठूलो क्षेत्रमा फुलेका फूल अन्य समयमा विक्रि हुदैँन खेर जान्छ।’

अन्य मौसममा फूललाई बिकाउन नसक्दा उनको सोच अब भेराइटीतिर प्रवेश गर्ने बनेको छ । गुच्छा, बुके लगायतका सिजनल फूलहरु लगाउने सोचमा छु’ विष्णुले भनिन्, ‘यससँगै जग्गा पनि थप्ने सोचिरहेको छु।’

पुष्प व्यवसायमा आउन सल्लाह

विष्णु आफुले गरिरहेको फूल खेतीबाट निकै सन्तुष्ट छिन् । ‘फूल खेती गरेको १ वर्षमात्र भयो तरपनि राम्रो प्रतिक्रिया आइरहेको छ सबैतिरबाट’ उनले भनिन्, ‘अब व्यवसाय विस्तार गर्दै जान्छु।’

पछिल्ला समय काममा शिलशिलामा परदेशतिर धाउने युवाहरुको जमात बढिरहेको छ । त्यतिमात्र होइन सुख सुविधाका लागि गाउँ छोडेर सहरतिर प्रवेश गर्नेहरु पनि धेरै छन् ।

गाउँमा जग्गा जमिन बाँझो भइरहेको अवस्था छ । ‘पढेलेखेकै मानिसहरुले पनि जन्मभूमि गएर यसरी व्यवसाय गर्ने हो भने स्वदेशमै पैंसा फल्छ’ सुझाव दिदै उनले भनिन्, ‘फूलमा नेपाललाई आत्मनिर्भर पनि बनाउन सकिन्छ।’

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ०३ बजे

अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको