यु–१९ एसिया कप : ‘पार्ट टाइम’ अभ्यासबाट अपेक्षा ठूलो ! | Khabarhub Khabarhub

यु–१९ एसिया कप : ‘पार्ट टाइम’ अभ्यासबाट अपेक्षा ठूलो !



काठमाडौं– नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली असार २४ गते मलेसियामा सम्पन्न एसीसी यु–१९ इस्र्टन रिजन प्रतियोगिताको विजेता बनेसँगै श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कपमा छनोट भएको थियो ।

असाढ २५ गते स्वदेश फर्किएको नेपाली युवा टोलीका मुख्य प्रशिक्षक विनोद दासले विमानस्थलबाटै भनेका थिए, ‘एसिया कपलाई गम्भिर रुपमा लिएको छु ।’ उनको भनाइको तात्पर्य थियो– युवा टोलीलाई राम्रो प्रशिक्षणको व्यवस्था गर्दै एसिया कपसम्म पुग्दा बलियो टोली बन्दै टेस्ट प्लेइङ राष्ट्रका टोलीसँग टक्कर दिने टिम बनाउँछु ।

उनले युवा टोलीका लागि भारतमा अभ्यास गर्ने गरी तयारी पनि गरेका थिए । तर, एसियन क्रिकेट काउन्सिल (एसीसी) ले स्वीकृति नदिँदा भारतमा युवा टोलीले अभ्यास गर्ने योजना पूरा हुन नसकेको उनी बताउँछन् ।

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको प्रतिबबन्धमा रहँदा नेपाली क्रिकेटको सबै काम आईसीसी आफैले गर्दै आएको छ । तर, कतिपय समयमा आईसीसीले सही समयमा सही निर्णय नगरिदिँदा नेपाली क्रिकेटले समस्या भोग्नु परेको पनि क्रिकेट जानकारहरु बताउँछन् । युवा टोलीको भारत यात्रा बारे एसीसीले स्वीकृती नदिनुलाई पनि त्यसैको परिणामका रुपमा हेर्न थालिएको छ ।

नेपालमा यतिबेला बर्खायामा लागिरहेको छ । जुनसुकै बेला पनि बर्षा हुन सक्छ । यस्तो समयमा पानी भन्ने बित्तिकै लुक्नु पर्ने क्रिकेटको बन्द प्रशिक्षण यही समयमा राख्दा सही तरिकाले खेलाडीले अभ्यास गर्न नपाएको मुख्यप्रशिक्षक दास बताउँछन् ।

‘खेलाडीहरु यहीँ थिए । तर, बर्षाका कारण मैदान खेल्न लायक छैनन् । खेल खेल्ने भन्यो राति पानी परेर मैदान भिजेको हुन्छ,’ प्रशिक्षक दासले भने,‘हामीले बाहिर अभ्यासका लागि जाने तयारी गरेका थियौं । तर, एसीसीले स्वीकृती दिएन । जे जति छ त्यसलाई ‘वेष्ट युज’ गरिरहेका छौं ।’

आईसीसी र एसीसीले भारतमा अभ्यासका लागि स्वीकृति नदिएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अभ्यासका लागि व्यवस्था गर्ने चर्चा पनि नभएको होइन । तर, त्यसका लागि समय कम भएको, बजेट लगायत सबै कुरा व्यवस्था गर्नु पर्ने भएकाले पनि अहिले सम्भव नभएको दासको भनाइ छ । भारतमा अभ्यास गर्न नपाए पनि नेपाली युवा टोली प्रतियोगिता भन्दा १ साता अगाडि श्रीलंका जानेछ ।

एसिया कप अगाडिको यो अभ्यास समयलाई भने कतिपयले ‘पार्ट टाइम’ अभ्यासका रुपमा पनि हेर्ने गरेका छन् । तर, एसिया कपबाट ठूलो अपेक्षा गरेका कारण पार्ट टाइम अभ्यासबाट राम्रो नतिजाको आश पनि क्रिकेट प्रशंसकको रहेको छ ।

‘अन्तर्राष्ट्रिय खेल खेल्ने टेस्ट राष्ट्रहरु तालिका अनुसार बर्षभरि खेल खेलिरहेका हुन्छन्। तर, हाम्रो जस्ता देशमा प्रतियोगिता अघि पछि सीमित समयका लागि मात्र अभ्यासमा बोलाइन्छ ।’

यता, कप्तान रोहित कुमार पौडेल पनि एसिया कपका लागि खेलाडी उत्साहित रहेको बताउँछन् ।

‘मैदानमा अभ्यास गर्न पाइरहेका छैनौं । त्यो नहुँदा इन्डोरमा अभ्यास गरिरहेका छौं,’ कप्तान रोहितले भने,‘व्यक्तिगत रुपमै अभ्यासको योजना बुनेका थियौं, त्यो अनुसार पनि अभ्यास हुन सकिरहेको छैन् । अब हाम्रो अभ्यासका लागि बर्षा बाधक नभइदिए हुन्थ्यो ।’

प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान रहँदा एसोसियट राष्ट्र युएई र कुवेत पनि रहेका छन् । भारत र पाकिस्तान जस्ता क्रिकेटका शक्ति राष्ट्रका युवा टोलीसँग राम्रो खेल्न सके नेपाली युवा टोली फाइनसम्म पुग्न सक्ने कप्तान रोहितले बताउँछन् ।

‘अहिले हामीसँग राम्रा खेलाडी छन् । सबै खेलाडीले आवश्यक परेको समयमा शतप्रतिशत दिएर खेल्न सक्नुपर्छ हामी राम्रो गर्न सक्छौं,’ रोहितले भने,‘एसिया कपमा टेस्ट राष्ट्रहरु भएपनि हाम्रो टिम पनि कमजोर छैन । टिमका ११ जान खेलाडीले नै राम्रो खेल्न सके एसिया कपको फाइनलसम्म पुग्न गाह्रो छैन् ।’

कप्तान रोहितले आफूहरुले राम्रो गर्न सके एसिया कपको फाइनलसम्मको यात्रा तय गर्न सक्ने भने पनि एसिया कपमा नेपालको अहिलेसम्मको राम्रो प्रदर्शन भने सेमिफाइनलसम्मको रहेको छ ।

यद्यपि अहिले नेपाली टोलीमा प्रतिभावान खेलाडी रहेको हुँदा फाइनलसम्म नपुगे पनि श्रीलंकामा नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सक्ने क्रिकेट विश्लेषकको भनाइ छ ।

‘अहिले अभ्यासमा रहेका सबै खेलाडी फिट छन् । अहिले मुख्य समस्या चाहिँ ब्याटिङ गर्न नपाउनु हो । ब्याटिङका लागि मैदान तयार नहुँदा समस्या भइरहेको छ । अहिले बर्षाले समस्या पारिरहेको छ,’ प्रशिक्षक दासले भने,‘श्रीलंकामा के कुरा हामीले ‘फेस’ गर्ने छौं त्यसलाई हामी अहिले देखि नै मिलाइरहेका छौं ।’

नेपालमा अभ्यासका कारण राम्रो अभ्यास गर्न नपाए पनि नेपाली टोली प्रतियोगिता भन्दा ९ दिन अगाडि श्रीलंका जाने तालिका रहेको हुँदा त्यहाँ गर्ने अभ्यास प्रभावकारी हुने प्रशिक्षक दासको विश्वास छ । नेपाली टोलीले श्रीलंकामा तीन खेल र ६ दिन अभ्यास गर्ने उनले बताए ।
नेपाली टोलीलाई श्रीलंकामा भने सोचेजस्तो सहज नहुने प्रशिक्षक दासले बताएका छन् । उनले नेपालले टेस्ट राष्ट्रहरुसँग खेल्दा विशेष प्रशिक्षण गरेको हुनुपर्ने तर्क गरे ।

‘हामीले सोचे जस्तो एसिया कपमा नेपाललाई सजिलो नहुने छैन । टेस्ट राष्ट्रलाई पराजित गर्न नेपालले आफ्नो स्तर भन्दा माथि उठेर खेल्नुपर्छ,’ प्रशिक्षक दासले भने,‘युएई र कुवेत राम्रो गर्दै आइरहेका छन् । तर, जुन लेभलमा हामी खेलिरहेका छौं । त्यसका लागि विषेश प्रशिक्षण चाहिन्थ्यो । टेस्ट प्लेइङ नेशनले बर्षभरी तालिका बनाएर खेलिरहेका हुन्छन् । तर, नेपालले त्यो अहिलेसम्म गर्न सकेको छैन ।’

नेपाली क्रिकेट प्रशंसकले खेलाडीबाट अपेक्षा गर्नुले नै खेलाडीका लागि दबाब सिर्जना गर्ने प्रशिक्षकको बुझाइ छ । कतिपय समयमा खेलाडीले राम्रो गर्दा उनीहरुको प्रशंसा उच्च हुने र राम्रो प्रदर्शन गर्न नसक्दा आलोचना पनि निकै धेरै हुने गरेको यर्थाता छ ।

तर, प्रशिक्षक दास खेलाडीमा क्षमता भएपनि त्यसलाई निरन्तरता दिन नसक्दा समस्या भइरकेको बताउँछन् । ‘बेला बखतमा हामीले राम्रो गरिरहेका छौं । राम्रा टिमलाई हराएका पनि छौं । तर, त्यस्तै खेल निरन्तर ‘रिपिट’ गरिराख्न हामीले अभ्यास पनि सोही अनुरुप गर्नुपर्छ,’ प्रशिक्षक दासले भने,‘१ महिना धेरै अभ्यास गर्दा राम्रो टिमलाई पराजित गर्यौं तर, बाँकी ९,१० महिना अभ्यास विनै बस्दा कस्तो अपेक्षा हुन्छ ? तर, विपक्षी टोली त्यो समय अभ्यासमा विताउँछ पछि हामीले त्यो टिमसँग खेल्दा सुधार भइसकेको हुन्छ ।’

श्रीलंकामा नेपालले तीन खेल खेल्ने बताइए पनि अहिलेसम्म कस्तो टिमसँग खेल्ने भन्नेमा भने टुङ्गो लागिसकेको छैन् । भदौ १९ गतेदेखि एसीसी यु–१९ एसिया कप २०१९ शुरु भएर २८ गतेसम्म श्रीलंकाका विभिन्न क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ०२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार